धर्मनिरपेक्षता होइन, धार्मिक स्वतन्त्रता
पन्थनिरपेक्षता भन्नुपर्नेमा ‘रिलिजन’ को गलत अर्थ लगाएर संविधानमा धर्मनिरपेक्षता राखियो। यसको साटो धार्मिक स्वतन्त्रता भनौं या त धर्मको विषयमा मौन बसे पनि पुग्छ।
‘धर्म’ संस्कृत शब्द हो। यसको अन्य भाषामा ठ्याक्कै अनुवाद गर्न सकिँदैन। किनभने, ग्रीक लगायत कुनै पनि भाषामा ‘धर्म’ शब्दको पर्यायवाची शब्द छैन। १९औं शताब्दीमा बंगाल (सेरामपुर)मा पादरीहरूले ‘रिलिजन’ लाई धर्मको पर्यायवाची बनाएछन्।
‘रिलिजन’ शब्द ल्याटिन भाषाको ‘रेलिगेरि’ बाट आएको हो। यसको अर्थ सम्बन्ध जोड्नु वा बाँध्नु भन्ने हुन्छ। त्यस कारण ‘रिलिजन’ को वास्तविक अनुवाद पन्थ, मजहब वा मार्ग हुन्छ।
धर्मको बृहत् अर्थ छ। धर्मभित्र कर्तव्य, प्रचलित आचार पालना, कानून, दस्तुर, प्रथा, नैतिक गुण, भलाइ, चरित्र, न्याय, अधिकार, शालीनता, सत्सङ्ग, रीति, पवित्रता आदि कुरा पर्छन्। धर्ममा अरूलाई घृणा गर्ने वा दखल दिने कुरै हुँदैन। पुराणमा धर्म भएन भने पशु समान हुन्छ भनिएको छ। धर्म भएन भने निरङ्कुशता आउँछ।
कानून र नैतिकता फरक पाटा हुन्। कानून पालनाले मात्र पुग्दैन, सँगै नैतिकवान् पनि हुन सक्नुपर्छ। त्यस कारण धर्म निरपेक्ष हुनै सक्दैन। बरु, मत निरपेक्ष हुन सक्छ। ‘रिलिजन’ निरपेक्ष हुन सक्छ। शाब्दिक रूपमा हेर्दा पनि धर्मनिरपेक्षले गलत अर्थ दिन्छ। निरको अर्थ रहित हो, निर्जीव भने जस्तै। त्यस हिसाबले धर्मनिरपेक्षको अर्थ अधर्मी हुनु हो।
जब समाजले कुनै प्रश्न नगरी धर्मगुरुले जे भन्यो त्यही शिरोपर गर्न थाल्यो, तब पन्थ वा मजहबलाई धर्म मान्न थालियो। मार्ग नै धर्म हो भनियो। त्यसो गर्नु शाखालाई नै रूख माने जस्तै हो
पन्थ वा मजहबलाई नै धर्म मान्नु अभिशाप बन्यो। जब समाजले कुनै प्रश्न नगरी धर्मगुरुले जे भन्यो त्यही शिरोपर गर्न थाल्यो, तब पन्थ वा मजहबलाई धर्म मान्न थालियो। मार्ग नै धर्म हो भनियो। त्यसो गर्नु शाखालाई नै रूख माने जस्तै हो। त्यो सबैभन्दा ठूलो भ्रान्ति भयो।
एउटा पन्थ वा मजहब मान्नेले कहिल्यै पनि सम्पूर्ण मानवताको हित सोच्न सक्दैन। आफ्नो मजहबको मात्रै भलो सोच्छ, अरूको निन्दा गर्छ। धार्मिकले मात्रै सङ्कीर्णता छोडेर कल्याण र एकता गर्न सक्छ। धर्मले सम्पूर्ण संसारलाई एक मान्छ र विश्व बन्धुत्व सिकाउँछ।
सनातन धर्ममा दुई पाटा हुन्छन्- श्रुति र स्मृति। श्रुति सधैंका लागि एउटै अर्थात् अपरिवर्तनीय हुन्छ। स्मृति चाहिं ऐतिहासिक, स्थानीय, आवधिक र समय अनुसारको हुन्छ। जुन धर्ममा श्रुति र स्मृतिको भिन्नता हुँदैन, त्यहाँ कट्टरपन्थ जन्मिन सक्छ। त्यस कारण शालीनतापूर्वक स्मृति परिवर्तन गर्दै जाने साहस देखाउनुपर्छ। तपाईं नास्तिक वा धर्मशास्त्री हुन सक्नुहुन्छ। हिन्दू, बौद्ध, इस्लाम, इसाई, जैन जे पनि मान्न सक्नुहुन्छ। जबकि, कतिपय धर्ममा ईश्वरनिन्दा पनि गरिन्छ।
समाजको आवश्यकता हेरेर एउटा मर्यादामा बाँध्न र जीवनयात्रा राम्ररी चलाउन समय समयमा धर्मको नवीकरण हुनुपर्छ। विज्ञानले ल्याएको तीव्र परिवर्तन सामना गर्दै धानको बोक्रा हटाए जस्तै धर्मबाट अनावश्यक कुरा हटाउनुपर्छ।
सर्वधर्म समभाव भनिन्छ, त्यो पनि सर्वमत समभाव हो। मत र तत्त्वबीचको अन्तर बुझ्न आवश्यक छ। मत भनेको एक जनाको विश्वासमा भनेको कुरा हो। विचार गरेको पन्थ हो। तत्त्व भनेको परिवर्तन नहुने र शाश्वत कुरा हो।
शाश्वत तत्त्व, युग धर्म अनुशासनमा राख्न बनाइएका हुन्। समाजको आवश्यकता हेरेर एउटा मर्यादामा बाँध्न र जीवनयात्रा राम्ररी चलाउन समय समयमा धर्मको नवीकरण हुनुपर्छ। विज्ञानले ल्याएको तीव्र परिवर्तन सामना गर्दै धानको बोक्रा हटाए जस्तै धर्मबाट अनावश्यक कुरा हटाउनुपर्छ। शोध, परीक्षण, विचार, विमर्श गरेर सत्य-असत्यको निर्क्योल गर्नुपर्छ। व्यक्तिनिष्ठ र सत्यनिष्ठ छुट्याउन सक्नुपर्छ।
कुनै पनि व्यक्तिको कथनलाई नै प्रमाणिक आधार मानेर सदियौंसम्म मानेर बस्न मिल्दैन। व्यक्तिनिष्ठ हुँदा कट्टरतातिर जान सक्छ। विज्ञान र राजनीतिमा धर्मको प्रवेश गराइएन भने भौतिक संस्कृति सृष्टिको विनाशको कारण बन्छ।
धर्मनिरपेक्ष लेख्ने देश संसारमा निकै कम छन्। श्रीलंकामा संविधानको एउटा धारामा बुद्ध धर्मलाई प्राथमिकता दिने उल्लेख गरिए पनि अर्कोमा ‘धार्मिक स्वतन्त्रता’ भनिएको छ। हामीकहाँ धार्मिक स्वतन्त्रता लेखे पुग्छ। लेख्नै मन छ भने पन्थनिरपेक्ष लेखे हुन्छ। अथवा, धर्मको विषयमा मौन बस्नु राम्रो हुन्छ।
(हिमालको २०७८ पुस अङ्कबाट।)