धर्ममा राजनीति नगर!
लोकतन्त्रवादीहरू, कम्तीमा हिजोका परिवर्तनका संवाहक दलहरूले संविधानवादलाई नै आफ्नो मूल ‘धर्म’ बनाउँदै धर्मनिरपेक्षताको पक्षमा हरेक तहबाट खबरदारी गर्नुपर्नेछ, र भन्नुपर्नेछ- धर्ममा राजनीति नगर।
रविन गिरी
पछिल्ला दुई महीना पूर्वी नेपालका दुई लिम्बूका लागि निकै फलदायी रहे। एक हुन् भगीराज इङ्नाम, जसको पुस्तक लिम्बूवानको ऐतिहासिक दस्तावेज सङ्ग्रहले २०७७ सालको मदन पुरस्कार प्राप्त गर्यो। अर्का राजेन्द्र लिङ्देन, जो राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निर्विकल्प नेता ठानिएका कमल थापालाई स्तब्ध पार्दै पार्टी अध्यक्ष चुनिए। भूगोल र जाति उही भए पनि यी दुई लिम्बूका ध्येय भने नितान्त अलग देखिए।
पञ्चायतकालमै सरकारी सेवामा प्रवेश गरेका इङ्नाम ऐतिहासिक लिखत, स्याहा मोहोर र कागजातको खोजीमा लागे, जसले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दाताका लिम्बूवानमा छल गरेको दाबीलाई प्रमाणित गर्न सघाउँथ्यो। उता लिङ्देन सङ्घीय गणतन्त्र नेपालमा भूत भइसकेको राजसंस्थालाई फेरि ब्युँताइछाड्ने र धर्मनिरपेक्ष राष्ट्रलाई पुनः हिन्दू राष्ट्रमा फर्काउने अजेन्डा बोकेर हिंडेका छन्।
नाममा प्रजातन्त्र राखे पनि पूर्व पञ्च पृष्ठभूमिको राप्रपाका लागि राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रका मुद्दा नयाँ होइनन्। उसो त पछिल्लो समय ‘विचारभन्दा माथि देश’ भन्दै विवेकशील साझा पार्टीले समेत आफूलाई धर्मनिरपेक्षतामा जनमत सङ्ग्रह र सङ्घीयता खारेजीको पक्षमा उभ्याएको छ।
गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता, २०६२-६३ सालको जनआन्दोलनका यस्ता मुख्य उपलब्धिहरू हुन्, जो एकआपसको टेकोमा अडिएका छन्। यी तीनमध्ये एउटा मात्रको अनुपस्थितिले पूरै संरचना भत्कने र देश अकल्पनीय जोखिममा फस्न सक्छ। तर, राजनीतिक व्यवस्था परिवर्तनमा मुख्य भूमिका खेलेका प्रमुख दलका कतिपय नेता नै चुनावी लाभहानिका खातिर धर्मनिरपेक्षतामाथि दक्षिणपन्थी राजनीति गर्न उद्यत देखिएका छन्।
राजनीतिक व्यवस्था परिवर्तनमा मुख्य भूमिका खेलेका प्रमुख दलका कतिपय नेता नै चुनावी लाभहानिका खातिर धर्मनिरपेक्षतामाथि दक्षिणपन्थी राजनीति गर्न उद्यत देखिएका छन्।
जस्तो कि, सत्तारूढ नेपाली कांग्रेसमा शशांक कोइराला, शेखर कोइराला लगायत नेताहरू समेत हिन्दू राष्ट्रको पक्षमा छन्, एमालेमा महेश बस्नेत सहितका नेता दलको बैठकमै संविधानमा रहेको धर्मनिरपेक्षतामाथि बहस गरिनुपर्ने प्रस्ताव ल्याउन थालेका छन्। बस्नेतको यस्तो विचारको पक्षपोषण स्वयं उनका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन्, जो चितवनको माडीमा ‘राम जन्मभूमि’ बनाउन लागिपरेका छन्।
गत मंसीर पहिलो साता काठमाडौंमा भारतीय योगगुरु बाबा रामदेवको स्वागत र सत्कारमा भेला भएका पूर्व प्रधानमन्त्रीहरूको जमघट पनि धर्मनिरपेक्षता अनुकूल पक्कै थिएन। यस्ता अनेकन् घटना छन्, जसले एकल धर्मको पक्षपोषण गर्दै देशमा धर्मनिरपेक्षताको धज्जी उडाइरहेका छन्। हिन्दू धर्म ‘रक्षार्थ’ विभिन्न नाममा संस्थाहरू खुल्ने क्रम बढेको छ। विश्व हिन्दू परिषद् र यसको भगिनी सङ्गठन बजरङ्ग दल, विश्व हिन्दू महासङ्घको सक्रियता पहिलेभन्दा ज्यादा देखिन थालेको छ।
हिन्दूत्ववादी राजनीति गरिरहेको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) का नेताहरू नेपाल हिन्दू राष्ट्र हुनुपर्ने खुलेआम बताइरहेका छन्। कतिपयको भनाइमा त नरेन्द्र मोदी नेतृत्वको सरकार नेपालमा हिन्दू राष्ट्र स्थापना मार्फत भारतीय जनतामा हिन्दूत्व हाबी गराउन चाहन्छ। पूर्व राजदूत रणजित रायको पुस्तक काठमाडौं डिलेमामा एउटा रोचक प्रसङ्ग पनि छ। मोदीको सन् २०१४ को पहिलो नेपाल भ्रमणको पूर्व सन्ध्यामा प्रधानमन्त्रीसँगको भेटमा मोदीले ‘नेपालमा कति वटा शक्तिपीठहरू छन्?’ भन्ने एक मात्र प्रश्न सोधेको तर आफूले उत्तर दिन नसकेको पुस्तकमा लेखेका छन्।
भाजपाले हिन्दू धर्मलाई नै राजनीतिक रूपमा भारतीय राष्ट्रवादको प्रमुख औजार बनाएर सफलता पाए झैं के नेपालमा पनि धर्मको आडमा राजनीति सम्भव छ त? एकथरी विज्ञ स्वतन्त्रतापछि भारत विभाजनमा मुस्लिम बहुल पाकिस्तानको हात रहेकै कारण भारतमा हिन्दूत्वको राजनीति गर्न सजिलो भएको तर नेपालमा त्यस्तो अवस्था नभएको बताउँछन्। अर्काथरी भने धर्मनिरपेक्षता हिन्दू धर्म विरोधी हो भन्ने भाष्य निर्माण मार्फत धार्मिक सद्भाव खलबल्याउने सम्भावना पनि देख्छन्।
नेपालको धर्मनिरपेक्षताबारे प्राज्ञिक अध्ययन गरेकी कियारा लेटिज्सियाले बहुसङ्ख्यक हिन्दूलाई कसरी सम्बोधन गरिन्छ भन्ने कुराले धर्मनिरपेक्षताको भविष्य निर्धारण गर्ने ‘शेपिङ सेक्युलरिज्म इन नेपाल’ शीर्षकको लेखमा उल्लेख गरेकी छन्। “नेपाल उत्तर-धर्मनिरपेक्षताको प्रयोगशालामा छ, जहाँ ‘पूर्ण’ धर्मनिरपेक्ष मूल्य-मान्यता सहितका राज्यको नीति अख्तियार गर्दै, बहुल हिन्दूका परम्परा, भय अनि अल्पसङ्ख्यकका सामाजिक, राजनीतिक र धार्मिक पहिचानमा सन्तुलन मिलाउनुपर्नेछ,” उनले लेखेकी छन्।
धर्मनिरपेक्षताको सौन्दर्यबारे हरेक नागरिकलाई शिक्षित गर्नुपर्छ । नागरिक स्वयं पनि धर्म, जाति र भाषामा निरपेक्ष हुनुपर्छ।
भारतको धर्मनिरपेक्षताबारे गहन अध्ययन गरेका इतिहासकार राजीव भार्गव भारत र नेपाल जस्तो जातीय, सांस्कृतिक, भाषिक हिसाबमा विभिन्नता भएको मुलुकमा धर्मनिरपेक्षता कार्यान्वयनका लागि सिद्धान्तनिष्ठ दूरी (प्रिन्सिपल्ड डिस्ट्यान्स) अपनाउनुपर्ने सुझाव दिन्छन्। यस्तो सिद्धान्तमा राज्यले सबै धर्मलाई समान सम्मान दिंदै सिद्धान्तनिष्ठ दूरी कायम राख्छ, जहाँ राज्यले विश्वव्यापी मानव अधिकार र समानताको सिद्धान्तका आधारमा कुनै पनि धार्मिक समूहको आन्तरिक पक्षमा हस्तक्षेप वा मध्यस्थता पनि गर्न सक्छ।
नेपाली समाज विविध जाति र धर्म-पहिचानको इन्द्रेणी हो। यो बहुलतालाई धर्मनिरपेक्षताको सिद्धान्तले नै सम्बोधन गर्न सक्छ। सहिष्णु समाजको दायित्व धर्मका नाममा बेमेल, विभेद, हिंसा होइन, फरक पहिचानलाई स्विकार्दै सम्मान र समभावको वातावरण निर्माण गर्ने हो। यसका लागि राज्यले विना बहानाबाजी धर्मनिरपेक्षताको इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्छ। आवश्यक कानून, नीति, निर्देशिका बनाउनुपर्छ।
धर्मनिरपेक्षताको सौन्दर्यबारे हरेक नागरिकलाई शिक्षित गर्नुपर्छ । नागरिक स्वयं पनि धर्म, जाति र भाषामा निरपेक्ष हुनुपर्छ। तर, यति गरेर मात्र धर्मनिरपेक्षता सुरक्षित नहुने रहेछ भन्ने तथ्य आजको भारतबाट सिक्नुपर्ने भएको छ।
भारतीय इतिहासकार विपन चन्द्राले साम्प्रदायिकताः एक प्रवेशिका पुस्तक मार्फत सन् २००८ मा यस्तै खतराको सङ्केत गरेका थिए, जुन सत्य ठहरियो। चन्द्राको विश्लेषणमा ‘धर्मनिरपेक्षता विरुद्ध साम्प्रदायिक विचारधाराको निरन्तर प्रचारप्रसारलाई बेवास्ता गरिएकै कारण’ भारत यो स्थितिमा आइपुगेको हो। साम्प्रदायिकतावादीहरूले आफूलाई असल राष्ट्रवादी र साम्प्रदायिकतालाई राष्ट्रवाद दाबी गर्ने गरेको बताउँदै उनी लेख्छन्, “त्यसैले साम्प्रदायिकता विरुद्धको असल लडाइँ राष्ट्रवादको यही धरातलमा उभिएर लड्नुपर्छ।”
नेपाललाई आजको ‘राम राष्ट्रवाद’ तर्फ उन्मुख भारत जस्तो बन्न नदिन र लोकतन्त्रलाई जीवन्त राख्न धर्मनिरपेक्षताको विरोधमा उठेका आवाजहरूलाई अहिल्यैदेखि डटेर प्रतिरोध गर्नुपर्ने हुन्छ। लोकतन्त्रवादीहरू, कम्तीमा हिजोका परिवर्तनका संवाहक दलहरूले संविधानवादलाई नै आफ्नो मूल ‘धर्म’ बनाउँदै धर्मनिरपेक्षताको पक्षमा हरेक तहबाट खबरदारी गर्नुपर्नेछ, र भन्नुपर्नेछ- धर्ममा राजनीति नगर।
(हिमालको २०७८ पुस अङ्कबाट।)
कभर स्टोरी:
⇒ धर्मको राजनीति
⇒ राम, राजा र गणतान्त्रिक ‘रामराज्य’
⇒ हिन्दू विरोधी होइन धर्मनिरपेक्षता
⇒ धार्मिक सहिष्णुताको परीक्षा
⇒ धर्मनिरपेक्षताको घुम्टोमा लैङ्गिकता
⇒ धर्मनिरपेक्षता: बौद्ध समाजमा हुर्किएको बीउ
⇒ मधेश राजनीतिको ‘भगवाकरण’
⇒ दलितका लागि ‘धर्मनिरपेक्षता’ : उही शासक, उस्तै दलन
⇒ कसरी गर्ने धर्मनिरपेक्षता कार्यान्वयन?
⇒ धर्मनिरपेक्षता होइन, धार्मिक स्वतन्त्रता
⇒ नेपाली धर्मनिरपेक्षताका सम्भावना र सीमा
⇒ शब्दमा सीमित धर्मनिरपेक्षता
⇒ 'असल हिन्दूस्तान' नेपाल
⇒ धर्मनिरपेक्षता : लोकमतको अपमान
⇒ पूँजीवादमा धर्मनिरपेक्षता
⇒ बलिउडको मोदी मार्ग