हृदयेश त्रिपाठी: नेकपा रायमाझी समूहदेखि प्रगतिशील पार्टीसम्म
क्षेत्रीय पार्टीमा रहेर राजनीति गर्दै आएका हृदयेश त्रिपाठीले यस पटक भने आफ्नो पार्टी तराई मधेशमा मात्र केन्द्रित नरहेको सन्देश दिन खोजेका छन्।
राजनीतिक चतुर खेलाडी तथा वाक्पटु हृदयेश त्रिपाठीले नयाँ दल घोषणा गरेका छन्। उनको राजनीतिक जीवनको यो पाँचौं दल हो।
झण्डै पाँच वर्षअघि तराई मधेश लोकतान्त्रिक पार्टीबाट अलग भएको घोषणा गरेका हृदयेश त्रिपाठीले २८ मंसीरमा जनता प्रगतिशील पार्टी, नेपालको घोषणा गरेका छन्।
त्रिपाठीले २०६३ सालमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारमा मन्त्री रहेकै वेला राजीनामा दिएर महन्थ ठाकुरको नेतृत्वमा गठित तराई मधेश लोकतान्त्रिक पार्टीको सह-अध्यक्ष बनेका थिए। उनी २०७४ सालको निर्वाचनमा स्वतन्त्र राजनीतिक विचार समूहका नाममा नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट सूर्य चिह्न लिएर चुनाव लडेका थिए।
सूर्य चुनाव चिह्नबाट चुनाव जितेर सांसद बनेका उनी एमालेको नेतृत्वमा बनेको सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बने ।
त्रिपाठी यस्ता नेता हुन् जसले राजनीतिले कुन मोड लिंदै छ भन्ने पूर्वानुमान र विश्लेषण गरेर आफूलाई त्यस अनुरूप बदल्न सक्छन्। उनको राजनीतिक यात्राले यसै भन्छ।
कम्युनिष्ट पार्टीबाट राजनीति शुरू गरेका त्रिपाठी सद्भावना, तराई मधेश लोकतान्त्रिक पार्टी हुँदै जनता प्रगतिशील पार्टीसम्म आइपुगेका छन्।
तर, जति पार्टी परिवर्तन गरे पनि उनले सधैं आफूलाई सत्ता र शक्तिसँग नजिक राख्ने गरेका छन्। “उहाँ जता गएर सांसद बन्न सकिन्छ, त्यता लाग्नुहुन्छ,” उनीसँगै लामो समय राजनीति गरेका एक नेता भन्छन्, “राजनीतिमा के हुँदै छ भनेर निर्णय लिन उहाँ सिपालु हुनुहुन्छ।”
हुन पनि २०४८ सालदेखि यता एक पटक मात्र त्रिपाठी सांसद बन्न पाएका छैनन्। २०४८, २०५१ र २०५६ सालमा उनी नेपाल सद्भावना पार्टीबाट सांसद र पटक पटक मन्त्री बने। सद्भावना विभाजित भएर कमजोर बनेपछि तराई मधेशको मुद्दा बोकेर तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बनाउन पुगे।
उनी तत्कालीन तमलोपाका तर्फबाट २०६४ सालको निर्वाचनमा सांसद बने भने २०७० सालको दोस्रो संविधानसभामा पराजित भए। २०४७ पछि संसदीय निर्वाचनमा पराजय भोगेका त्रिपाठीका लागि यो पहिलो पटक थियो। तर, तमलोपा लगायत विभिन्न मधेशवादी दल एकीकृत भएर राष्ट्रिय जनता पार्टी बनेपछि उनले आफूलाई त्यसबाट अलग राखे।
२०७४ सालमा स्वतन्त्र विचार समूहबाट त्रिपाठी आफू मात्र चुनाव लडेनन्। आफू निकट नेताहरूलाई पनि सूर्य चिह्न दिलाउन सफल भए। लुम्बिनी प्रदेश सभामा अजय शाही, कपिलवस्तुबाट प्रतिनिधि सभामा बृजेश गुप्ता र प्रदेश सभामा विजयी भएका धर्मबहादुर श्रीवास्तवले पनि त्रिपाठीकै कोटामा सूर्य चुनाव चिह्नबाट निर्वाचित बन्ने मौका पाए।
पटक पटक लाभको पद प्राप्त गरे पनि त्रिपाठी अहिलेसम्म भ्रष्टाचार र अनियमिततामा मुछिएका छैनन्। “पार्टी परिवर्तन गरे पनि राम्रो पक्ष उहाँ अहिलेसम्म अनियमिततामा कतै मुछिएको जानकारी छैन,” एमाले केन्द्रीय सदस्य एवं पूर्व सांसद कृष्ण पौडेल भन्छन्, “उहाँको जनतामा राम्रै प्रभाव छ।”
माध्यमिक तहसम्मको अध्ययन पाल्पामा गरेका उनी त्यहींबाट कम्युनिष्ट राजनीतिमा जोडिएका हुन्। नेकपाका तत्कालीन नेता केशरजंग रायमाझीसँगको सङ्गतले कम्युनिष्ट राजनीतिमा जोडिएका उनले रुसमा अध्ययनको अवसर पाए।
रुसमा अध्ययन सकेर फर्किएपछि त्रिपाठी २०४३ सालको राष्ट्रिय पञ्चायतको निर्वाचनमा चुनाव लडेका थिए। तर, त्यति वेला पराजित भए। २०४६ सालको जनआन्दोलनपछि त्रिपाठी सद्भावनामा लागेका हुन्।
क्षेत्रीय पार्टीमा रहेर राजनीति गर्दै आएका त्रिपाठीले यस पटक भने आफ्नो पार्टी तराई मधेशमा मात्र केन्द्रित नरहेको सन्देश दिन खोजेका छन्।
त्यही कारण हुन सक्छ, पार्टी घोषणा कार्यक्रममा पूर्व सभामुख दमननाथ ढुंगााना, पूर्व अर्थसचिव रामेश्वर खनाल लगायतलाई सहभागी गराए। यद्यपि उनीहरूले त्रिपाठीको पार्टीमा संलग्न नरहेको र शुभकामनाका लागि मात्र उपस्थित भएको प्रतिक्रिया दिएका छन्।
त्रिपाठीले पार्टी घोषणा सभामा वितरण गरेको घोषणापत्रमा राजनीतिकभन्दा जनतासँग सरोकार राख्ने मुद्दामा जोड दिएका छन्।
उनले धान, गहुँ, स्याउ, केरा, अदुवा, सुन्तला, दूध लगायत उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न विशेषज्ञ सम्मिलित स्थायी प्रकृतिको उच्चस्तरीय मूल्य निर्धारण आयोग गठन, स्थानीय तहमा देखिएको बेरुजु, मुलुकको अर्थतन्त्र र ब्यांकिङ क्षेत्रमा देखिएका तरलताका विषयलाई समेटेका छन्।