नयाँ पार्टी खोलेर हृदयेश त्रिपाठीले दिन खोजेको सन्देश
कम्युनिष्टबाट राजनीति गरेर लामो समय क्षेत्रीय पार्टीमा सक्रिय पूर्व मन्त्री ह्रदयेश त्रिपाठी नयाँ दल मार्फत राष्ट्रिय राजनीतिमा पदार्पण गर्ने प्रयासमा छन्।
नेकपा (रायमाझी), नेपाल सद्भावना पार्टी हुँदै तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) मा राजनीति गरिसकेका हृदयेश त्रिपाठीले जनता प्रगतिशील पार्टी, नेपालका नामले नयाँ दल घोषणा गरेका छन्।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा पार्टीमा रहने अन्य सदस्यहरूको नाम सार्वजनिक नगरेका त्रिपाठीको पार्टी घोषणा कार्यक्रमको शुरूआतमा दुई रोचक दृश्य देखिए।
पहिलोः कार्यक्रम शुरू हुनुअघि पहेंलो वस्त्रधारी वटुकहरूले गीताको श्लोक वाचन गरे। दोस्रोः गीताको श्लोक वाचन लगत्तै मुस्लिम धर्म गुरुहरूले कुरानको आयत वाचन गरे।
त्यसपछि मात्रै त्रिपाठीले मन्तव्य राखे। “हाम्रो देशमा राष्ट्रवादी धेरै छन्, देशभक्त ज्यादै कम, देशभक्तिले बलिदान र त्याग खोज्छ, तर त्यागको नाममा मलमूत्र बाहेक अरू त्याग नगर्ने नेतृत्वबाट धेरै अपेक्षा गर्न सकिन्न,” उनले कार्यक्रममा भने।
२०३३ सालमा विद्यार्थी जीवनबाट राजनीति प्रारम्भ गरेका त्रिपाठी नेकपा (रायमाझी समूह) को केन्द्रीय सदस्य बने। त्यसपछि सद्भावना पार्टीको महासचिव र तमलोपाको उपाध्यक्ष बनेर क्षेत्रीय राजनीतिमा उदाएका उनी पुनः राष्ट्रिय राजनीतिमा पदार्पण गर्न लागिपरेका छन्।
तीन दशकसम्म क्षेत्रीय राजनीतिमा लागेका उनले मधेश आन्दोलनको अभियन्ता मात्र नभएर ‘आर्किटेक्ट’ भएको बताए। जुन वेला मानिसहरू मास्टरी, ठेकेदारी या अरू पेशामा थिए, त्यो वेला आफूले ‘मधेश मुभमेन्ट’ को सैद्धान्तिक बहस थालनी गरेको उनको भनाइ थियो।
मधेशका मुद्दालाई सिङ्गो देशको सवाल नबनाएसम्म समस्या समाधान नहुने उनको निष्कर्ष छ। “हामी मधेशको सवाल देशको सवाल बन्न नसक्नुको ग्याप मेटाउने प्रयत्न गर्न आएका हौं,” नयाँ पार्टी स्थापनाबारे उनले भने, ‘मुस्लिम, आदिवासी/जनजातिको सवाल देशको सवाल हो, जबसम्म यी सवाल देशको सवालका रूपमा प्रस्तुत हुँदैनन्, तबसम्म समस्या समाधान हुँदैन।”
सरकार सञ्चालन गर्न संविधानमा जे त्रुटि र असङ्गति छन्, तिनलाई नै संशोधन गर्नुपर्छ भन्ने मान्यता राखेर अगाडि बढेको त्रिपाठीको भनाइ छ। उनले एक उदाहरण दिंदै भने, “सर्वोच्च अदालतले संसद्को पुन:स्थापना गर्दा सबैले मानेका थिए, तर फलानालाई यति घण्टामा नै प्रधानमन्त्री बनाउनु भनेर अदालतले आदेश दिनु संविधान संशोधन हो कि होइन, अदालतको उक्त कदम प्रतिनिधि सभाको अधिकारको नग्न उल्लङ्घन हो कि होइन?”
संविधानमा भए पनि संघीयतालाई सार्थक बनाउन नसकिएको उनको टिप्पणी छ। त्रिपाठीको विचारमा भौगोलिक पुनर्संरचना गरेको तर राज्यको पुन:संरचना नगर्दा संघीयताले सोचे जस्तो परिणाम दिन सकेको छैन। जनता प्रगतिशील पार्टीको मूल वर्ग किसान भएको त्रिपाठीको भनाइ छ।
घोषणा कार्यक्रममा उनले रेशम चौधरीको विषयमा बोल्न छुटाएनन्। टीकापुर घटनास्थलमा उपस्थित नै नरहेका चौधरी हालसम्म जेलमा रहनु विडम्बना भएको उनको भनाइ छ।
जन्मेको आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गरिसकेका नेपाली नागरिकका सन्तानले नागरिकता पाउन नसक्नुमा कानूनी अड्चन रहेको उनले बताए। “संविधानमा उल्लेख भएको आमाको नाममा नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने कानूनको अभावले यो पनि कार्यान्वयन हुन सकेको छैन, यो विषयको समाधान हुन आवश्यक छ,” त्रिपाठीले भने।
अहिलेका राजनीतिक दलले जनताको हितका लागि निर्णय गर्न नसकेको उनकाे जिकिर थियो। त्यसैले जनता आजित भएकाले त्यसलाई सम्बोधन गर्न आफ्नो पार्टीले प्रयत्न गर्ने उनको भनाइ छ। “हामी पनि खराबहरू नै हौं, तर विडम्बना के छ भने हामीभन्दा पनि खराबहरू धेरै भएर जनताले दु:ख पाइरहेका छन्,” त्रिपाठीले भने।
त्रिपाठीको पार्टी घोषणा कार्यक्रममा पूर्व सभामुख दमनाथ ढुंगाना, पूर्व अर्थसचिव रामेश्वर खनाल तथा विश्लेषक तुलानारायण साह लगायत उपस्थित थिए। आफूहरू त्रिपाठीलाई शुभकामना दिन आएको उनीहरूले बताए।
२०४८ देखि २०५१ सालसम्म आफू सभामुख हुँदा त्रिपाठी जस्तो निडर र जनताको आवाज संसद्मा बोल्ने अरू कोही सांसद नभएको ढुंगानाले स्मरण गरे। त्रिपाठीलाई अरू पार्टीका कमीकमजोरी हेरेर आफ्नो पार्टी सुधार गर्न राम्रो अवसर भएको बताउँदै ढुंगानाले भने, “अहिले जनताले विकल्प खोजिरहेका छन्, यो पार्टी विकल्प हुन सक्छ।”
त्रिपाठी सभापति देशको सार्वजनिक लेखा समितिलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन काम गरेको पूर्व अर्थसचिव खनालले बताए। पछिल्लो समय स्वास्थ्यमन्त्री हुँदा खोप खरीदमा ‘ब्रेक थ्रू’ गरेको स्मरण गर्दै आफ्नो भूमिकामा त्रिपाठी जहिल्यै पनि खरो उत्रने खनालको भनाइ थियो।
क्षेत्रीय राजनीतिबाट राष्ट्रिय राजनीतिमा आउन हिम्मत गरेको भन्दै खनालले त्यसमा सफल हुन त्रिपाठीसँग नैतिक बल समेत भएको बताए।
नेपालको सीमान्तकृत आन्दोलनमा अहं भूमिका निभाउनेमध्ये त्रिपाठीलाई प्रमुख मान्छन्, राजनीतिक विश्लेषक तुलानारायण साह। काठमाडौं उपत्यकामा सीमान्तकृत समुदायलाई यो अवस्थामा ल्याउन त्रिपाठीले जीवनभर लडेको उनको भनाइ छ। साहका अनुसार, राष्ट्रिय पार्टीमा भएका सीमान्तकृत समुदायका मानिस कहिले राष्ट्रले स्विकार्ने नेता हुने र क्षेत्रीय पार्टी कहिले राष्ट्रिय पार्टी बन्ने प्रश्न रहिरहेको वेला त्रिपाठीले साहसी कदम उठाएका हुन्।