नेपालमा भेटियो ओमिक्रोन: बुस्टर डोज पहिला कि सबैलाई पूर्ण खोप?
‘बुस्टर डोज’को बहस शुरू भएसँगै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ। अब ‘बुस्टर डोज’ दिने कि सबै नागरिकलाई पूर्ण खोप दिने विज्ञहरू अध्ययन गरेर मात्रै निर्णयमा पुग्नुपर्ने बताउँछन्।
भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट भेटिएको चार दिनपछि नेपालमा पनि ओमिक्रोनको सङ्क्रमण देखिएको छ। नेपालमा एक जना विदेशी र एक जना नेपालीमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको हो।
यसअघि भारतमा डेल्टा भेरियन्ट भेटिएको ४६ दिनपछि नेपालमा पनि देखिएको थियो। यो तथ्यले डेल्टाभन्दा छिटो गतिमा ओमिक्रोन फैलंदै गरेको पुष्टि हुने जनस्वास्थ्यविद्हरू बताउँछन्। ओमिक्रोन भाइरस छिटो विस्तार हुने भएकाले सरकार र नागरिक दुवैले पहिलेभन्दा धेरै सचेत भएर महामारी नियन्त्रणको काम गर्नुपर्ने उनीहरूको भनाइ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, नेपालमा ओमिक्रोन भेटिएका दुवै जनाले कोरोना विरुद्धको खोप लगाएका थिए। उनीहरूले नेपाल आउँदा पनि पीसीआर नेगेटिभ आएको रिपोर्ट बुझाएका थिए।
नेपालमा भेटिएको ओमिक्रोनको पहिलो दुई केसले कोरोना विरुद्धको खोप लगाइसकेका या कोरोना भएर एन्टिबडी बनिसकेका व्यक्ति पनि सङ्क्रमणको जोखिममा रहेको बुझाउने सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। ओमिक्रोन फैलिएको अन्य मुलुकमा यसअघि नै कोरोना विरुद्धको खोप लगाइसकेका तथा कोभिड-१९ एन्टिबडी भएका नागरिकमा पनि सङ्क्रमण देखिएको छ।
यो तथ्यले खोपको एन्टिबडी लामो समयसम्म नरहेको अथवा ओमिक्रोन भेरियन्ट विरुद्ध खोपले काम नगरेको बुझ्नुपर्ने डा. पुनको भनाइ छ। “यो भेरियन्ट कति घातक हो? खोप या कोरोना विरुद्धको एन्टिबडीले काम गर्छ/गर्दैन् भन्ने धेरै तथ्यहरू बाहिर आइसकेका छैनन्, तर सतर्क हुनु जरुरी छ,” उनी भन्छन्।
‘बुस्टर डोज’ को बहस
स्वास्थ्य अनुसन्धान परिषद्ले २२ असोज २०७८ मा नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाएका तथा नलगाएका व्यक्तिमा एन्टिबडीको अध्ययन गरेको थियो। अध्ययनमा कोभिशिल्ड, भेरोसेल र अन्य खोप लगाएका व्यक्ति सहभागी थिए।
अध्ययनले दुवै मात्रा खोप लगाएका ८२ प्रतिशत र एक मात्रा लगाएका ५५ प्रतिशत व्यक्तिमा एन्टिबडी रहेको देखाएको थियो। खोप लगाइसकेको व्यक्तिमा एन्टिबडी क्रमश: घट्दै गएको निष्कर्ष आएपछि ‘बुस्टर डोज’ को बहस शुरू भएको हो।
डा. पुनका अनुसार, खोपको पूर्ण मात्रा पूरा गरिसकेका व्यक्तिमा समय बित्दै जाँदा खोपको रोग प्रतिरोधात्मक क्षमतामा पनि क्रमशः ह्रास हुँदै गएर फेरि खोपको आवश्यकता पर्न सक्ने हुन्छ, जसलाई ‘बुस्टर डोज’ दिने भनिन्छ।
अमेरिकाको औषधि सम्बन्धी नियमन निकाय ‘फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडीए)ले १९ नोमेम्बर २०२१ मा कोभिड–१९ को ‘बुस्टर डोज’ सबै उमेरकालाई दिन सक्ने सिफारिश गरेको छ। एफडीएका अनुसार, ‘बुस्टर डोज’ लगाएको २९ दिनपछि कोभिड–१९ विरुद्धको ‘एन्टिबडी बुस्ट’ हुने भनिएको छ।
विश्व स्वास्थ्य सङ्गठनको विज्ञ टोलीको अक्टोबर २०२१ मा बसेको बैठकले सिनोफर्मा तथा भेरोसेलका खोपको ‘थप डोज’ अर्थात् तेस्रो डोज ६० वर्षमाथिका व्यक्तिलाई दिन सक्ने निर्णय गरेको थियो। तर, समुदायका अधिकतम व्यक्तिले खोप लगाएपछि मात्र ‘बुस्टर डोज’ दिन शुरू गर्न भनेको थियो।
चीन, सिंगापुर, यूएई लगायत देशले भेरोसेल खोप लगाएका व्यक्तिलाई ‘बुस्टर डोज’ दिन शुरू गरिसकेका छन्। बेलायतले पनि कोभिशिल्ड/अस्ट्राजेनेका लगाएका व्यक्तिलाई ‘बुस्टर डोज’ लगाउन प्रस्ताव गरिसकेको छ। नेपालमा २० मंसीरसम्मको तथ्याङ्क अनुसार, पहिलो डोज लगाउने ३४.१ प्रतिशत छन् भने पूर्ण खोप लगाउने २८.६ प्रतिशत छन्। अहिले ५२ लाख डोज खोप मौज्दात रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
६५ प्रतिशतभन्दा बढीले खोपको पहिलो डोज नै नपाएकाे अवस्थामा ‘बुस्टर डोज’ को बहस शुरू भएको छ। दुई साताअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सीसीएमसीको बैठकमा ‘बुस्टर डोज’ काे प्रस्ताव लगेका थिए। निजी क्षेत्रलाई खोप ल्याउन दिएर ‘बुस्टर डोज’ आवश्यकता पर्नेहरूले खरीद गरेर लगाउन सक्ने स्वास्थ्यमन्त्री खतिवडाको प्रस्ताव थियो।
तर, प्रधानमन्त्री शेरबहादुर देउवाले विज्ञहरूसँग छलफल गरेर मात्रै निर्णय गर्नुपर्ने बताएपछि स्वास्थ्यमन्त्री खतिवडाको प्रस्ताव पारित हुन सकेन। “बुस्टर डोजको विषयमा स्वास्थ्यन्त्रीबाट प्रस्ताव आएपछि प्रधानमन्त्रीले निजी क्षेत्रलाई खोप ल्याउन दिएर किनबेच गर्नेभन्दा सरकारले नै ‘बुस्टर डोज’ का लागि विज्ञहरूसँग छलफल गरेर उचित निर्णय गर्नुपर्छ भन्नुभयो,” बैठकमा सहभागी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले हिमालखबरसँग भने।
१९ मंसीरमा बसेकाे संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्यमन्त्री खतिवडाले ‘बुस्टर डोज’ दिने सम्बन्धमा छलफल भइरहेको बताए। उनले ‘बुस्टर डोज’ दिने सन्दर्भमा प्रधानमन्त्री देउवाले निर्देशन दिइसकेको बताए पनि मापदण्ड भने नबनेको सुनाए। उनका अनुसार, आगामी मन्त्रिपरिषद्ले यसबारे निर्णय गर्ने तयारी छ।
जनस्वास्थ्यविद्हरू भने अहिले ‘बुस्टर डोज’भन्दा एक डोज पनि खोप नपाएका नागरिकलाई खोपको प्राथमिकतामा राख्नुपर्ने बताउँछन्। जनस्वास्थ्यविद डा. शरद वन्त पर्याप्त खोप उपलब्ध भएको अवस्थामा मात्रै ‘बुस्टर डोज’ दिन सकिने बताउँछन्। खोप लगाउन बाँकी धेरै मानिसहरू हुँदाहुँदै लगाइसकेका मानिसलाई फेरि खोप दिनु समानता र न्यायको दृष्टिकोणले सही नभएको उनको भनाइ छ।
सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी समग्र महामारी नियन्त्रणका लागि खोप लगाएका भन्दा नलगाएका मानिसलाई खोप दिनु प्रभावकारी हुने बताउँछन्। तर, लामो समयसम्म राज्यले पर्याप्त खोप उपलब्ध गराउन सक्दैन भने जोखिम समूहमा रहेका दीर्घरोगी, ज्येष्ठ नागरिक र फ्रन्टलाइनरलाई ‘बुस्टर डोज’ नलगाउनु भन्न नमिल्ने उनको भनाइ छ।
उनका अनुसार, खोप लगाएको मानिस पनि उच्च जोखिम समूहमा छ भने त्यस्ता मानिसलाई ‘बुस्टर डोज’ दिनुपर्छ। उनीहरूलाई लगाइसकेपछि बचेको खोप उच्च जोखिममा भएका व्यक्तिहरूलाई दिनुपर्छ। “ओमिक्रोन नआउँदै पनि डेल्टा भेरियन्टको सङ्क्रमण भएकाले फ्रन्टलाइनर जोखिममै थिए, किनकि पहिले लगाएको खोपको एन्टिबडी घट्दै गएको थियो,” डा. सुवेदी भन्छन्, “फ्रन्टलाइनरको मनोबल बढाउन पनि ‘बुस्टर डोज’ दिनु आवश्यक छ, किनकि भोलि खराब दिन आए उपचार गर्ने जनशक्तिको अभाव हुन सक्छ।”
अन्य देशको उदारण हेर्ने हो भने नेपालमा पनि खोप लगाएका सबै उमेर समूहका मानिसलाई ‘बुस्टर डोज’ दिन आवश्यक भइसकेको छ। खोप उपलब्ध गराउन सके सबै उमेर समूहलाई ‘बुस्टर डोज’ दिन सकिने भाइरोलोजिस्ट डा. सुदीप खड्का बताउँछन्। अहिलेको अवस्थामा जोखिम समूह र आवश्यकता हेरेर एउटा निश्चित मापदण्ड बनाएर ‘बुस्टर डोज’ दिनुपर्ने डा. खड्काको भनाइ छ। “बुस्टर डोज दिने वेला भइसकेको सत्य हो, तर उपलब्ध खोपको आधारमा विज्ञहरूले मापदण्ड बनाएर मात्रै दिनुपर्छ,” डा. खड्का भन्छन्।
महामारीविज्ञ डा. केदार बराल अहिले ‘बुस्टर डोज’ को बहस सार्थक नभएको बताउँछन्। धेरै नागरिकले खोप नपाइरहेको अवस्थामा ‘बुस्टर डोज’ को विषयमा बहस गर्नु व्यर्थ हुने उनको भनाइ छ। उनका अनुसार, डेल्टा भेरियन्ट समुदायमै रहेको र ओमिक्रोन भेरियन्ट नेपाल छिरेकाले खोप लगाएका भन्दा नलगाएका मानिसलाई धेरै नै खतरा छ।
अहिले खोप लगाउने दर बढाउन सरकारले कदम चाल्नुपर्ने उनको भनाइ छ। “अहिले खोप नलगाउने कारण पहिचान गरेर चेतना फैलाउनुपर्छ। खोप लगाएकाहरूलाई ‘बुस्टर डोज’ दिनेभन्दा नलगाएका व्यक्तिलाई खोप लगाउने काम महामारी नियन्त्रणमा प्रभावकारी हुन्छ,” डा. बराल भन्छन्।
‘बुस्टर डोज’ को सन्दर्भमा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको तर्क भने फरक छ। कोरोनाका बिरामी हेर्ने फ्रन्टलाइनर र जोखिम उमेर समूहका मानिसलाई ‘बुस्टर डोज’ दिन आवश्यक रहेको उनको भनाइ छ। डा. पुनका अनुसार, ‘बुस्टर डोज’ का लागि छुट्टै मापदण्ड बनाएर लगाउन सके खोप नलगाएका व्यक्तिलाई अन्याय नहुने उनको तर्क छ। “कोरोना सङ्क्रमण बढ्दै गयो भने सङ्क्रमितको उपचार गर्ने फ्रन्टलाइनर जोखिममा हुन्छन् र उपचार गर्ने जनशक्तिको अभाव हुन सक्छ,” डा. पुन थप्छन्, “त्यसै गरी जोखिम समूहमा रहेका व्यक्तिलाई ‘बुस्टर डोज’ दिइएन भने उनीहरूलाई बचाउन गाह्रो हुन्छ।”
स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको कोरोना एन्टिबडीको अध्ययनमा संलग्न एक अधिकारीका अनुसार, नेपालमा प्रयोग भएका केही भ्याक्सिनको गुणस्तर र प्रभावकारिता कम देखिएको छ। उनका अनुसार, भेरोसेल खोपको प्रभावकारिता अन्य भ्याक्सिनको तुलनामा कम देखिएको थियो।
सरकारले ‘बुस्टर डोज’ दिने निर्णय गर्यो भने कोरोनाको डेल्टा भेरियन्टमा प्रभावकारी देखिएको भ्याक्सिन छान्नुपर्ने उनको भनाइ छ। “बुस्टर डोज दिने भनेर भेरोसेल भ्याक्सिन छानियो भने त्यो प्रभावकारी हुन्न, त्यसैले डेल्टा भेरियन्टमा भ्याक्सिनको प्रभावकारिता अध्ययन नगरीकन ‘बुस्टर डोज’ का लागि कुनै पनि भ्याक्सिन छान्नु हतार हुन्छ,” उनी भन्छन्।
परिषद्को अध्ययनमा रहेका १ हजार ४४८ सहभागीमध्ये कोभिशिल्ड लगाउने ८५.२ प्रतिशत थिए भने भेरोसेल लगाउने १४.५ प्रतिशत थिए।