कोरोनाको नयाँ भेरियन्ट : नडराऔं, तर पहिलाको गल्ती नदोहोर्याऔं
संसारका १२ देशमा काेराेनाभाइरसको नयाँ भेरियन्ट फैलिसकेकाले नेपालमा पनि सतर्क हुनुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन्।
कोभिड १९ भाइरसको डेल्टा भेरियन्टको क्षति बिर्सन नपाउँदै दक्षिण अफ्रिकामा भाइरसको म्युटेशन भएर बी.१.१.५२९ को नयाँ भेरियन्ट देखियो। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले २६ नोभेम्बरमा उक्त म्युटेशनको नाम ओमिक्रोन राख्दै भेरियन्ट अफ कन्सर्न घोषणा गर्यो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ मंसीरमा प्रेस विज्ञप्ति जारी गर्दै यसबाट आम नागरिकलाई विदेश भ्रमण नगर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ। विश्वभर १२ वटा देशमा यो भेरियन्ट फैलिसकेकाले नेपालमा पनि सतर्क हुनुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन्।
डेल्टा भेरियन्टको क्षति नजिकबाट देखेका जनस्वास्थ्य वैज्ञानिकहरू नयाँ भेरियन्टसँग सतर्क हुनुपर्ने बताउँछन्। तर, हालसम्म उक्त भेरियन्टको सङ्क्रमण विस्तार गर्ने क्षमता, कोभिड-१९ विरुद्धको एन्टीबडी भएकाहरूमा सङ्क्रमण हुन सक्ने सम्भाव्यता र क्षति विषयमा धेरै कुरा बाहिर आइसकेको छैन।
डेल्टाभन्दा ओमिक्रोन के फरक छ?
डेल्टामा भन्दा ओमिक्रोनमा अत्यन्तै धेरै म्युटेशन देखिएको भाइरोलोजिस्ट डा. सुदीप खड्का बताउँछन्। भाइरसको स्पाइक प्रोटिनमा डेल्टा र अल्फा भेरियन्टमा देखिएकासँगै थप नयाँ म्युटेशन देखिएको कारणले गर्दा सङ्क्रमणदर बढ्ने र कोभिड-१९ विरुद्धको एन्टीबडीले काम नगर्ने हो कि भन्ने शङ्का रहेको उनको भनाइ छ। “धेरै तथ्यहरू अहिले सार्वजनिक भइसकेका छैनन्, तर केही कारण छन् जसले गर्दा डर भने बढाउँछ,” डा.खड्का भन्छन्।
उनका अनुसार, पुरानो भेरियन्ट हराएर नयाँ भेरियन्ट धेरै देखिनु भनेको सामान्यतया भाइरस धेरै सङ्क्रामक र पुरानो एन्टीबडीले काम नगर्ने अवस्थामा पुगेको हो। यसअघि डेल्टा भेरियन्टको प्रकोप भएका ठाउँमा अहिले ओमिक्रोन भेरियन्ट फैलिंदै गएको हुँदा डेल्टाभन्दा यो अझै सङ्क्रामक हो कि भन्ने शङ्का गर्न सकिने डा. खड्का बताउँछन्।
कुनै पनि सङ्क्रमण बढ्नुमा भाइरसको विस्तार गर्न सक्ने क्षमता र समुदायमा पालना गरिने जनस्वास्थ्यको मापदण्ड दुवैको भूमिका उत्तिकै हुन्छ। सोही कारण ओमिक्रोन भाइरसका विषयमा तत्काल धेरै बोल्न नसकिने उनको भनाइ छ। “अहिले हामी डराउनेभन्दा पनि सङ्क्रमितको सङ्ख्या नबढेसम्म केही नगर्ने गल्ती गर्न हुँदैन,” डा. खड्का भन्छन्।
महामारी विज्ञ डा. केदार बराल ओमिक्रोन भाइरसले डेल्टा भेरियन्टको शुरूआती चरण सम्झाएको बताउँछन्। सोही कारण आम नागरिक र सरकारले डेल्टा भेरियन्टको शुरूआती चरणमा झैं गल्ती दोहोर्याउनु नहुने उनको भनाइ छ। “समुदायबाट छिटोभन्दा छिटो भाइरसलाई निर्मूल नपारुन्जेल नयाँ नयाँ भेरियन्टहरू आइरहन्छन्,” उनी भन्छन्, ‘यो भेरियन्टको विषयमा विस्तृत जानकारी त आइसकेको छैन्, तर डेल्टा जस्तै घातक भयो भने पहिलाको गल्ती दोहोर्याउनुहुन्न।”
डेल्टा भेरियन्ट उत्कर्षमा पुग्नुअघि समुदायमा सुषुप्त रूपमा सङ्क्रमण थियो। तर, समुदायमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नेदेखि सरकारी संयन्त्रले गर्नुपर्ने पर्याप्त परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र सङ्क्रमित आइसोलेशनमा भए/नभएको अनुगमन गरेन।
भारतमा दोस्रो लहर शुरू भएको सङ्केत मिल्नासाथ नेपालले रोकथामका लागि द्रुत गतिमा काम गरेन। सीमा नाकामा कडा निगरानी र परीक्षण गरेर मात्र आउन दिने जस्ता बन्दोबस्त नगरेको कारण डेल्टा भेरियन्टले नेपालमा धेरै क्षति गराएको जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन्। अहिले ओमिक्रोन भेरियन्टको सन्दर्भमा ठीक त्यही गल्ती दोहोर्याउनु नहुने उनको भनाइ छ।
डा. वन्तका अनुसार, भाइरस फैलन थालेपछि नियन्त्रण गर्न गाह्रो हुन्छ, नेपालमा अझै पनि समुदायमा सङ्क्रमितहरू भएकाले यहीबाट नयाँ म्युटेशन भएर नयाँ भेरियन्ट फैलिन सक्छ। “रूप परिवर्तन गरिरहनु भाइरसको प्रकृति नै हो, तर सबै म्युटेशन खतरनाक भने हुँदैन। त्यसैले डराउनेभन्दा सतर्क रहेर त्यस विरुद्ध लड्न पूर्व तयारी गर्नुपर्छ,” उनी भन्छन्।
नेपाल छिर्ने सम्भावना के छ?
स्वास्थ्य मन्त्रालयले नेपालमा ओमिक्रोन भेरियन्ट हालसम्म नभेटिएको जनाएको छ। दक्षिण अफ्रिकी मुलुकहरूसँग नेपालको सोझो सम्पर्क तथा सामाजिक आर्थिक सम्बन्ध खासै नभएको हुनाले सोझै छिर्ने सम्भावना नभएको जनस्वास्थ्य विज्ञहरू बताउँछन्। तर, विश्वका अन्य शहरमा फैलिंदै गर्दा यो भाइरस त्यताबाट छिर्ने सम्भावना भने प्रबल रहेको उनीहरूको भनाइ छ।
नेपालमा कोरोनाभाइरसको सङ्क्रमणले कस्तो रूप लिन्छ भन्ने आकलन गर्न भारतमा सङ्क्रमणको अवस्था पनि हेर्नुपर्ने हुन्छ। यसअघि भारतमा डेल्टा भेरियन्ट भेटिएको ४६ दिनपछि नेपालमा पनि भेटिएको थियो। भारतको दक्षिण अफ्रिकी मुलुकहरूसँग गहिरो सम्पर्क भएकाले भारत हुँदै नेपाल भित्रिने सम्भावनालाई कम आँक्न नहुने महामारी विज्ञ डा. बराल बताउँछन्।
उनका अनुसार, कोभिड-१९ विरुद्धको पूरा डोज खोप लगाएका र कोरोना लागेर पनि निको भइसकेका व्यक्तिमा पनि सङ्क्रमण भएको खबर आएकाले नेपालमा यो छिर्नुअघि नै सतर्क हुनुपर्छ। हवाई तथा सीमा नाकाबाट आउनेका लागि क्वारेन्टाइन, परीक्षण र आइसोलेशनको काम गर्न अब ढिलो गर्नु नहुने उनको भनाइ छ। “अहिले नै उच्च सतर्कता अपनाएर सङ्क्रमण छिर्नबाट रोक्न सकिएन भने पछि एकै पटक धेरै सङ्क्रमण फैलिएर स्वास्थ्य प्रणालीले धान्न नसक्ने अवस्था हुन सक्छ,” उनी भन्छन्।
ओमिक्रोन भेरियन्ट बढी सङ्क्रमणशील भए पनि घातक भए/नभएको यकिन भइसकेको छैन। भाइरसले गराउने क्षति कस्तो हुन्छ भन्ने कुरा भाइरस विरुद्ध कस्तो तयारी गरिएको छ भन्ने महत्त्वपूर्ण हुन्छ। मृत्युदरको हिसाबले कम प्राणघातक भाइरस पनि बढी संक्रमणशील छ भने धेरै मान्छेमा संक्रमण गराउने सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी बताउँछन्। यसरी धेरैमा संक्रमण फैलिए कम प्रतिशतको मृत्यु हुँदा पनि धेरैको ज्यान जाने उनको भनाइ छ।
दक्षिण अफ्रिकाबाट अन्य देशमा फैलिएकाले नेपालमा छिर्ने सम्भावना उत्तिकै रहेको उनको भनाइ छ। सोही कारण भाइरस छिर्नुअघि नै धेरै फैलिन नदिन तयारी गर्नुपर्ने उनी बताउँछन्। “मृत्युदर कम भए पनि एकैपटक धेरै मानिसमा फैलियो भने अस्पतालमा बेड नपुग्ने, अक्सिजन नपुग्ने र बन्दाबन्दी नै गर्नुपर्ने अवस्था आउन सक्छ। त्यसैले नै अहिलेदेखि नै पहिलाको गल्तीबाट पाठ सिक्दै धेरै नै तयारी गर्नुपर्छ,” उनी भन्छन्।
सरकारले तत्काल के कदम चाल्नुपर्छ?
भविष्यमा बन्दाबन्दी गर्ने अवस्था आउन नदिने हो भने अहिले मुख्यगरी हवाई र सीमा नाकामा कडाइ गर्नुपर्ने डा. सुवेदी बताउँछन्। एकैपटक सङ्क्रमण धेरै देखिने सम्भावनालाई रोक्न जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने उनको भनाइ छ।
उनका अनुसार, अब विशेषगरी फ्रन्टलाइनरलाई बुस्टर डोज खोप दिनुपर्छ, किनकि सङ्क्रमण बढ्यो भने उपचार गराउने जनशक्ति महत्त्वपूर्ण हुन्छ। “सीमा नाकाबाट आउने र हवाई नाकाबाट आउने मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखेर पीसीआर गरेर मात्र छाड्ने हो भने धेरै हदसम्म महामारी नियन्त्रण गर्न सकिन्छ,” डा. सुवेदी भन्छन्।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार, हालसम्म ३३ प्रतिशत मानिसले पहिलो डोज खोप लगाएका छन् भने पूर्ण मात्रा खोप पाउने २८ प्रतिशत छन्। यही अवस्थामा नयाँ भेरियन्ट आयो भने त्यसले गराउने क्षति धेरै हुने भएकाले खोपको कभरेज बढाउनुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन्।
महामारी विज्ञ डा. बराल अक्सिजन, औषधि, स्वास्थ्यकर्मीको लागि सुरक्षाकवच र पीसीआर किट लगायत सामान्य आवश्यकताको जोहो गर्नुपर्ने बताउँछन्। सङ्क्रमण फैलिइसकेपछि तयारी गर्दा ढिलो हुने हुनाले अहिलेदेखि नै यस्ता कुरामा ध्यान दिनुपर्ने उनको भनाइ छ। “यसअघि सङ्क्रमण फैलिनुअघि यस्ता तयारी नगर्दा ठूलो क्षति भएको थियो। अहिले त्यो गल्ती दोहोर्याउनुहुन्न,” उनी भन्छन्।
संसारभरि नै कोरोना विरुद्धको उपचार पद्धतिमा एकरूपता ल्याउन डब्लुएचो, अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) लगायत संस्थाले उपचार निर्देशिका निकाल्ने गर्छन्। त्यसलाई आधार मानेर मेडिकल काउन्सिलले स्वास्थ्यकर्मीलाई सुसूचित गर्न र त्यही अनुरूप औषधिको जोहो गर्न ढिला गर्नु नहुने भाइरोलोजिस्ट डा. खड्का बताउँछन्। “नयाँ नयाँ भेरियन्ट देखिएको वेला परीक्षण बढाउने जिन सिक्विन्सिङ पनि गर्नुपर्छ, जसले गर्दा हाम्रोमा नयाँ भेरियन्ट फैलिएको/नफैलिएको जानकारी हुन्छ,” उनी भन्छन्।