नेपालमा पनि भेटियो ओमिक्रोन
नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ। एक जना विदेशी र एक जना नेपालीमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ओमिक्रोन भेटिएको जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी ओमिक्रोन भेटिएको जानकारी दिएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आएका ६६ वर्षीय विदेशी नागरिकमा ओमिक्रोन भेटिएको छ। उनको सम्पर्कमा आएका ७१ वर्षीय नेपालीमा पनि ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।
दुवै जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका थिए। उनीहरू नेपाल आउँदा पनि पीसीआर रिपोर्ट बुझाएका थिए।
दुवै जनाको जीन सिक्वेन्सिङ गर्दा १९ मंसीरमा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको डा.अधिकारीले जानकारी दिए। विदेशी नागरिक ओमिक्रोन सङ्क्रमण भएको मुलुकबाट ३ मंसीरमा नेपाल आएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर नेगेटिभ भएको रिपोर्ट बुझाएका थिए भने पूर्ण खोप लगाएको पाइएको थियो।
उनको सम्पर्कमा आएका नेपाली नागरिकमा कोरोनाको लक्षण देखिएपछि ७ मंसीरमा पीसीआर परीक्षण गरिएको थियो। त्यसमा कोरोना सङ्क्रमण देखिएको थियो।
त्यसपछि दुवै जनाको ‘एस-जीन’ परीक्षण गर्दा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको डा.अधिकारीले जानकारी दिए। “नेपालमा ओमिक्रोन पुष्टि भएको पहिलो पटक हो,” डा.अधिकारीले भने, “दुवै जना आइसोलेशनमा हुनुहुन्छ। थप कुनै लक्षण देखिएको छैन, स्वास्थ्यकर्मीको निगरानीमा हुनुहुन्छ।”
दुवै जनाको सम्पर्कमा आएका ६६ जनाको पनि पीसीआर परीक्षण गरिएको छ। उनीहरू कसैमा पनि ओमिक्रोन नदेखिएको डा.अधिकारीले बताए। उनीहरूमा सङ्क्रमण नदेखिए पनि ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिङको कामलाई थप प्रभावकारी बनाइएको उनको भनाइ छ।
भारतमा ओमिक्रोनको सङ्क्रमण भेटिएको चार दिनपछि नेपालमा पनि पुष्टि भएको हो। अहिले भारतमा १२ जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि भइसकेको छ।
अहिलेसम्म संसारका ३५ देशमा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ। यो दुई साताअघि पहिलो पटक दक्षिण अफ्रिकामा पुष्टि भएको थियो।
ओमिक्रोनबारे विस्तृत रिपोर्ट :