४० दिनपछि इजलासमा फर्किए सर्वोच्चका सबै न्यायाधीश
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध उत्रिएका सर्वोच्च अदालतका सबै न्यायाधीशहरू ४० दिनपछि इजलासमा फर्किएका छन्।
शुक्रबार सर्वोच्च अदालतमा पेसी तोकिएका सबै इजलासमा सुनुवाइ भएको छ। सबै न्यायाधीश इजलासमा फर्किएका छन् भने आन्दोलनरत कानून व्यवसायीले पनि बहस गरेका छन्।
सर्वोच्च अदालतको दैनिक पेसी सूची अनुसार, शुक्रबार संयुक्त र एकल गरी ११ इजालसमा १३८ मुद्दाको पेसी तोकिएको थियो। त्यसमध्ये १२ मुद्दाको फैसला भएको छ भने २९ मुद्दामा इजलासले आदेश गरेको छ।
त्यस्तै, १९ मुद्दा स्थगित भएका छन् भने ६९ मुद्दा हेर्न समय पुगेन। बाँकी नौ मुद्दा हेर्न नमिल्ने रहेका थिए।
मन्त्रिपरिषद्मा भागबण्डा खोजेको भन्दै ८ कात्तिकदेखि सर्वोच्च अदालतका न्यायाधीश र कानून व्यवसायी विरोधमा उत्रिएका थिए। न्यायाधीशहरूले इजलास बहिष्कार गरेका थिए। उनीहरूले बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका थिएनन्।
नेपाल बार एसोसिएशनको अगुवाइमा कानून व्यवसायीले पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएका थिए। उनीहरूले बेन्च बहिष्कार गरेका थिए।
गोलाप्रथा प्रणालीबाट मुद्दाको पेसी तोकिन थालेपछि न्यायाधीश र कानून व्यवसायी काममा फर्किएका हुन्। १५ मंसीरबाट सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली लागू भएको छ।
कोभिड-१९ सङ्क्रमित भएर अस्पताल भर्ना भएपछि प्रधानन्यायाधीश जबरालाई बिहीबार मात्रै सत्तारूढ गठबन्धनका पाँच दलले बिदामा बस्न सुझाव दिएका थिए। तर, बिहीबार नै डिस्चार्ज भएपछि प्रधानन्यायाधीश जबराले बिदामा बस्न मानेनन्। उनले सरकारी निवासबाटै सर्वोच्चका काम-कारबाही हेरिरहेका छन्।