पैंचो तिर्ने वेला आएको छ भन्नुले देखाउँछ न्याय क्षेत्रमा के भइरहेको छः ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले न्यायालयको हुर्मत लिने काम गरेको बताएका छन्।
दशौं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित ओलीले शुक्रबार केन्द्रीय कार्यालयमा पद बहाली गर्दै गठबन्धन दलहरूको विसङ्गत अवस्थाको प्रतिविम्ब सर्वोच्च अदालतमा देखिएको दाबी गरेका हुन्।
“नेपाल बारले लगाएको गुन बिर्सिदैनौं, अदालतले लगाएको गुन बिर्सिदैनौं, पैंचो तिर्ने वेला आएको छ भन्नुले कानूनीराज के भएको रहेछ भन्ने देखाउँछ,” पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, “एकतिरबाट मात्रै आए पनि हुन्थ्यो, चौतर्फी रूपमा आइरहेको छ।”
ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको ‘हिजो कार्यपालिकामा समस्या देखापर्दा, हामीलाई त्यहाँबाट ठूलो सहयोग प्राप्त पनि भयो’ भनाइतर्फ लक्षित गर्दै यस्तो धारणा राखेका हुन्।
दाहालले गत बुधबार नेपाल बार एसोसिएशनका पदाधिकारीसँग ‘सबैलाई के भन्न चाहन्छु भने हामीले गुन बिर्सियौं कि भन्ने नठानियोस्, तपाईंहरूले लगाएको त्यो गुनको पैंचो हामीले तिर्नुपर्छ’ भनेका थिए।
सत्तारूढ गठबन्धनले गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गरेको ओलीको आरोप छ। कार्यक्रममा उनले भने, “बारमा–सर्वोच्चमा लफडाको स्थिति सिर्जना गरी सकिएछ अब न अगाडि जान सक्ने न पछाडि हट्न सक्ने अवस्थामा पुर्याइएको छ। न त वास्तविक सुधारका लागि सही नीति लिन सक्ने अवस्था नै छ।”
एमालेको १०औं महाधिवेशनले निश्चित समूहको स्वार्थका लागि सर्वोच्च अदालतलाई बन्धक बनाएको निष्कर्ष निकालेको छ।