महाधिवेशनबाट ओली अझ बलिया
चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनले कचल्टिएको वर्तमान राजनीतिमा हस्तक्षेप गर्न सक्ने गरी अध्यक्ष ओलीलाई थप बलियो बनाएको छ।
१०-१४ मंसीरमा चितवनमा सम्पन्न दशौं महाधिवेशनसँगै प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले सङ्गठनभित्रको सङ्क्रमणकाल अन्त्य गरेको छ। यससँगै दलमा देखिएको टुटफुटलाई विगत बनाउँदै सङ्गठित रूपमा आगामी यात्रा तय गर्ने बाटो समेत फराकिलो पारेको छ।
त्यसअघि विधान महाधिवेशन मार्फत नीति, कार्यक्रम र विधान पारित गरेको एमालेले त्यसै अनुरूपको सङ्गठन बनाएर राजनीतिक मैदानमा बलियो खेलाडीका रूपमा प्रस्तुत हुने स्पष्ट सङ्केत दिएको छ। सर्वसम्मति र निर्वाचन दुवैको सम्मिश्रणबाट बनेको १९ पदाधिकारी सहित ३०१ सदस्यीय केन्द्रीय कमिटीले मंसीर २५–२६ मा हुने बैठकबाट सौराहामै संशोधित विधान अनुसार ९९ सदस्यीय पोलिटब्यूरो र ४५ सदस्यीय स्थायी समिति निर्माण गर्दै छ।
प्रचण्ड बहुमत सहित केपी शर्मा ओलीले अध्यक्षका रूपमा आगामी कार्यकाल दोहोर्याउँदै छन्। वरिष्ठ नेताहरूलाई उपाध्यक्ष बनाउँदै ६० वर्ष नपुगेका शंकर पोखरेल महासचिव बनेका छन्। उनका समकालीनहरू उपमहासचिव र सचिव चयन भएका छन्।
केन्द्रीय कमिटीमा झण्डै एक तिहाइ जति २०४६ सालको जनआन्दोलन र त्यसपछि राजनीतिमा लागेकाहरू छन्। यी सबै तथ्यबाट एमालेले महाधिवेशन मार्फत युवा पुस्तालाई समेट्दै आफूलाई पुनर्ताजगी गरेको सन्देश दिएको छ।
नारायणी किनारको मानव सागर
एमालेले महाधिवेशनको उद्घाटन समारोहमा जनपरिचालनलाई पनि उत्तिकै महत्त्व दिएर पाँच लाख कार्यकर्ता, समर्थक र शुभचिन्तक उतार्ने योजना बनाएको थियो। यसै अनुसार देशभरबाट जुटेका एमालेजनको भीडले नारायणी किनारमा निर्मित भव्य मञ्चअघि १५ दिन लगाएर सम्याइएको मैदान मात्र होइन, नारायणघाट, भरतपुर र नवलपुरको गैंडाकोट क्षेत्र पनि भरिभराउ हुन पुग्यो।
जनपरिचालनको नेपाली इतिहासमै अभूतपूर्व यो जमघटको भित्री कथा सतहबाट हेर्दा बुझ्न सकिन्न। जिल्लाको समन्वयमा वडा कमिटीहरूले आर्थिक लगायत सम्पूर्ण व्यवस्थापन गरेको जनपरिचालनको यो अभियानलाई कार्यकर्ता र समर्थकहरूले उत्सवका रूपमा लिएको देखिन्थ्यो। कार्यकर्तालाई खाना खुवाउनेदेखि महाधिवेशनस्थल पुर्याउनेसम्मका काममा वडा कमिटी नै अग्रसर रहे। यसले गर्दा त्यत्रो जनपरिचालनमा एमाले केन्द्रले थोरै मात्र आर्थिक बोझ बोक्न पर्यो।
यो जनपरिचालनले एमाले जनमा पार्टी पहिलेभन्दा बलियो बनेको आत्मविश्वास जगायो। उनीहरूसँगै गाउँ-गाउँ पुग्ने यस्तो सन्देशले एमालेको जनाधार अरू फराकिलो बनाउने लगायत उसलाई धेरै अर्थमा फाइदा पुर्याउने स्पष्ट छ।
महाधिवेशनले एमाले अध्यक्ष ओली कार्यकर्ता पङ्क्ति जत्तिकै समर्थक र शुभचिन्तकमा पनि लोकप्रिय रहेको देखायो। यसले प्रतिपक्षले स्विकार्न नचाहे पनि नेपालको राजनीतिमा ओली अहिले पनि सबैभन्दा लोकप्रिय अनुहार रहेको स्पष्ट सन्देश दिएको छ।
रावल र भुसालको ‘विद्रोह’
दशबुँदे सहमति गरेर माधव नेपाललाई त्याग्दै एमालेमा बसेका उपाध्यक्ष भीम रावल भावी नेतृत्व आफूलाई आउने गरी जिम्मेवारी नपाउँदा असन्तुष्ट बनेको महाधिवेशनमा देखियो। दुई कार्यकाल महासचिव भइसकेका र अनेकौं सङ्कटमा आफूलाई सघाएका ईश्वर पोखरेललाई बेवास्ता गर्दै रावललाई वरिष्ठ उपाध्यक्ष दिनु ओलीका लागि असम्भव थियो।
त्यसैले उनले उपाध्यक्षमै दोहोरिन बन्द सत्रमा रावललाई पटक पटक आग्रह गरे। तर, रावलले अस्वीकार गर्दै अध्यक्षमा उठिछाड्ने अडान राखेपछि अधिवेशन निर्वाचनतर्फ मोडियो। आफ्नै माग अनुसार निर्वाचन प्रक्रियामा गएकाले रावललाई आगामी दिन पार्टी छाड्ने निर्णय गर्न गाह्रो हुने तथा त्यति वेला कार्यकर्ताको निकै सानो पङ्क्तिले मात्र साथ दिने निश्चित छ। बरु, परिणाम स्विकार्दै पार्टीमै बसे समयक्रममा कार्यकर्ताको सहानुभूति कमाउँदै उनी नेतृत्वमा पुनः स्थापित हुन सक्ने सम्भावना रहन्छ।
रावल जसरी नै एमालेमा रहेका भुसाललाई पनि अध्यक्ष ओलीले पदाधिकारीमै व्यवस्थापन गर्न चाहेको बुझिन्थ्यो। तर, शंकर पोखरेललाई प्रतिस्पर्धी मान्दै आएका उनले महासचिवभन्दा माथिल्लो पदमा जाने चाहना राखे। वरिष्ठ नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने ओलीको बाध्यताका कारण त्यो सम्भव नहुने बुझेपछि उनले उपाध्यक्षमा उम्मेदवारी हाले।
सर्वसम्मत सूची प्रस्तुत गर्न अध्यक्ष ओलीलाई अधिकार दिएको महाधिवेशन हलको प्रचण्ड बहुमत हुँदाहुँदै भुसालले उपाध्यक्षमा पाएको ७२५ मत सम्मानजनक मान्नुपर्छ। अहिले एमालेले लिएको कार्यदिशा आफ्नो भएको दाबी गरेका भुसाललाई आफ्ना असहमति राखेरै भए पनि एमालेमै बसिरहने नैतिक बाध्यता छ।
सर्वसम्मतिको लिस्टमा नपरेका भीम आचार्यले भुसालको जस्तो ‘सेलिब्रेटी इमेज’ नभए पनि सचिवमा ७८८ मत पाउनुले उनीप्रति कार्यकर्ताको विश्वास रहेको देखाउँछ। सम्भावना बोकेका नेताहरू गोकर्ण विष्ट र योगेश भट्टराई, पूर्व माओवादी नेताहरू टोपबहादुर रायमाझी र लेखराज भट्ट अनि भूमि व्यवस्थामन्त्री हुँदा चुच्चे नक्सा जारी गर्ने तदारुकता देखाएकी पद्मा अर्याललाई सचिव बनाउनुपर्ने अध्यक्ष ओलीको बाध्यताका कारण आचार्य पदाधिकारी सूचीबाट बाहिरिनुपरे पनि पार्टीमा उनको राजनीतिक सम्भावना बलियो देखिएको छ।
बलियो पूर्व माओवादी सहभागिता
सर्वाेच्च अदालतले नेकपाको दर्ता खारेज गरेर एमाले र माओवादी ब्युँताइदिएपछि पुष्पकमल दाहाल लगायत ठूलो पङ्क्तिले माओवादी जगाए पनि रामबहादुर थापा लगायत एउटा पङ्क्ति एमालेतर्फ लाग्यो। गत ५ पुसमा नेकपा विभाजनपछि ओलीकै पक्षमा रहेको त्यो पङ्क्तिकै कारण एमालेले आफूलाई नेकपाकै निरन्तरताका रूपमा परिभाषित गर्न खोजेको छ।
त्यही कारण पार्टीले पूर्व माओवादीहरूलाई विशेष महत्त्व दिंदै आएको छ। यो महाधिवेशनबाट एमालेको १९ सदस्यीय पदाधिकारीमा त्यो पङ्क्तिले एक उपाध्यक्ष र दुई सचिव सहित समग्र केन्द्रीय कमिटीमा १० प्रतिशत हिस्सा पायो।
एमालेमा रहेका पूर्व माओवादीहरूले आफूले राम्रो स्थान र हैसियत पाए माओवादीबाट एमाले प्रवेश गर्नेहरूको सङ्ख्या बढ्ने तथा त्यसले माओवादी अरू कमजोर र एमाले बलियो हुने तर्क दिंदै आएका छन्। जिल्लाहरूमा एमालेप्रति माओवादी पङ्क्तिमा देखिएको आकर्षणले यो तर्कलाई सही पनि ठहर्याउँछ। ‘एकतामा आएका’ भनेर परिभाषित गरिएका पूर्व माओवादीप्रति एमालेले देखाएको सदाशयले केही महीनापछि हुने प्रदेश तथा जिल्ला अधिवेशनमा पनि त्यो पङ्क्तिले राम्रो हैसियत पाउने देखिन्छ।
पूर्व माओवादी र माधव नेपालतिर नगएका १० बुँदे पक्षधरलाई महत्त्वका साथ समेट्दा महाधिवेशनमा अध्यक्ष ओलीलाई सघाउँदै आएको पक्षले भने अपेक्षा अनुसार सहभागिता भेटेन। कैयौं जिल्लाबाट त पूर्व माओवादी र १० बुँदे पक्षधर भरिंदा ओली पक्षधरको सहभागिता केन्द्रीय कमिटीमा शून्य भएको छ। सङ्कटमा निरन्तर साथ दिंदै आएका उनीहरूलाई यसले केही निराश पारे पनि संस्थापनले जिम्मेवार र फराकिलो हुनुपर्ने भन्दै चित्त बुझाएका छन्।
अबको एमाले
आगामी पाँच वर्षका लागि एकच्छत्र नेतृत्व पाएका अध्यक्ष ओलीले पार्टीलाई कसरी हाँक्छन् भन्ने सङ्केत विगत केही महीनादेखि देखाइरहेका छन्। रावल र भुसालबाट हुन सक्ने आलोचना बाहेक अब एमालेमा उनलाई अवरोध गर्ने कोही छैन। बलियोसँग साथ दिने अनुभवी र युवा जोसमिश्रित केन्द्रीय कमिटी र वडा तहसम्म फैलिएको बलियो सङ्गठन छ।
एउटै निर्देशनमा परिचालित हुन तयार आत्मविश्वासले भरिएको कार्यकर्ता, समर्थक शुभचिन्तकको ठूलो पङ्क्ति छ। त्यसकारण, आगामी दिनमा एमालेले जनपरिचालनका अनेकौं कार्यक्रमहरू सञ्चालन गर्ने निश्चित छ।
ओलीले सङ्केत गरे अनुसार बलियो एमालेले आगामी दिनमा केन्द्रीय राजनीतिलाई आफू अनुकूल बनाउन गठबन्धनभित्र खेल्न पनि प्रयत्न गर्नेछ। उता, गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस अहिले आफ्नो महाधिवेशनमा व्यस्त छ। तर, अधिवेशनले जस्तो नेतृत्व चयन गरे पनि बलियो एमालेको सामना गर्न उसलाई कुनै न कुनै प्रकारको गठबन्धनमा रहनैपर्ने बाध्यता छ। यस्तोमा वर्तमान सत्तारूढ गठबन्धनको भविष्यबारे अनुमान गर्नु अहिले हतारो हुनेछ।
एउटा कुरा चाहिं किटेरै भन्न सकिन्छ- आगामी केही वर्षको राजनीति फेरि पनि एमाले अध्यक्ष ओलीकै वरिपरि घुम्नेछ।
(देवकोटा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा महाधिवेशन प्रतिनिधि हुन्।)