एमालेमा शंकर पोखरेलको फड्को
राष्ट्रिय राजनीतिमा खेलेको भूमिका र ओलीको विश्वासपात्र भएका कारण ‘सिनियर’हरूलाई पछि पार्दै पार्टीको निर्विरोध महासचिव बनेका शंकर पोखरेलसामु एमालेविरुद्ध अन्य दलको गठबन्धन सामना गर्दै पार्टीलाई एक बनाएर अघि बढाउनुपर्ने चुनौती छ ।
२०७४ सालको आम निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गठबन्धन हुँदा उम्मेदवार छनोटको विषय निकै पेचिलो बन्यो । दाङको निर्वाचन क्षेत्र नम्बर २ मा दुवै पार्टीका दुई हस्ती आकांक्षी थिए– एमालेका तत्कालीन स्थायी कमिटी सदस्य शंकर पोखरेल र माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा। दुवै पार्टीलाई यी नेताको समीकरण मिलाउनु सजिलो थिएन ।
यसैबीच एमालेभित्र एउटा यस्तो पङ्क्ति थियो जो पोखरेललाई आफ्नो प्रतिस्पर्धी ठान्थ्यो र उनलाई केन्द्रीय राजनीतिबाट खुम्च्याएर प्रदेशमा सीमित गर्न चाहन्थ्यो। उक्त समूह महरालाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने लबिइङमा जुट्यो।
अर्कातिर चुनावी गठबन्धनको व्यवस्थापन नगरी नहुने बाध्यताका कारण पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पोखरेललाई प्रदेशसभामा पठाउने निर्क्योलमा पुगे।
पोखरेल प्रदेशसभामा जानु धेरैको बुझाइमा राजनीतिबाट तल्लो तहमा झर्नु थियो। प्रदेशसभामा जितेर उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बने। त्यसपछिका साढे तीन वर्षमा पनि उनी पार्टीभित्रका प्रतिस्पर्धीहरूले सोचेजस्तो राष्ट्रिय राजनीतिबाट ओझेल परेनन्।
पार्टीका तर्फबाट राष्ट्रिय राजनीतिमा उत्तिकै दखल राख्दै आएका उनी दशौं महाधिवेशनबाट एमालेमा अध्यक्षपछिको सबैभन्दा शक्तिशाली महासचिव पदमा निर्विरोध भएका छन्।
पोखरेललाई नजिकबाट नियालेकाहरूको बुझाइमा उनीसँग विषयवस्तुलाई गहिरोसँग बुझेर त्यसलाई व्याख्या गर्ने र अरूलाई ‘कन्भिन्स’ गर्न सक्ने जुन क्षमता छ, त्यो प्रायः नेतामा छैन। “शंकरको सकारात्मक पक्ष भनेको सूचना र राम्रो जानकारी राख्ने, त्यसको विश्लेषण गरेर निष्कर्ष निकाल्ने अनि त्यसपछिका योजना निर्माण गर्ने विशिष्ट क्षमता हो,” एमाले नेता हिक्मत कार्की भन्छन्।
सधैं केन्द्रमा
नवौं महाधिवेशनपछि स्थायी कमिटी सदस्य मात्र हुँदा पनि पार्टीमा पोखरेलको भूमिका पदाधिकारी रहेका केही नेताको भन्दा बढी थियो। त्यति वेला उनी उप–महासचिव पदमा पराजित भए पनि अध्यक्ष ओलीले सङ्गठन विभाग उपप्रमुखको जिम्मेवारी दिए। जबकि, पोखरेलसँगै निर्वाचनमा पराजित घनश्याम भुसाललाई कुनै जिम्मेवारी दिइएन।
एमाले र माओवादी एकीकरणपछि बनेको नेकपामा समस्या पर्दा पोखरेलले धेरैपटक नेताहरूलाई मिलाउन निर्णायक भूमिका खेले। यद्यपि, नेताहरूको शक्ति सङ्घर्षका कारण त्यो एकता टिक्न सकेन। लुम्बिनी प्रदेशको राजधानी टुङ्ग्याउने विषयमा देखाएको ‘परिपक्वता’ र प्रदेशमा बसेर केन्द्रीय राजनीतिमा खेलेको पटकपटकको भूमिकाले उनलाई राष्ट्रिय राजनीतिबाट ओझेल हुन दिएन । बरु उनलाई पार्टीभित्र ओलीको उत्तराधिकारीका रूपमा हेर्न थालियो ।
पोखरेललाई नजिकबाट नियालेकाहरूको बुझाइमा उनीसँग विषयवस्तुलाई गहिरोसँग बुझेर त्यसलाई व्याख्या गर्ने र अरूलाई ‘कन्भिन्स’ गर्न सक्ने जुन क्षमता छ, त्यो प्रायः नेतामा छैन।
प्रदेश राजधानीको विवाद चानचुने थिएन। अस्थायी मुकाम बुटवलबाट कुनै हालतमा राजधानी सार्न नदिने आवाज ठूलो थियो । अर्कातर्फ बुटवललाई प्रदेश राजधानी बनाउने नारा दिएरै एमालेका अर्का प्रभावशाली नेता विष्णुप्रसाद पौडेलले उक्त क्षेत्रबाट प्रतिनिधिसभा चुनाव जितेका थिए । पार्टीमा पनि उनी ओलीनिकट नै हुन् ।
पौडेलको निकटता तत्कालीन नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि थियो। पौडेलले प्रदेश राजधानी बुटवलबाट अन्यत्र कसैले लैजान नसक्ने सार्वजनिक टिप्पणी नै गरेका थिए। त्यस्तो कठिन परिस्थितिमा पोखरेल पार्टीका महासचिव रहेका पौडेललाई ‘कन्भिन्स’ गराएर लुम्बिनीको राजधानी गृहजिल्ला दाङ सार्न सफल भए।
पोखरेलका कमजोरी
विचार, दृष्टिकोण र उद्देश्यमा जति स्पष्ट भए पनि पोखरेल वेलावेला आलोचनाको केन्द्रमा हुन्छन्। कम बोल्ने, सबैसँग घुलमिल हुन नसक्नुलाई आलोचकहरू उनको कमजोरी मान्छन्। यद्यपि उनका अरू पक्ष सकारात्मक नै छन्।
अहिलेसम्म कुनै आर्थिक अपारदर्शिता वा अनियमितताको विवादमा जोडिएका छैनन्। दलीय राजनीति नै बिचौलियाको चङ्गुलमा फसेका वेला त्यसबाट टाढा रहन सक्नु उनको शक्तिशाली पक्ष हो।
चुनौती
पोखरेल यस्तो समयमा महासचिव बनेका छन्, जति वेला पार्टी सबैतिरबाट आलोचित छ । यस्तोमा उनले खेल्ने भूमिकाले उनको र पार्टी दुवैको सफलता–असफलता निर्धारण गर्नेछ ।
सबैसँग घुलमिल हुन नसक्नुलाई आलोचकहरू उनको कमजोरी मान्छन्।
माधवकुमार नेपाल र झलनाथ खनालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन्। पार्टीभित्र विभाजनको मनोविज्ञान अहिले पनि कायम छ। त्यसबाहेक राष्ट्रिय राजनीतिमा एमालेविरुद्ध अन्य दलको साझा गठबन्धन छ। गठबन्धनले नजिकिँदै गरेको तीनै तहको निर्वाचनमा एक भएर जाने सहमतिसमेत गरेको छ ।
अर्कातर्फ ओलीले पार्टीलाई आफ्नो कम्पनीजस्तो बनाएको र यसले गर्दा सबै नेता–कार्यकर्ताले अपनत्व महसूस गर्न नसकेको आरोप छ। पार्टीविरुद्ध अन्य दलको गठबन्धन तोडेर सबैलाई विश्वासमा लिनु अनि एमाले सबै–नेता-कार्यकर्ताको साझा रहेको मनोविज्ञान स्थापित गर्नु पोखरेलको चुनौती हो।