सन्तानलाई नेताभन्दा डन बनाउन लालायित छन् अभिभावक
त्याग र सङ्घर्षको बाटो छाडी विलासी जीवनशैली र भ्रष्ट चरित्रमा मग्न नेताहरूका कारण राजनीति मैलिरहँदा अहिलेका दलहरूमा ठूलै हस्तक्षेप नभएसम्म परिवर्तन हुँदैन।
दक्षिणएशियाली देशका दलहरू जसरी चलेका छन्, यहाँका पार्टीहरू पनि त्यसरी नै चलेका छन्। पार्टी जीवनमा लोकतन्त्रको उच्चतम अभ्यास छैन।
पछिल्लो दुई-तीन दशकको कुरा गर्दा कांग्रेसमा कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला हुँदै शेरबहादुर देउवा सभापति बने। एमालेमा मदन भण्डारी, माधव नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली नेतृत्वमा आए। उनीहरू निर्वाचित भएरै आए।
तैपनि, केन्द्रमा भन्दा जिल्लाहरूमा नेतृत्व परिवर्तनको अवस्था राम्रो छ। दुई दशक अगाडि पार्टी नेतृत्वमा भएकाहरू अहिले विस्थापित भइसकेका छन्। एमालेको त अत्यन्तै विषम परिस्थितिमा पनि महाधिवेशन हुने गरेको छ। यो सकारात्मक पक्ष हो।
महाधिवेशन हुँदैमा त्यो पार्टीको आन्तरिक जीवन र मूल्य पद्धति ठीक ढङ्गले चलेको छ भन्न सकिंदैन। जुन ढङ्गले दलहरू अगाडि बढेका छन्, राष्ट्रिय राजनीति त्यो ढङ्गले अगाडि बढ्न सकेको छैन। जुन ढङ्गले तलसम्म पार्टीमा जनता सङ्गठित भएर बसेका छन्, त्यो ढङ्गको सेवा, सुविधा जनताले पाएनन्। त्यही कारणले पार्टीहरू परिवर्तनका वाहक हुन् कि नेताहरूको जीवन परिवर्तनमा केन्द्रित छन् भन्ने प्रश्न उठेको हो। देश रूपान्तरण गर्नुपर्ने पार्टीका नेताहरू आफ्नै समृद्धिको यात्रामा दौडिरहेका छन्।
जनमुखी रूपान्तरणको हिसाबले हेर्दा हाम्रा पार्टीहरू अत्यन्तै ‘कन्भजर्भेटिभ’ छन्। त्यही कारणले जनता पार्टीहरूप्रति आक्रामक छन्। नेताहरू भ्रष्ट भए भन्ने ‘न्यारेटिभ’ मेची-महाकालीसम्मै स्थापित छ। मुलुक जति जति पार्टीकरण हुँदै छ, मुलुकवासी त्यति त्यति पार्टीविहीन बन्दै छन्। नागरिकले आफूलाई कसैले संरक्षण नदिएको, कसैले आफ्नो हित नसोचेको जस्तो ठानेका छन्। त्यसैले ओली, देउवा, उपेन्द्र यादव, दाहाल सबैसँग जनता रिसाएका छन्।
नेपाल यस्तो देश हो, जहाँ कम्युनिष्टको सङ्ख्या धेरै छ, तर एक जना पनि कम्युनिष्ट छैन। कम्युनिष्ट दर्शनसँग नेपालका कम्युनिष्टहरू जोडिएकै छैनन्।
नेपाल यस्तो देश हो, जहाँ कम्युनिष्टको सङ्ख्या धेरै छ, तर एक जना पनि कम्युनिष्ट छैन। कम्युनिष्ट दर्शनसँग नेपालका कम्युनिष्टहरू जोडिएकै छैनन्। त्यत्रो ‘जनयुद्ध’ लडेर आएका पुष्पकमल दाहालसँग कम्युनिष्टको कुनै ‘फिलोसफी’ बाँकी छ त? छैन। कम्युनिष्ट पार्टीका नेताका नाममा निजी विद्यालय र अस्पताल खुल्न थाले। नेपाल बाहेक संसारमा यस्तो कुराको कल्पना पनि गर्न सकिंदैन। अकल्पनीय कम्युनिष्ट चरित्र नेपालमै देखियो।
नेताहरूले लामो समय राजतन्त्रको विरोधमा सङ्घर्ष गरे। जेलनेल नभोगेको, प्रवासनमा जान नपरेको, दुःख नपाएको परिवार भेट्नै मुश्किल पर्छ। एक घर छोडेर अर्को घरमा जानुस्, त्यहाँ राजनीतिक रूपले क्षति नपुगेको घर पाउनुहुन्न। यसरी गुज्रिएको अवस्थाबाट नेताहरूले मुक्तिको खोजी गरे। त्यो दिनमा फर्कनु नपरोस् भनेर मुक्तिको खोजी गर्दा पार्टीहरूमै भ्रष्टाचार बढ्यो।
नेताहरू आफ्नो त्याग र सङ्घर्षलाई मात्रै लिएर राजनीति अगाडि बढाउन डराए। कार्यकर्ता पनि डराउन थाले। उनीहरू फेरि त्यो दिन सम्झनै चाहन्नन्। उनीहरू आफू र आफ्नो परिवारका लागि आर्थिक जोहो गर्नतिर लागे। कुनै वेला सङ्घर्ष र त्यागका प्रतिमूर्ति बनेका नेताहरू भ्रष्टाचारमा चुर्लुम्म डुब्नुको कारण पनि त्यही हो।
२०४८ सालसम्म २०५ क्षेत्रबाट निर्वाचन लड्ने उम्मेदवार र उनीहरूलाई मत दिनेहरूबीच आधारभूत रूपमै आर्थिक भिन्नता थिएन। आर्थिक रूपमा ठूलो खाडल थिएन। जब चुनाव जितेर गए नेताहरूको वर्ग फेरियो। कम्युनिष्ट नेताहरूको त झन् अकल्पनीय ढङ्गले आर्थिक हैसियत माथि उठ्यो। त्यसको स्रोत के? भ्रष्टाचार। भ्रष्टाचारबाट सबैभन्दा छिटो सम्पत्ति कमाएको रेकर्ड त पुष्पकमल दाहालहरूले तोडे। यिनीहरूको दिमागमा ‘बाँचेर आइयो, अब मोज गर्ने हो’ भन्ने बस्यो।
जब जनताको भोट पाएर नेताको वर्गीय हैसियत फेरियो, अनि कार्यकर्ता मात्रै किन सित्तैमा खट्थे र? कार्यकर्ताले पैसा मागेपछि नेताले डन, तस्कर, भ्रष्टाचारी र बिचौलियासँग हात थाप्न थाले। संसद्मा उनीहरूको सङ्ख्या बढ्नुको कारण पनि त्यही हो।
२०४८ र २०५१ को चुनावसम्म पनि मतदाताले आफ्नो नेतालाई आफू जस्तै देख्थे र कार्यकर्ता पनि सित्तैमा खट्थे। जब जनताको भोट पाएर नेताको वर्गीय हैसियत फेरियो अनि कार्यकर्ता मात्रै किन सित्तैमा खट्थे र? कार्यकर्ताले पैसा मागेपछि नेताले डन, तस्कर, भ्रष्टाचारी र बिचौलियासँग हात थाप्न थाले। संसद्मा उनीहरूको सङ्ख्या बढ्नुको कारण पनि त्यही हो।
पैसा लिए बापत ती नेताहरूले डन, तस्कर, भ्रष्ट र बिचौलियालाई मिल्ने नीति बनाउन थाले। नीतिहरूको पनि नीति भनिने राजनीति त्यो बाटोमा हिंड्न थालेपछि कर्मचारीतन्त्रले पनि पैसा कमाएर नेताहरूलाई दिन थाल्यो। जसले कर्मचारीतन्त्र पनि भ्रष्ट भयो। संवैधानिक निकायहरूको पनि हालत त्यस्तै भयो। सर्वोच्च अदालतका अधिकांश न्यायाधीशहरूले उच्च अदालतमा हुँदा क-कसले पैसा खाए भन्न सकिने अवस्था आयो।
नेताहरूलाई लाग्छ, जनतालाई केही थाहा छैन। तर, जनतालाई यस्तो कुरा सबै थाहा छ। कुनै पनि पद लेनदेन विना सम्भव छैन। कुनै पनि राजनीतिक दलका नेतामा जोखिम मोल्न सक्ने क्षमता बाँकी छैन। उनीहरू गँड्यौला भए। नेताहरूमा नैतिकताको बलियो हड्डी नै छैन।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको पक्षमा वा विपक्षमा बोल्न नसक्नुको कारण पनि त्यही हड्डी नभएर हो। सर्वोच्च मात्रै होइन, सबै संवैधानिक निकायहरूसँग राजनीतिक दलहरू डराउँछन्।
नेपालमा कामै नगरी फाइभ-स्टार जीवन बिताउने नेताहरू तीनदेखि चार लाखसम्म छन्। त्यो कसरी सम्भव भयो? भ्रष्टाचारबाट। अधिकांश प्रभावशाली नेताका सन्तान राजनीतिक सम्बन्धलाई भजाएर डनगिरी गर्दै छन्। केन्द्रीय नेताका छोराहरू मात्रै डन भएका होइनन्। डन अब तलबाट पनि जन्मिंदै छन्।
नेपालमा कामै नगरी फाइभ-स्टार जीवन बिताउने नेताहरू तीनदेखि चार लाखसम्म छन्। त्यो कसरी सम्भव भयो? भ्रष्टाचारबाट।
झापा, मोरङ र सुनसरी जिल्ला घुम्दा मैले के पाएँ, मध्यम वर्गीय परिवारमा सन्तानलाई कुण्डले, मुण्डले, गुन्डा बनाउँछु, डन बनाउँछु भन्ने बाबुआमा भेटें। किन भन्दा त्यति नभए त राजनीतिमा कब्जा गर्नै नसक्ने रहेछ। पैसा कमाउनै नसक्ने रहेछ।
हाम्रो सामाजिक धरातल कहाँ पुगेको रहेछ? यो सबै नेताहरूको कारणले गर्दा भएको हो। मैले चिनेचानेका परिवारमै यस्तो अवस्था पाएँ। गुन्डागर्दी गरेर पैसा कमाउनेहरूलाई पनि अभिभावकले निरुत्साहित गरेको पाइनँ। असल र त्यागी मान्छेलाई समाजले पनि दुत्कार्न थालेको छ। डनको पछि लाग्न थालेको छ।
वास्तविक नेता र मतदाताको बीचमा बिचौलिया हुनु हुँदैन। हाम्रा सांसद पनि बिचौलिया भए। प्रधानमन्त्री र राष्ट्रपति चयनमा पनि उनीहरू जनताका बिचौलिया भएर फाइदा लिए। किनबेचमा लागे। सांसदहरूलाई कार्यकारी पदमा जान दिनु हुँदैन। नियम कानून बनाउने जिम्मा मात्रै सांसदलाई दिनुपर्छ।
राजनीतिक दलको सदस्यता प्राप्त गर्नका लागि मापदण्ड के बनेको छ भने पहिला ऊ गुन्डा बन्न सक्नुपर्छ। हिजोको दिनमा त्याग, तपस्या र सङ्घर्ष गरेर आएको परिवारमा अहिले पश्चात्ताप बाहेक केही छैन। बलिदानी व्यर्थ बन्न पुगेको छ। एक छिन कल्पना गर्नुस् त, आजको दिनमा कांग्रेस बन्नु भनेको के हो? मुलुक रूपान्तरणका लागि हो त? अवश्य होइन, आज कुनै पार्टीमा प्रवेश गर्नु भनेको आफ्नो रूपान्तरणका लागि हो।
गिरिजाप्रसाद कोइरालाले जीवनभर भतिजाको घरमा बसेर राजनीति गरे। बीपी कोइरालालाई प्रधानमन्त्री भइसकेपछि पनि कहाँ बस्ने भन्ने समस्या थियो। कृष्णप्रसाद भट्टराई जीवनभर भान्जाको पिंढीमुनि बसेका होइनन्? तर, आफूलाई कम्युनिष्ट भन्ने नेताहरू कुन अवस्थामा छन्?
गिरिजाप्रसाद कोइरालाले जीवनभर भतिजाको घरमा बसेर राजनीति गरे। बीपी कोइरालालाई प्रधानमन्त्री भइसकेपछि पनि कहाँ बस्ने भन्ने समस्या थियो। कृष्णप्रसाद भट्टराई जीवनभर भान्जाको पिंढीमुनि बसेका होइनन्? तर, आफूलाई कम्युनिष्ट भन्ने नेताहरू कुन अवस्थामा छन्?
अहिलेका दलहरूमा ठूलो हस्तक्षेप नभएसम्म परिवर्तन हुनेवाला छैन। नेपालको अहिलेको राजनीति अत्यन्तै दूषित छ। केन्द्रको राजनीति मात्रै दूषित नभएको भए तलका लागि खबरदारी गर्न सकिन्थ्यो। माथिदेखि तलैसम्मै दूषित भयो।
नरेन्द्र मोदी प्रधानमन्त्री बनेको सात वर्ष भयो। उनलाई मान्छेले हिन्दुवादी, मुसलमानप्रति असहिष्णु भन्न सक्छ। तर, भ्रष्ट कसैले भन्न सकेको छैन। कुनै पनि घोटालामा आजसम्म उनको नाम जोडिएको छैन। उनको पार्टी भारतीय जनता पार्टीका तल्लो तहका नेताहरूको मात्रै भ्रष्टाचारका कुरा बाहिर आएका छन्। नेपालमा त पछिल्लो समय प्रधानन्यायाधीशहरूमाथि नै भ्रष्टाचारको आरोप लागेको छ।
नेताहरूसँग मुलुक परिवर्तन गर्ने सोच नै छैन। कुनै पनि मन्त्री वा नेताले जनताले उपचार गर्ने अस्पताल र जनताका छोराछोरी पढ्ने सार्वजनिक विद्यालय सुधार गर्छु भनेको सुन्नुभएको छ? अरू त अरू, हाम्रा मन्त्रीहरू आफैं पढेर आएको विद्यालय समेत सुधार गर्न चाहँदैनन्। आफू पढेको विद्यालयमा पुग्न पनि लाज मान्छन्। त्यहाँ पढाइ हुँदैन भन्ने उनीहरूलाई थाहा छ।
जुन दिन नेता, कर्मचारी र न्यायाधीशका सन्तान रत्नराज्य स्कूल र पद्मकन्या क्याम्पस पढ्न जान्छन्, उपचार गर्न वीर अस्पताल पुग्छन्, सम्झनुस् त्यही दिन नेपाल बन्यो। त्यसका लागि पनि सबैभन्दा पहिला राजनीतिक दलहरूमा भित्रैबाट सुधार आवश्यक छ। दल सुधार्न अब कार्यकर्ताले पनि महाधिवेशनमा पुरानै नेतालाई होइन, नयाँ विचार र दृष्टिकोण भएका युवालाई छान्नुपर्छ।