काठमाडौं तिम्रो काठमाडौं
नेपाल कति पछौटेपनमा छ भन्ने कुरालाई कसैले समीचीन तवरमा ठम्याउन चाहन्छ भने दुई वटा सजिला उपाय छन्। पहिलो उपाय हो, ‘गोरखापत्र’को कुनै एक वर्षको ठेली लिने र त्यसमा प्रकाशन भएका र व्यक्तिहरूले लेखेका लेखहरूलाई बुझेर पढ्ने। दोस्रो उपाय हो, अरू जिल्लाको कुरा छोडौं, काठमाडौं सदरभन्दा केही माथिल्लो स्तरका तीन जना ‘प्रोफेसर’सित विविध विषयमा जम्माजम्मी दश घण्टासम्म चर्चा गर्ने।
१९ माघ २०२६ मा समीक्षा साप्ताहिकको सामयिक चर्चा स्तम्भमा एउटा व्यङ्ग्य छापियो। शीर्षक थियो– बौद्धिक क्षेत्रमा अमलेख चाहिएको छ। माथि उल्लेखित अंश सोही लेखको शुरूआत हो, जसका लेखक थिए चक्रपाणि उर्फ मदनमणि दीक्षित। दीक्षितले गोरखापत्रका पाठकलाई त लखेटे लखेटे विश्वविद्यालयका प्राध्यापकको बौद्धिकतालाई नै चुनौती दिने दुस्साहस पनि गरे। उनको आरोप सत्य थियो/थिएन परख गर्न पाँच दशकअघिको बौद्धिक समाजमै फर्कनुपर्ने हुन्छ। तर, संयोग के भने त्यही वेला त्रिभुवन विश्वविद्यालयमा पढाइरहेका एक अध्यापक स्वयं ‘नेपाली समाजमा बौद्धिक दरिद्रताबारे अन्वेषण’ गरिरहेका थिए। उनी थिए– कमलप्रकाश मल्ल। मल्लले वैशाख–जेठ २०२७ मा वसुधा मासिकमा ‘दी इन्टेलेक्चुअल इन नेप्लिज सोसाइटी’ शीर्षकमा लामो निबन्ध नै छपाए, प्रशंसक कम र आलोचक बढी कमाए।
समयक्रममा मल्ल नेपालका यस्ता खरा बौद्धिक बने, जसले पञ्चायतकालमा राजपरिवार निकट रहेर पनि प्राज्ञिक कर्ममा आफूलाई निष्कलङ्क राखे। अङ्ग्रेजी भाषा–साहित्य, शिक्षा, संस्कृति, इतिहास, पहिचानको राजनीतिशास्त्र लगायत विधामा उत्तिकै सिद्धहस्त मल्लका नेपाल इन प्रस्पेक्टिभ, द रोड टु नोह्वेयर, फ्रम लिट्रेचर टु कल्चर पुस्तक प्रकाशन भए।
उनै ‘मल्ल सर’ को तेस्रो स्मृति दिवस (१ मंसीर)का अवसरमा यहाँ प्रस्तुत लेख ‘काठमाडौं योर काठमाडौं’ को अनुवाद हो। सन् १९६७ मा प्रकाशित उनको यो लेखले आजको समय र सन्दर्भ सम्बोधन नगरे पनि हाम्रो सोच, संस्कार र विरोधाभासमाथि प्रश्न गर्दै नयाँ पुस्तालाई नयाँ दृष्टिकोण बनाउन सहयोग पुर्याउन सक्छ भन्ने हाम्रो विश्वास छ।
– सम्पादक
दुई परिदृश्य
राजधानी काठमाडौं एउटा विसङ्गत शहर हो। यहाँको विसङ्गति भौतिक र पराभौतिक दुवै खालको छ। एकातिर सुन्दर प्राकृतिक परिदृश्य छ त अर्कातिर मानव बसोबासले निम्त्याएको कुरूपता। यही बेमेलमा राजधानीको भौतिक विसङ्गति झल्किन्छ। यस्तै, राजधानीको छद्म सभ्यता तथा बाहिरको आदिम, सर्वात्मवादी र आधारभूत सरलताबीचको भिन्नतामा यहाँको पराभौतिक विसङ्गति देखिन्छ। नेपालभर तुलना गर्ने हो भने काठमाडौं उपत्यकाको जति उदात्त प्रकृति शायदै अन्यत्र कतै होला। औलोग्रस्त तराईभन्दा निकै माथि अनि हिमरेखाभन्दा केही तल अवस्थित उपत्यकाको हावापानीमा त्यस्तो खोट छैन। हिउँदे सिरेटो र थोरै असहज मौसमलाई बिर्सने हो भने अन्य जलवायुजन्य समस्या पनि छैन काठमाडौंमा। काठमाडौंमा न उच्च तापक्रमका कारण कोही मरेका छन् न त भयानक नदीको भेलले कुनै बस्ती बगाएको छ।
काठमाडौंको आकाश खासै धुम्मिएको र विरक्त लाग्दो हुँदैन। घामको दिशा अनुरूप बदलिइरहन्छ परिदृश्य। सुन, चाँदी, माणिक झैं चुचुराहरू स्नानरत देखिन्छन् पृष्ठभूमिमा। सारा परिदृश्यलाई कहिले हल्का नीलो त कहिले चम्किलो चाँदी जस्तो अनि कहिले गाढा सुनौलो रङले छोप्छ। शहरको केन्द्रबाट जति पर जान्छौं हामी, यहाँको प्राकृतिक छटा कहिले प्रकाशमा, कहिले छायामा, कहिले हरियो रङमा त कहिले सुनौलो बनेर प्रकट हुन्छ। नगर क्षेत्रभन्दा बाहिरी भेगमा सभ्यताको थिचाइमा नपरेको ठूलो भूगोल छ। काठमाडौंको नगर क्षेत्र र निकटस्थ बाहिरी भेगको बीचमा एउटा भयानक सीमा छ। लाग्छ– यो सीमामा मानवीय पतनअघिको शुद्धता र मिथकीय वर्जित फल खाएपछिको पतित अवस्था छुट्टिन्छ। यी बाहिरी क्षेत्र सफा र स्वस्थ मात्र छैनन्, प्राकृतिक परिदृश्यसँग एकाकार भई बसेका छन्। यी भेग देशको भित्री तहसम्म अर्थपूर्ण किसिमले जोडिएका छन्।
झण्डै एक शताब्दीसम्म राणाका आलीशान भवनका भव्य पर्खाल पछाडि झाँगिई बसे सभ्यता। यी सभ्यताका कैयौं पाटा छन् काठमाडौंसँग। तथापि सत्य के हो भने, सन् १९५० को खुलापनको बाढी आउनु अघिसम्म इँटाका पर्दाभित्र र बाहिर छुट्टाछुट्टै संसार थियो। दुवै समूहबीच सम्पर्क र सञ्चार साह्रै न्यून थियो। अब भने त्यो अवस्था छैन, ती पर्खाल भत्किएका छन्। आलीशान भवन उदाङ्गो भएका छन्, प्लास्टर उक्किसकेका छन्।
हप्ताभरिका ६ दिन काठमाडौंका यी निकटवर्ती भेग सुरक्षित रहन्छन्। यी क्षेत्र सुरक्षित तबसम्म हुनेछन् जबसम्म सप्ताहान्तमा वनभोज गर्न आउने समूहलाई प्लास्टिकका झोलाबाट आधुनिक चीज निकाल्दै र ट्रान्जिस्टरबाट आवाज घन्काउँदै विनाशको प्यान्डोरा बाकस खोल्ने अनुमति दिइँदैन। बढ्दो शहरीकरणसँगै बाहिरी भेगको कुनै न कुनै अलकत्रे सडकसँग जोडिंदै छ काठमाडौं। धेरै हरियाली भेग उजाड बन्दै छन्। धेरै खुला ठाउँ अतिक्रमणमा पर्दै छन्। राणाकालीन कतिपय गोप्य पर्खाल पनि भत्किँदै छन्। ती ठाउँमा एकै दिनमा नयाँ भवन ठडिँदै छन्। काठमाडौंको भौतिक सम्पन्नता उदाङ्गिँदै छ। झिलिमिली प्रकाश मुन्तिर पसल बाहिरबाट चियाउँदै हिंड्ने उपक्रम (विन्डो शपिङ) र सिमेन्टका पैदलबाटोमा मात्र सीमित छैन यो वैभवको प्रकट रूप। इँटामा सिमेन्ट लेपिएका र थरीथरीका भद्दा रङ पोतिएका कथित स्मार्ट भवनले भरिएको उपनगर क्षेत्रमा पनि काठमाडौंको वैभव निहित छ।
झण्डै एक शताब्दीसम्म राणाका आलीशान भवनका भव्य पर्खाल पछाडि झाँगिई बसे सभ्यता। यी सभ्यताका कैयौं पाटा छन् काठमाडौंसँग। तथापि सत्य के हो भने, सन् १९५० को खुलापनको बाढी आउनु अघिसम्म इँटाका पर्दाभित्र र बाहिर छुट्टाछुट्टै संसार थियो। दुवै समूहबीच सम्पर्क र सञ्चार साह्रै न्यून थियो। अब भने त्यो अवस्था छैन, ती पर्खाल भत्किएका छन्। आलीशान भवन उदाङ्गो भएका छन्, प्लास्टर उक्किसकेका छन्। छाना झारपातले ढाकिसकेका छन्। समयसँगै उत्पन्न विनाश हुन् यी। केही अपवादमा पर्छन्– विदेशी उद्धारक तथा सहयोगी संस्था, राजदूतावास, अस्पताल र होटल। पितृसत्तात्मक राणा त हटिगए, तर तिनका सन्तति पनि आफ्ना पैतृक विरासत वरपर महत्त्वहीन बङ्गलाहरू ठडिएकोमा कि त अति उत्साहित छन् कि पूरै उदासीन। संरक्षणमा कुनै चासो देखिँदैन, राणा सन्ततिको।
इँटे पर्दा पछाडिको सभ्यता
सन् १९५० को खुलापनको बाढी आउनुभन्दा धेरै अघि नै हो– सभ्यताले काठमाडौंको आत्ममुग्ध, आदिम, अनुदार र कृषिजन्य जीवनको केन्द्रमा अतिक्रमण गर्न थालेको। विविध कोणबाट हेर्दा बुझिन्छ, राणा नै थिए काठमाडौंमा सभ्यता भित्र्याउने पहिलो शासक। जङ्गबहादुर महासागर पार गरेर बेलायती महारानीसँग राजकीय भेट गर्ने पहिलो हिन्दू महाराजा बने। जब यी प्रथम राणा प्रधानमन्त्री महारानी भिक्टोरियासँगै शाही आसनमा बसेर इटालेली ओपेरा गायिकाले कामुक भावमा गाएको सुन्दै थिए, काठमाडौंको शक्ति–सम्भ्रान्तले यस्तो वर्जित फलप्रति नरम नीति अख्तियार गर्दै थियो। सन् १८५० को जून महीनामा यी हिन्दू महाराजाले सभ्यताको पहिलो फल चाखिसकेका थिए।
अनुमान गर्न सकिन्छ, स्वमुग्धकारी राणा प्राङ्गणमा एउटा निरीह चित्रकार अग्लो आयातीत क्यानभासमा भद्दा रङ पोत्दै छ, चुरो विषयबाट बेखबर रहँदै। राणाहरू उसिनेको चामल बाहेक लगभग सबै वस्तु आयात गर्थे। उनीहरूले पश्चिमी वास्तुकला पनि भित्र्याए। इँटा र मोर्टार प्रयोग गरेर महँगा निवास र रखैलघर बनाए।
पछिल्लो सय वर्षसम्म जङ्गबहादुरको यस साङ्केतिक कदमप्रति राणाहरू पूरै नतमस्तक रहे। उनीहरूका लागि पश्चिमाको सस्तो अनुकरण नै ठूलो उपलब्धि थियो। शासनकालका अन्तिम दिनमा राणा खलकका हर्ताकर्ताहरू हौसिँदै अन्धानुकरणको भव्य दिवास्वप्न बुन्दै थिए। प्रत्येक कुरूप महल अन्धानुकरणकै अवधारणामा ठडिँदै गए। अहिले हरेक राणा दरबार कुनै पहिचान विनाको सङ्ग्रहालयका रूपमा उभिएको छ। दरबारका भित्ता उनीहरूका पूर्वजका चित्रले भरिएका छन्। विशाल त छन् यी चित्र तर अप्रीतिकर। चित्रमा राणाहरू मरेका बाघ वा मुस्काइरहेका पत्नीछेउ उभिएका छन्। अनुमान गर्न सकिन्छ, स्वमुग्धकारी राणा प्राङ्गणमा एउटा निरीह चित्रकार अग्लो आयातीत क्यानभासमा भद्दा रङ पोत्दै छ, चुरो विषयबाट बेखबर रहँदै। राणाहरू उसिनेको चामल बाहेक लगभग सबै वस्तु आयात गर्थे। उनीहरूले पश्चिमी वास्तुकला पनि भित्र्याए। इँटा र मोर्टार प्रयोग गरेर महँगा निवास र रखैलघर बनाए। उनीहरूको संवेदनशीलताको स्तर थोरै मात्र माथि हुँदो हो त, यी महल बिल्कुल अलग ढाँचामा बनेका हुन्थे।
बेलायतकै उदाहरण हेरौं। आम बेलायती समाजसँग मौलिक रूपले जोडिएका धनाढ्य र कुलीनहरूले नै बेलायती भूबनोटलाई असर नपुर्याई विशाल भवन बनाउन लगाएका थिए। यसको विपरीत काठमाडौंमा राणाले आर्थिक लेनदेन र सस्तो कामदारका लागि बाहेक बाँकी समाजसँग कुराकानी गर्न समेत चाहेनन्। परम्परागत नेपाली कला, शिल्प र वास्तुकलालाई राणाले पूरै बेवास्ता गरे। राणाकालमा राज्यले बढावा दिएको मौलिक ढाँचायुक्त एउटै भवन देखिँदैन। राणा दरबार पश्चिमा अन्धानुकरणको उराठलाग्दो स्मारक मात्र होइन, सामूहिक विस्मृति पनि हो। शासक भएका नाताले उनीहरूले शासितभन्दा फरक ढङ्गले सोच्नु आवश्यक थियो। अनाकर्षक भीडको पहुँचभन्दा धेरै पर स्वप्न दरबारमा फरक किसिमले बसे होलान् उनीहरू। तर यी सबै अन्धानुकरण अश्लील होइनन् र ? अझ विशेष गरी ढङ्ग नपुर्याई गरिएको यो सांस्कृतिक अन्धानुकरण अश्लील थिएन र ? आफ्नै परिवारका शाखा सन्तानभित्र त्यो अश्लीलता कायम राख्न ठूलठूला र बाक्ला पर्खाल ठड्याएर विशाल प्राङ्गणमा सीमित भएर बस्नु र बाँच्नु चाहिं उनीहरूको बठ्याइँ हो।
वास्तुकलामा राणाले गरेको फजूल खर्चले राजधानीको महत्ता कत्ति पनि बढाएन, बरु घटायो। बन्द पर्खालभित्र शासकले फगत स्वप्निल कल्पना बुने। पर्खाल बाहिरका शासित जनतासँग उनीहरूले कहिल्यै राम्रो सम्पर्क राखेनन्।
बेलायती पत्रकार किङ्स्ले मार्टिन एक चोटि काठमाडौं आए। उनले सोचविचारै नगरी भनिदिए, उनलाई राणाका विशाल पर्खाल मन परेन। राणाले अरू नै सोचे, बुद्धिमत्ता देखाए। राणाका उदाङ्गो र नग्न दरबारले काठमाडौं कस्तो देखिन्थ्यो होला, सायद मार्टिनले अनुमान गरेनन्। सम्भवतः जर्मनीको बाभारियाका सन्की राजा लुडविग दोस्रोको स्वप्न दरबार, होएन्च्वान्गू भन्दा फरक देखिँदैनथ्यो होला। वास्तुकलामा राणाले गरेको फजूल खर्चले राजधानीको महत्ता कत्ति पनि बढाएन, बरु घटायो। बन्द पर्खालभित्र शासकले फगत स्वप्निल कल्पना बुने। पर्खाल बाहिरका शासित जनतासँग उनीहरूले कहिल्यै राम्रो सम्पर्क राखेनन्।
दुई भवन : दुई संसार
आफ्ना पर्खालभित्र मात्र सीमित रहेनन् राणाका कल्पना। पूरै काठमाडौं शहरमा त्यो अन्धानुकरण थोपर्दै गए। ट्राफिक आइल्यान्डमा गएर जोडिने थुप्रै वर्गाकार संरचना बनाए उनीहरूले जहाँ कांस्य घोडामा सौम्य मुद्रामा सवाररत राणाका मूर्ति राखिए। गोथिक, ग्रीक र रोमन ढाँचाका थुप्रै भवन बनाइए। जस्तै– गद्दी बैठक, सैनिक अस्पताल, वीर अस्पताल, त्रिचन्द्र क्याम्पस, दरबार हाईस्कूल, सरस्वती सदन अनि पुलिस स्टेशन। यीमध्ये गद्दी बैठक सबैभन्दा वाहियात भवन हो। यो त्यही ठाउँ हो जहाँ राणाकालका अन्तिम पन्ध्र वर्षसम्म राजकीय पाहुनालाई स्वागत गरिन्थ्यो। यो भवन रहेको स्थान नै यसको वास्तुकलाको कृत्रिमताको प्रमाण हो। यही कृत्रिमता थोपरियो सारा शहरको केन्द्रमा रहेको एउटा पृथक् संरचना, दरबार स्क्वायरमा पनि। अगाडिपट्टिका अग्ला खम्बाका कारण गद्दी बैठक बेढङ्गको लाग्छ। अलग, रैथाने चरित्रका भवनमाझ एउटा गोलमाल संरचना थपिएको छ।
गद्दी बैठक जस्ता भवन कलकत्तादेखि टिम्बुक्टुसम्म संसारका कुनै पनि भागमा देख्न सकिन्छ। हनुमानढोका दरबारको दक्षिण–पश्चिम भागमा अवस्थित कुमारीघर जस्ता पुख्र्यौली भवन केवल काठमाडौं उपत्यकामा भेटिन्छन्। पालिस लगाइएका इँटाका सुन्दर भवनलाई चुना र मोर्टारले प्लास्टर गरी राणाहरूले दरबार स्क्वायरको सौन्दर्य बिगारे। दरबार स्क्वायरको परिसरमा मौलिक आवरणमा एउटा मात्र भवन बाँकी छ अहिले। त्यो हो– प्रताप मल्लको नौतले दरबार। यसलाई वसन्तपुर दरबारका नामले पनि चिनिन्छ। गद्दी बैठक र वसन्तपुर दरबार काठमाडौंको मुटुमा छन्, सँगसँगै। वास्तुकलाका दुई अलग ढाँचा मात्र होइनन् यी, अमिल्दा दुई मान्यताका प्रतिरूप पनि हुन्।
अनाकर्षक बिसौनी
प्राकृतिक सुन्दरता र मानव सिर्जित कुरूपताबीच बेमेल त छँदै छ, अझ कलाको दृष्टिबाट अनाकर्षक बिसौनी हो काठमाडौं। वरपरको भौतिक कुरूपताले यो बेमेललाई अझै बढाएको छ। यही गन्जागोलले पुष्टि गर्छ, काठमाडौं शहर कहिल्यै योजनाबद्ध रूपमा निर्माण भएन, केवल झारपात मौलाए झैं विस्तार मात्र भइरह्यो। त्यसैले त यो शहरले अलि ज्ञानी पर्यटकलाई समेत रनभुल्लमा पार्छ।
शहर घुमिरहँदा कुनै वास्तुकलाको कुरा उठ्नु भनेको त्यहाँ हेर्न लायक केही भेटिनु हो। वास्तुकलाले भवनको ढाँचा मात्र बुझाउँदैन। यो यस्तो सूचक हो जसले मान्छे (यहाँ राणाको सन्दर्भमा) कहाँ र केका लागि बस्छन् भन्ने पनि देखाउँछ। एकातिर काठमाडौं शहर वरपरको प्राकृतिक परिदृश्यको विशेषता साङ्गीतिक र नाटकीय छ भने अर्कातिर वास्तुकलाको उचित प्रयोग भएकै छैन। यस अमिल्दोपनले पीडा दिन्छ। यहाँको प्राकृतिक प्रचुरता नै बोझिलो लाग्छ। किनकि, काठमाडौंबासीको प्रकृतिसँगको विवेकसम्मत तालमेल भेटिँदैन। यही विभेदपूर्ण तालमेलले गर्दा यो शहर हरेक तहमा ध्वस्त हुँदै छ। हरिया र सुनौला मजबूत पर्खाल अनि नीला र सुन्तले रङका कृत्रिम झल्लरभन्दा पनि यहाँका मान्छेका ढोंगी व्यवहार अझ अवास्तविक र अमानवीय लाग्छ।
काठमाडौंं कुनै प्रतीक वा रूपक शहर जस्तो लाग्दैन, कुरूपताको परिचायक बनिसक्यो। अन्य ठाउँको तुलनामा यहाँको प्रकृति उत्तम भए पनि सबैभन्दा ढोंगी मान्छे यहीं भेटिन्छन्। ढुङ्गे युगका गाडादेखि अन्तरिक्ष युगका लिमोजिनसम्म सवाररत छन् यहाँ। बग्रेल्ती सवारी साधनले जाम बनिरहन्छ यो शहर। शहर डुल्दै गर्दा पुराना ठाउँमा अलमलिन पुग्छौं। अन्धकार, फोहोर र साँघुरो गोरेटोको जन्जालबाट कतिखेर बाहिरिऊँ जस्तो हुन्छ। तर पनि, यहाँको परिवेश यतिविघ्न खस्किसकेको पत्तै छैन हामीलाई। आकाशको सानो अंश बाहेक प्रकृति कहीं देखिंदैन यहाँ। केवल मानव निर्मित भव्यता र उपदेशवाणीले हाम्रो ध्यान तान्छ।
प्राकृतिक सुन्दरता र मानव सिर्जित कुरूपताबीच बेमेल त छँदै छ, अझ कलाको दृष्टिबाट अनाकर्षक बिसौनी हो काठमाडौं। वरपरको भौतिक कुरूपताले यो बेमेललाई अझै बढाएको छ। यही गन्जागोलले पुष्टि गर्छ, काठमाडौं शहर कहिल्यै योजनाबद्ध रूपमा निर्माण भएन, केवल झारपात मौलाए झैं विस्तार मात्र भइरह्यो। त्यसैले त यो शहरले अलि ज्ञानी पर्यटकलाई समेत रनभुल्लमा पार्छ। सुनौलो प्यागोडाबाट पाँच मिनेट परको दूरीमा टहलिइरहँदा उसैलाई थाहा हुँदैन, अगाडि केमा ठोक्किन पुग्छ। यो पुरानो शहर समयसँगै मक्केका भवनले ढाकिएको छ। यी भवन आकर्षक पाराले कुँदिएका त छन्, तर बरन्डा, मन्दिर र प्यागोडाहरू जीर्णाेद्धारको पर्खाइमा छन्। ढोकाका सुन्दर पल्लाहरू भत्केका छन्। ऐतिहासिक रणक्षेत्रमा घीनलाग्दो पाराले रातो माटोले पोतिएको छ। यो एउटा विनाश कला हो। एकनासे छन् संरचना। धूवाँ पुतपुताइरहने सुकुम्बासी बस्ती र दूषित नाली यहीं छ। कतै संरचनामा कांस्य र पत्थरको समन्वय छ भने कतै लेदोमैलो देखिन्छ।
काठमाडौं बाहिरका आगन्तुक त निसासिन्छन् यहाँ। पवित्र गाई र लुते कुकुर, रहस्यमयी मान्छे र बजार, उकुसमुकुस पार्ने सवारी र पैदलयात्री, सडकपेटीका अटेरी विक्रेता र पत्तै नपाइने छेवैका भ्वाङ; यस्ता असहजताबीच पनि शान्ति, पद्धति र सद्भावको वातावरण भेटिन्छ कतै। अज्ञात सर्जकले ढुङ्गा, काठ र धातुमा आफ्ना घृणा लुकाए। उनीहरूका घृणा बाहिरी संरचनाका हरेक अंशमा भने प्रकट भएका छन्। बनोट र साङ्केतिक प्रयोगप्रतिको पर्याप्त चासो छ त्यसमा। ती कालिगडले ठाउँ र नाप, वस्तु र फैलावट, विस्तार र दृष्टिकोण, आंशिकपना र समुच्चता जस्ता झमेला पार गर्दै गर्व गर्न लायक भवन/प्यागोडा बनाए। झ्याल, ढोका, बलो, खम्बा, बाल्कोनी आदि संरचनाले ती कलाकार ढुङ्गा, धातु र काठमाथि हावी भएको उद्घोष त गर्छन्। साथसाथै, असङ्ख्य सङ्केत र वर्णनबाट सिर्जित अस्तव्यस्ततामाथि उसको नियन्त्रण रहेको प्रमाण पनि दिन्छ।
यद्यपि, अहिले बनेको नेपालको हरेक परम्परागत आवास केवल एउटा टापु जस्तो लाग्छ। यसले आफ्नै परिवेशको अपमान गरेको छ, महिमा घटाएको छ। असन्तुष्ट काठमाडौं शहरको भित्री भागमा सुनौला प्यागोडाहरू सङ्कटापन्न अवस्थामा छन्। बाइबलको मिथक अनुसार, नोहको पानीजहाजलाई बाढीबाट जोगाइए जसरी नै यी संरचना पनि संरक्षणको पर्खाइमा बसेका छन्। काठमाडौंको मुटुमा रहेका हरेक प्यागोडा बढ्दो व्यापारिक गरीब बस्तीमाथि ठडिएका अरुचिकर संरचना हुन्।
बन्दै गरेको आदर्शभूमि (जानाडु)
काठमाडौंको अलग पक्ष नै यहाँको वास्तुकला हो– चाहे यो यसको गर्विलो पाटो होस् या कमजोरी। वसन्तपुर दरबार र दरबार स्क्वायर जस्ता गर्व गर्न लायक संरचना त बिस्तारै भत्किँदै छन्, शहरको वास्तुकलाको कमजोरी पनि प्रकट हुँदै छ। काठमाडौंमा सोच्दै नसोचेका सरकारी भवन र स्मारक बढेको बढ्यै छन् : शहीद स्मारक, टाउन हल, केन्द्रीय टेलिग्राफ कार्यालय, हुलाक सेवा कार्यालय, प्रज्ञा प्रतिष्ठान, टक्सार, खनिज विभाग, सर्वोच्च अदालत, राष्ट्रिय अभिलेखालय, नेपाल उद्योग विकास निगम कार्यालय, पुलिस क्लब, गोदाम र अन्य। तर, यी भवनबीच कुनै अन्तर नदेख्दा पर्यटक पनि अचम्म मान्दा हुन्। घरेलु उद्योग इम्पोरियम बाहेक यी सबै भवन एकै खालका छन्, सन् १९५० अघि बनेका सरस्वती सदन वा पुलिस स्टेशन जस्ता सार्वजनिक भवनभन्दा कत्ति पनि फरक छैनन्।
नेपालको राजधानीमा सिमेन्ट र छडका भवनको नचाहिंदो बाढी आएसँगै वसन्तपुर दरबार र दरबार स्क्वायर जस्ता थुप्रै मौलिक वास्तुकला प्रदूषित सार्वजनिक शौचालयमा परिणत हुँदै छन्। उत्कृष्ट र घीनलाग्दो चीजलाई एकै ठाउँमा मिलाउने पुरानो नेपाली प्रवृत्तिलाई रोक्न नसकिने अवस्था आइसक्यो।
यही गतिले अगाडि बढ्ने हो भने चाँडै नै काठमाडौं सिमेन्ट र छडका भवनहरूको अनाकर्षक जङ्गल बन्नेछ। सानो जानाडु हुनेछ यो शहर जहाँ चङ्गेज खानका सन्ततिले केवल टाउको लुकाउने छतका लागि हानथाप गर्नेछन्। सर्वसाधारणले समेत आफ्ना पुराना घरलाई सिमेन्टले पोत्न थालिसके। सस्तो छनोटमा बानी पार्न थालेका छन् आफूलाई। कृत्रिम संरचनालाई कुँदेर वास्तुकलाको प्रयोग बढाउने कामप्रति प्राविधिक नै उदासीन छन्। नेपालको राजधानीमा सिमेन्ट र छडका भवनको नचाहिंदो बाढी आएसँगै वसन्तपुर दरबार र दरबार स्क्वायर जस्ता थुप्रै मौलिक वास्तुकला प्रदूषित सार्वजनिक शौचालयमा परिणत हुँदै छन्। उत्कृष्ट र घीनलाग्दो चीजलाई एकै ठाउँमा मिलाउने पुरानो नेपाली प्रवृत्तिलाई रोक्न नसकिने अवस्था आइसक्यो। हाम्रा पूर्वजले कामोत्तेजक भावभङ्गिमाले भरिपूर्ण एकनासका मन्दिरहरू बनाए, बलोले अड्याएर। हामी तिनै मन्दिरका फेदीमा शौच गर्दै आफ्नो पशु चरित्र उदाङ्गो पार्दै छौं। पाटनस्थित प्राचीन शाही दरबारभित्र शहरको पुलिस आवास बन्यो भने आश्चर्य नमाने हुन्छ। यस्ता गतिविधिमा पाटनभन्दा काठमाडौं धेरै अगाडि छ। विध्वंसका नयाँ नयाँ प्रयोगमा अरूलाई उछिन्दै छ काठमाडौं।
बेबिलोनको दुःखद संस्था
पर्यटन तथा प्रचार विभागका वृत्तचित्र सम्बन्धी आकर्षक सरकारी सामग्रीको त के विश्वास गर्नु? वास्तवमा सन् १९५० पछि उदारताको बाढी भित्रिएदेखि हेरौं, नेपाल खासै अगाडि बढेको छैन। पश्चिमी जगत्मा सङ्गृहीत ज्ञानबाट दिक्क मान्दै बिस्तारै थरीथरीका पर्यटकहरू गौचरन विमानस्थलमा ओइरिन थाले। जसै उनीहरू शहरको केन्द्रस्थित शाही नेपाल वायुसेवा निगमको कार्यालयमा पुग्छन्, मन खिन्न पार्छन्। साङ्ग्रिला मिथक वा निषिद्ध शहर हेर्ने व्यग्र चाहनाले काठमाडौं उत्रेका धेरै पर्यटक बौडेलेयरको प्यारिस र इलियटको लन्डनको महानगरीय प्रतिरूप देखेर विरक्तिन्छन्।
आजको काठमाडौं एउटा अव्यवस्थित थुप्रो बन्दै छ जहाँ अन्धकार गल्लीबीचको जञ्जालमा आफ्नो पहिचान गुमाउँदै अनिश्चित भविष्यतिर डोहोरिइरहेको हुन्छ हर कोही। यो शहरका साँघुरा गल्लीको कुनै अर्थ छैन। अग्ला नयाँ भवनको खास विशेषता देखिंदैन। पुरानो शहर त बिस्तारै मर्दै छ। अनि नयाँ शहरी केन्द्र चाहिं स्थानीयताबाट विमुख हुँदै वैश्विक चरित्रलाई बढावा दिँदै छन्। न्यूरोडमा उभिने जो कोही एकैछिनमा शारीरिक र मानसिक दुवै तवरले थिलथिलो हुन्छ। काठमाडौंं भनेको यही अव्यवस्था हो। यसरी थङ्थिलो भएको छ, राज्यको मुख्य केन्द्र। देशका दिग्भ्रमित सम्भ्रान्तको उत्कृष्ट छनोट यस्तो छ। साँझपख आफ्नै फूटपाथमा बसेर हेर्नुपर्छ। लाग्छ, सिमेन्टको फूटपाथ एउटा दुःखान्त संस्था हो जहाँबाट मान्छेको उदय हुन्छ। तर, कसरी पतन हुन्छ, आफैंलाई थाहापत्तो हुँदैन। त्यसैले त फूटपाथमै टाँसिई बस्न मरिहत्ते गर्छन् यहाँका सम्भ्रान्तहरू। सुधो गाई र निष्प्राण यन्त्रसँगै ठेलमठेल गर्दै स्वप्निल तन्द्रामा उभिन्छन् त्यहाँ।
आजको काठमाडौं एउटा अव्यवस्थित थुप्रो बन्दै छ जहाँ अन्धकार गल्लीबीचको जञ्जालमा आफ्नो पहिचान गुमाउँदै अनिश्चित भविष्यतिर डोहोरिइरहेको हुन्छ हर कोही। यो शहरका साँघुरा गल्लीको कुनै अर्थ छैन। अग्ला नयाँ भवनको खास विशेषता देखिंदैन। पुरानो शहर त बिस्तारै मर्दै छ। अनि नयाँ शहरी केन्द्र चाहिं स्थानीयताबाट विमुख हुँदै वैश्विक चरित्रलाई बढावा दिँदै छन्।
हरेक साँझ न्यूरोडको दुवैतिरका फूटपाथमा थरीथरीको भीड जम्मा हुन्छ जसको जाने अरू ठाउँ नै छैन, भेट्ने अरू मान्छे छैन, गर्ने अरू काम छैन। केही घण्टाका लागि नै सही, यो ठाउँ बेलायती कवि वाल्टर डी ला मारेले कल्पना गरेको राजा जर्ज पाँचौंको सपनाको देश जस्तो लाग्छ जहाँ हरेक मान्छे भन्नु मात्र एक जोडा खुट्टा र एक जोडा आँखा हो। यो भीड कहाँबाट आउँछ? अनुमान गर्न सकिन्छ, फूटपाथमा हरेक साँझ भेला हुने भीड त्यही हो जो बिहान दश बजे अफिस पुग्न मुसे दौडमा सामिल हुन्छ र छुटेपछि सोझै यही गन्तव्य ताक्दै आइपुग्छ। दिनभरको आफ्नो भूमिका निर्वाह गरेपछि यो भीड निस्कन्छ र एकसाथ जम्मा भएको आफू सहितको जत्था हेर्न फूटपाथमा उभिन्छ। खोक्रोपन र एक्लोपनले गाँजेको काठमाडौंको व्यक्तिगत जीवनको साक्षी हो यो साँझ, भरिभराउ फूटपाथले यही यथार्थ ओकल्छ। दिक्कलाग्दो मानसिक र भौतिक रिक्तता छ यहाँ, त्यसैले त भीड सिमेन्टको फूटपाथतिर सोझिन्छ। नत्र भने किन ओइरिन्छ यहाँ ? आखिर न्यूरोडमा हरेक दिन कुनै फेशन शो वा उत्सव आयोजना भएको त हुँदैन।
हरेक साँझ न्यूरोडको फूटपाथमा उभिई बस्ने भीड बाहेक काठमाडौंमा मुखर बौद्धिक वर्ग छैन। स्थानीय दैनिक पत्रिकामा छापिएका स्तम्भमै सीमित छ काठमाडौंको बौद्धिक कर्म। अभिव्यक्तिको अर्को माध्यम नै छैन। न कुनै समाज, न कुनै क्लब, न कुनै उपयोगी जमघट, न त कुनै भेट्ने स्थल नै छ। यही फूटपाथ र सिनेमा घर बाहेक अरू केही छैन। पश्चिमा जगत्मा प्रचलित साहित्य पढ्न मन पराउने पनि उल्लेख्य छन्। काठमाडौंका मेधावी साहित्यिक जनहरू कामु, काफ्का, सार्त्र, गिडे, इलियट र एभ्तुशेन्कोलाई नै धेरै पढ्ने गर्छन्। तर, कुन प्रयोजनका लागि? साहित्य होस् वा अन्य, समसामयिक संस्कृतिको कुरा गर्ने हो भने पश्चिमी संस्कृतिसँग हठात् बढेको नेपाली संसर्ग कि त आफ्नै सानो घेरामा खुम्चिएको छ कि भने फूर्ति देखाउने चक्करमा नराम्ररी थचारिएको छ। बाह्य संसर्गबाट सिर्जनात्मक लाभ लिनेमा मात्र दुई वर्ग छन्; कवि र चित्रकार। सबैतिर जस्तै यहाँ पनि विलक्षण प्रतिभा र स्वाँगीहरू छ्यासमिस छन्, स्पष्ट सीमारेखा छैन। यही छ्यासमिसको ऐंठनबाट कोरिने नयाँ कविता अथवा नयाँ चित्रले देवकोटा वा बालकृष्ण सम जन्माउन भने अझै धेरै कुर्नुपर्छ।
पश्चिमाको बौद्धिक हस्तक्षेपसँग सिर्जनात्मक सहकार्य गर्न हाम्रो तर्फबाट कतै पनि, कहिल्यै पनि तयारी देखिएन। पसलको झ्याल अगाडि बेलायती कवि बाइरोनको भावभङ्गिमामा उभिने युवा नै काठमाडौंको सांस्कृतिक असफलताका स्तम्भ हुन्। उनीहरूको सांस्कृतिक उदासीनताको सम्बन्ध अघिल्लो पुस्तासँग जोडिन्छ। युवा पुस्ताले हिजो संसारलाई पवित्र नजरले नियालेको थियो। ऊर्जावान् नयाँ युवा पुस्ताको भौतिक वस्तुप्रतिको आजको चरम आसक्ति एउटा प्रतिशोध हो– पुरानो पुस्ताको खोक्रो आदर्शमाथि। आजको युवाको नमूना सामाजिक सर्वेक्षण गर्ने हो भने तथ्याङ्क स्तब्ध पार्ने खालको आउनेछ। भौतिक सम्पन्नतालाई नै सर्वस्व ठान्ने उनीहरूका चाहना हुनेछन्; कार्यालयमा आरामदायक काम, आकर्षक परिवहन, पक्की आवास, खिया नलाग्ने घरायसी सामान, प्लास्टिकका हल्का गहनाहरू, सन्तुष्ट श्रीमती र दिगो बैंक रकम।
पसले र कारिन्दाले भरिएको आजको यो शहरमा सुखी परिवारको निम्न मध्यम वर्गीय आदर्शले बुद्धिमान् युवा वर्गलाई नराम्ररी सताएको छ। यही आदर्शको प्राप्तिका खातिर काठमाडौंले एकसाथ अगाडि बढाइरहेको छ– विनाश, बुद्धि, संवेदनशीलता र अभिव्यक्ति क्षमतालाई। हङकङदेखि हेल्सिन्कीसम्मका नयाँ र नानाभाँतीका सामान प्रदर्शन गर्ने काठमाडौंका पसलमा सीमित बन्दै तुहिने क्रममा छ यो युवा–क्षमता।
हिन्दू समाजको असम्भव सन्तान
शहरमा पसले आफ्ना सामान प्रदर्शन गर्छन्। कारिन्दा आफ्नो काममा जोतिन्छन्। सम्भ्रान्त चाहिं फूटपाथमा रुमल्लिन्छन्। आधुनिक भनाउँदाहरू हिन्दी सिनेमा हेर्न जान्छन् अनि धर्मभीरु चाहिं हिन्दू मन्दिरमा पूजाका लागि धाउँछन्। सरसफाइको दृष्टिकोणले हेर्ने हो भने राजधानीको प्रत्येक सडक एउटा दुःस्वप्न हो। हरक्षण जताततै रेडियो चर्को आवाजमा घन्किरहेको हुन्छ– चाहे त्यसबाट हिन्दू भजन सुनियोस् या हिन्दी फिल्मी गीत। सार्वजनिक पर्खालको लामो हिस्सा कुरूप, भद्दा र रङ्गीन पोस्टरले ढाकिएको देखिन्छ जसले बताइरहेको हुन्छ, हिन्दी सिनेमाको नालीबेली। एक अर्थमा भन्न सकिन्छ, काठमाडौं पराभौतिक रूपले हिन्दू परम्परामा समाहित छ।
काठमाडौंका कारिन्दा र व्यापारिक समाजका तहतहमा अपत्यारिलो पाराले हिन्दुत्व नै गढेर बसेको छ। खाल खालका हिन्दी सिनेमाप्रतिको आम काठमाडौंबासीको मोहले पनि हिन्दुत्वको सघनतालाई दर्शाउँछ। संसारभरको यो हिप्पी राजधानीमा रेडियो नेपालका भद्र भनाइ र गोरखापत्रको अपारदर्शी लेखाइले पनि त्यही हिन्दुत्वको पैरवी गर्छन्।
यो शहरका पुजारी र धनाढ्यहरू वेद, उपनिषद्, पुराण, गीता र अन्य ग्रन्थका बडेबडे मिथकका आध्यात्मिक पक्षबाट मुग्ध छन्। सर्वसाधारण भने हिन्दी सिनेजगत्का मोहित पार्ने मिथकबाट लट्ठिएका छन्। काठमाडौंको हिन्दू समाजको अस्पष्ट संरचनामा विदेशी रक्तधमनी जोडिएको छ। त्यसैले त विलक्षण क्षमताका हिन्दू युवा कस्सिएका र छोटाछोटा कपडा लाउन, अशोभनीय गीत–सङ्गीतमा नाच्न अनि आयातीत रक्सी धोक्न हौसिन्छन्। ट्रान्जिस्टर बोकी हिंड्ने, वनभोजप्रेमी, पश्चिमा नाचमा झुम्ने, हलिउडका भयानक उपासक छन् काठमाडौंका युवा। उनीहरू महँगा रेस्टुराँमा स्वाद न ब्यादको सलाद खान्छन् अनि मध्यरातमा तीव्र गतिमा काठमाडौंका अँध्यारा सडकमा हुँइकिन्छन्। हिन्दू समाजका यी असम्भव सन्तति वेगवान् छन्। यिनीहरूको मोजमस्तीले निम्त्याउने सङ्कटका कारण नै हिन्दू लालनपालन अपर्याप्त छ भन्ने नराम्रो टिप्पणी सुनिन्छ।
हिन्दू अभिभावकको म्लेच्छद्वेषी सोच उनीहरूका सन्तानमा सर्दै छ, प्रतिशोध सहित। यस्तो अवस्थामा गोरखापत्रको सम्पादकीयमा झल्किने हिन्दू उपकारिता केवल शाब्दिक काल्पनिकता ठहर्छ। उच्च कुलका र पुजारी खलकका परिवारले दर्जनौं हिप्पी जन्माइरहेछन् जो विट सङ्गीतको तालमा झुम्छन्। तर पनि, काठमाडौंका कारिन्दा र व्यापारिक समाजका तहतहमा अपत्यारिलो पाराले हिन्दुत्व नै गढेर बसेको छ। खाल खालका हिन्दी सिनेमाप्रतिको आम काठमाडौंबासीको मोहले पनि हिन्दुत्वको सघनतालाई दर्शाउँछ। संसारभरको यो हिप्पी राजधानीमा रेडियो नेपालका भद्र भनाइ र गोरखापत्रको अपारदर्शी लेखाइले पनि त्यही हिन्दुत्वको पैरवी गर्छन्। नेपाली भाषाको व्यथित आवाजमा पनि हिन्दुत्व मुखर छ। अरुचिकर संस्कृतमय हिन्दीको भारले थिचिएको छ यो भाषा। हिन्दुत्व सबैभन्दा बढी त काठमाडौंका हरेकजसो सामाजिक र धार्मिक जुलुशमा प्रकट हुन्छ। किनभने, काठमाडौंमा अन्त्येष्टि बाहेकका सबै भेलामा हिन्दी सिनेमाका चल्तीका गीतसङ्गीत नै गुन्जिन्छन्।
बोली र व्यवहार
मानिलिऊँ, काठमाडौं कुनै कवाडखाना हुँदो हो र समयले ओझेल पार्दै लगेका सभ्यताका सबै अवशेषहरू (काठमाडौंका हिप्पी समूह सहित) जोगाइराख्छ भने यिनीहरूमध्ये साह्रै नमिल्दोे चाहिं हिन्दू विचारकको समूह हुनेछ। खासमा रोमाञ्चक प्राणी हो हिन्दू विचारक। वेदकालीन गुफाबाट भर्खर बाहिर निस्केको छ ऊ। अटेरी छ यो समूह अनि संसारलाई साँघुरो नजरले हेर्छ। उसलाई लाग्छ, कुरुक्षेत्रमा हिन्दूबीच भएको लडाइँपछिका यत्तिका समयमा पनि संसार खासै बदलिएको छैन। नेपाली जीवनका जटिल जनजातीय, भाषिक एवं सामाजिक यथार्थ छन्। अति उत्साहित भएर ज्यादा सामान्यीकरण गर्न खोज्छ ऊ यस्ता जटिलतालाई। त्यसैले त उसको रोमाञ्चकता धूलोपीठो हुन्छ। नेपाली समाजका यथार्थबारेको आफ्नो अज्ञानलाई ढाक्न काठमाडौंका हिन्दू पत्रकार मिथकीय भनाइ दोहोर्याइरहन्छन्। वेदकालीन शब्दजालको आधारमा नेपाली मूल्यमान्यता स्थापित गर्न खोज्ने हिन्दू सिद्धान्तकार सबभन्दा पहिले शेर्पा, राई, लिम्बू, तामाङ, गुरुङ, डोल्पोको घनाबस्तीमा जाऊन्। नेपाली समाज एकै खालको छैन भन्ने वास्तविकता उनीहरू आफ्नै आँखाले देखून्।
काठमाडौं मात्र पूरा नेपाल होइन। काठमाडौंको पराभौतिक विसङ्गति यहाँको ढोंगीपनामा ठ्याक्कै झल्किन्छ। उदाहरणका लागि, शेर्पा जातिको आदिम, सर्वात्मवादी र आधारभूत समाजले समाजशास्त्रीलाई यो निचोड निकाल्न बाध्य पार्छ कि नेपालमा विद्यमान हिन्दू पवित्रता काठमाडौंमा जरो गाडेको सघन काल्पनिकी मात्र हो। यो त सिर्जनशील नेपाली हिन्दूको भारतमुखी लगावको नतीजा हो।
गङ्गा किनारको वेदकालीन आर्यवर्ती वा हिन्दू बाहुनवादी समाज मात्र होइन, आफ्नैपन बोकेको इन्द्रेणी समाज पनि छ नेपालमा। डोरबहादुर विष्टको पिपल अफ नेपाल, इमानसिं चेम्जोङको हिस्ट्री एन्ड कल्चर अफ दी किरात पिपल, गोपालसिं नेपालीको द नेवार्स, एसके श्रीवास्तवको द थारूज्, फ्यूरर हाइमेन्डोर्फको द शेर्पाज् अफ नेपाल, जोन टी. हिचककको द मगर्स अफ बन्यान हिल लगायत ब्रायन एच. हड्सन, डा. डेभिड स्नेलग्रोभ र अन्य लेखकका पनि थुप्रै सान्दर्भिक सामग्री छन्। काठमाडौंका एकपाखे हिन्दू पत्रकारले कहिल्यै पढ्दैनन् यी किताब। किनभने, यी सामग्रीमध्ये केही म्लेच्छले लेखेका छन्। त्यति मात्र होइन, यी लेखकहरू आदिम÷असभ्य भाषा टिप्छन् अनि अरुचिकर सामाजिक यथार्थ ओकल्छन्।
काठमाडौं मात्र पूरा नेपाल होइन। काठमाडौंको पराभौतिक विसङ्गति यहाँको ढोंगीपनामा ठ्याक्कै झल्किन्छ। उदाहरणका लागि, शेर्पा जातिको आदिम, सर्वात्मवादी र आधारभूत समाजले समाजशास्त्रीलाई यो निचोड निकाल्न बाध्य पार्छ कि नेपालमा विद्यमान हिन्दू पवित्रता काठमाडौंमा जरो गाडेको सघन काल्पनिकी मात्र हो। यो त सिर्जनशील नेपाली हिन्दूको भारतमुखी लगावको नतीजा हो। भारतीय ऋषिका कुनै गोत्रसँग आफ्नो पुस्तैनी सम्बन्ध गाँसिएको ठान्छन् उनीहरू। उनीहरूकै अनगन्ती शाखा सन्तान छन् काठमाडौंमा। पितृपूजक बनेर उनीहरू हामीलाई बुझाउँछन्; आर्यमध्ये पनि सबैभन्दा सभ्य र पवित्र हिन्दू हुन्। कुनै वेला उनीहरूले मानव गतिविधिका यावत् क्षेत्रमा श्रेष्ठता हासिल गरेका थिए– चाहे वायुयान निर्माण होस् या मिसाइल प्रक्षेपण या योग लगायत रहस्यवाद र पराभौतिकवाद। उनीहरूलाई सोध्नुहोस्, तत्काल जवाफ मिल्नेछ– जनजातीय वा सांस्कृतिक दुवै पाटोको नेपाली समाजको उद्गम थलो सिन्धु घाँटीको आसपासमा रहेको छ। तर पनि, नेपाली इतिहासको विडम्बना नै हो कि राणाकालका हिन्दू पुजारी र उच्च वर्गको षड्यन्त्रले नेपाली जनतालाई एक शतकसम्म गतिहीन अवस्थामा पुर्यायो। यही षड्यन्त्रले माथि परजीवी जन्मायो भने तलतिर अज्ञानता, अन्धविश्वास र गरीबीले ढाक्यो।
अहिले त हिन्दू रहस्यवाद र पराभौतिकवादको प्रभाव काठमाडौंका पसले र कारिन्दाको घरघरमा समेत घट्दै गएको छ। काठमाडौं बाहिरका रैथाने लोक परम्परा र लोक संस्कृति भएको क्षेत्र तथा सर्वात्मवाद र आदिम संस्कारका अनुयायीमाझ पनि हिन्दू बयानबाजीले काम गर्न छोडिसक्यो। काठमाडौंमा भने हिन्दुत्व अझै कायम छ। सिर्जनशील शक्ति भएकाले होइन कि मक्किसकेको परम्परा र संस्कार, भोजभतेर र चाडबाड निर्मित संरचनाका कारण। यसमा धार्मिक र अधार्मिक दुवैथरी जोडिएका छन्, सोचविचार गरेर धर्मप्रति विश्वास जागेको नभई पुस्तौंदेखि लागेको बानीले गर्दा।
काठमाडौंको हिन्दू पत्रकारिता र देशको समृद्ध, रैथाने र विविध लोक परम्पराबीचको खाडल शहर र गाउँबीचको परम्परागत भिन्नताका कारण मात्र बढेको होइन, बोली र व्यवहारबीच रहेको डरलाग्दो बेमेलले गर्दा पनि हो।
वास्तवमा हिन्दू अध्यात्मवादको बयानबाजी भारतमा व्यापक छ। निर्वासित दिमागको उपज हो यो अनि क्रूर वातावरणमा फस्टाइरहेको हुन्छ। सांसारिकताको चिन्ता गर्ने जमातले हिन्दू अध्यात्मवादलाई पराभौतिक बिसौनी मान्छ। प्राचीन कालका निर्वासित हिन्दूहरू हिमालयको काखको चिसोमा पराभौतिक आश्रय लिन अकारणै आएका चाहिं होइनन्। कुरुक्षेत्रमा विजय हासिल गरेपछि महाभारतका काव्यिक नायकहरूका लागि जाने ठाउँ यही हिन्दू भूस्वर्ग बाहेक अरू भएन। उनीहरूले आनन्दमय क्षेत्रका रूपमा यही हिमालय मार्ग रोजे।
आज भारतले हिन्दू बयानबाजीलाई व्यावहारिक उपयोग गरिरहेछ। राजनीतिक विचारधारा वा दलीय कार्यक्रममा प्रकट छ यो। तर, काठमाडौंका हिन्दू पत्रकार अलि असान्दर्भिक ठहरिन्छन्। यहाँको प्राकृतिक परिदृश्य आकर्षक छ, हिमालय नजिक छ। तर, कट्टर विचारकको छद्म चाटुकारिताले काम गरेको छैन; देशको सामाजिक, सांस्कृतिक यथार्थ अनुकूल छैन उनीहरूको कदम। नेपालको सामाजिक सांस्कृतिक यथार्थ यी ग्रहनक्षत्रका ज्ञाताले आफूखुशी बनाएको विचारसँग मेल खाँदैन। सामाजिक विज्ञको संलग्नता वा असंलग्नताका आधारमा उनीहरूले नेपाललाई कहिल्यै हेरेनन्। भारतभक्त नजरले आकाशका तारा हेर्नुभन्दा देशको माटो छाम्नु कता हो कता स्तुत्य काम हो। काठमाडौंको हिन्दू पत्रकारिता र देशको समृद्ध, रैथाने र विविध लोक परम्पराबीचको खाडल शहर र गाउँबीचको परम्परागत भिन्नताका कारण मात्र बढेको होइन, बोली र व्यवहारबीच रहेको डरलाग्दो बेमेलले गर्दा पनि हो।
विध्वंंसकको पर्खाइ
काठमाडौंलाई अस्तव्यस्त र विसङ्गत शहर, अझ पर्खाल विनाको शहर, संकेत विनाको शहर तुल्याउन हरेक कुराले भूमिका खेलेको छ। यो अस्तव्यस्तता भौतिक र पराभौतिक दुवै खालको छ। यो विसङ्गति वस्तुगत र सांस्कृतिक दुवै छ। आज काठमाडौंको मुटुमा जङ्गबहादुरदेखि जुद्धशमशेरसम्मका सबै राणा प्रधानमन्त्री काँसको मूर्तिमा अविचलित विश्राममा छन्। आफ्ना कल्पनाको निपुणतामा सन्तोषको आँसु झार्दै छन्। मिथकीय लाजारस जसरी मृत्युबाट ब्युँतिने त छैनन् उनीहरू। फेरि तिनका लाश कहिल्यै गाडिएको थिएन, काठमाडौंमा मृतकलाई गाडिंदैन पनि।
यसैबीच काठमाडौंमा पर्यटकको ओइरो लागेको छ। रहस्यमयी लाग्छ उनीहरूलाई यो निषिद्ध शहर। त्यसैले पूर्वी विश्वको यो खण्ड अवलोकन गर्न आउँछन् उनीहरू। तर, आफ्नो देश फर्केर वितृष्णाका गाथा लेख्छन्, मोहभङ्गका किताब लेख्छन्। उनीहरू संसारलाई सुनाउँछन्; काठमाडौं पर्यटक वा उद्धारकको पर्खाइमा छैन, हास्य कलाकार, व्यङ्ग्यकार र कार्टून चित्रकारको पर्खाइमा छ। बाइबलमा वर्णित जिससको दोस्रो आगमन त तत्काल देखिंदैन। काठमाडौंमा जन्मन कुनै प्राणी यदि तयारीमा छ भने त्यो लेखक नै हुनेछ– सर्भान्टिस वा स्वीफ्ट वा होगार्थमध्येको कोही।
काठमाडौंका सडक खतराका पूर्व सङ्केतले भरिएका छन्। बुद्धका सर्वव्यापी नजर केही खोजिरहेछन् अविकल अडिँदै, काठमाडौं तिम्रो काठमाडौंमा।
(हिमाल मासिकको मंसीर अंकमा प्रकाशित)
सिभिल इन्जिनियरिङमा स्नातक खनियाँले अंग्रेजी साहित्यमा एम.फिल. गरेका छन्।