स्नेही अभिभावक कमलप्रकाश
बुबाको जागीर खोसिनुका साथै घर लिलामीमा परेपछि आर्थिक सङ्कट आइलाग्यो। अनि जेठा छोरा कमलप्रकाशले पारिवारिक जिम्मेवारी उठाउँदै टाइपिस्ट क्लर्कको जागीर शुरू गरे।
काठमाडौं, रविभवनमा अमेरिकी सहयोगको एउटा कार्यालय खोलिएको थियो। कमलप्रकाश मल्लले जीवनमा पहिलो पटक रोजगारी पाएको त्यहीं हो- टाइपिस्ट क्लर्कका रूपमा।
नाता पर्ने छिमेकीकै एक भद्रजन मार्फत त्यो रोजगारी जुरेको थियो। अङ्ग्रेजी टाइपिङमा उनी यति सिपालु थिए कि प्रति मिनेट ७५ शब्दसम्म टाइप गर्न भ्याउँथे, त्यो पनि त्रुटिरहित। जबकि, त्यतिवेला टाइपिङ कक्षा उत्तीणर्का लागि निर्धारित न्यूनतम गति प्रति मिनेट २५ शब्द मात्र थियो।
टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषद् अन्तर्गत बुबा स्वास्थ्य मन्त्रालयमा सहायक सचिवको पदमा नियुक्त हुनुभएको थियो। तर, तात्कालिक राजनीतिक अस्थिरतासँगै त्यो जागीर गुम्यो। जङ्गी अड्डाका कर्मचारीलाई रासन दिइने चामलको ठेक्का हाम्रै परिवारको जिम्मामा थियो। तर, बिक्री वितरणपछि सङ्कलित रकम सरकारलाई नबुझाई काकाले जुवामा उडाएपछि त्यो कारोबार पनि रहेन।
त्यसपछि घरै लिलामीमा पर्यो। परिवारमा आर्थिक दुर्दिन शुरू भए। छाक टार्नै धौधौको अवस्था थियो। स्वाभाविक रूपमा, त्रि-चन्द्र कलेजबाट भर्खरै पढाइ सकेका जेठा छोरा कमलप्रकाशको काँधमा पारिवारिक जिम्मेवारी आइपर्यो। त्यही अप्ठ्यारो समयमा उनले रोजेको विकल्प थियो- टाइपिस्ट क्लर्कको जागीर।
त्यही क्रममा उनी सन् १९५७ मा कोलम्बो प्लान अन्तर्गतको छात्रवृत्तिमा पटना विश्वविद्यालय, मुजफ्फरपुरमा एमए अध्ययनका लागि छनोटमा परे। यो अवसर जीवनमा नयाँ जस्केलो बनेर आइपुग्यो। त्यसै विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरिसकेपछि उनले तत्कालीन श्री ५ को सरकारबाट नियुक्ति पाएर सन् १९५९ देखि १९६२ सम्म पद्मकन्या कलेजमा अध्यापन गरे। कलेजसम्म पुग्न छिमेकीसँग साइकल पैंचो माग्थे। आफ्नै गोजीको पैसाले साइकल किन्न सकेको धेरै पछि मात्र हो।
परिवारमाझ उनी कमलप्रकाश नभएर कमला थिए। बा-आमाले राखिदिएको नाम त्यही थियो। पछिसम्म दौंतरीहरू उनलाई कमला भनेरै सम्बोधन गर्थे।
परिवारमाझ उनी कमलप्रकाश नभएर कमला थिए। बा-आमाले राखिदिएको नाम त्यही थियो। पछिसम्म दौंतरीहरू उनलाई कमला भनेरै सम्बोधन गर्थे। तर, कमला स्त्रीलिङ्गी संज्ञा भएको बुझेपछि आफ्नो नाम कमल बनाए। समाजले पछि कमलप्रकाशकै नामबाट चिन्न थाल्यो।
त्रि-चन्द्रमा पढ्दा उनलाई अर्थशास्त्रमा रुचि थियो। विद्यार्थीकालमै वाम नेता पुष्पलाल श्रेष्ठसँग उनको उठबस भइसकेको थियो। पुष्पलालले पनि अर्थशास्त्रमै थप अध्ययन गर्न सुझाएका थिए।
तर, समकालिकहरूको एउटा त्यस्तो मित्र-मण्डली बन्यो जसलाई उनीहरूले विद्यार्थी साहित्य मण्डलका रूपमा संस्थागत गरे। अध्यक्ष पदमा थिए गम्भीरमान मास्के, अनि महासचिवको बिंडो थामे कमलप्रकाशले। बाङ्गेमुढास्थित कुलघरमा उनीहरू आ-आफ्ना साहित्यिक सिर्जना सहित जमघट गर्थे। वेलावेला साहित्यिक गोष्ठी पनि आयोजना हुन्थ्यो। त्यसमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम जस्ता कहलिएका स्रष्टालाई आमन्त्रण गरिन्थ्यो।
एक दिनको साहित्यिक बसाइमा अच्युतबहादुर राजभण्डारी (पूर्व सचिव) ले एउटा समालोचनात्मक लेख पढेर सुनाए। त्यो लेख त्यसताकाको अति चर्चित हिन्दी सिनेमा ‘संसार’ को विषयवस्तुमा केन्द्रित रहेछ। सन् १९५१ मा जेमिनी प्रडक्सनले बनाएको उक्त सिनेमाको सर्वत्र प्रशंसा सुनिन्थ्यो। तर, अच्युतबहादुरले उक्त सिनेमाका अनेकन् त्रुटि औंल्याएका थिए। उनको शैली र प्रस्तुति अत्यन्त आकर्षक थियो।
कमलप्रकाशलाई त्यसले गहिरो प्रभाव पारेछ। समालोचना लेखन पनि यति सुन्दर र लोभलाग्दो हुँदो रहेछ भन्ने भेउ पाएपछि यसै विधामा कलम चलाउने निधो गरे। समालोचना विधामा आफ्नो रुचि जगाइदिनमा उनी पछिसम्म पनि मित्र अच्युतबहादुरलाई श्रेय दिन्थे।
शनिबारको सिङ्गो दिन दौंतरीहरूमाझ रमाउँथे कमलप्रकाश। बाङ्गेमुढास्थित घरमा जमघट हुन्थ्यो। निश्चित साथीहरू हुन्थे, केही टोल वरपरका, केही बालसखा।
जापानी भिक्षु इकाई कावगुची जसले नेपालका विभिन्न समुदायका कला, संस्कृति, धर्मको अध्ययन-अनुसन्धान गरी महत्त्वपूर्ण कृतिहरू लेखे, उनी समाजशास्त्रीहरूमाझ पनि निकै चर्चित र सम्मानित छन्। कमलप्रकाश उनीबाट निकै प्रभावित भए। अनि आफू पनि समाज, संस्कृति, सभ्यता र भाषा-साहित्यको अध्ययनमा कम्मर कसेर लागे। जीवनको अन्तिम कालखण्डसम्म त्यसमा निरन्तर लागिरहे।
शनिबारको सिङ्गो दिन दौंतरीहरूमाझ रमाउँथे कमलप्रकाश। बाङ्गेमुढास्थित घरमा जमघट हुन्थ्यो। निश्चित साथीहरू हुन्थे, केही टोल वरपरका, केही बालसखा। भेटघाटको पहिलो चरण एउटा खेल विशेषमा खर्चिइन्थ्यो- विभिन्न खण्डमा विभाजित वर्गाकार पाटी जसमा तेर्सो वा माथि-तल गरी प्रत्येक खण्डमा रोमन अक्षरका गोटी सजाएर अङ्ग्रेजी भाषाको एउटा पूर्ण शब्द-संरचना बनाउने।
सकेसम्म धेरै अक्षरयुक्त तथा जटिल शब्द बनाउनेले अधिकतम अङ्क पाउँथ्यो। प्रत्येक गोटीमा एउटा अक्षर लेखिएको हुन्थ्यो। प्रत्येक खेलाडीको भागमा सात वटा गोटी हुन्थे। सबै गोटी बोर्डमा सजाइसक्दा जसले धेरै अङ्क बटुल्छ, उही विजयी हुन्थ्यो। ‘स्क्रायबल’ भनिने यही बौद्धिक खेल नै कमलप्रकाश र उनको मित्र-मण्डलीका लागि बिदाको समय बिताउने एक मात्र साधन थियो।
भेटघाटको दोस्रो चरणमा उनीहरू केएल सैगल, तलत मुहम्मद, मुकेश, मन्नाडे जस्ता हिन्दी गायकका गीत गाएर रमाउँथे। अन्तिम चरणसम्म पुग्दा घाम अस्ताइसकेको हुन्थ्यो। टोलका पसलमा पाइने स्थानीय परिकार चतांमरी, बारा, आलुचप, आलुवः (आलुको चिप्स), बदाम-भटमास चाखेपछि जमघटको विसर्जन हुन्थ्यो। देशविदेशका समसामयिक घटनाक्रम तथा राजनीति उनीहरूबीचको चर्चा, चासोका मूल विषय हुन्थे।
सामान्य स्तरको थियो कमलप्रकाशको कोठा। पूर्व-पश्चिम लम्बाइको, दक्षिणतिर झयालहरू र उत्तरमा भित्ता, त्यसमा एउटा अमूर्त शैलीको आधुनिक कलाकृति। पुस्तकले भरिएका काठका केही र्याक, लेखपढ गर्न मिल्ने एउटा टेबुल अनि सानो पलङ। पहिले भुइँमा लम्पट बिच्छ्याइएको हुन्थ्यो, ठाउँठाउँमा प्वाल परिसकेको। अध्यापनको स्थायी नोकरी मिलेपछि भने लम्पट निकालेर ‘लिनोलियम’ ओछ्याइयो। अनि पाँच जनासम्म बस्न मिल्ने काठका कुर्सी र सानो कफी टेबुल थपियो।
सामान्य स्तरको थियो कमलप्रकाशको कोठा। पूर्व-पश्चिम लम्बाइको, दक्षिणतिर झयालहरू र उत्तरमा भित्ता, त्यसमा एउटा अमूर्त शैलीको आधुनिक कलाकृति। पुस्तकले भरिएका काठका केही र्याक, लेखपढ गर्न मिल्ने एउटा टेबुल अनि सानो पलङ।
कोठामा धूलो कतै देखिंदैनथ्यो। टेबुल र मेचहरू टिलिक्क टल्किएका हुन्थे। ‘लिनोलियम’ र काठे फर्निचरमा दिनहुँ वाक्सपोल घोटिन्थ्यो। कोठाभित्र पाइला टेक्दा पनि चिप्लिएर लडिएला जस्तो। सबै सामग्री ठीक ठाउँमा हुन्थे। पुस्तक र्याकको कुन ठाउँबाट निकालिएको हो, पढिसकेपछि त्यहीं राखिन्थ्यो। टेबुलमा कलम, कापी, पत्रपत्रिका राख्ने कमलप्रकाशको आफ्नै खाले शैली थियो। उनको छनोट पार्कर कलम र क्विक मसी हुन्थ्यो।
टेबुलको एकातिर चिनियाँ टाइम्पिस्ट घडी र अर्कातिर फ्रेमभित्र अङ्ग्रेजी आधुनिक कविताका अग्रज टीयस इलियटका चित्र हुन्थे। एउटा कुनामा बूस कम्पनीको स्पूलवाला टेपरिकर्डर थियो। त्यसमा उनी बेलायत पढ्न जाँदा सङ्कलन गरेर ल्याएको तलत मुहम्मदका पुराना गीतहरूको स्पूल घुमिरहेको हुन्थ्यो।
उनको अर्को एउटा बानी थियो- एकान्तमा बसेर ‘लङप्ले डिस्क रिकर्ड’ मा मोजार्ट, बिथाेभेन, स्वानलेक मात्र होइन, शेक्सपियरका अमर कृति किङ लियर, म्याकवेथ, ह्यामलेट जस्ता पूर्णाङ्की नाटकका साउन्ड ट्र्याक पनि सुन्थे। डिस्क रिकर्डमा हिन्दी सिनेजगत्का सङ्गीत सर्जक एसडी बर्मन र नेपालीमा प्रेमध्वज प्रधान, बच्चु कैलाशका गीत सुन्न मन पराउँथे।
राजाका स्वकीय सचिव नारायणप्रसाद श्रेष्ठसँग नजिकिंदै जाँदा कमलप्रकाशले तत्कालीन अधिराजकुमार हिमालय वीरविक्रमकी धर्मपत्नी प्रिन्सेप शाहलाई अङ्ग्रेजी पढाउन सातामा दुई पटक ताहाचल पुग्नुपर्ने भयो। त्यतिवेला राजपरिवारसँग निकट हुनुको अर्थ अवसर तथा सुविधाको प्राप्ति थियो।
त्यसको केही समयपछि उनले नारायणहिटी दरबारभित्रै पस्न पाए, राजकुमार ज्ञानेन्द्र र धीरेन्द्र दाजुभाइलाई पढाउने गुरुका रूपमा। तर, कमलप्रकाशले दरबारसँगको निकटतालाई कहिले पनि आफ्नो र आफन्तका लागि फाइदा लिने अवसर बनाएनन्। बरु, घरमा आएर राजाका छोराहरूको छाडा बानीव्यहोरा र पढाइमा उनीहरूको अरुचिलाई लिएर असन्तुष्टि पोख्थे। विशेषतः ज्ञानेन्द्रको अनुशासनहीनता र अभद्रता उनलाई मन परेको रहेनछ। परिवारजनसँग बस्दा यस्ता प्रसङ्ग बरोबर कोट्याउँथे।
राजपरिवारसँग यतिको उठबस हुँदा पनि आफ्नो लेखाइ मार्फत तत्कालीन शासन सत्ताका अव्यवस्था, नेतृत्व तहको अविवेकी नीति, अलोकतान्त्रिक व्यवहारलाई तीखो प्रहार गर्नमा उनी कहिल्यै हिचकिचाएनन्। अगुवा राजनीतिक नेताहरूले समेत त्यतिवेला आँट नगरेका कटु यथार्थलाई उदाङ्गो पार्नमा कमलप्रकाश अडिग रहे।
कमलप्रकाशले दरबारसँगको निकटतालाई कहिले पनि आफ्नो र आफन्तका लागि फाइदा लिने अवसर बनाएनन्। बरु, घरमा आएर राजाका छोराहरूको छाडा बानीव्यहोरा र पढाइमा उनीहरूको अरुचिलाई लिएर असन्तुष्टि पोख्थे। विशेषतः ज्ञानेन्द्रको अनुशासनहीनता र अभद्रता उनलाई मन परेको रहेनछ। परिवारजनसँग बस्दा यस्ता प्रसङ्ग बरोबर कोट्याउँथे।
पहिलो पटक बेलायतमा अध्ययन गरेर फर्केदेखि उनी आफ्नो लुगा आफैं धुन रुचाउँथे। बिहानको नास्ता आफैं तयार पार्थे। बिहान उठेपछि ओछ्यान नमिलाई बाहिर निस्किँदैनथे। कोठामा कुचो लगाउँथे, धुलो टकटक्याउँथे। आफूले लगाएका लुगा, जुत्ता र रुमाल कहिल्यै छरपस्ट छाडेनन्। सरसफाइ र स्वच्छता उनको प्राथमिकता थियो।
चुस्तदुरुस्त र आकर्षक पहिरन लगाउनु उनको गुण थियो। तर, त्यसमा विलासिता होइन, शालीनता झल्किरहेको हुन्थ्यो। घरभित्र लगाउने लुगामा पनि एकसरो इस्त्री लगाउन भ्याएकै हुन्थे। आफूले चलाउने सवारी साधनमा धूलोमैलो देख्न सक्दैनथे। झर्को नमानी पुछिहाल्थे।
टाई, सूट अनि पालिसले टल्काएको जुत्ता अनि त्यसमा मिल्ने गरी कोरिएको कपाल उनको बाह्य पहिचान बनेको थियो। सारमा कमलप्रकाशको बहिरङ्ग पहिचान भनेकै अत्यन्त व्यवस्थित र चिटिक्क परेको व्यक्तित्व थियो।
बुबाको निवृत्तिपछि घरपरिवारको सम्पूर्ण जिम्मेवारी वहन गरेका कमलप्रकाश मुलुकको विलक्षण प्रतिभाशाली बौद्धिक धरोहर मात्र होइन, परिवारका लागि एक सरल, सहज र स्नेही अभिभावक पनि थिए। परिवारका लागि कमला सही अर्थमा कोमलता थियो।