बर्मामा जनप्रतिनिधि, काठमाडौंमा मजदुर
बर्माबाट लखेटिएर नेपाल आईपुगेका रोहिङ्ग्या परिवार नेपाली भाषा नबुझे पनि दैनिकी चलाउन काठमाडौंमा मजदुरी र ससानो व्यापार गरिरहेका छन्।
मे मध्यतिर अर्थात वैशाखमा बर्माको मण्डु जिल्लास्थित मण्डुगाउँमा एकाएक आगलागी भयो। २९ वर्षीय आगुल ओस्मान पनि बाहिर निस्किए। पूरै गाउँभरि आगोको मुस्लो निस्किरहेको थियो। “बर्माको सेनाले गोलाबारी गरी हाम्रा घर जलाउँदै थियो,” ओस्मान भन्छन्।
त्यसपछि उनी आठ जनाको परिवारसँगै गाउँबाट भागे। त्यस रात उनको परिवारसँगै कयौं रोहिङ्ग्या परिवारले गाउँ छाडे। “कोही खेतबारीबाटै, कोही घरबाटै, कोही काम गर्ने ठाउँबाटै भाग्यौं,” उनी सम्झिन्छन्।
गाउँघर छाडेपछि परिवारका सदस्य को कहाँ पुगे, कसैको अत्तोपत्तो भएन। “बाङ्लादेशको सीमानामा पुगेपछि सबै परिवारको भेट भयो,” ओस्मान भन्छन्।
बाङ्लादेशमा पनि दैनिकी चलाउन सहज भएन। त्यसपछि उनीहरू बाङ्लादेश छाडेर नेपालतिर लागे। अहिले काठमाडौंको कपनस्थित लसुनेटारमा बस्दै आएका ओस्मान भन्छन्, “आमाबुवा र दुई भाइ बाङ्लादेशमै छुटे।” श्रीमती र छोरीसहित लसुनेटारमा सानीआमाको परिवारसँगै बसिरहेका उनी मजदुरी गरेर दैनिकी चलाइरहेका छन्।
बर्मामा छँदा भने ओस्मानले अरुलाई रोजगारी दिन्थे। उनको घरमा सात जना कामदार थिए। २० विघामा माछापालन व्यवसाय र १० विघामा खेती गर्थे। त्यसमा २१ जना मजदुरले काम गर्थे। “सबै सुविधा थियो। गाउँमा सबैले सम्मान गर्थे, सबैले मान्थे,” उनी १० वर्षअघिको बर्मेली जीवन सम्झिन्छन्।
उनले बर्मामा १२ कक्षासम्म अध्ययन गरेका थिए। परिवारको मुख्य पेशा माछा व्यवसाय सम्हाल्दै ब्यापार गर्ने योजना थियो। “अहिले मिस्त्रीको काम गरेर खाँदै छु,” ओस्मान लख काट्छन्, “त्यत्रो घर र सम्पती सबै उस्तै होला उता।”
अहिले काठमाडौंमा काम खोज्दै हिड्दा कोही कारमा हुइकियो भने उनलाई बर्माकै झझल्को आउँछ। “हिड्न पर्दैन्थ्यो, गाडी थियो, बाइक थियो,” उनी भन्छन्।
त्यो सब सुखसुविधा बिर्सिन खोज्दै छन्, तर बर्मा बिर्सिन सकेका छैनन्। अझै पनि उतै जान पाए हुन्थ्यो भन्ने लाग्छ ओस्मानलाई। “बर्मा सरकारले बोलायो भने भोलि नै हिड्थे,” ओस्मान भन्छन्, “बर्मा फर्किन माहोल बनाइदिए हुन्थ्यो।”
७० वर्षीय सयूदुल इस्लामलाई पनि घर फर्किन पाए हुन्थ्यो भन्ने लागेको छ। टिनले छेकबार गरी बनाएको कपनको घर उनलाई घरजस्तो लागेको छैन। टिनले छाएको कटेरोमा बस्दा आफूलाई बन्दी जस्तै ठान्ने गरेको बताउँछन्।
नठानुन् पनि कसरी? बर्माको क्यामो गाउँमा उनी वडाध्यक्ष भएका थिए। उनलाई ‘रायेका रुम’ अर्थात वडाकारी भनिन्थ्यो। पाँच वर्ष वडाध्यक्ष हुँदा गाउँबाट अन्यत्र बसाइ सर्न वा अन्यत्रबाट गाउँमा आउन उनकी सहमति चाहिन्थ्यो। अर्थात उनको सहमतिबिना गाउँ छाड्न पाइँदैन्थ्यो।
तर, आफैले देश छाडेर भाग्नु परेको उनी सुनाउँछन्। “कहाँको वडाध्यक्ष, कहाँ आएर सब्जी व्यापारी भएँ,” इस्लाम बर्माको दैनिकी सम्झिँदै भन्छन्, “बर्मामा छँदा कागजातमा हस्ताक्षेर मात्र गर्थे, अहिले बिहानै कालीमाटी पुगेर सब्जी बेच्छु।”
बर्मामा भने उनले सरकारी तलब पनि लिँदैन्थे। ३३ विघा जमिन थियो। सम्पन्न परिवार थियो। “घरकै आम्दानी राम्रो भएकाले पाँच वर्ष वडाध्यक्ष भएर काम गर्दा सरकारी तलब पनि लिइनँ,” उनी भन्छन्, “आफ्नो गाउँ भनेर काम गरे, तर सरकारले आफ्नो ठानेन, रोहिङ्ग्या भनेर लखेट्यो।”
उनको ६ जनाको परिवार छ। छोराले काम त गर्छ, तर त्यसले पुग्दैन। त्यसैले उनी पनि नेपाली बोल्न नआए पनि तरकारी बेचिरहेका छन्। उनी आफैलाई सान्त्वना दिन्छन्, “बर्मामा भए बाँचिन्थ्यो कि मरिन्थ्यो, एकीन थिएन। तरकारी बेचेरै बस्नुपरे पनि बाँचेको छु, यहि ठिक छ।”
मारिने डरले उनको ६ जनाको परिवार राति ३ बजे देश छाडेर हिडेको थियो। दुई दिन हिडेर बाङ्लादेशको सीमासम्म पुगेका थिए। त्यो हिडाइमा उनकी आठ वर्षीया छोरी पनि थिइन्।
वडाध्यक्ष हुँदा उनलाई तीन जना सुरक्षाकर्मीले सुरक्षा दिन्थे। यस्तो अवस्था आयो, उनले आफ्नै देशका सुरक्षाकर्मीबाट असुरक्षित महसुस गरे। ज्यान जोगाउन सुन, चाँदी र नगद समेत छाडेर हिडे।
देश छाडेर आए पनि उनको देशप्रेम कम भएको छैन। गाउँघर अझै याद आइरहन्छ। “नेपालमा जस्तो प्रजातन्त्र आए त बर्मा नै फर्की हाल्थे,” उनी भन्छन्।
बर्मामा ६० विघा जमीनका मालिक ६० वर्षीय अली जोहरलाई काठमाडौंमा भने घरभित्र पस्न पनि खुम्निुपर्छ। बासस्थानसँगै किराना पसल राखेका छन्, दैनिकी चलाउन। नेपाली भाषा बोल्न नसक्ने उनी ग्राहकलाई सकीनसकी भन्दै थिए, ‘कतिको चेउ..चेउ दिनु?’
५३ वर्षसम्म वर्मेली भाषा बोलेका उनलाई अहिले आएरु नेपाली सिक्न मुस्किल भएको छ। “रोटी खान एउटा सानो पसल खोलेको, त्यसको लागि भाषा जान्ने कोशिस गर्दै छु,” उनले सुनाए।
केही वर्षअघि त उनी बर्माको मण्डु जिल्लास्थित कुरहली गाउँका जमिनदार थिए। दुई वटा घर, ६० विघा जमीन र मासिक तीन लाख आम्दानी हुन्थ्यो। आँपको बारी थियो। अझ ४० विघा जमीनमा माछापालन व्यवसाय गर्थे। “आफ्नो देश नै नभएपछि सम्पत्तिको हिसाब राख्नु ब्यर्थ हो,” उनी भन्छन्।
बर्माबाट ज्यान जोगएर भाग्न सकेकोमै उनी खुशी हुन्छन्। “त्यस वेला भाग्न नपाएका छिमेकीलाई गोली हानेर मारे,” जोहर भन्छन्, “सम्पत्ति ठूलो होइन।”
उनीहरूले धनसम्पत्तिलाई बेवास्ता गर्न खोजे पनि काठमाडौंमा दैनिक भोग्नुपर्ने आर्थिक अभावले बर्माको घरखेत याद आइहाल्छ। “बर्मामा थियौँ भने आज मेरो र उनको उपचार हुन्थ्यो,” उनकी पत्नी फातेमा खातुन भन्छिन्।
फातेमालाई मधुमेहको समस्या छ भने जोहरलाई घुँडाको। १४ सदस्यीय परिवारका केही बाङ्लादेशमा त केही काठमाडौंमा मजदुरी गरिरहेका छन्। मजदुरीको पैसाले उपचार गर्न सम्भव छैन। गतवर्ष टिचिङ अस्पताल पुगेका जोहरलाई चिकित्सकले खुट्टाको शल्यक्रिया गर्नुपर्छ भनेका थिए। तर, एक लाख ३० हजारको जोहो नहुँदा अहिलेसम्म शल्यक्रिया नभएको खातुन बताउँछिन्।
जोहर दिनमा तीन पटक औषधि खान्छन्। खुट्टा करक्क दुख्छ। तैपनि, किराना पसलका लागि तरकारी र सामान लिन आफै जान्छन्।
बर्मामा भने उनीहरूको आँप खेतीबाट मात्रै मासिक तीन लाख आम्दानी हुन्थ्यो। ब्यांकमा राख्न रोक लगाएकाले दैनिक आम्दानीको पैसा घरमै हुन्थ्यो। त्यस्तै, छोरीको बिहेका लागि भनेर छुट्याएको १५ लाख घरमै थियो। “त्यही रकम मात्र ल्याउन पाएको भए पनि बुवाको उपचार हुने थियो,” उनका छोरा महोमत अब्दुल्ला भन्छन, “त्यत्रो पैसा, जमिनदारी केही काम लागेन। अहिले यहाँ आएर सहयोग माग्दै छौं।”
देशबाट लखेटिए पनि उनलाई बर्माप्रतिको माया कम भएको छैन। २२ वर्षीया अब्दुलाले सपनामा पनि बर्माकै कुरहली गाउँमा साथीभाइसँग डुलेको देख्ने गरेको सुनाउँछन्। “आफ्नो देश आफ्नो भएन,” उनी भन्छन्, “नेपालमा बाँच्न त पाएका छौं, तर बर्मा फर्किन पाए खुशी हुन्थ्यौं।”
यो पनि पढ्नुहाेस्