काठमाडौंमा रहेका अफगान नागरिक भन्छन्- यता परिवार पाल्ने तनाव छ, उता तालिबानले फेरि देश कब्जा गरेको छ
हिंसा र आक्रमणबाट बच्न अफगानिस्तानबाट विभिन्न समयमा भागेर काठमाडौं आएका अफगान नागरिक तालिबानले सत्ता हत्याएपछि देश फर्कने बाटो सधैंका लागि बन्द भएको भन्दै अनिश्चित भविष्यको चिन्तामा छन्।
अमेरिकी सेना अफगान भूमिबाट फर्केसँगै अफगानिस्तानको शासनमा २० वर्षपछि तालिबान विद्रोहीले कब्जा जमाएको छ। दुई दशकअघि सत्तामा रहँदा र सत्ताबाट हट्नुपरेपछि तालिबानले गर्दै आएको हिंसा र ज्यादतीमा परेका अफगानहरू त्यही शक्ति शासनमा फर्कंदा आतंकित र त्रस्त छन्। तालिबानको डरले अफगानिस्तान छोड्न चाहने मानिसहरूको भीडले पछिल्लो दुई साता काबुलस्थित विमानस्थलमा अत्यधिक भीडभाड बढ्यो। अफगानिस्तान छोड्न चाहनेहरूको संख्या अझै ठूलो रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
तालिबानबाट ज्यान जोगाउन भागेर नेपाल आएका अफगानहरू पनि तालिबान फेरि सत्तामा फर्किंदा गहिरो चिन्तामा छन्। अफगानिस्तानबाट विभिन्न समयमा आएका नौ परिवार काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका छन्। नेपालमा अवैध आप्रवासीका रूपमा बसिरहेका उनीहरूले यहाँको बसाइ निकै संघर्षपूर्ण रहँदा देश फर्कने थप अनिश्चितताले पिरोलेको बताएका छन्।
ती अफगानमध्येका एक, जुवेर अहमदी २० वर्षअघि तालिबानको शासनमा आफूहरूले धेरै दुःख पाएको भन्दै ऊ फेरि सत्तामा फर्कंदा भविष्य नै अँध्यारो बनेको बताउँछन्। तालिबानका कठोर नियममा बाँच्नै नसकिने उनको भनाइ छ।
“हामी जस्ता धेरै अफगानहरू बालबच्चालाई पढाएर डाक्टर बनाउन चाहन्छौं, तर उनीहरू (तालिबान)ले पढ्नै दिंदैनन्। महिलाहरू घर बाहिर निस्किन पाउँदैनन्,” जुवेर भन्छन्, “तिनकै डरले हामीले आफ्नो देश छाड्यौं, तिनै फेरि सत्तामा आउँदा हामी कसरी र कहिले फर्कने?”
अर्का अफगान नागरिक हुमायन शाहजाद अफगानिस्तानको राजनीतिले एक महीनादेखि निद्रा नलागेको बताउँछन्। “यता (काठमाडौंमा) काम नपाएर परिवार पाल्ने समस्या छ, उता तालिबानले देश कब्जा गरेर चिन्ता छ,” उनी भन्छन्।
अफगानिस्तानमा छँदा कान्दाहार शहरमा अरिफ अहमदीको राम्रो व्यापार थियो। उनी अमेरिकी नियोगहरूका भवनको लागि झ्याल–ढोकाको ग्रिल बनाउँथे। तर, त्यो कामकै कारण उनी तालिबानको नजरमा वैरी बन्न पुगे। “अमेरिकीहरूको काम गरेको र सहयोग गरेको भन्दै ज्यान लिने धम्की दिए। त्यसपछि ज्यान जोगाउन परिवार सहित भागेँ,” अरिफ भन्छन्।
११ सेप्टेम्बर २००१ मा उग्रवादी संगठन अल–कायदाले अमेरिकामा आत्मघाती विमान हमला गरेपछि अमेरिका र साझेदार देशहरू अफगानिस्तान पसेर सक्रिय भएका थिए। अफगानिस्तानमा बसिरहेका अल–कायदाका नेता ओसामा बिन लादेनलाई सुपुर्दगी गर्न तत्कालीन तालिबान शासकले अस्वीकार गरेपछि अमेरिका नेतृत्वको फौजले कारबाही अगाडि बढाएसँगै सत्ताबाट तालिबान बाहिरिएको थियो।
अमेरिकाले आक्रमण थालेको शुरूका ६ वर्षसम्म तालिबान कमजोर थियो। त्यसपछि भने बिस्तारै तालिबानहरूले गाउँठाउँमा गतिविधि र प्रभाव बढाउन थाले। “जसका कारण मानिसहरू घर छोडेर भाग्न थाले, अफगानिस्तान अन्धकारमा फस्यो,” हुमायन सम्झन्छन्।
छाक टार्नै कठिन
तालिबानको आक्रमणबाट जोगिन सात वर्षअघि भागेर भारत हुँदै नेपाल आइपुगेका अफगानहरूलाई साँझ–बिहानको छाक टार्नै समस्या छ। तीमध्येका एक हुन्, मोहम्मद आरिफ अहमदी (५७)।
अफगानिस्तानमा छँदा कान्दाहार शहरमा उनको राम्रो व्यापार थियो। उनी अमेरिकी नियोगहरूका भवनका लागि झ्याल–ढोकाको ग्रिल बनाउँथे। तर, त्यो कामकै कारण उनी तालिबानको नजरमा वैरी बन्न पुगे।
“अमेरिकीहरूको काम गरेको र सहयोग गरेको भन्दै ज्यान लिने धम्की दिए। त्यसपछि ज्यान जोगाउन परिवार सहित भागेँ,” अरिफ भन्छन्।
सात वर्षअघि श्रीमती सोफिका अहमदी र चार छोरालाई लिएर भारत हुँदै काठमाडौं छिरेका उनको परिवारलाई अहिले पेट पाल्नै समस्या छ। “काम पाएको वेला त जेनतेन खान पुग्छ, काम नपाउँदा चाहिं भरे के खाने भन्ने अवस्था छ,” सोफिका भन्छिन्।
यो परिवारका चार जना सदस्यले ग्रिल उद्योग तथा विभिन्न ठाउँमा वेल्डिङको काम गर्छन्। तर, डेढ वर्ष यता कोभिड–१९ संक्रमण महामारी र बन्दाबन्दीका कारण काम पाइन छोडेपछि समस्या भएको अरिफ बताउँछन्।
सिआर अहमदीलाई आफ्नो देशबाट भागेर अरूको देशमा शरण लिनुपर्ला भनेर कहिल्यै लागेको थिएन। कान्दाहारमा उनको सुन पसल थियो। कारोबार राम्रो चलेका कारण जीवन सुखद रहेको बताउँदै सिआर भन्छन्, “तालिबानहरूले अफगानिस्तानलाई बर्बाद बनाए।”
काठमाडौंका विभिन्न स्थानमा बस्दै आएका नौ अफगान परिवारकै भोगाइ एउटै छ। काम पाउँदा जेनतेन परिवार पाल्ने उनीहरू अरू वेला भने खान–लाउनको दुःखले तनावमा पर्छन्।
कोभिड–१९ का कारण सबैतिर व्यवसाय ठप्प भएर एक महीनायता काम नपाउँदा आर्थिक समस्याले कठिन पारेको मुर्तजा ज्याफरी बताउँछन्। “दुई महीना भयो, घरको भाडा तिर्न सकेको छैन,” उनी भन्छन्, “तेस्रो महीना पनि भाडा दिन नसके घरबाट निकाल्ने चेतावनी दिएका छन्।”
मुर्तजा जाफरी (३७) दुःखका दिनहरू काटिरहेको बताउँछन्। कान्दाहारमा उनी तेलका ट्याङ्करहरूको वेल्डिङको काम गर्थे। तर, अमेरिकीहरूका लागि तेल बोक्ने ट्याङ्करको वेल्डिङ गरेको आरोप लगाएर तालिबानबाट धम्की आउन थाल्यो। अन्ततः उनको परिवारले देश छोड्ने निधो गर्यो, र शरणार्थीका रूपमा दुई वटा देशमा बाँडिन बाध्य भयो।
दुई छोरा र दुई छोरी सहित भारततिर उडेका मुर्तजा त्यहाँबाट नेपाल आए। उनकी आमा, दुई भाइ र दुई बहिनी भने इरान पसे।
कोभिड–१९ का कारण सबैतिर व्यवसाय ठप्प भएर एक महीनायता काम नपाउँदा आर्थिक समस्याले कठिन पारेको मुर्तजा बताउँछन्। “दुई महीना भयो, घरको भाडा तिर्न सकेको छैन,” उनी भन्छन्, “तेस्रो महीना पनि भाडा दिन नसके घरबाट निकाल्ने चेतावनी दिएका छन्।”
नेपालमा शरण लिइरहे पनि अफगानहरूले शरणार्थीको मान्यता पाएका छैनन्। संयुक्त राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्च आयोग (यूएनएचसीआर)ले आफूहरूलाई नहेरेको उनीहरूको गुनासो छ। शरणार्थीको मान्यता दिएर सोही अनुरूप शरणार्थीको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार संरक्षण, राहत र अवसरको माग गर्दै उनीहरूले यूएनएचसीआरको काठमाडौंस्थित कार्यालयमा धर्ना दिएका थिए। तर, सुनुवाइ नै नभएको उनीहरूले बताए।
जाफरीका अनुसार, दुई वर्ष अघिसम्म यूएनएचसीआरले एक जना बच्चाको अध्ययनका लागि वार्षिक रु.१८ हजार सहयोग दिन्थ्यो। तर, त्यो पनि घटाउँदै लगेर अहिले सहयोग ठप्प रहेको उनी बताउँछन्।
नेपाल बसिरहेका अफगानहरूको एउटै माग छ, तेस्रो देश पुनर्वास। हुमायन श्याजाद भन्छन्, “नेपालमा परिवार पाल्न र बच्चा पढाउनै गाह्रो भयो, नेपालमा बस्दा लागेको जरिवाना मिनाहा गरेर हामीलाई तेस्रो देशमा पुनर्वास गरियोस्।”
पर्यटक भिसामा नेपाल आएका उनीहरूले भिसाको म्याद नघाउँदै ‘ओभरस्टे’ गरेका छन्। भिसाको म्यादभन्दा बढी बसे बापत उनीहरूले नेपाल सरकारलाई जरिवाना तिर्नुपर्ने हुन्छ, जुन समय अनुसार बढ्दै जान्छ। उनीहरूले नेपाल सरकारसँग यस्तो जरिवाना मिनाहाको माग गरेका छन्।
नेपाल बसिरहेका अफगानहरूको एउटै माग छ, तेस्रो देश पुनर्वास। हुमायन शाहजाद भन्छन्, “नेपालमा परिवार पाल्न र बच्चा पढाउनै गाह्रो भयो, नेपालमा बस्दा लागेको जरिवाना मिनाहा गरेर हामीलाई तेस्रो देशमा पुनर्वास गरियोस्।”
दलाल मार्फत नेपाल
अफगानहरू आफ्नो देशबाट भागेर कसरी नेपाल आइपुगे? अफगानको धर्म, वेशभूषा र संस्कृति अफगानिस्तानसँग सिमाना जोडिएका इरान, पाकिस्तान, ताजकिस्तान र तुर्कमेनिस्तानसँग मिल्छ। छिमेकका भाषा, धर्म मिल्ने देश छोडेर उनीहरू काठमाडौं आइपुग्नुमा लामो कहानी छ।
अफगानहरू आफ्नो देशबाट भागेर कसरी नेपाल आइपुगे? अफगानको धर्म, वेशभूषा र संस्कृति अफगानिस्तानसँग सिमाना जोडिएका इरान, पाकिस्तान, ताजकिस्तान र तुर्कमेनिस्तानसँग मिल्छ। छिमेकका भाषा, धर्म मिल्ने देश छोडेर उनीहरू काठमाडौं आइपुग्नुमा लामो कहानी छ।
हुमायन शाहजाद अफगानिस्तानको हेलमन्ड प्रान्तमा फोटोग्राफी गर्थे। उनको पसल राम्रो चलेको थियो। तर, तालिबानहरूले दुःख दिन थाले। “या उनीहरूले भनेको मानेर नियन्त्रणमा बस्नुपर्थ्यो, या त त्यो ठाउँबाट भाग्नुपर्थ्यो। मैले देश छोडेर भाग्ने निधो गरें,” उनी भन्छन्।
उनी भिसा लगाएर हवाई उडान मार्फत भारतको दिल्ली आए। दिल्लीको साकेत भन्ने ठाउँमा बसेको १२औं दिन भएको थियो, होटलमा खान जाने क्रममा एक दलालसँग भेट भयो। दलालले नेपाल सुन्दर देश, बस्नलाई कुनै समस्या नभएको, यूएनएचसीआरले राम्रो सहयोग गर्ने भनेर उनलाई आश्वस्त पारे। दिल्लीमा काम नपाएर भौंतारिएका उनलाई दलालको कुराले तत्कालै प्रभावित बनायो।
दलालको शर्त अनुसार प्रति व्यक्ति एक हजार डलर बुझाएर नौ जनाको परिवार सात वर्षअघि नेपाल आयो। “देश छोड्दा सबै जायजेथा बिक्री गरेर आएको पैसा थियो, दलाललाई त्यही पैसा बुझाएर नेपाल आयौं,” हुमायन भन्छन्, “नेपाल त धेरै टाढा होला भनेर पैसा बुझाएका थियौं। दलालले गाडीमा राखेर दुई दिनमै ल्यायो।”
भारत हुँदै नेपाल आउने क्रममा अफगानहरूले दलाललाई प्रति व्यक्ति दुई हजार डलरसम्म तिरेका थिए। मुर्तजा जाफरी र आरिफ अहमदीको परिवार प्रति व्यक्ति दुई हजार डलर खर्चेर आएका हुन्।
तस्वीरहरूः मुकेश पोखरेल/हिमालखबर