अमेरिकी सपनाको भोकले हिरासतको बसाइ
सुखसयलमै बितेको बेगमको जीवनमा बर्मा द्वन्द्व कालरात्रि बनेर आइदियो। २८ वर्षअघिको द्वन्द्वले उनको परिवारलाई चरम सङ्कटदेखि हिरासतको छिंडीसम्म पुर्यायो।
मनताज बेगम बर्माको फातङसा गाउँको जमीनदारकी बुहारी थिइन्। उनका श्रीमान्काे माछा व्यवसाय थियो। घरभरि गाईगोरु थिए, रेखदेखका लागि केही कामदार पनि। सम्पन्न परिवारको बुहारी भएकै कारण बेगम कामकाजी महिला हुन परेन। सुखसयलमै बितेको उनको जीवनमा बर्मा द्वन्द्व कालरात्रि बनेर आइदियो। २८ वर्षअघिको द्वन्द्वले उनको परिवारलाई चरम सङ्कटमा पिरोल्यो।
बेगमका श्रीमान् हारुन रसिदलाई बारम्बार चन्दासँगै ज्यान मार्ने धम्की आएपछि सन् १९९५ मा भागेर उनीहरू बाङ्लादेश पुगे। एक छोरा, श्रीमान् र श्रीमती गरी तीन जनाकोे परिवारले बाङ्लादेशको कोक्स बजारमा रहेको मुसुनी शरणार्थी शिविरमा आश्रय लियो।
बेगम त्यसपछि आफ्नो जीवनबाट सधैंका लागि सुख हराएको बताउँछिन्। “श्रीमान्ले काम पाएनन्, छोरा सानै थियो,” उनी भन्छिन्, “रहरलाग्दो जीवन बिताएका हामीले शिविरमा दिइएको खाना र कपडाले जीवन गुजार्न थाल्यौं।”
सोही शिविरमा बेगम दम्पतीका थप तीन छोरी र एक छोरा जन्मिए। परिवार ठूलो भएपछि शिविरमै उनीहरूलाई जीवन धान्न मुश्किल हुन थाल्यो। यही समस्याका कारण जेठा छोरा उमर फारुदलाई रोजगारीका लागि उनीहरूले दलालको सहायता लिएर तीन वर्षअघि मलेसिया पठाए। त्यसपछि फारुद सम्पर्कमा आएका छैनन्।
दुई वर्षअघि दमका रोगी रसिदको मृत्यु भयो। त्यसपछि बेगम पाँच छोराछोरी र एक बुहारीको एक मात्र अभिभावक र सहारा भएकी छन्।
६ जनाको परिवारलाई शिविरमा संयुक्त राष्ट्रसंघले दिएको खाद्यान्न अपुग हुँदै गएपछि बेगमले विकल्प सोच्न थालेकी थिइन्। त्यहीबीच नेपालमा सबै कुरा राम्रो छ भनेर एक व्यक्तिले सुनाए।
बेगमका अनुसार, १६ वर्षभन्दा कम उमेरका चार छोराछोरीलाई निःशुल्क शिक्षा, युनिसेफले जीविकोपार्जन गर्न मासिक १५ हजार र नेपाल सरकारले शरणार्थी भनेर अमेरिका पुर्याइदिने दलाल नूर अलामले सपना देखाएका थिए। सोही कारण बेगमको परिवार अलामको विश्वास गरेर भारतको बाटो हुँदै नेपाल आइपुग्यो।
उनका १५ वर्षीय छोरा अनुहर सादेक भने नेपालबाट धेरै शरणार्थी अमेरिका गएको थाहा भएको सुनाउँछन्। उनी भन्छन्, “केही पैसा दिएर नेपाल छिर्न पाए भविष्य राम्रो हुन्थ्यो भन्ने लागेर हामीले विश्वास गर्यौं। तर, गल्ती भयो।”
बेगमले आफू सहित छोराछोरीलाई नेपाल प्रवेश गराउन बाङ्लादेशको शरणार्थी शिविरमा रहेका सबै सामान र गरगहना बेचेर ८० हजार टाका नूर आलमलाई दिएको बताइन्।
दुई साताअघि मात्र बाङ्लादेशबाट भारत हुँदै काठमाडौंको कपन, लसुनेटारमा आइपुगेका उनीहरू अहिले बिचल्लीमा परेका छन्। अवैधानिक तरीकाले अरूको देशमा भित्रिनु गैरकानूनी भन्ने पनि आफूलाई थाहा नभएको बेगम बताउँछिन्। उनी भन्छिन्, “मलाई कानूनी कुरा थाहा थिएन, साना छोराछोरीलाई झन् के हुनु? त्यसैले हामीलाई फसाइदिए।”
अमेरिका पुग्ने सपनाले बाङ्लादेशको शिविरमा पाइने निःशुल्क खाद्यान्नको सुविधा गुमाउनुपर्दा बेगमलाई ठूलो पछुतो छ।
अवैध रूपले नेपाल भित्रिएपछि बेगम र उनका छोराछोरीलाई प्रहरीले तीन दिन हिरासतमा राख्यो। प्रहरीको सोधपुछपछि प्रलोभन देखाएर नेपाल ल्याउने दलाल नूर आलम पनि समातिए।
बेगम मधुमेहकी रोगी हुन्। छातीको समस्याले पनि उनलाई वर्षौंदेखि सताइरहेको छ। कमजोरीका कारण उनलाई उठबस गर्न समेत सहारा चाहिन्छ। उनी भन्छिन्, “यस्तो अवस्थामा म काम गर्न सक्दिनँ, छोराछोरी सबै १६ वर्षमुनिका छन्।”
तीन दिनसम्मको हिरासतको चिसो भुइँको सुताइले बेगमका शरीरभरि घाउ आएका छन्। दिनरात दुखेर सुत्न नसकेको बताउँदै बेगम भन्छिन्, “खानपिन गर्नै समस्या भइरहेका वेला उपचार त कसरी गर्नु र?” अर्को कुरा, उपचार गर्न जाँदा पक्राउ परिन्छ कि भन्ने डर पनि छ, उनलाई।
अमेरिका पुग्ने सपनाले बाङ्लादेशको शिविरमा पाइने निःशुल्क खाद्यान्नको सुविधा गुमाउनुपर्दा बेगमलाई ठूलो पछुतो छ। त्यसमाथि अमेरिकी सपनाको भोकले उनलाई जीवनमा पहिलो पटक जेलको चिसो भुइँमा सुत्न समेत बाध्य बनायो।
अहिले उनीहरूलाई फकाएर ल्याउने व्यक्तिमाथि मुद्दा चलिरहेको छ। बेगमले मुद्दाको फैसला भएर पैसा फिर्ता हुने आशा रहेको बताइन्।
हाललाई कपनकै रोहिङ्ग्या समुदायले केही रकम उठाएर बस्ने टहरा मिलाइदिएको छ। टहराभित्र सबैका लागि ओड्ने एउटा मात्रै सिरक छ। बेगमको पाँच जनाको परिवारले दुई सातादेखि पेटभरि खाना पाएको छैन। उनी भन्छिन्, “दिनको दुई छाक खाँदा अब दुई दिन मात्र पुग्ने रासन छ।”
उनको परिवारले अहिले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) मा परिचयपत्रका लागि आवेदन दिएको छ। बेगम परिवारले शरणार्थी परिचयपत्र पाएपछि खाद्यान्नको सहयोग हुने अपेक्षा राखेको छ।
“हिजो बर्मामा कामदार राखेर सुखले बाँचेका थियौं। घर, जमीन, देश सबै थियो, तर आज केही छैन,” उनी भन्छिन्, “अब त बाँच्नु मात्र पनि ठूलो कुरा भएको छ।”
शिक्षक बन्ने सपना
बेगमका १५ वर्षीय छोरा अनवर सादिक बाङ्लादेशको शरणार्थी शिविरमा कक्षा ८ मा पढ्थे। उनी शिविरका ‘टपर’ विद्यार्थी समेत हुन्। उनले उच्च शिक्षा हासिल गरेर शिक्षक बन्ने सपना बुनेका थिए।
सादेक भन्छन्, “अमेरिका नपुगे पनि नेपालमा खाना र शिक्षा निःशुल्क हुन्छ भन्ने सुनेको थिएँ।” सादेक परिवार पाल्न पढाइ छाडेर मजदूरी गर्न तयार छन्। तर, भाषा, परिचयपत्र लगायतको समस्याले उनलाई रोकेको छ।
आफ्नै माटोमा टेक्ने इच्छा
बेगम देशविहीन नागरिक भएको दुई दशक भइसकेको छ। बाङ्लादेश, नेपाल वा अमेरिकाले अथाह सुविधा दिए पनि उनको अन्तिम इच्छा बर्माको माटोमा टेक्नु छ। आफ्नै मातृभूमि बिरानो बनेपछि उनलाई अरूको त्यति आश पनि छैन। बेगम भन्छिन्, “यस्तै हो भने न त बर्मा, न बाङ्लादेश, न नेपाल कसैले पनि आफ्नो ठान्दैनन्।”