एमालेको त्यो विभाजन, यो विभाजन
दुई दशकपछि नेकपा (एमाले) फेरि विभाजित भएको छ, तर त्यति वेलाको विभाजन र अहिलेको विभाजनमा सैद्धान्तिक रूपमा खासै फरक देखिँदैन।
नेपाली कम्युनिष्टको विशेषता नै भइसक्यो, सिद्धान्तमा ‘एकता-सङ्घर्ष-रूपान्तरण’ र व्यवहारमा ‘एकता-सङ्घर्ष-विभाजन’। अझ यस्तो विभाजन राज्यसत्ता सञ्चालन गर्दा नै हुने गरेको छ। २०७४ को चुनावबाट सबैभन्दा ठूलो दल बनेको नेकपा (एमाले) फेरि फुटेपछि ‘कम्युनिष्टलाई देशको तालाचाबी नफाप्ने’ मान्यता पनि स्थापित हुन पुगेको छ।
२०५१ सालको मध्यावधि निर्वाचनमा बहुमत नपाए पनि एमालेले सबैभन्दा ठूलो दलको हैसियतले अल्पमतको सरकार बनायो। तर, अर्को चुनाव नआउँदै २०५४ सालमा विभाजन भयो। २०५८ मा एकीकरण भए पनि पूर्ण रूपमा एक भएन, बरु टुक्राहरू झन् टुक्रिंदै गए।
सशस्त्र सङ्घर्षबाट उदाएको नेकपा (माओवादी) २०६४ को संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बन्यो। सरकार पनि बनायो। तर, अर्को चुनाव नहुँदै २०६९ मा विभाजन भयो। अमिबा शैलीमा विभाजन भएको माओवादीका आधा दर्जन दलहरू बने।
माओवादीसँग गठबन्धन बनाएर २०७४ सालको चुनावमा गएको एमाले फेरि सबैभन्दा ठूलो दल बन्यो। अझ माओवादीसँग एकीकरण भएर नेकपा बनेपछि झण्डै दुई तिहाइको सरकार भयो। सत्तामै रहँदा उत्पन्न भएको विवादले २०७८ सालमा पुग्दा फेरि एमालेमा विभाजन ल्यायो।
ठूला राजनीतिक दलमा केही व्यक्ति तथा स-साना समूह आउने-जाने क्रम निरन्तर चलिरहने प्रक्रिया हो। तर, एमालेको पहिलो पटकको फुटले तत्कालीन राजनीतिक शक्ति सन्तुलनलाई मात्रै फेरबदल गरेन, देशलाई नै प्रभावित पार्यो। त्यसको प्रभाव अहिलेसम्म छ।
यस पटकको फुटले भविष्यमा कस्तो असर गर्ला भन्ने आकलन गर्न त गाह्रो छ, तर यसको प्रभाव केही समय रहिरहने पक्का छ। एमाले होस् कि नेकपा (एकीकृत समाजवादी), दुवैतिर लागेका एकाध जनालाई तत्काल फाइदा पुगे पनि तल्लो तहसम्मका कार्यकतालाई निराश पारेको छ, देशमा व्याप्त राजनीतिक अस्थिरतालाई लम्ब्याउन मद्दत गरेको छ।
त्यो वेला
२१ फागुन २०५४ मा एमाले विभाजित भएर नेकपा (माले) नामको नयाँ दल जन्मियो, चुनाव चिह्न तारा लिएर। हुन त ११ पुस २०३५ मै नेकपा (माले) बनेको थियो, तर २२ पुस २०४७ मा नेकपा (मार्क्सवादी)सँग एकीकरण भएपछि बिलाएको थियो। नयाँ मालेले देशको सबैभन्दा ठूलो एमालेलाई माथिदेखि तलसम्म दुई चिरा पार्यो। नेता, कार्यकर्ता र मतदाताको मन फाट्यो।
विभाजनसँगै एमाले-मालेबीच गालीगलौजको चरण शुरू भयो। आफूलाई मन नपरेका नेता तथा कार्यकर्तालाई शब्दकोशमा भएका जति सबै शब्द प्रयोग गरेर गाली गर्न थालियो।
त्यतिवेला मालेहरूले ‘विकृति विसङ्गतिको पोको एमालेमै छोडौं, क्रान्तिकारी शक्ति निर्माणका लागि मालेमा गोलबन्द होऔं’ भन्ने नारा लगाए। उनीहरू ‘एमाले’ को ‘ए’ मेट्थे भने एमालेहरू ‘माले’ मा ‘ए’ थप्दै जान्थे।
कम्युनिष्टले जन्मजात शत्रुलाई भन्दा केही मुद्दा र व्यवहारमा असहमत आफ्नै सहकर्मीलाई गाली गर्नुलाई बहादुरी ठान्छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालले २०३४ सालमा ‘पञ्चायत विरुद्धको सङ्घर्षमा कांग्रेससँग सहकार्य गर्नुपर्छ’ भन्दा आफ्नै पार्टीका नेता मोहनविक्रम सिंहले ‘गद्धार पुष्पलाल’ नामले किताब नै लेखे।
४ असोज २०५३ मा संसद्बाट दुई तिहाइ बहुमतले महाकाली सन्धि पारित गरेसँगै एमाले विभाजन भयो। एमाले र मालेका नेता-कार्यकर्ता गालीगलौजमा उत्रिए। मालेका नेता-कार्यकर्ता एमालेलाई ‘राष्ट्रघाती, विसर्जनवादी, संशोधनवादी, दक्षिणपन्थी, खुराफाती’ भन्थे। वैचारिक-सैद्धान्तिक विषय हराइसकेका थिए।
आफूलाई खाँटी राष्ट्रवादी देखाउन माले अखिलहरू कालापानी वारिबाट पारिका भारतीय सैनिकलाई खुकुरी देखाउन पुगे। भारतले सीमा मिचेको भन्दै मेची-महाकाली यात्रा गरे।
एमालेका नेता–कार्यकर्ता पनि मालेलाई ‘फुटपरस्त, पदलोलुप, पैसामा बिकेका’ भन्थे। उनीहरू वामदेव गौतमले महासचिव हुन पार्टी फुटाएको आरोप लगाउँथे।
मालेहरूले ‘विकृति विसङ्गतिको पोको एमालेमै छोडौं, क्रान्तिकारी शक्ति निर्माणका लागि मालेमा गोलबन्द होऔं’ भन्ने नारा लगाए। उनीहरू ‘एमाले’ को ‘ए’ मेट्थे भने एमालेहरू ‘माले’ मा ‘ए’ थप्दै जान्थे।
जनवर्गीय संगठन मध्ये अनेरास्ववियू सबैभन्दा बढी रन्किएको थियो। क्याम्पसहरूमा पञ्चायतकालभरि ‘अखिले’ र ‘मण्डले’ जुध्थे, बहुदल आएपछि अखिल र नेविसंघ लड्न थाले। अब एमाले अखिल र माले अखिल भिड्न थालेका छन्।
जिल्ला, नगर र गाउँगाउँमा पार्टी कार्यालय र सम्पत्ति कब्जा गर्ने होड चलेको थियो। मदन भण्डारीको परिवार आफूसँग भएको देखाउने होडबाजी चलेको थियो। मदनकी श्रीमती विद्यादेवी भण्डारी एमालेमा, भाइ प्रेम भण्डारी मालेमा देखिएका थिए।
चुनाव हारेपछि नेताहरू तिलमिलाए, कार्यकता लडखडाउन थाले। कार्यकर्ता ह्वारह्वार्ती माओवादीमा लागे। कृष्ण केसीको नेतृत्वमा अखिलको ठूलो हिस्सा सङ्गठित रूपमै माओवादीमा प्रवेश गर्यो।
२०५६ सालको आम चुनावमा देश मालेमय भएको थियो। जता पनि माले, जहाँ पनि तारा। मालेको घोषणापत्र उसै राम्रो, नेताका भाषण झनै मिठा। आफ्नो समयका सबैभन्दा जोशिला र उत्कृष्ट भाषण गर्ने नेताहरू मालेमै थिए।
मालेको मान्छेलाई पनि एमाले ठान्दै सूर्यमा छाप हाल्ने मतदाता थिए। भोजपुर क्षेत्र नं. २ यसको उदाहरण हो। धनहर्क राई त्यस अघि दुई पटक सूर्य चिह्न लिएर जितिसकेका थिए। त्यस पटक तारा चिह्नबाट उठे। मतदाताले धनहर्कलाई भन्दै सूर्यमा भोट दिए, शेरधनले जिते। देशभर यस्तै भएर होला, मालेले एक सीट पनि जित्न सकेन।
त्यति वेला फैलिंदो माओवादी विद्रोहलाई मालेजन समर्थन गर्थे। अखिलको राष्ट्रिय सम्मेलनमा वामदेव गौतमले भाषण गरे, ‘कमरेड प्रचण्डजी, तपाईसँग हातमा हात मिलाउन हामी आउँदै छौं।’ कार्यकर्तालाई ‘सशस्त्र क्रान्ति अनिवार्य शर्त’ भनेर पढाइँदै थियो। अखिलका चार सय युवालाई फुस्रो खाकी पोशाक र लाठी सहित खुलामञ्चमा परेड खेलाइयो र त्यसलाई ‘लालसेना’ को शुरूआत र सशस्त्र क्रान्तिको ‘रिहर्सल’ भनिएको थियो।
चुनाव हारेपछि नेताहरू तिलमिलाए, कार्यकता लडखडाउन थाले। कार्यकर्ता ह्वारह्वार्ती माओवादीमा लागे। कृष्ण केसीको नेतृत्वमा अखिलको ठूलो हिस्सा सङ्गठित रूपमै माओवादीमा प्रवेश गर्यो।
खुला राजनीति गरेका माले कार्यकर्ता माओवादीमा प्रवेशसँगै दनादन पक्राउ परे, बेपत्ता भए। अझै बेपत्ता ज्ञानेन्द्र त्रिपाठी, नवीन राई, शिव मण्डलहरू मालेबाटै गएका कार्यकर्ता थिए।
त्यो हारपछि नेता पनि एमालेतिर फर्किने थाले। अन्ततः जुझारु तथा इमानदार कार्यकर्ता जति माओवादीलाई बुझाएर टाउको मात्र लिएर वामदेव समूह एमालेमा फर्कियो। महाकाली सन्धिबारे आफू बेठीक, माधव-केपीहरू ठीक पनि भनेन, माधव-केपीहरूले पनि महाकाली सन्धि बेठीक थियो भनेनन्।
एमाले फर्किएका वा माओवादी छिरेका नेता–कार्यकर्ताको राजनीति उकासिएन। माओवादीमा रैथाने कमरेडकै प्रभाव भइरह्यो, एमालेमा पनि त्यही भयो। वामदेवलाई किसान महासंघको अध्यक्षमा थन्क्याइयो। सीपी मैनालीले जोगाएको माले पनि टुक्रिंदै डिल्लीरमण रेग्मी जस्तै ‘एक दल, एक नेता, एक कार्यकता’ को हालतमा पुग्न लागेको छ।
एक पटक मधेशको क्षेत्रीय शक्ति बनिसकेको नेपाल सद्भावना पार्टी, पुरानो पार्टी कांग्रेस, सशस्त्र विद्रोहबाट आएको माओवादी पनि पटक पटक फुटे, तर गालीगलौज गरेको सुनिएन। एमाले विभाजनमा भने उहिले र अहिले पनि नेता-कार्यकर्ता गालीगलौजमा उत्रिएका छन्।
यो वेला
फेरि २ भदौ २०७८ मा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) जन्मिएको छ। त्यति वेला महासचिव माधवकुमार नेपालले गौतमलाई अनुशासनहीन भन्दै कारबाही गरेपछि माले आयो, यति वेला अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाललाई कारबाही गरेपछि एकीकृत समाजवादी बनेको छ।
एक पटक मधेशको क्षेत्रीय शक्ति बनिसकेको नेपाल सद्भावना पार्टी, पुरानो पार्टी कांग्रेस, सशस्त्र विद्रोहबाट आएको माओवादी पनि पटक पटक फुटे, तर गालीगलौज गरेको सुनिएन। एमाले विभाजनमा भने उहिले र अहिले पनि नेता-कार्यकर्ता गालीगलौजमा उत्रिएका छन्।
एकीकृत समाजवादीका नेता-कार्यकर्ता एमालेलाई ‘प्रतिगमनकारी, दक्षिणपन्थी, विसर्जनवादी, अहङ्कारी, भस्मासुर’ भन्दै छन्। एमालेका नेता-कार्यकर्ता एकीकृत समाजवादीलाई ‘अराजक, चोइटाहरू, सुकेका पातहरू, सुँगुरे काँडाहरू, कुहेका आँपहरू’ भन्दै छन्।
यस पालि दुवैले बराबर भन्दै छन्- विदेशीको इशारा। पार्टीहरू फुट्नु र जुट्नु पनि नियमित प्रक्रिया हुन्। सामूहिक स्वार्थ मिल्दासम्म सँगै, नमिलेपछि अलग, अनि फेरि स्वार्थ मिल्यो भने सँगै भइहालिन्छ। एमाले-मालेमा त्यही भयो। एमाले र एकीकृत समाजवादीबीच पनि त्यस्तै हुने सम्भावनालाई नकार्न सकिंदैन। कुनै दिन मिल्नुपर्ने ठाउँमा आइपुग्न सक्छन्, तर नदीका दुई किनारा जस्तै कहिल्यै मिल्नु पर्दैन भन्ने ठानेर सत्तोसराप गरिरहेका छन्।
यस पटक तेस्रो धार विशेष चर्चामा छ। यो समूहका नेता भीम रावलले पहिलो पटक प्रतिनिधि सभा ब्युँतिएपछि सदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेका थिए, “तपाईं कुन पार्टीको, तपाईंको पार्टी कुन हो?” अहिले उनी माधव नेपाललाई छोडेर ओलीसँगै छन्।
तेस्रो समूहका नेताहरू जसरी नेपालको पक्षमा रहँदा ओलीलाई जाने जति र मुखमा आए जति भन्थे, अहिले ओलीतिर लागेपछि त्यो फुर्तीका साथ ओलीको प्रशंसा र नेपालको आलोचना गर्ने हैसियतमा छैनन्।
तैपनि, यो समूहका नेताहरू जसरी नेपालको पक्षमा रहँदा ओलीलाई जाने जति र मुखमा आए जति भन्थे, अहिले ओलीतिर लागेपछि त्यो फुर्तीका साथ ओलीको प्रशंसा र नेपालको आलोचना गर्ने हैसियतमा छैनन्। एमालेमा समाहित भएको दिनको साझा तस्वीरमा देखिएको आभा नभएको अनुहार र अर्थमन्त्रीले प्रतिनिधि सभामा बजेट पेश गर्दा एमाले सांसदको हङ्गामा गर्दा उनीहरूको ट्वाल्ल पराइले पनि यसलाई पुष्टि गर्छ।
एमाले विभाजनको कारण
राजनीति स्थायी हो, राजनीतिक पद प्राप्ति अस्थायी हो। तर, यहाँ पदलाई स्थायी ठान्ने प्रवृत्तिले राज गर्यो।
अघिल्लो पटक उपमहासचिव त हाताहाती महासचिव पो बनिहाल्ने हो त, केको सदस्य भन्ने सोच कठोर बन्यो यस पटक पन्ध्र वर्षसम्म खाटमा अर्थात् नेतृत्वमा बसेको बाँकी जीवन किन भुइँमा अर्थात नेतृत्व विहीन भएर बस्ने भन्ने चिन्तन हावी भयो।
पार्टीहरूमा गुट, टुट र फुट हुनुको मुख्य कारण महत्त्वाकांक्षा व्यवस्थापन हुन नसक्नु र अधैर्य राजनीतिक संस्कार हुन्। एमालेको दुवै विभाजनमा यो सिद्धान्त लागू भएको देखिन्छ।
राष्ट्रिय महिला आयोगकी पूर्व सदस्य धनकुमारी सुनारले ‘नेपाली राजनीतिमा पार्टीहरूभित्रको टुटफुट हुनुको कारण व्यक्तिहरूबीचको स्वार्थ र टकराव मात्र भन्दा पनि वैचारिक स्खलन र सत्तालिप्साको परिणाम’ भएको लेखेकी छन्। एमालेमा पनि त्यस्तै देखिन्छ। एमालेले एकीकृत समाजवादीलाई होस् वा एकीकृत समाजवादीले एमालेलाई, वैचारिक तर्कका आधारमा जित्न खोजेको देखिएको छैन।
प्रतिनिधि सभाको विघटन र पुनःस्थापना तत्कालीन मुद्दा मात्रै हुन्। यो घटना सत्तालिप्साबाट उत्पादन भएको हो। पाँच वर्षका लागि बनेको सरकारलाई आधा अवधिमै हटाउन खोज्ने र ‘आफूले कुर्सी अरूलाई छोड्नुभन्दा कुर्सी भाँचेर हिंड्ने’ मानसिकताको उपज हो, जो सत्ताभोगको वरिपरि घुम्छ।