एमाले पार्टी फुटेको होइन, अलिकति चोइटिएको हो : ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको भन्न नहुने बताएका छन्।
शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले फुटेको नभएर चोइटिएको जिकिर गरे। “एमाले पार्टी फुटेको होइन, केही मान्छे छोडेर गएका हुन्,” अध्यक्ष ओलीले थपे, “एमाले फुटेको भन्न मिल्दैन, अलिकति चोइटिएको हो।”
एमाले विभाजन भएर ९ भदौमा नयाँ पार्टी बनेको छ। माधवकुमार नेपालको नेतृत्वमा बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी)लाई निर्वाचन आयोगले मान्यता दिएको छ।
एकीकृत समाजवादीमा केही नेता तथा कार्यकर्ता जाँदैमा एमालेलाई अप्ठ्यारो नपर्ने ओलीको भनाइ थियो। “सेतो भएका एउटा-दुइटा कपाल झर्दैमा केही फरक पर्दैन,” ओलीले भने।
एमाले नै जनताको पार्टी भएको ओलीको जिकिर थियो। “एमाले नै नेता-कार्यकर्ताको पार्टी, जनताको पार्टी हो। देशलाई एकताबद्ध बनाउने पार्टी हो,” उनले भने, “यो देशको विकास गर्ने पार्टी एमाले हो।”
उनले नेता-कार्यकर्तालाई एकीकृत समाजवादीमा नजान पनि आग्रह गरे। एमाले नै लोकतान्त्रिक पार्टी भएकाले यसमै बसेर देश निर्माणमा जुट्नुपर्ने उनको भनाइ थियो। अध्यक्ष ओलीले भने, “लोकतान्त्रिक बाटो हाम्रो बाटो हो, लोकतान्त्रिक अभ्यास हाम्रो अभ्यास हो।”
उनले एमाले नेता तथा कार्यकर्तालाई लोकतान्त्रिक अभ्यास मार्फत जनताको मन जित्ने गरी काम गर्न आग्रह गरे। युवा संघमा आबद्ध युवा नै एमालेको भविष्य भएको उनको भनाइ थियो।