ओली–नेपालको ‘इगो’ले फुट्यो एमाले
संघीय संसद्को सबैभन्दा ठूलो दल नेकपा (एमाले) औपचारिक रूपमा विभाजित भएको छ।
माधवकुमार नेपाल सहित ५८ केन्द्रीय सदस्यले बुधबार नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएसँगै एमाले फुटेको हो।
उनीहरूले पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’ र चुनाव चिह्न खुला किताब राख्न प्रस्ताव गरेका छन्।
२०४७ पुसमा तत्कालीन नेकपा (मार्क्सवादी) र नेकपा (माले) एकीकरण भएर बनेको एमालेको यो दोस्रो विभाजन हो। २०५४ सालमा एमाले पहिलो पटक विभाजित भएको थियो।
वामदेव गौतमले एमाले फुटाएर नेकपा (माले) बनाएका थिए। २०५६ को आम निर्वाचनमा एक सीट पनि जित्न नसकेपछि २०५८ सालमा पुनः पार्टी एकीकृत भएको थियो।
तर, त्यति वेला मालेमा लागेका नेताहरू एमालेमा फर्किए पनि कार्यकर्ताको ठूलो पंक्ति माओवादीमा लागेको थियो। सिपी मैनाली लगायतले माले पार्टीलाई नै अगाडि बढाए।
२३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकरण बदर गरेर एमाले र माओवादी केन्द्र ब्युँतायो। एमाले ब्युँतिए पनि नेता नेपालको नेतृत्वमा पार्टीमा समानान्तर गतिविधि जारी थियो।
उनलाई समानान्तर गतिविधिमा साथ दिएका अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम रावल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत भने नयाँ पार्टी दर्ता प्रक्रियामा सामेल छैनन्। उनीहरू एमालेमै रहने हो भने संस्थापनलाई विभाजनको ठूलो असर नपर्न सक्छ।
टकरावले विभाजन
२०५४ सालमा एमालेको विभाजनमा अमेरिका, भारतलाई हेर्ने सैद्धान्तिक मतभेदलाई कारण देखाइएको थियो। त्यस बाहेक महाकाली सन्धि पनि पार्टी विभाजनको अर्को महत्त्वपूर्ण कारण थियो। वामदेव गौतम सहित महाकाली सन्धिको विरोधमा रहेका अधिकांश नेता मालेमा गएका थिए।
तर, यस पटकको एमाले विभाजनमा सिद्धान्तभन्दा पनि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीचको व्यक्तिगत टकराव प्रमुख कारण बन्योे। झण्डै ५० वर्षदेखि एउटै पार्टीमा रहेर चुनौतीपूर्ण दिनमा एमाले निर्माण गरेका दुई नेता अन्ततः व्यक्तिगत ‘इगो’का कारण जीवनको उत्तर्राधमा दुई ध्रुवमा विभाजित भएका छन्।
ओली र नेपालको राजनीतिक यात्रा २०२८ सालको असफल झापा विद्रोहपछि शुरू भएको हो। झापा विद्रोहपछि पक्राउ परेर ओलीले १४ वर्ष जेल जीवन बिताए भने माधव नेपालले पञ्चायतकालमा संगठन निर्माण गरे।
कम्युनिष्ट पार्टी केन्द्रविहीन हुने गरी विभाजित भइरहेका वेला भारतको पश्चिम बंगालको नक्सलवाडीमा किसानहरूले गरेको आन्दोलनको प्रभाव झापामा परेको थियो। नेपाल कम्युनिष्ट पार्टी झापा जिल्ला कमिटीका नाममा केही युवाले शुरू गरेको वर्ग शत्रु ‘सफाया’लाई नै झापा विद्रोह भन्ने गरिन्छ।
त्यो मित्रतापूर्ण सम्बन्ध
ओली–नेपालको सम्बन्ध सातौं महाधिवेशन अघिसम्म मित्रतापूर्ण थियो। २०५९ सालमा जनकपुरमा सम्पन्न सातौं महाधिवेशनपछि नै पार्टीभित्र दुई नेताबीच मनमुटाव शुरू भयो। सातौं महाधिवेशनमा ओलीले एमालेको आन्तरिक लोकतन्त्रीकरण र पार्टीलाई अध्यक्षात्मक प्रणालीमा लैजानुपर्ने प्रस्ताव पेश गरे। महाधिवेशनमा अल्पमतमा परेपछि ओलीले आफ्नो प्रस्ताव फिर्ता लिए। दस्तावेज त फिर्ता भयो, तर त्यसपछि नेपालले ओलीलाई प्रतिस्पर्धीका रूपमा लिन थाले।
पार्टीमा महासचिव नेपालपछि ओली दोस्रो वरीयतामा थिए। तर, नेपालले आफ्नो अनुपस्थितिमा कहिल्यै ओलीलाई कार्यवाहक महासचिवको जिम्मा दिएनन्।
नेता नेपाल बाहिर जाँदा कार्यवाहक महासचिव भरतमोहन अधिकारी वा अमृत बोहोरामध्ये एक जनाले पाउँथे। २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेको हारपछि महासचिवबाट राजीनामा दिएका नेता नेपाल २०६५ सालको आठौं महाधिवेशनबाट निर्विरोध अध्यक्ष बन्ने चाहनामा थिए।
तर, नेपालले दिएको राजीनामापछि महासचिव हाँकेका झलनाथ खनाल र केपी ओली चुनावी मैदानमा उत्रिए। खनालसँग ओली पराजित भए। आफूले लामो समय साथ दिएका कारण नेपालको साथ पाउनेमा ओली ढुक्क थिए। तर, नेपाल कतै पनि नलागी तटस्थ बसे।
आठौं महाधिवेशनबाट अध्यक्षमा पराजित ओली नवौं महाधिवेशनबाट अध्यक्ष बन्ने तयारीमा लागे। नेता नेपालले पनि आफ्नो तयारी अघि बढाए।
२०७१ सालमा भएको नवौं महाधिवेशनमा दुई नेता फरक–फरक प्यानल बनाएर चुनाव लडे। अध्यक्षमा ओलीसँग नेपाल थोरै मतले पराजित भए। र, एमालेमा त्यसपछि केन्द्रदेखि वडासम्म ओली–नेपाल प्यानल खडा भयो। जसले एमालेलाई दुई ध्रुवमा विभाजन गर्यो।
अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच झाँगिंदै गरेको मनमुटाव राष्ट्रिय राजनीतिका कारण बाहिर प्रकट नभए पनि भित्री रूपमा भुसको आगो बनिरहेको थियो। २०७२ सालमा माओवादीको समर्थनमा ओली प्रधानमन्त्री बने। सत्ता सम्हालेको नवौं महीनामा माओवादीले सरकारबाट समर्थन फिर्ता लिएपछि ओली राजीनामा दिन बाध्य भए।
आफ्नो सत्ता बहिर्गमनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालभन्दा पनि आफ्नै पार्टीका वरिष्ठ नेता नेपालको हात रहेको ओलीको बुझाइ रह्यो। र, त्यसपछि नेपाल–ओली सम्बन्ध झन् टकरावपूर्ण बन्दै गयो।
३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बने पनि ओली–नेपालबीचको सम्बन्ध सुमधुर बन्न सकेन। बरु कुनै वेला एक अर्काको कटु आलोचक रहेका ओली र दाहालको घनिष्ठता बढ्दै गयो। ओली र दाहालले जे निर्णय गर्थे, एक हिसाबले नेकपाको निर्णय नै त्यही थियो।
फुटेर जानेलाई बढी चुनौती
बहुदलीय शासन व्यवस्थाको अभ्यास गरेको धेरै नभए पनि नेपालमा दल विभाजन नौलो विषय होइन। विगत केलाउँदा मूल पार्टीबाट विभाजित भएर गठन भएका पार्टीले आफूलाई स्थापित गर्न सकेका छैनन्।
जस्तो, २०५४ सालमा एमाले विभाजन हुँदा वामदेव गौतमले एमालेको केन्द्रीय समितिको झण्डै आधा शक्ति लिएर गएका थिए। साहना प्रधान, सिपी मैनाली, अशोक राई, राधाकृष्ण मैनाली, पद्मरत्न तुलाधर जस्ता शक्तिशाली एमाले नेताले वामदेवलाई साथ दिएका थिए।
२०५६ सालमा भएको निर्वाचनमा माले शून्य सीटमा सीमित भयो भने एमालेले ६९ सीट ल्याएर प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल बन्यो। कार्यकर्ता तहमा विभाजनको ठूलो असर परेको छैन भन्ने निर्वाचनको नतीजाले देखायो। पार्टी चलाउन नसकेपछि २०५८ फागुनमा वामदेव गौतम पुनः एमालेमा फर्किए।
त्यस्तै, २०५८ सालमा नेपाली कांग्रेस विभाजन गरेर शेरबहादुर देउवाले कांग्रेस (प्रजातान्त्रिक) गठन गरे। देउवाले पनि केन्द्रीय समितिको झण्डै आधा शक्ति लिएर गएका थिए। २०६४ को निर्वाचनअघि नै देउवाले प्रजातान्त्रिक कांग्रेसलाई मूल पार्टीमा विलय गराए।
पहिलो संविधानसभा विघटनपछि माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य, महासचिव रामबहादुर थापा लगायतले ४० प्रतिशतभन्दा बढी शक्ति सहित पार्टी विभाजन गरे। तर, उनीहरूले पनि नयाँ पार्टी स्थापित गर्न सकेनन्।
यो विभाजन २०७० को संविधानसभा निर्वाचनमा पुष्पकमल दाहाल नेतृत्वको माओवादीलाई हराउन भने पर्याप्त रह्यो। तर, यति वेला वैद्यको पार्टी अस्तित्व रक्षाको संघर्षमा छ।
वैकिल्पक राजनीतिक शक्ति बनाउने घोषणा सहित माओवादीबाट बाहिरिएका डा. बाबुराम भट्टराईको नयाँ यात्रा पनि सुखद रहेन। नयाँ शक्ति गठन गरेका उनले एकाध वर्ष पनि पार्टी टिकाउन सकेनन्।
त्यसै कारण यो विभाजनले ओली नेतृत्वको एमालेमा पार्ने प्रभाव थाहा पाउन भने आगामी चुनावसम्म पर्खिनैपर्ने हुन्छ।