‘सर्वोत्तम सिमेन्ट’ को शेयर प्रकरणमा जे भयो...
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, सदस्य चन्द्र ढकाल र नेपाल स्टक एक्सचेन्जका सीईओ चन्द्रसिंह साउदले पदबाट हात धुनुपरेको समाचार रिपोर्टिङको पृष्ठभूमि र अन्तर्कथा।
पदासीन र शक्तिमा रहेका व्यक्तिहरूका विषयमा रिपोर्टरहरूलाई अनेकौं किस्सा सुनाइन्छ, कतिपय तथ्यपूर्ण, केही अतिरञ्जित। घुम्दैफिर्दै रिपोर्टरका कानसम्म आइपुग्ने अधिकांश सूचना पुष्टि गर्नै नसकिने खालका हुन्छन्।
२०७६ पुसमा नेपाल धितोपत्र बोर्डमा भीष्मराज ढुंगानालाई अध्यक्ष नियुक्ति गरिएपछि नेपाल राष्ट्र ब्याङ्कमा लामो समय बिताएका एक अधिकारीले मसँगको कुराकानीमा नाक खुम्च्याउँदै ढुंगानाको आचरणका विषयमा संशय जनाएका थिए। उनका सूचना पनि पुष्टि गर्न सकिने खालका थिएनन्।
राष्ट्र ब्याङ्कमा कार्यकारी निर्देशकसम्मको पदमा पुगेका ढुंगाना अवकाशपछि उच्च राजनीतिक पहुँचले बोर्डको अध्यक्ष नियुक्त हुन सफल भएकोमा शङ्का थिएन। ढुंगानाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो शक्तिको स्रोतका रूपमा देखाउने गर्थे, अनौपचारिक कुराकानीहरूमा। उनको नियुक्तिमा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडा पनि सन्तुष्ट नरहेको अर्थ मन्त्रालयका एक अधिकारीले मलाई सुनाएका थिए।
धितोपत्र बोर्डमा गइसकेपछि पनि ढुंगानाको पदीय आचरण र नैतिकताका विषयमा विभिन्न खबर–अफवाह आइरहे। तिनको पुष्टि गर्न असम्भव सरह हुन्थ्यो। गत असारको अन्तिम सातातिर एउटा अपुष्ट सूचना आयो, ‘धितोपत्र बोर्डका अध्यक्षले अनुमति दिनु अघि नयाँ कम्पनीसँग शेयर माग्छन्।’ सुन्ने बित्तिकै झट्ट दिमागमा सर्वोत्तम सिमेन्टको नाम आयो। किनभने, सर्वोत्तम सिमेन्टले ‘बुक बिल्डिङ’ विधि मार्फत कम्तीमा रु.७५० को दरमा सर्वसाधारणलाई ६० लाख कित्ता शेयर निष्कासनको घोषणा गरिसकेको थियो। आशङ्का सही निस्कियो, जानकार एक स्रोतले आशङ्का पुष्टि त गर्यो, तर प्रमाणका कागजात दिन मानेन।
एकाध दिन यत्तिकै बित्यो। अरू नै विषयका रिपोर्टिङले ध्यान बरालियो।
‘केही भेटिइहाल्छ कि, हेरौं न त’ भन्ने विचार आएका दिन साउनको पहिलो सातातिर म सर्वोत्तम सिमेन्टको कागजात खोज्नतिर लागें। त्यस्तो कागजात हुनसक्ने दुई मुख्य स्थान थिए, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल स्टक एक्सचेन्ज (नेप्से)। कम्पनी रजिष्ट्रारको कार्यालयका एक उच्च अधिकारी चिनजानका भएकाले शेयर किनबेचको कागजात उपलब्ध गराउन निकै अनुरोध गरें। तर, उनले कम्पनीको विवरण गोप्य हुने भन्दै शेयर किनबेचको विवरण दिन मानेनन्। नेप्सेबाट पनि यस्तो विवरण पाइएन। एकाध दिन चक्कर काटियो।
निराश हुनै लाग्दा कसो–कसो एक पुरानो चिनारुको मद्दतले सर्वोत्तम सिमेन्टको शेयरधनीको दर्ता किताब हात लाग्यो। सँगसँगै, निकै मिहिनेतले कम्पनीको प्रबन्धपत्र, शेयर किनबेचको विवरण, वार्षिक लेखा परीक्षणको प्रतिवेदन पनि फेला पारियो। यी प्रमाण फेला पार्नु निकै कठिन र एक हिसाबले संयोगजस्तै थिए । नभन्दै, कम्पनीको शेयरधनीको दर्ता किताबमा रेबिका ढुंगानाको नाममा १० हजार कित्ता शेयर लगत थियो, जसको बाबुको नाम भीष्मराज ढुंगाना उल्लेख थियो। कम्पनीले ‘बुक बिल्डिङ’ को प्रक्रिया शुरू गरिसकेपछि ढुंगानाको नाममा शेयर हस्तान्तरण भएको कागजातले खुलाउँथ्यो।
कागजात हात परेको भोलिपल्ट म यसबारे बोर्डका अध्यक्ष ढुंगानाको धारणा बुझ्न बोर्डको कार्यालय खुमलटार पुगें। शुरूमा त ढुंगाना तर्किए, ‘खै कहाँ छ ?’ भनेर। जब, शेयर दर्ता किताबको पूरै विवरण उनका अघि राखिदिएँ, त्यसपछि अध्यक्ष ढुंगानाले आफ्नी विवाहित छोरी रेबिकाले शेयर किन्न कानूनले नरोकेको भन्दै उम्किन खोजे। उनले यो समाचारको विषय नै नभएको भन्दै नीतिगत विषयहरूमा रिपोर्टिङ गर्न सुझाव दिंदै मलाई बिदा गरे।
ढुंगानाको जवाफले एक हिसाबले मलाई अलमल्यायो। त्यसपछि, राष्ट्र ब्याङ्क र अर्थ मन्त्रालयका बहालवाला र केही पूर्व उच्च अधिकारीहरूसँग यो विषयको गम्भीरताबारे बातचित गरेँ । धितोपत्र र कम्पनी कानूनका जानकारसँग पनि छलफल गरें। उनीहरूमध्ये केहीले ‘बोर्डको अध्यक्ष जस्तो मान्छेले यस्तो काम त गर्न नहुने’ भनेर यो अनैतिक भएको जवाफ दिए। केहीले त कडा रूपमा प्रस्तुत हुँदै ‘सोझै जेल जाने कृत्य’ भएको बताए। यसपछि १२ साउनको अपराह्नतिर हिमालखबरमा प्रकाशित भयो, ‘धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाद्वारा कानून विपरीत शेयरको भित्री कारोबार’ शीर्षकको समाचार।
समाचार प्रकाशन भएसँगै सामाजिक सञ्जालमा हुरुरु फैलिन थाल्यो। आर्थिक र शेयर मामिलामा समाचार लेख्ने अनलाइन पोर्टलहरूले पनि ‘हिमालखबरका अनुसार’ भनेर समाचारहरू लेखे।
मेरो ध्याउन्न बोर्डका अध्यक्ष ढुंगानाले व्यक्तिगत लाभका लागि पदीय मर्यादा मिचेको तथ्यको खुलासा गर्नु थियो। एक हिसाबले त्यो पूरा भइसकेको थियो। सर्वोत्तम सिमेन्टसँग जोडिएका थप तथ्यको जानकारी पनि थिएन। समाचार प्रकाशन भएको भोलिपल्ट एकाबिहानै ट्विटरको सन्देश बक्समा नचिनिएको छद्म नामको खाताबाट सन्देश आयो, जहाँ सूचना थियो– सर्वोत्तम सिमेन्टमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदकी श्रीमतीको नाममा पनि शेयर छ (हे. ट्विटर सन्देश)।
वास्तवमा, बोर्ड अध्यक्ष ढुंगानाबारेको समाचारमा मैले सर्वोत्तम सिमेन्टको शेयर दर्ता किताबको एक पृष्ठ प्रमाणका रूपमा अनलाइनमा राखेको थिएँ, जसको २९औं नम्बरमा सुशीलाकुमारी बोहराका नाममा पनि शेयर स्वामित्व रहेको उल्लेख थियो (हे. तस्वीर) । तर, उनी नेप्से सीईओ साउदकी श्रीमती हुन् भन्ने जानकारी मलाई थिएन, जुन सूचना ट्विटरको अपरिचित अकाउन्टले दिएको थियो।
त्यसपछि, बिहानै यो सूचना पुष्टि गर्ने हतारो पर्यो। हतारो किन पनि भयो भने, शेयरधनी दर्ता किताबको विवरण मैले नै प्रमाणका रूपमा समाचारमा राखिदिएको थिएँ, साउदको परिवारको विषयमा जानकारी पाउने चनाखो पत्रकारले त्यही विवरणका आधारमा उनको संलग्नताबारेको समाचार उछिट्याउन सक्ने जोखिम थियो। एकाध फोन गरेपछि पुष्टि भयो, शेयरधनी दर्ता किताबमा उल्लिखित सुशीलाकुमारी बोहरा नेप्से सीईओ साउदकै श्रीमती थिइन्। अन्तिममा उनै साउदलाई फोन गरेर नागरिकता नम्बर सहित उल्लेख गर्दै जिज्ञासा राखेपछि उनले होइन भन्न सकेनन्। त्यस लगत्तै ‘सर्वोत्तम सिमेन्टमा स्वार्थ बाझिने गरी नेप्सेका सीईओ साउदको पनि शेयर’ भन्ने समाचार प्रकाशन भयो।
यी दुई समाचार प्रकाशनपछि शेयर बजारमा चासो राख्ने माझ ठूलै तरङ्ग सिर्जना भयो। यी विषय नचर्काउन भन्दै अनेकौं उदेश्यसहितका फोनहरू पनि बजे।
अर्थ मन्त्रालयको ध्यान तानियो, समाचार आए लगत्तै। १३ र १४ साउनमा अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले क्रमशः बोर्ड र नेप्सेलाई सम्बोधन गरी ‘सञ्चार माध्यममा आएका समाचारका विषयमा स्पष्ट गरी पठाउन’ पत्र लेख्यो। तर, यी पत्र यति अस्पष्ट थिए कि सञ्चार माध्यममा कुन विषयका समाचार आएका हुन्, के स्पष्ट पार्न जरुरी रहेको हो वा कुन कानूनले त्यस्तो जवाफ दिनुपर्ने हो भन्ने उल्लेख थिएन। त्यसमाथि, दुई संस्थाका व्यक्तिमाथि आरोप लागेकोमा उनीहरूलाई पत्र नपठाई संस्थाका नाममा पत्र काटिएको थियो। मलाई अर्थ मन्त्रालयकै केही अधिकारीहरूले के बताएका थिए भने, मन्त्रालयका उच्च अधिकारीहरूकै निर्देशनमा यस्तो झारा टार्ने उद्देश्यको स्पष्टीकरण सोधिएको थियो।
खोज्दै जाँदा पत्ता लाग्यो, सर्वसाधारणलाई महँगोमा शेयर बिक्रीको प्रस्ताव गरेको सर्वोत्तम सिमेन्टको शेयर धितोपत्र बोर्ड अध्यक्ष ढुंगाना र नेप्से सीईओ साउदले मात्रै होइन, धितोपत्र बजारसँग सम्बद्ध अन्य प्रभावशाली व्यक्तिलाई पनि शुरूमै बाँडिएको थियो। १७ साउनमा यसबारे पनि हिमालखबरमा रिपोर्ट लेखें। सर्वोत्तम सिमेन्टको शेयरको बिक्री प्रबन्धनको जिम्मा पाएको ग्लोबल आईएमई क्यापिटलको माउ संस्था ग्लोबल आईएमई ब्याङ्कका अध्यक्ष चन्द्र ढकालका भाइ हेमराज ढकाल, लगानी सम्बन्धी संस्था हाथवे इन्भेस्टमेन्ट (जसमा हेमराज ढकालको ३०.०१ प्रतिशत शेयर लगानी छ), शेयर बजारका ठूला लगानीकर्तामध्ये एक अम्बिकाप्रसाद पौडेल, शेयर ब्रोकर अनलाइन सेक्युरिटिजका सञ्चालक अनन्त पौडेलको नाममा पनि सर्वोत्तमको शेयर हस्तान्तरण गरिएको फेला पर्यो।
ग्लोबल आइएमई ब्याङ्कका अध्यक्ष ढकाल सीधै स्वार्थ बाझिने गरी बोर्डमा सञ्चालक समिति सदस्यका रूपमा बसेका थिए। सर्वसाधारणलाई कम्तीमा रु.७५० का दरले बिक्रीको प्रस्ताव गरिएको सर्वोत्तमको शेयर यी बजारमा प्रभाव पार्न सक्ने व्यक्तिले शुरूमै रु.२५० का दरमा हत्याएका थिए। स्रोतहरूका अनुसार, थोरै कित्ता (जम्मा ६० लाख) भएकाले बजारका प्रभावशालीहरूले चलखेल गरी सर्वोत्तम सिमेन्टको शेयर प्रतिकित्ता कम्तीमा रु.२५०० पुर्याउने योजना बनाएका थिए। जे भए पनि, संस्थापक शेयर धितोपत्र बजारसँग प्रत्यक्ष सम्बद्ध व्यक्तिलाई शुरूमै बाँडिनुले भविष्यमा शेयर बजारमा चलखेल गरी मूल्य–पासो सिर्जना गर्न खोजिएको त होइन भन्ने आशङ्का उब्जाएकोमा शङ्का थिएन।
प्रतिनिधि सभाको अर्थ समितिले यो विषयमा हात हालेपछि घटनाक्रमले नयाँ मोड लियो। अर्थ समितिले आरोपित धितोपत्र बोर्ड अध्यक्ष ढुंगाना, नेप्सेका सीईओ साउद, अर्थमन्त्री जनार्दन शर्मा लगायतसँग यस विषयमा श्रृंखलाबद्ध छलफल गर्दै यसबारे छानबिन गरी कानून अनुसार दोषीमाथि कारबाही गर्न अर्थ मन्त्रालयलाई निर्देशन दियो।
सम्भवतः समितिको हस्तक्षेप नभएको भए यो विषय यसै सेलाउँथ्यो। यसैबीच, अर्थ मन्त्रालयले यो मामिलामा अध्ययन गर्न कानून महाशाखा प्रमुख पराश्वर ढुंगानाको संयोजकत्वमा छानबिन समिति गठन गर्यो।
विवाद लम्बिंदै गएपछि नेप्सेका सीईओ साउदले ८ भदौ र धितोपत्र बोर्डको सञ्चालक चन्द्र ढकालले ९ भदौमा राजीनामा दिए। अर्थ मन्त्रालयका कानून महाशाखा प्रमुख पराश्वर ढुंगानाको संयोजकत्वमा छानबिन समितिको सुझाव बमोजिम अर्थ मन्त्रालयको प्रस्तावमा १६ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डका अध्यक्ष ढुंगानालाई निलम्बन गर्दै कानून बमोजिम उनलाई पदमुक्त गर्न पूर्व न्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा न्यायिक समिति गठन गर्यो। सोही समितिको प्रतिवेदन बमोजिम व्यक्तिगत लाभका लागि पदीय मर्यादा विपरीत पारिवारिक सदस्यको नाममा शेयर खरीद गरेका बोर्डका अध्यक्ष ढुंगाना अन्ततः बर्खास्त भएका छन्।
तत्कालका लागि सर्वसाधारणलाई महँगो मूल्यमा शेयर बिक्री गरिन लागेको सर्वोत्तम सिमेन्टको शेयर बिक्रीको प्रक्रिया पनि रोकिएको छ। यसले तोकेको रु.७५० प्रतिकित्ता दरको मूल्य उचित छ वा छैन भन्ने पनि सम्भवतः छलफलको विषय हुनेछ।
समाचार र प्रभाव
रिपोर्टरलाई आफूले लेखेको समाचारले प्रभाव पार्नुले निश्चय पनि सन्तोष दिन्छ। त्यसमाथि, यो सरकारी निकायले छानबिन शुरू गरिसकेपछि खोजिएको विषय नभएर समाचार प्रकाशन भइसकेपछि सरकार छानबिनका लागि बाध्य भएको मुद्दा थियो।
हिमालका पूर्व सम्पादक (अहिले खोज पत्रकारिता केन्द्रका सम्पादक) किरण नेपालले समाचार–कक्ष बैठकमा सधैं हामी रिपोर्टरहरूलाई हाँक दिंदै भन्थे, “शक्तिशालीहरूको जागीर खाइदिने, कारबाही गराउने अलि टोक्ने खालका समाचारहरू खोज्नुपर्यो!” मनमा त त्यस्तै समाचार खोज्ने हुटहुटी सधैं हुन्थ्यो, तर त्यस्ता समाचार भेट्न सजिलो हुने कुरै भएन। फेरि, साँच्चिकैको खोज रिपोर्टिङले पनि सधैं तत्काल प्रभाव पारिहाल्छ भन्ने सुनिश्चितता पनि हुँदैन।
मलाई के लाग्छ भने, रिपोर्टरको धर्म लुकाइएका कुरा उदाङ्गो पार्नु हो, सार्वजनिक जानकारीमा ल्याइदिनु हो, समाचारले प्रभाव पार्छ कि पार्दैन भन्ने अर्को कुरा हो। एक दशकभन्दा लामो पत्रकारिता कर्मका दौरान लेखिएका कैयौं खोज रिपोर्ट/समाचारले नीतिगत रूपमा प्रभाव पारे पनि, नीति परिवर्तन भए पनि वा सार्वजनिक छलफलको विषय बने पनि आफैंले लेखेको समाचारका कारण शक्तिशालीहरूले तुरुन्तै पद गुमाउनुपरेको रोमाञ्चक अनुभव थियो, सर्वोत्तमको शेयर प्रकरण। एकाध वर्षअघि कमोडिटिज् मार्केटका विषयको खोजमूलक रिर्पोटिङको प्रभावले नियमन नभएको यो बजार बन्दप्रायः हुन पुगेको थियो र नागरिक लुटिने धन्दा रोकिएको थियो । तर, अहिलेको जस्तो चर्चा भएको थिएन ।
के लाग्छ भने, सर्वोत्तम सिमेन्ट प्रकरण ‘टिप अफ दी आइसवर्ग’ मात्रै हो। धितोपत्र बजार, व्यवसाय, घरजग्गाको कारोबार, वित्तीय प्रणाली तथा समग्र अर्थतन्त्रमा सुशासन र पारदर्शितामा गम्भीर त्रुटिहरू छन्, जसका कारण सीमित समूहले कानून मिचेर र अनैतिक रूपमा असाधारण लाभ कुम्ल्याउँदै आएका छन्। शेयर बजारमा मिलेमतो र सूचना चुहाएर हुने कारोबारबाट सीमित समूहले ठूलो धन सञ्चय गर्न सफल भएको छ। यस्तो खेलमा निकायम निकायहरुकै अधिकारीहरुको समेत संलग्नता रहने तथ्य लुकेको छैन । निश्चय पनि, व्यक्तिहरूले धन कमाउँदै जानु, समाजमा धनकुबेरको संख्या थपिनु अर्थतन्त्रका लागि लाभ र देशका लागि पनि खुशीको कुरा हो। तर, कुन मूल्यमा त्यस्तो भइरहेको छ भनेर हेर्न जरुरी छ।
सर्वोत्तम सिमेन्ट प्रकरणले एकैसाथ विभिन्न प्रश्न सिर्जना गरेको छ। पहिलो, नियामक कस्तो हुनुपर्ने भन्ने प्रश्न। झण्डै नेपालको अर्थतन्त्रको कुल आकारको दुई तिहाई जत्रो बजार पूँजीकरण भइसकेको धितोपत्र बजारलाई नियमन गर्ने निकाय धितोपत्र बोर्ड तथा कारोबार गर्ने प्लेटफर्म नेप्सेको नेतृत्व कानूनी रूपमा मात्र योग्य भएर पुग्दैन, नैतिक रूपमा पनि उच्च आचरणको हुनुपर्ने तथ्यलाई यो प्रकरणले प्रष्ट पारेको छ। नियामक निकायका अधिकारीहरूले लोभ गर्ने वा व्यवसायीसँग मिलेर लाभ दोहन गर्ने प्रवृत्ति रहुन्जेल बजारले स्वतन्त्र ढङ्गमा काम गर्न सक्दैन। जसको मारमा आम सर्वसाधारण पर्छन्। राष्ट्र ब्याङ्क, धितोपत्र बोर्ड, बीमा समिति लगायत नियामक निकायमा हुने अधिकारीहरू र बजारको सूचना हुने व्यक्ति र उनीहरूका परिवारले भित्री सूचनाका आधारमा बजारमा कारोबार गर्ने गरेको अफवाह मात्रै नहोला। तर, यी विषयमा छानबिन भएका छैनन्। खास व्यक्ति वा समूहलाई लाभ पुग्ने गरी सार्वजनिक नीति बन्ने क्रम रोकिएको छैन।
दोस्रो, नियामक निकायमा स्वार्थ बाझिने व्यवसायी सञ्चालक समितिमा जान कानूनी रूपमै बन्देज लगाउनुको विकल्प छैन। धितोपत्र बोर्ड आफैंले नियमन गर्नुपर्ने कैयौं संस्थाका अध्यक्ष र सञ्चालक समितिमा रहेका व्यवसायी बोर्डको समेत सञ्चालक हुने व्यवस्था आश्चर्यजनक नै मान्नुपर्छ। अरू नियमनकारी निकायमा पनि यस्तै स्थिति छ।
सर्वोत्तम सिमेन्ट प्रकरणबाट मैले अर्को के कुरा महसूस गरें भने, नेपाली सञ्चार माध्यम धेरै हदसम्म लोकतान्त्रीकरणको प्रक्रियाबाट अगाडि बढिसकेको छ। हिमालखबरले यो प्रकरणको खुलासा गरेपछि यसबारे तुलनात्मक रूपमा कम नाम सुनिएका अनलाइन पोर्टलहरूले यसबारे निरन्तर समाचार प्रकाशन गरेका थिए, नाम चलेका ठूला मिडिया, दैनिक अखबारहरूले चासो दिएका थिएनन्। डिजिटल मिडियाहरूले उठाएको मुद्दाले तुरुन्तै प्रभाव पारेको दृष्टान्तले साँच्चिकै डिजिटल शक्तिको युग शुरू भएको सङ्केत गर्छ।
कतिपले अरुको उक्साहटमा र कसैलाई फाइदा पु¥याउने उदेश्यले यो समाचार लेखेको भनी आरोप लगाएको पनि सुनेको छु । राजनीतिक पूर्वाग्रह जोडिएको छ भन्ने आरोप पनि सुनिएकै छ । बोर्डका अध्यक्ष ढुंगाना, नेप्सेका सीईओ साउद र बोर्ड सदस्य ढकालप्रति मेरो पूर्वाग्रह थिएन । ढुंगाना र साउदलाई त मैंले कहिल्यै भेटेको समेत थिइन् । पदासिन र शक्तिशालीहरुको गलत कृत्यलाई सार्वजनिक प्रकाशमा ल्याइदिने पत्रकारको सामान्य धर्म नै हो । यो प्रकरणपछि बोर्डमा आफ्नो स्वार्थअनुसार नयाँ अध्यक्ष नियुक्ति गर्ने अवसर अर्थमन्त्री जनार्दन शर्मालाई आएको छ । सम्भवतः उनी यही अवसरको खोजीमा हुनसक्थे । जस्ता मानिसहरुका बारेमा अहिले नियुक्तिको चर्चा चलिरहेको छ, ती सुन्दा शर्माले नियुक्त गर्ने मान्छे पनि सुयोग्य हुनेछन् भन्नेमा मलाई विश्वास छैन । मलाई के लाग्छ भने, सरकार परिवर्तन नभएका भए यो प्रकरण पनि अरु प्रकरण जसरी नै फासफुस भएर बिलाउनसक्थ्यो । तर, पत्रकारले कुनै खास व्यक्तिलाई लाभ/हानी हुन्छ भनेर होइन्, सुशासनको स्थापना र आम नागरिकलाई फाइदा पुग्छ वा पुग्दैन भनेर हेर्नुपर्छ भन्ठान्छु ।
तत्कालका लागि यो प्रकरणपछि बोर्डका अध्यक्ष ढुंगाना, नेप्सेका सीईओ साउद तथा बोर्ड सदस्य ढकालले पद गुमाएका छन्। हुनसक्छ, पद गुमाएका ढुंगाना अदालत मार्फत फेरि शक्तिमा फर्कन बल गर्नेछन्। तथापि, नेपालको धितोपत्र बजारको नियमन, सुशासन, पारदर्शिता तथा नियामकको नैतिकताका विषयमा यो प्रकरणले लामो समयसम्म सरोकारवालाहरूलाई झस्काइरहनेछ। मलाई के लाग्छ भने, नियामक निकायका उच्च अधिकारीहरुले पद गुमाउनु परेको यो प्रकरणले भविष्यसम्मै नियामकको नैतिक र कानूनी सीमारेखाबारे पाठ सिकाइरहनेछ ।