भारत-चीन विरुद्ध प्रदर्शन गर्नेलाई कारबाही गर्ने सरकारको चेतावनी
छिमेकी मित्रराष्ट्र भारत र चीन विरुद्ध प्रदर्शन गर्नेहरूलाई कारबाही गर्ने सरकारले चेतावनी दिएको छ।
आइतबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरि छिमेकी मित्रराष्ट्र विरुद्ध गरिएको प्रदर्शन प्रति ध्यानाकर्षण भएको जनाएको छ। “केही दिन यता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलूस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ, “यस्ता उच्छृंखल र निन्दनीय गतिविधि प्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ।”
सीमा अतिक्रमण तथा हस्तक्षेप गरेको भन्दै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन र नेकपा (एमाले) निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका थिए। उनीहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत दहन गरेका थिए।
त्यस्तै, केही समूहहरूले एमसीसीको विरोध गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि प्रदर्शन गरेका थिए।
त्यस्तो कार्य नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयले भनेको छ, “नेपाल सरकार सबै मित्रराष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ। मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ।”
सरकारले मित्रराष्ट्रहरूसँग उत्पन्न समस्यालाई वार्ता, संवाद र कूटनीतिक माध्यमबाट समाधान गरिंदै आएको जनाएको छ। त्यस्तै, भविष्यमा उत्पन्न हुने समस्यालाई पनि वार्ता, संवाद र कूटनीतिक माध्यमबाटै समाधान गरिने जनाइएको छ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पाखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मित्रराष्ट्रहरू विरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ।”