धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई अर्थ मन्त्रालयको अर्को प्रष्टीकरण पत्र*
पूँजी बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई अर्थ मन्त्रालयले बिहीबार अर्को स्पष्टीकरण सोधेको छ।
सर्वोत्तम सिमेन्टमा ढुंगानाले अरुको नाममा पनि ठूलो संख्यामा शेयर राखेको आशंकामा मन्त्रालयले अध्यक्ष ढुुंगानालाई पत्र पठाउँदै यसबारे स्पष्टीकरण माग गरेको हो।
संस्थान समन्वय महाशाखाका उपसचिव इन्द्र देवकोटाले अध्यक्ष ढुंगानालाई यस विषयमा जवाफ माग गर्दै बिहीबार अपराह्न पत्र पठाएको मन्त्रालय स्रोतले बतायो।
सर्वोत्तम सिमेन्टमा मणि (दर्ता किताबमा मनि भनी उल्लिखित) ढुंगाना र रोशन ढुंगानाको नाममा शेयर रहेको फेला पारेको थियो। मणि ढुंगानाका नाममा १७ हजार ८६८ कित्ता र रोशन ढुंगानाका नाममा ५ हजार ८५६ कित्ता शेयर छ।
दर्ता किताबमा मणि ढुंगानाको अभिभावकको नाममा नन्दराज ढुंगाना र रोशन ढुंगानाको अभिभावकमा भीष्मराज ढुंगाना उल्लेख गरिएको छ। मन्त्रालयले उनीहरु अध्यक्ष ढुंगानाको पारिवारिक सदस्य रहेको अनुमानसहित प्रष्ट पार्न पत्र लेखेको हो । तर, उनीहरु अध्यक्ष ढुंगानाका नातेदार नै भएको स्वतन्त्र पुष्टि भएको छैन ।* यसअघि, धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाका नाममा सर्वोत्तम सिमेन्टको ११ हजार ९१२ कित्ता शेयर रहेको खुलेको थियो ।
अर्थ सचिव मधुकुमार मरासिनीले अर्थ समितिको वैठकमा अध्यक्ष ढुंगानाका अरु पारिवारिक सदस्यको नाममा समेत सर्वोत्तम सिमेन्टको शेयर रहेको हुनसक्ने र मन्त्रालयले यसबारे छानबिन गरिरहेको बताएका थिए । सर्वसाधारणलाई बुक बिल्डिङ विधिबाट शेयर निष्कासन गर्ने तयारी गरेको सर्वोत्तम सिमेन्टको शेयर शुरूमै अध्यक्ष ढुंगानाले अमेरिका बस्ने छोरीका नाममा खरीद गरेको समाचार हिमालखबरले सार्वजनिक गरेको थियो।
सर्वोत्तम सिमेन्टले कम्तीमा रु.७५० का दरमा सर्वसाधारणलाई ६० लाख कित्ता शेयर निष्कासन गर्ने तयारी गरिरहेका वेला ढुंगानाकी छोरीले रु.२५० का दरमा संस्थापक शेयर खरीद गरेको देखिएको छ।
ढुंगानाले पदीय दुरुपयोग गरेको तथा भित्री कारोबार गरेको भनी अर्थ मन्त्रालयले यस विषयमा छानबिन समिति बनाएर अध्ययन गरिरहेको छ।
संसद्को अर्थ समितिले पनि यस विषयमा श्रृंखलाबद्ध छलफल गर्दै तत्काल छानबिन गरी कानून बमोजिम कारबाही गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइसकेको छ।
अध्यक्ष ढुंगानाले भने कानूनले नछेकेका कारण विवाहित छोरीले सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेको बताउँदै आएका छन्। अर्थ मन्त्रालयको छानबिन समितिले ढुंगानालाई सोधेको स्पष्टीकरणमा उनकी छोरीले शेयर खरीद गरे बापत रकमको भुक्तानी कसरी गरेको हो भनी प्रश्न गरिएको छ।
अध्यक्ष ढुंगानाले छोरीले शेयर खरीद गरेको विषयमा फरक–फरक अभिव्यक्ति दिंदै आएका छन्। उनले संसद्को अर्थ समितिको बैठकमा छोरीले सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेको विषयमा आफूलाई जानकारी नभएको र अमेरिका बस्ने छोरी स्वयंले त्यस्तो निर्णय गरेको बताएका थिए। तर, उनले क्लिकमाण्डु डटकमसँगको अन्तर्वार्तामा भने आफूले छोरीलाई शेयर किन्न रु.१० लाख चेक काटेर दिएको बताएका छन्।
अर्थ मन्त्रालयले अध्यक्ष ढुंगानाले यसअघि मन्त्रालयलाई दिएको स्पष्टीकरणको जवाफमा ढाँटेर जवाफ दिएको भन्ने विषयमा पनि उठाएको छ। मन्त्रालयले यसअघि २७ साउनमा ढुंगानालाई पत्र पठाएर सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणका विषयमा जानकारी माग गरेको थियो। तर, ढुंगानाले यस विषयमा झुक्याउने तरिकाले जवाफ दिएपछि मन्त्रालयले किन ढाँटिएको हो भनी जवाफ माग गरेको हो।
केही दिनअघि मन्त्रालयले बोर्डलाई अर्को पत्र पठाउँदै अजोड इन्स्योरेन्समा भएको भनिएको भित्री कारोबारको कारबाही के भइरहेको हो भन्ने विषयमा पनि प्रष्टीकरण माग गरेको थियो। नियामक निकायका अधिकारीहरूले सर्वसाधारणलाई शेयर जारी गर्नु पूर्व नै सर्वोत्तम सिमेन्टको शेयर हत्याएपछि अर्थ मन्त्रालयले अहिले कानून महाशाखा प्रमुख पराश्वर ढुंगानाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरी छानबिन गरिरहेको छ।
समितिले यो कारोबारमा गम्भीर आर्थिक अपराध गरेको भेटिएर कारबाहीको तयारी गरेपछि नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र धितोपत्र बोर्डका सञ्चालक चन्द्र ढकालले राजीनामा दिइसकेका छन्।
बोर्डका अध्यक्ष ढुंगानामाथि समेत राजीनामाको दबाब परे पनि उनले राजीनामा नदिने बरु मन्त्रालयले हटाएमा कानूनी लडाइँ लड्ने विषयमा मंगलबार र बुधबार कानूनी परामर्श गरेका छन्। यसैबीच, छानबिन समितिले बोर्डका अध्यक्ष ढुंगाना र मंगलबार राजीनामा दिएका सञ्चालक ढकालको मिलेमतोमा शेयर बजारमा भित्री कारोबार भएको विषयमा पनि अध्ययन गरिरहेको समितिका एक सदस्यले बताए।
ती सदस्यले हिमालखबरसँगको कुराकानीमा भने, “एक लाख ५० हजार कारोबारको विवरण हेरिरहेका छौं, त्यसबाट उहाँहरूको भित्री कारोबारको विवरण छिटै पत्ता लगाउनेछौं।”
*सच्याइएको
यसअघि, यस समाचारमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाका भाइ–बुहारी मणि ढुंगाना र रोशन ढुंगानाका नाममा पनि सर्वोत्तम सिमेन्टमा शेयर रहेको भनी अर्थ मन्त्रालयको स्पष्टीकरण–पत्रको व्यहोरा अनुसार सो सन्दर्भ उल्लेख भएकोमा मणि ढुंगानाले आफू बोर्डका अध्यक्ष भीष्मराजको नातेदार नपर्ने प्रमाण सहित हिमालखबरलाई जानकारी दिनुभएकाले सम्पादन सहित समाचार सच्याइएको छ। समाचारबाट ढुंगाना परिवारलाई पर्न गएको असहज परिस्थितिका लागि हिमालखबर माफी माग्न चाहन्छ।
अर्थ मन्त्रालयले बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई पठाएको पत्रको अंश।