सर्वोत्तम शेयर खरीद प्रकरण : धितोपत्र बोर्डका अध्यक्ष ढुंगानामाथि सांसदले उठाए नैतिकताको प्रश्न
संघीय संसदको अर्थ समितिका सदस्यले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासँग उनको पारिवारिक सदस्यले सर्वोत्तम सिमेन्टको शेयर खरीद गरेको विषयमा प्रश्न गरेका छन्।
समितिको आइतबार बसेको बैठकमा सांसदले नियामक निकायका प्रमुखले उच्च नैतिकता प्रदर्शन गर्न चुकेको बताएका छन्। अर्थ समितिकी सदस्य रामकुमारी झाँक्रीले नियामक निकायको प्रमुखले कानूनी छिद्र देखाउँदै दोस्रो बजारमा आउन लागेको कम्पनीको शेयर शुरूमैं किन्नु नैतिकताका हिसाबले पनि नमिल्ने बताइन्। “नियामकले कानूनी छिद्र खोजेर उम्किन प्रयास गर्नु उचित होइन्, यो नैतिकता र इमान्दारिताको पनि प्रश्न हो,” झाँक्रीले भनिन्।
अर्थ मन्त्रालयले पनि सर्वोत्तम सिमेन्ट प्रकरणमा उचित निर्णय नगरेको सांसद झाँक्रीले बताइन्। व्यक्तिगत संलग्नताको विषयमा अर्थ मन्त्रालयले सिंगो संस्थालाई नै प्रष्टीकरणको पत्र पठाउनु उचित नभएको उनको भनाइ थियो।
सर्वोत्तम सिमेन्टको शेयर खरीदका विषयमा अर्थ मन्त्रालयले आरोपित व्यक्तिसँग प्रष्टीकरण माग गर्नुको साटो संस्थासँग जवाफ माग गरेको थियो। सम्बन्धित संस्थाको जवाफपछि अर्थ मन्त्रालयले यस विषयमा थप निर्णय गरेको छैन।
समितिकी सदस्य झाँक्रीले यो विषयमा छानबिन आवश्यक रहेको तथा स्वार्थ बाझिने गरी शेयर खरीद बिक्री रोक्ने कानून निर्माण समेत आवश्यक रहेको धारणा राखिन्। “धेरै कुरामा रिफर्म चाहिएको छ, जो नियामक हो उसैमाथि प्रश्न उठेपछि विषयलाई त्यत्तिकै छोड्न हुँदैन,” उनले भनिन्।
सर्वसाधारणलाई शेयर जारी गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदका पारिवारिक सदस्यका नाम किनिएको हिमाल खबरले खुलासा गरेको थियो।
संसद्को अर्थ समितिले यो शेयर खरीद प्रकरणका विषयमा छलफल थालेको छ। समितिको आइतबारको बैठकमा बोर्डका अध्यक्ष ढुंगानाले बिवाहित छोरीले शेयर किन्न कानूनले नछेकेको जवाफ दिए। उनले यो शेयर खरीदमा आफ्नो संलग्नता नरहेको जवाफ दिएका थिए। “यो मैले गरेको होइन्, मेरो हात छैन,” समितिमा उनले भने।
सर्वोत्तम सिमेन्टको १० हजार कित्ता शेयर रेबिका ढुंगानामा नाममा हस्तान्तरण भएको खुलासा भएको थियो। उनले कानून बनाएर अब यस्तो किनबेचलाई नियन्त्रण गर्न सकिने विचार पनि राखे।
अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले नियमनकारी निकायका अधिकारीले कानूनले छेकेको छैन भनेर उम्किनु भन्दा नैतिकतालाई पनि ख्याल राख्नुपर्ने बताए। उनले भने, “नियामक निकायका अधिकारीले शिर झुकाउने होइन्, छाती फुलाएर हिड्ने परिस्थिति निर्माण गर्नुपर्छ।”
समितिले यस विषयमा छलफललाई निरन्तरता दिने भएको छ। समितिले छलफलका लागि सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा मुछिएका नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत साउदलाई सोमबार बोलाएको छ।