धमाधम छुट्दै बन्दाबन्दीको सबभन्दा ठूलो ‘पोचिङ’का अभियुक्त
चितवन राष्ट्रिय निकुञ्जमा करीब साढे तीन वर्षको ‘जिरो पोचिङ’ लाई तोड्दै बन्दाबन्दीमा लोपोन्मुख एकसिंगे गैंडाको शिकार गरी खाग बेच्ने कार्यमा संलग्न भएकाहरू अदालतको एकपछि अर्को आदेशले छुटिरहेका छन्।
पाटन उच्च अदालत हेटौंडा इजलासले चितवन राष्ट्रिय निकुञ्जभित्र दुर्लभ एकसिंगे गैंडाको शिकार गरी खाग किनबेचमा संलग्न भएको आरोप लागेकामध्ये तीन जनालाई छाड्न आदेश दिएको छ।
अदालतले शिकारीबाट खाग किन्ने बहानामा लुटेर बेचेको अभियोग लागेका कैलाश आले मगर भनिने कैलाशबाबु आले, सोमबहादुर गुरुङ र नवीन पौडेल भनिने मेखबहादुर नेपालीलाई रू.५ लाख धरौटीमा छाड्न आदेश दिएको छ। उनीहरूले प्रहरी अनुसन्धानका क्रममा आफूहरू गैंडाको खाग लुटपाट र बिक्रीमा संलग्न भएको बयान दिएका भए पनि अदालतमा त्यसलाई इन्कार गरेको भन्दै न्यायाधीशद्वय राजकुमार वन र हरिप्रताप केसीको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो।
करीब साढे तीन वर्ष चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको ‘शून्य चोरी शिकार वर्ष’ मनाइएको थियो भने चालू आर्थिक वर्षको शुरूआतमै चार वटा गैंडा मारिएका थिए। दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको वासस्थान चितवन राष्ट्रिय निकुञ्जमा ४१ महीनापछि गत भदौमा शिकारीको गोलीबाट गैंडा मारिएको थियो।
बाँदरझुला आइल्यान्ड क्षेत्रमा शिकारीले गत १७ भदौमा २५ देखि ३० वर्षको भाले गैंडालाई गोली हानी मारेका थिए। टाउकामा गोली लागेको अवस्थामा २१ भदौमा भेटिएको गैँडाको खाग र खुर सुरक्षित थियो। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार, २५ चैत २०७३ मा निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित बेलहट्टा हरियाली सामुदायिक वन क्षेत्रको ध्रुवघाटमा भाले गैंडा मारिएयताको यो पहिलो ‘पोचिङ’ थियो।
त्यसयता पनि चितवनमा थप तीन वटा गैंडा मारिए। निकुञ्जका अनुसार, नारायणी नदीको टापु मर्दी घोलमा १९ कात्तिकमा गैंडाको माउ र बच्चा मृत भेटिएका थिए। २०–२२ वर्षको पोथी गैंडा र तीन वर्षको बच्चा गोली लागेर मरेका थिए। शिकारीले खाग पनि लगिसकेका थिए। निकुञ्जका अनुसार, ती गैँडा करीब दुई महीनाअघि भदौतिर मारिएका थिए।
चितवन राष्ट्रिय निकुञ्जमै २१ कात्तिकमा गैंडाको खागविहीन कंकाल भेटिएको थियो। निकुञ्जको पश्चिमी क्षेत्र भुसहरघाट नजिक भेटिएको गैंडा करीब ६ महीनाअघि मारिएको थियो। यसको अर्थ निकुञ्जमा भएका सबै चार वटा ‘पोचिङ’ कोभिड–१९ को विस्तार रोक्नका लागि भनेर गरिएको देशव्यापी बन्दाबन्दीको अवधिमा थियो।
एक–दुई महीनाको बीचमा एउटै निकुञ्जमा चार वटा गैंडाको चोरी शिकार भएको खबरले संरक्षणकर्मीहरूलाई स्तब्ध पारेको थियो। लामो प्रयासपछि निकुञ्जको टोली, चितवन प्रहरी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न स्थानबाट गत माघ अन्तिम साता १४ जनालाई पक्राउ गर्यो। जसमा गैंडालाई गोली हान्ने, अन्य बन्दोबस्तीका सामग्रीको व्यवस्था गरिदिनेदेखि खाग लुट्ने र बेच्नेसम्मको गिरोहका सदस्य थिए।
राष्ट्रिय निकुञ्जका अनुसार, राना भनिने जितबहादुर कुमाल, उनकी पत्नी इन्द्रा कुमाल, हरि मगर, हरि थारू, उनकी पत्नी विष्णु मायालु, शिवनारायण महतो, वीरमानसिंह प्रजा र अशोक काले भनिने शुकबहादुर गुरुङ पक्राउ परेका थिए। उनीहरूले हुम्लाका दुई जना व्यापारीलाई खाग बेचेको पाइएको थियो।
त्यस्तै, मुगुका तीन जना व्यापारी मार्फत गैँडाको खाग तिब्बत पुर्याउन सक्रिय अर्को समूहका पनि ६ जना पक्राउ परेका थिए। जसमा मेखबहादुर नेपाली, सोमबहादुर गुरुङ, दुर्गा हरिजन सार्की, कैलाश आले, योङ्दन तामाङ र नाङ्छे तामाङ थिए।
उनीहरूविरुद्ध चितवन राष्ट्रिय निकुञ्जले चितवन जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीले तीमध्ये शिकारी, शिकारका लागि व्यवस्थापकीय सहयोगी र खागको ओसारपोसार गरेको अभियोग लागेका व्यक्तिलाई पुर्पक्षका लागि थुनामा पठाए। तर, मुख्य कारोबारीको अभियोग लागेका तीन जनालाई धरौटी र दुई जनालाई तारेखमा छाड्ने आदेश दिए।
निकुञ्जले नांगे तामाङ र योन्देन ग्याम्जो तामाङलाई खाग किनेर तिब्बत पुर्याउन भूमिका खेलेको अभियोग लगाएको थियो। मुख्य कारोबारी ठानिएका कार्मा तामाङ योन्देन तामाङका बाबु हुन्। उनी भने फरार छन्।
जिल्ला अदालतले २५ फागुन, २०७७ मा अन्य अभियुक्तलाई थुनामा पठाउँदै नांगे तामाङ, योन्देन तामाङ र कवि भनिने रामकुमार श्रेष्ठलाई पाँच लाख धरौटीमा छाड्न आदेश दियो। त्यस्तै, १० वैशाख, २०७८ मा ज्वाला भनिने ज्ञानबहादुर रुम्बा र सुदीप गिरीलाई साधारण तारेखमा छाड्ने आदेश दियो।
योन्देन रक्तचन्दन सम्बन्धी अर्को मुद्दाका पनि मुख्य अभियुक्त हुन्। प्रहरीले ११ भदौ २०७६ मा काठमाडौं–६ रामहिटीस्थित योन्देनको डेराबाट ७३ किलोग्राम रक्तचन्दन बरामद गरेको थियो। यस सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ।
अहिले पाटन उच्च अदालत हेटौंडा इजलासले थप तीन जना कैलाश आले मगर भनिने कैलाशबाबु आले, सोमबहादुर गुरुङ र नवीन पौडेल भनिने मेखबहादुर नेपालीलाई छाड्न आदेश दिएको हो। मारिएका गैँडाको खाग किन्ने व्यापारी बनेर चितवन पुगेका उनीहरू शिकारीबाट खाग लुटेर भागेका थिए। लुटेको खाग नांगे तामाङ र योन्देन ग्याम्जो तामाङलाई बेचेका थिए।
कैलाश आले चीनबाट गैरकानूनी रूपमा सुन लिएर आउँदै गर्दा पक्राउ परी जेल सजाय पाएका व्यक्ति हुन्। उनी दुई वर्ष जेल परेका थिए।
मुख्य शिकारी भनिएका जितबहादुर कुमाल यसअघि गैँडा मारेकै अभियोगमा दुई पटक गरी १५ वर्ष जेल सजाय पाएर छुटेका थिए। अर्का शिकारी वीरमान सिंह प्रजा पनि वन्यजन्तु अपराधमै यसअघि चार वर्ष जेल सजाय काटेका हुन्। उनका बाबु–आमा दुवै जना गैँडा मारेकै अभियोग पुष्टि भएपछि जेलमै छन्। उनीहरूलाई १५ वर्षको सजाय भएको छ।
जिल्ला अदालतले धरौटीमा छाडेका नांगे तामाङ र योन्देन ग्याम्जो तामाङलाई थुनामै राख्न माग गर्दै सरकारी वकीलको कार्यालयले पनि उच्च अदालतमा निवेदन दिएको थियो। तर, न्यायाधीशद्वय वन र केसीले उनीहरूलाई थुनामा पठाउन चाहेनन्।
तारा चेपाङ भनिने वीरमान सिंह प्रजाले प्रहरी र अदालतमा बयान गर्दा रू.१ लाख लिएर आफैंले गोली चलाई गैंडा मारेको बयान दिएका थिए। जिल्ला अदालतले थुनामा पठाउने गरी गरेको आदेशमा असहमति जनाउँदै उनले आफू तारेखमा छुट्न पाउनुपर्ने भन्दै दिएको निवेदनमा पनि उच्च अदालतका न्यायाधीशद्वय वन र केसी सहमत भएनन्। उनीहरूले प्रजालाई थुनामै पठाउन आदेश दिए।
चितवनमा गैँडा मार्ने र तिनको अंग बेच्ने कार्यमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गर्दै केही सामान बरामद गरे पनि खाग भने हालसम्म बरामद गर्नसकेको छैन।