चितवनमा गैँडा शिकार: पहिल्यै जेल परेका खुंखार शिकारीबाट
चितवनमा यस वर्ष चार वटा गैँडा मारेका शिकारी र त्यसका अंगको व्यापारमा लागेका अधिकांश व्यक्ति पक्राउ परेका छन्। उनीहरू यसअघि पनि चोरी शिकार, तस्करी लगायत अपराधमा बारम्बार जेल परेर छुटेकाहरू हुन्।
चितवन राष्ट्रिय निकुञ्जमा यस वर्ष शिकारीको हातबाट चार वटा गैँडा मारिए। चितवनको बाँदरझुला आइल्याण्ड क्षेत्रमा शिकारीले गत १७ भदौमा २५ देखि ३० वर्षको भाले गैँडालाई गोली हानेर मारेका थिए। तर, उनीहरुले त्यसको खाग र खुर लैजान पाएका थिएनन्। त्यसपछि १९ कात्तिकमा नारायणी नदीको टापु मर्दी घोलमा गैँडाको माउ र बच्चा मृत भेटिएका थिए। २०/२२ वर्षकी पोथी गैँडा र तीन वर्षको बच्चा गोली लागेर मरेका थिए। शिकारीले खाग लगिसकेका थिए।
त्यस्तै, चितवन राष्ट्रिय निकुञ्जमै २१ कात्तिकमा गैँडाको कंकाल भेटियो। निकुञ्जको पश्चिमी क्षेत्र भुसहरघाट नजिकै भेटिएको उक्त गैँडा पनि शिकारीबाट मारिएको खुल्यो, खाग र खुर नभेटिएपछि। यसअघि अन्तिम पटक २५ चैत २०७३ मा निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित बेलहट्टा हरियाली सामुदायिक वन क्षेत्रको ध्रुवघाटमा भाले गैँडा मारिएको थियो। त्यसयताको करीब साढे तीन वर्षको शून्य शिकार (जिरो पोचिङ) को उत्साह शिकारीले यसै वर्ष मेटाइदिए।
तर, राष्ट्रिय निकुञ्ज, नेपाल प्रहरी, प्रहरीकै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), नेपाली सेना तथा वन्यजन्तु अपराध नियन्त्रण ब्यूरोको संयुक्त प्रयासबाट उक्त शिकार र गैँडाको खाग ओसारपसारमा संलग्नमध्ये अधिकांश व्यक्ति पक्राउ परेका छन्। चितवन राष्ट्रिय निकुञ्जका अनुसार, राना भनिने जितबहादुर कुमाल, उनकी पत्नी इन्द्रा कुमाल, हरि मगर, हरि थारू, उनकी पत्नी विष्णु मायालु, शिवनारायण महतो, वीरमानसिंह प्रजा र अशोक काले भनिने शुकबहादुर गुरूङ पक्राउ परेका हुन्। उनीहरूले हुम्लाका दुई जना व्यापारीलाई खाग बेचेको र उक्त खाग चीनको तिब्बत पुर्याउन लागिएको जानकारी प्रहरीले पाएको छ।
सीआईबीका अनुसार, हुम्लाका व्यक्ति मार्फत खाग तिब्बत पुर्याउने कार्यमा संलग्न मध्यम स्तरका व्यापारी र शिकारीका सहयोगीसहित यो समूहका थप सात जना पक्राउ पर्न बाँकी छ। फरार रहेका उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन।
चितवनमा मारिएका गैँडाको खाग किन्ने व्यापारी भएर गएका मेखबहादुर नेपालीको समूहले शिकारीबाट लुटेर ल्याएको खाग मुगुका तामाङद्वयलाई बेचेका थिए। उक्त कार्यमा संलग्न थप पाँच जना फरार छन्। जसमध्ये एक जना सशस्त्र प्रहरी बलका सदस्य समेत रहेको सीआईबीको दाबी छ।
त्यस्तै, मुगुका तीन जना व्यापारी मार्फत गैँडाको खाग तिब्बत पुर्याउन सक्रिय अर्को समूहका पनि ६ जना व्यक्ति पक्राउ परेका छन्। जसमा मेखबहादुर नेपाली, सोमबहादुर गुरूङ, दुर्गा हरिजन सार्की, कैलाश आले, योङ्दन तामाङ र नाङ्छे तामाङ छन्। यीमध्ये मुगुका योङ्दन र नाङ्छेसहित अर्का एक जना मुख्य व्यापारी रहेको प्रहरीले जनाएको छ। ती अर्का एक जना फरार रहेकाले प्रहरीले उनको नाम खुलाउन चाहेन।
चितवनमा मारिएका गैँडाको खाग किन्ने व्यापारी भएर गएका मेखबहादुर नेपालीको समूहले शिकारीबाट लुटेर ल्याएको खाग मुगुका तामाङद्वयलाई बेचेका थिए। उक्त कार्यमा संलग्न थप पाँच जना फरार छन्। जसमध्ये एक जना सशस्त्र प्रहरी बलका सदस्य समेत रहेको सीआईबीको दाबी छ।
सीआईबीका निर्देशक डीआईजी सहकुलबहादुर थापाले सीआईबीमा वन्यजन्तु अपराध नियन्त्रणमा केन्द्रित पिल्लर ४ का विशेषज्ञहरूको अथक प्रयासले ठूलो सफलता हात परेको बताए। "निकुञ्जले पहिले नै खबर गरेको भए अझ छिटो पक्राउ पर्न सक्थे। हाम्रो पिल्लर ४ का विशेषज्ञहरूले निकुञ्ज, स्थानीय प्रहरी, सेना, वन्यजन्तु अपराध नियन्त्रण ब्यूरो जस्ता अन्य निकायसँगको समन्वयमा ठूलो संख्याका अपराधीहरू पक्राउ गरेका छन्," उनले भने, "स्थानीय प्रहरी र निकुञ्जले पनि पक्राउ गरेको छ। त्यसमा हामीले प्राविधिक सहयोग उपलब्ध गराएका थियौँ।"
यो पनि पढ्नुहोस्:
कहाँ छ वन्यजन्तु अपराधी उम्काउने कानूनी छिद्र ?
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले पनि सबैको समन्वयमा गैँडाको चोरी शिकार र व्यापारमा सक्रिय सञ्जालका व्यक्तिहरू पक्राउ परेको जानकारी दिए।
पुरानै 'अपराधी'
जिरो पोचिङको उत्साह लामो समय टिक्न नदिने गरी भएको गैँडाको शिकारमा संलग्नमध्ये मुख्य व्यक्तिहरू यसअघि नै बारम्बार यस्तै अपराधमा जेल परेका व्यक्तिहरू भएको प्रहरीले जनाएको छ। मुख्य शिकारी भनिएका जितबहादुर कुमाल यसअघि गैँडा मारेकै अभियोगमा दुई पटक जेल परिसकेका व्यक्ति हुन्। उनी एक पटक पाँच वर्ष र अर्को पटक १० वर्ष जेल सजाय पाएर छुटेका थिए। "छुटे लगत्तै फेरि पनि शिकारमा लागिहालेछन्। यसपटक पनि पक्राउ परे," चितवन राष्ट्रिय निकुञ्जका एक जना अधिकृतले भने।
"चितवनमा लगातार चार वटा गैँडा मारिएपछि हामी सबै सक्रिय भएर यसको अनुसन्धानमा लागेका थियौँ। धेरै निकायसँगको समन्वयबाट यो सफलता मिलेको छ। बाँकी केहीलाई भने पक्राउ गर्नै बाँकी छ। अहिले पक्राउ परेकाहरू गैँडा मार्ने, खाग बेच्ने, सुन तस्करी गर्ने लगायत अपराधमा जेल सजाय भोगिरहेकाहरू छन्।" - राजकुमार राई, डीएसपी, सीआईबी
त्यस्तै, शिकारी भनिएका अर्का व्यक्ति वीरमान सिंह प्रजा पनि वन्यजन्तु अपराधमै यसअघि चार वर्ष जेल सजाय काटेर छुटेका हुन्। उनका बाबु-आमा दुवै जना गैँडा मारेकै अभियोग पुष्टि भएपछि जेलमै छन्। उनीहरूलाई १५ वर्षको सजाय भएको छ।
यसैगरी, शिकारीबाट खाग लुट्ने कार्यमा संलग्न मेखबहादुर नेपालीको समूहका कैलाश आले चीनबाट गैरकानूनी रूपमा सुन लिएर आउँदै गर्दा पक्राउ परी जेल सजाय पाएका व्यक्ति हुन्। उनी दुई वर्ष जेल परेका थिए। गैँडा मारेको अभियोगमा सजाय भोगिरहेका दुई जनासँग उनको जेलमै भेट भएको थियो। छुटेपछि तीनै जना गैँडाको शिकारमा लागेका थिए। प्रहरीले पक्राउ गरिनसकेकाले ती दुईको नाम सार्वजनिक गरेको छैन।
मुगुका मुख्य व्यापारी भनिएका योङ्दन तामाङ पनि यसअघि जेल परिसकेका व्यक्ति हुन्। उनलाई प्रहरीले ८३ किलो रक्तचन्दनसहित पक्राउ गरेको थियो। छुटेपछि उनी वन्यजन्तुसम्बन्धी अपराधमा सक्रिय भएको प्रहरीले जनाएको छ।
२०७५ सालमा नेपाल प्रहरीको गोंगबु कार्यालयले बाघको छालासहित पक्राउ गरेका घटनामा फरार रहेका अर्का एक जना व्यक्ति पनि गैँडाको खाग व्यापारमा संलग्न भएको विवरण चितवन निकुञ्जले अदालतमा मुद्दा दर्ता गर्न तयार पारेको कागजातमा छ। यद्यपि गत २८ असोजमा उनको काठमाडौँको जोरपाटीस्थित अस्पतालमा निधन भइसकेको छ। उनले प्रतिरक्षाको अवसर नपाउने भएकाले यहाँ उनको नाम उल्लेख गरिएको छैन।
सीआईबीको वन्यजन्तुसम्बन्धी अपराध हेर्ने पिल्लर ४ का प्रमुख, डीएसपी राजकुमार राईले यसअघि बारम्बार वन्यजन्तु अपराधमा संलग्न भएका व्यक्तिहरू नै यस वर्ष चितवनमा गैँडा मार्न र तिनका अंग बेचबिखन गर्न सक्रिय रहेको पाइएको बताए। "चितवनमा लगातार चार वटा गैँडा मारिएपछि हामी सबै सक्रिय भएर यसको अनुसन्धानमा लागेका थियौँ। धेरै निकायसँगको समन्वयबाट यो सफलता मिलेको छ। बाँकी केहीलाई भने पक्राउ गर्नै बाँकी छ," डीएसपी राईले भने, "अहिले पक्राउ परेकाहरू गैँडा मार्ने, खाग बेच्ने, सुन तस्करी गर्ने लगायत अपराधमा जेल सजाय भोगिरहेकाहरू छन्। जतिसुकै ठूला अपराधी भए पनि उनीहरू जोगिन सक्दैनन् भन्ने तथ्य फेरि स्थापित भएको छ।"
प्रहरीले काठमाडौँ, चितवन र बर्दिबासबाट १४ जनालाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट दुई थान बन्दुक पनि बरामद गरिएको छ। ती बन्दुकहरू जितबहादुर र वीरमानसिंह प्रजाको भएको प्रहरीले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जका अनुसार, उनीहरूले घटनाको सम्पूर्ण विवरण उपलब्ध गराएको र घटना भएको स्थानमा पुगेर सनाखत समेत गरेका छन्। साथै, प्रहरीले खाग लुटेर ल्याई मुगुका व्यापारीलाई बेच्ने मेखबहादुर नेपालीको ब्यांक खातामा उक्त रकम भेटिएको भन्दै त्यसलाई फ्रिज गरिदिएको छ।
चितवनमा गैँडा मार्ने र तिनको अंग बेच्ने कार्यमा संलग्न भएको भनी प्रहरीले व्यक्ति पक्राउ गर्दै केही सामान बरामद गरे पनि खाग भने हालसम्म बरामद गर्न सकेको छैन।
यो पनि पढ्नुहोस्:
कोभिड–१९ महामारी: अरुलाई सास्ती, वन्यजन्तु अपराधीलाई अवसर !