‘भागेर ज्यान त जोगियो, अब बाँच्ने कसरी?’
मेलम्ची नदीमा आएको बाढीबाट जसोतसो ज्यान जोगाएका स्थानीय बासिन्दा अब कसरी दैनिकी चलाउने भन्ने चिन्तामा छन्। ज्यान जोगिएको खुशी बिर्सिसकेका उनीहरू घरखेत गुमाएको पीडाले रनभुल्ल परेका छन्।
बाढी आउन थालेको खबर पाएपछि १ असार साँझ खाना पकाउँदापकाउँदै घरबाट भागेकी मेलम्ची बजारकी राधिका श्रेष्ठ दुई दिनदेखि खाना पकाउन नपाएको बताउँछिन्। चाउचाउ र चिउराले दिन कटाएको बताउँदै उनी भन्छिन्, “पानी खायौं। चाउचाउ, बिस्कुट खायौं। अरू त के पाउनु?”
त्यो साँझ उनी खेतबाट फर्केर खाना पकाउँदै थिइन्। बाढी आएको खबर पाएपछि पाक्दै गरेको खाना छोडेर भाग्नुपरेको उनी बताउँछिन्। “दाल पकाएर भात बसालेकी थिएँ। थुनिएको खोला बग्यो, घर छाड भन्ने खबर आयो,” राधिका भन्छिन्, “बसालेको भात त्यसै छोडेर भाग्यौं। स्कूलमा बसिरहेका छौं।”
उनको घर बाढीले पुरिएको छ। खेत नदीले बगाएको छ। घरमा भएका सरसामान सबै नष्ट भएका छन्। “बाढीबाट त भागेर जोगियौं। घर, खेत केही बाँकी रहेन। अब कसरी बाँच्ने हो?” उनी आफैंलाई प्रश्न गर्छिन्।
भागेर बाढीबाट ज्यान जोगाएका मेलम्ची-११ का लक्ष्मीप्रसाद श्रेष्ठले पनि अब के गर्ने भन्ने सोच्न सकेका छैनन्। “दुई घण्टामै सबै तहसनहस भयो। केही बाँकी रहेन। त्यहीँ आँखामा आइरहेको छ। केही सोच्न सकेको छैन,” उनी आँखा पुछ्दै भन्छन्।
प्रहरीले ‘मेलम्चीमा बाढी आउँदै छ’ भनेपछि उनी घर छाडेर भागेका थिए। परिवारका अन्य सदस्य पनि भागे। तर, धनसम्पत्ति केही जोगाउन नसकिएको उनी सुनाउँछन्।
स्थानीय विद्यालयमा आश्रय लिइरहेका उनी सबै बर्बाद भएको पीडा पोख्छन्। “घर पुरियो। होटल पुरियो। खेतबारी सबै नदीले लग्यो,” लक्ष्मीप्रसाद भन्छन्, “जिन्दगीभर जोडेको सम्पत्ति सबै गयो।”
उनी लेदोले भरिएको मेलम्ची बजार हेरेर सुस्ताउने गरिरहेका छन्। घर परिवारका सदस्यसँग पनि धेरै बोलचाल गर्न सकिराखेका छैनन्। “सबै तहसनहस भयो। अब के गर्ने, सोच्नै सकेको छैन,” उनी भन्छन्।
१ असार साँझ ७ बजेतिर आएको बाढीले मेलम्ची बजार डुबाएको छ। बजार क्षेत्रका दुई वटा पक्की र तीन वटा झोलुङ्गे पुल बगाएको छ। सडक र बिजुलीका पोल बगेका छन्।
मेलम्ची नदी किनारको उर्वर भूमि बगरमा परिणत भएको छ। सयौं परिवारको खेतबारी नष्ट भएको छ। उनीहरूले लगाएको लुगा बाहेक केही बाँकी छैन।
एक सय परिवार विस्थापित भएको र थप एक सय परिवारको घरमा नदीले बगाएर ल्याएको लेदो पसेको मेलम्ची–११ का वडाध्यक्ष रुद्रप्रसाद दुलाल बताउँछन्। “मानवीय क्षतिबाट त जोगिएको छ। तर, भौतिक क्षतिको कुनै हिसाबकिताब छैन,” वडाध्यक्ष दुलाल भन्छन्।
गृह मन्त्रालयका अनुसार, सिन्धुपाल्चोककै हेलम्बुमा बाढीले बगाएर दुई जनाको ज्यान गएको छ। नौ जना बेपत्ता छन्।
त्यस्तै, बाढीमा परेर मेलम्ची खानेपानी आयोजनाका आठ जना कामदार बेपत्ता छन्। जसमा तीन जना चिनियाँ, तीन जना भारतीय र दुई जना नेपाली नागरिक छन्। उनीहरूको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन्।