यस्तो छ मेलम्ची विनाशको भित्री कारण
सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढीपहिरो आउनुमा अत्यधिक वर्षा मात्र कारण नभएको विज्ञहरूको निष्कर्ष छ।
मनसुन शुरू भएको एक साता नबित्दै सिन्धुपाल्चोकको मेलम्चीमा बाढी–पहिरोका कारण सय घर डुबानमा परे भने दुई वटा पक्की र तीन वटा झोलुङ्गो पुल बगे। मंगलबार साँझको त्यो बाढीका कारण सयौं परिवार बिचल्लीमा परेका छन्।
धेरैले यसलाई अविरल वर्षाकै परिणाम ठानेका छन्। तर, जानकारहरू भने अधिक वर्षालाई मात्रै मेलम्ची विनाशको कारण मान्दैनन्।
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार, मंगलबार मेलम्ची नाकोटे जलमापन केन्द्रमा करीब साँझ ६ बजेको जलसतह ४.७ मिटरबाट घटेर ३ मिटर पुगेको थियो। साँझ ६ः४५ बजेदेखि ७ बजे अकस्मात् जल सतह बढेर ६ मिटर मापन भयो।
६ बजेदेखि करीब ४५ मिनेटसम्म खोला थुनिएको जानकारहरूको अनुमान छ। केन्द्रका अधिकारीहरू खोला केही समय थुनिएकै कारण एक्कासि बाढी गएको हुनसक्ने बताउँछन्।
भूगोलका प्राध्यापक नरेन्द्रराज खनाल मेलम्ची विनाशमा २०७२ सालको भूकम्प कारक रहेको हुनसक्ने बताउँछन्। स्याटेलाइट तस्वीरहरू अध्ययन गर्दा मेलम्चीघ्याङदेखि उत्तरमा भूकम्पकै कारण गएको चारभन्दा बढी पहिरो सक्रिय र ठूलो हुँदै गएका देखिन्छन्। पाँच वटा जति साना हिमताल पनि देखिन्छन्। अहिले ती ताल फुटेको र अधिक वर्षा भएको पनि देखिँदैन।
“पहिरो गएर खोला थुन्दै–खुल्दै हुँदा विनाशकारी बाढीको रूप लिएको देखिन्छ,” प्रा. खनाल भन्छन्।
मेलम्ची नगरपालिका–११ का वडाध्यक्ष रुद्रप्रसाद दुलालको बुझाइ पनि खनालसँग मिल्दो छ। यसपटक मेलम्चीमा बाढी आउनुमा भूकम्पकै असर भएको दुलाल बताउँछन्।
“त्यतिबेला भूकम्पले हिमाली र पहाडी क्षेत्र चिराचिरा पारेको थियो। यो पटक लेकमा ठूलो पानी पर्यो। त्यसले चिरा परेको हिमाली र पहाडी क्षेत्रमा सानाठूला पहिरा गए,” वडाध्यक्ष दुलालले हिमालखबरसँग भने, “हिउँ समेत बगेर आयो। पहिरोबाट खसेका माटो र ढुंगा–मुढा पनि बगेर आए। त्यो सबै नदीमा मिसिँदै आएपछि ठूलो रूप लियो। अहिले मेलम्ची बजार क्षेत्रमा भरिएको लेदो त्यही हो।”
क्षतिको कारण
पहिरो गएको ठाउँबाट मेलम्ची बजार करीब ३० किलोमिटर तल पर्दछ। खनाल मेलम्ची बजारमा धेरै नोक्सानी हुनुमा इन्द्रावती र मेलम्ची खोलाको बहाव कारक रहेको बताउँछन्।
इन्द्रावती उत्तरपूर्व र मेलम्ची उत्तरपश्चिबाट आएर मेलम्ची बजारभन्दा माथि मिल्दछन्। “यसरी मिल्नाले दोभानबाट तल बग्दा नदीको छाल र धार परिवर्तन भएर बस्तीमा बाढी पसेको जस्तो देखिन्छ,” उनी भन्छन्।
सन् १९९३ मा कुलेखानीको पालुङमा पनि यस्तै स्थिति देखिएको थियो। बस्ती बसाल्दा यस्ता कुराहरूमा ध्यान दिनुपर्ने खनालको सुझाव छ।
सिन्धुपाल्चोक लगायत देशका विभिन्न क्षेत्र बाढीपहिरोको हिसाबले बस्नै नसकिने जोखिमा रहेको विज्ञहरू बताउँछन्। खनाल भन्छन्, “२०७२ को भूकम्पपछि गएका पहिरोको अवलोकन र त्यसबारे सचेत गराउनुपर्दछ।”