वडाध्यक्षले जोगाए मेलम्चीका एक सय परिवार
मेलम्ची नदीमा बाढी आउन थालेको खबर पाएपछि स्थानीय सरकारका एक जना जनप्रतिनिधिले लिएको पहलकदमीले मेलम्ची बजार क्षेत्रका सयौं बासिन्दाको ज्यान जोगिएको छ।
मेलम्ची नदीमा आएको बाढीले १ असार साँझ सिन्धुपाल्चकको मेलम्ची बजार क्षतविक्षत बनाएको छ भने एक सय परिवार विस्थापित भएका छन्। पूरै बजार क्षतिविक्षत भए पनि मानवीय क्षतिबाट भने जोगिएको छ।
यति धेरै मान्छेको ज्यान जोगाउने श्रेय भने मेलम्ची नगरपालिका–११ का वडाध्यक्ष रुद्रप्रसाद दुलाललाई जान्छ। वडाध्यक्ष दुलालले लिएको पहलकदमीले मेलम्चीका सयौं बासिन्दाको ज्यान जोगिएको हो।
खेतबारी तथा कामकाजमा गएका स्थानीय बासिन्दा पनि १ असार साँझ घर फर्किसकेका थिए। साँझाको खानपिन गर्ने समय भएको थियो। त्यही बेला आएको बाढीबाट कसरी मेलम्चीबासी जोगिए?
वडाध्यक्ष रुद्रप्रसाद दुलालकै शब्दमा :
उत्तरी क्षेत्रमा पानी परिरहेको खबर दिउँसैदेखि आइरहेको थियो। बाढीपहिरोको खबर थिएन। त्यसैले सबै आ–आफ्नो काममा व्यस्त थिए।
हामी पनि निर्माणको काममा थियौं। मेलम्ची-११ को ऐतिहासिक पुल बजार क्षेत्रमा स्थानीय बासिन्दाको सहकार्यमा ढल तथा सडक ढलानको काम गरिरहेका थियौं।
साँझ एकाएक ‘बाढी आउन लाग्यो, सुरक्षित रहनुस्’ भनेर फोन आयो। मलाई खबर आउने बित्तिकै सुरक्षा निकायलाई खबर गरेँ। मसँग भएका वडाबासीका सबै नम्बरमा पालैपालाे फोन गरेँ। त्यसपछि सुरक्षाकर्मी र मेलम्चीका सबै सार्थीहरू परिचालन भए।
सबैको घरघरमा पुगेर ‘मेलम्चीमा बाढी आउँदै छ, नदी किनारतिर नबस्नुस्। माथि सुरक्षित ठाउँमा आउनुस्। घर छोड्नुस्’ भनेर खबर गर्याैं। घर छोडेर मेलम्चीबासी सुरक्षित ठाउँतिर जाँदै गर्दा बाढी आउन थालिहाल्यो। हेर्दाहेदै पूरै बजार डुब्यो।
एक सय घर डुबानमा परेका छन्। अन्य एक सय जति घरमा पनि हिलो पसेको छ। खेतबारी सबै सखाप भएको छ। धनसम्पत्ति सबै सकिएको छ।
बाढीले दुइटा पक्की पुल बगाएको छ। तीन वटा झोलुङ्गे पुल पनि बगेका छन्। सडक बगेको छ। विद्युतका पोल बगेका छन्। सबैको बेहाल भएको छ।
यति गर्दागर्दै पनि तीन घरका चार जना छुटेछन्। उनीहरू रातभर घरको छतमा बसेका थिए। आज नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरेका छौं। चारै जनाको अवस्था सामान्य छ।
विस्थापित एक सय परिवारलाई विद्यालयमा राखेका छौं। एउटा परिवारलाई एउटा कोठाको व्यवस्था गरेका छौं। केही परिवार आफन्त तथा चिनजानका मान्छेको घरमा बसिरहेका छन्।
विस्थापित परिवारका लागि वडा कार्यालय र नगरपालिका मिलेर खानपिनको व्यवस्था गरेका छौं। एक दिन त हामीले सक्यौं, भोलिदेखि उनीहरूलाई कसरी राहतको व्यवस्था गर्ने भन्ने छलफल गरिरहेका छौं।
अहिले सबैको बिचल्ली छ। दुई-तीन घण्टामै मेलम्ची बजार क्षेत्र बगरमा परिणत भएको छ। यो बेहाल हुनुमा २०७२ मा गएको भूकम्पकै असर हो।
त्यतिबेला भूकम्पले हिमाली र पहाडी क्षेत्रमा चिराचिरा पारेको थियो। यो पटक लेकमा ठूलो पानी पर्याे। त्यसले चिरा परेको हिमाली र पहाडी क्षेत्रमा सानाठूला पहिरो गए। हिउँ समेत बगेर आयो। पहिरोबाट खसेका माटो र ढुंगामुढा पनि बगेर आए। त्यो सबै नदीमा मिसिँदै आएपछि ठूलो रूप लियो। अहिले मेलम्ची बजार क्षेत्रमा भरिएको लेदो त्यही हो।
अहिलेसम्म मानवीय क्षति भएको देखिएको छैन। तर, भौतिक क्षति त हामीले अब कैयौं वर्षसम्म पनि परिपूर्ति गर्न नसक्ने गरी भएको छ। वर्षाैंदेखि जोडेको सयौं परिवारको सम्पत्तिमा क्षति पुगेको छ।
यो बेहालको बेला वडाबासीलाई धैर्य गरेर बस्न अनुरोध गर्दछु। हामीले सक्दो सहयोग गर्ने प्रयास गरिरहेका छौं। यो विपत्मा स्थानीय सरकारले मात्रै केही गर्नसक्ने अवस्था छैन। त्यसैले प्रदेश र संघीय सरकारसँगै सबैलाई सहयोगका लागि आग्रह गर्दछु।