प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरेकी थिइन्। यसका विरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधवकुमार नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका सहित १४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए।
सांसदहरूसँगै बिभिन्न कानून व्यवसायीले पनि रिट दर्ता गरेका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध ३० वटा रिट दायर भएका छन्। यी सबै रिटमा संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ।
संवैधानिक इजलासमा रहेका न्यायाधीशको विषयमा विवाद उत्पन्न भएपछि सुनुवाइ रोकिएको थियो। आजबाट सुनुवाइले निरन्तरता पाउने भएको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज नयाँ इजलास गठन गर्नेछन्। यसअघिको इजलासमा रहेका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपकुमार कार्कीले अलग हुने आदेश गरेका थिए।
यसअघि नेकपा विवादसम्बन्धी मुद्दामा फैसला गरेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयमा विवाद उत्पन्न भएको थियो। रिट निवेदक पक्षका कानून व्यवसायीले उनीहरूलाई संवैधानिक इजलासबाट अलग हुन आग्रह गरेका थिए।
तर, न्यायाधीश केसी र श्रेष्ठले इजलासमै रहने आदेश गरेका थिए। उनीहरू इजलासमै रहने भएपछि न्यायाधीशद्वय भट्टराई र कार्की अलग भएका हुन्।
विवाद उत्पन्न भएपछि सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा प्रधानन्यायाधीश जबराले वरिष्ठताका आधारमा इजलास गठन गर्ने बताएका थिए। त्यसपछि शुक्रबार नागरितासम्बन्धी अध्यादेश विरुद्धका रिटमा सुनुवाइ गर्न वरिष्ठताका आधारमै संवैधानिक इजलास गठन गरेका थिए।