बुद्ध जयन्तीलाई किन भनिन्छ ‘फूलको पूर्णिमा’ ?
वैशाख पूर्णिमाको दिन मानिने बुद्ध जयन्तीलाई फूलको दिन किन भनिन्छ भन्ने कुरो बुझ्न वसन्तोत्सवको प्रतीकको रुपमा देखाइने शालभञ्जिकाको प्रतिमाले हामीलाई धेरै मद्दत गर्छ।
धेरै थरी स्रोतको आधारमा यो लेख लेख्दै छु। ती स्रोत हुन्ः नेवारहरूको पुरानो पात्रो, वसन्त ऋतुमा गरिने वैदिक यज्ञको उल्लेख, गोपालराज वंशावली, संस्कृत साहित्य र नेपाल र भारतको कलाकृतिमा वर्णित वसन्तोत्सवको दृश्य तथा लुम्बिनीको वनमा रुखमुनि उभिएर सिद्धार्थ गौतमलाई जन्म दिइरहेको मायादेवीको मूर्ति। यी स्रोतको तुलनात्मक अध्ययनका आधारमा बुद्ध जयन्तीको दिनलाई ‘फूलको पूर्णिमा’ किन भनिएको हो भन्ने बुझ्ने प्रयास यहाँ गरिएको छ।
काठमाडौं उपत्यकाका बौद्ध विहारहरूमा पुरानो परम्परा अनुसार वार्षिक र दैनिक पाठपूजा गर्ने चलन अहिलेसम्म पनि चल्दै आएको देखिन्छ। तर, १९५० भन्दाअघि वैशाख पूर्णिमाको दिन बुद्ध जयन्ती मनाउने चलन थिएन। नेवारहरूको पुराना पञ्चाङ्गहरूमा वैशाख पूर्णिमालाई ‘स्वाँया पुह्नि’ अर्थात् ‘फूलको पूर्णिमा’ भन्ने चलन भने कायमै रह्यो। तर, यो महत्त्वपूर्ण दिनको सम्बन्ध बुद्ध जयन्तीसँग छ भनेर कसैलाई थाहा थिएन।
वैदिक साहित्यभन्दा पुराना ऋतु संस्कृतिसँग सम्बन्ध राख्ने प्राचीन परम्पराअनुसार कुनै बेला दक्षिण एशियामा वसन्त ऋतुको उठान वैशाख पूर्णिमातिर हुन्थ्यो। यो कुरो वैदिक साहित्यको आधारमा मात्र होइन, नेवारहरूको चाडपर्वको विश्लेषणामक अध्ययनबाट पनि प्रमाणित हुन्छ।
नेपालमा मात्रै होइन, चीन र जापानमा वैशाख पूर्णिमाको दिनलाई अहिले पनि ‘फूलको पूर्णिमा’ भनिन्छ। यो कुरो भारतमा अहिले पूर्णतया बिर्सिइसकेको छ। तापनि बुद्धधर्मको प्रचार दक्षिण एसियाको उत्तरी भागबाट अफगानिस्तान, चीन र चीनबाट एशियाका अन्य देशहरूमा फैलिएको हुनाले दक्षिण एसियाकै हावापानीका आधारमा यस दिनलाई ‘फूलको पूर्णिमा’ भनिएको हुनुपर्छ भनेर सजिलै अनुमान गर्न सकिन्छ।
वसन्त ऋतुको उठानमा जताततै फूल फुल्ने हुनाले संस्कृत साहित्यमा यस ऋतुलाई पुष्पसमय (फूलको वेला) भनेर लेखिएको पाइन्छ। तर, आजभोलि वैशाख पूर्णिमातिर वातावरण निकै तातो भइसक्ने हुनाले भारत र नेपालमा फूल फुल्ने समय सिद्धिसकेको हुन्छ। त्यसैले आजभोलिको ऋतुको हिसाबले वैशाख पूर्णिमालाई किन ‘फूलको पूर्णिमा’ भनेको भन्ने बुझ्न सकिँदैन।
वैदिक साहित्यभन्दा पुराना ऋतु संस्कृतिसँग सम्बन्ध राख्ने प्राचीन परम्पराअनुसार कुनै बेला दक्षिण एशियामा वसन्त ऋतुको उठान वैशाख पूर्णिमातिर हुन्थ्यो। यो कुरो वैदिक साहित्यको आधारमा मात्र होइन, नेवारहरूको चाडपर्वको विश्लेषणामक अध्ययनबाट पनि प्रमाणित हुन्छ। उदाहरणका लागि, नेवारहरू श्रावण पूर्णिमाको दिन भ्यागुतोको पूजा गर्छन्। यो दिन प्राचीन कालमा नयाँ ऋतुको उठानमा मानिन्थ्यो र वैदिक मानिसहरू यही दिन भ्यागुताको सम्मान गर्थे। यस बारे मैले अन्यत्र विस्तारमा लेखिसकेको छु।
वर्षा ऋतु प्रारम्भ भएको आठ महीनापछि वसन्त ऋतु शुरू हुन्छ। त्यसैले प्राचीन वैदिक कालमा र त्योभन्दा अघि वैशाख पूिर्णमातिर वसन्त ऋतुको शुरूआत हुन्थ्यो भन्ने बुझ्न सकिन्छ। पछिल्लो वैदिक कालमै वसन्त ऋतुको प्रारम्भ वैशाख पूर्णिमाभन्दा धेरै अघि परिसकेको थियो। तापनि प्राचीन परम्परा रुचाउने एक थरी वैदिकहरू वसन्त ऋतुको उठानमा गरिने वार्षिक यज्ञ वैशाख महीनामा गर्नपर्छ भन्ने विचारमा जोड दिन्थे। (वेदिक इन्डेक्स अफ नेम्स एन्ड सब्जेक्ट, पहिलो भाग, पृ.२५९)
होली पक्कै पनि वसन्त ऋतुको उत्सव हो। पुराणहरूमा यो दिनलाई अशोक पूर्णिमा भनेर लेखिएको छ। टाढैबाट देखिने रातो अशोकको फूल फागुन पूर्णिमातिर भारतमा जताततै फुलेको देखिन्छ। त्यसैले भारतमा गुप्त राजाहरूको शासन चल्नुभन्दा अघिदेखि नै वसन्तोत्सव मनाउनेहरू अशोक वृक्षमा फूल फुल्न शुरू भएको देख्न चाहन्थे।
अझ पत्याउन गाह्रो महत्त्वपूर्ण कुरा के छ भने, वसन्त ऋतु र वैशाख महीनाको यो पुरानो सम्बन्धको सम्झना नेपाल उपत्यकामा मध्यकालसम्म पनि पूर्णतया विलुप्त भइसकेको थिएन। चौधौं शताब्दीको अन्त्यतिर लेखिएको गोपालराज वंशावली का अनुसार लिच्छवि राजा मानदेवले फागु पूर्णिमाको दिन मनाइने होली त्यही दिन मनाउनुको सट्टा बौद्धहरूले ‘फूलको पूर्णिमा’ भनेर मनाइने बुद्ध पूर्णिमाको दिन मनाएका थिए। त्यहाँ लेखिएका शब्द यी हुन्– ‘पोष्प पूर्ण्णमी होली कृतम’ फूलको पूर्णिमाको दिन होली मनाए। (धनवज्र बजाचार्य र कमलप्रकाश मल्लले सम्पादन गरेको गोपालराज वंशावलीको पत्र २०, क पाठमा 'पोष्य पूर्ण्णमी होलि कृतम ' भनी छापिएको छ। तर उहाँहरूले सम्पादन गरेको किताबमा दिइएका गोपालराज वंशावलीको फोटोग्राफ नियालेर हेर्दा शुद्ध पाठ ‘पोष्प पूर्ण्णमी होली कृतम्’ हो भनेर निर्णय गर्न सकिन्छ।)
होली पक्कै पनि वसन्त ऋतुको उत्सव हो। पुराणहरूमा यो दिनलाई अशोक पूर्णिमा भनेर लेखिएको छ। टाढैबाट देखिने रातो अशोकको फूल फागुन पूर्णिमातिर भारतमा जताततै फुलेको देखिन्छ। त्यसैले भारतमा गुप्त राजाहरूको शासन चल्नुभन्दा अघिदेखि नै वसन्तोत्सव मनाउनेहरू अशोक वृक्षमा फूल फुल्न शुरू भएको देख्न चाहन्थे। यस विषयमा संस्कृत साहित्यमा रमाइला कथाहरू पाइन्छन्।
एक प्रचलित कथा अनुसार अशोक वृक्षलाई सुन्दरी युवतीले छोएको मन पर्छ, वसन्त ऋतु आइसकेपछि पनि सुन्दरी युवतीले उसलाई नछोएसम्म फूल फुलाउने कोशिशसम्म गर्दैन। वसन्त ऋतुको उठानमा राजदरबारभित्र धुमधामसँग मनाइने वार्षिक उत्सवमा राजाले छानेका दरबारकी सबैभन्दा राम्री केटीले अशोक वृक्षलाई आफ्नो प्रियतमजस्तो अँगालो हालेर अभिनय गरेको हेर्न राजपरिवारका सबै सदस्य जम्मा हुन्थे।
वसन्तोत्सवका यस्तो दृश्य साहित्यमा मात्रै होइन, कलाकृतिहरूमा शालभञ्जिकाको रूपमा वर्णन गरिएको पाइन्छ। रुखको हाँगा समातेर बारुली कम्मर भाँचेर नाच्न लागेको जस्तो शृङ्गारयुक्त विन्यासमा दर्शकतिर हरेर रुखमुनि उभिएकी सुन्दरीको प्रतिमालाई कलाकृतिको इतिहासमा शालभञ्जिका भनिन्छ (चित्र १)।
विश्लेषणात्मक दृष्टिकोणले हेर्दा, वैशाख पूर्णिमाको दिन मानिने बुद्ध जयन्तीलाई फूलको दिन किन भनिन्छ भन्ने कुरो बुझ्न वसन्तोत्सवको प्रतीकको रुपमा देखाइने शालभञ्जिकाको प्रतिमाले हामीलाई धेरै मद्दत गर्छ।
बुद्ध जयन्तीको कथा अनुसार राजा शुद्धोदनको अनुमति पाएर मायादेवी आफ्ना सखीहरूसँग लुम्बिनी वनमा घुम्न गइन्। त्यसै वेला मायादेवीले तलसम्म आइरहेको हाँगा समात्दा राजकुमार सिद्वार्थको जन्म भयो।
यही कथा बमोजिम नेपाल र भारतका कलाकृतिहरूमा मायादेवीलाई रुखमुनि हाँगा समातेर उभिएको देखाइएको हुन्छ (चित्र २)। झट्ट हेर्दा मायादेवी शालभञ्जिका जस्तै देखिन्छिन्। भर्खरै जन्मेको सिद्वार्थको सानो मूर्ति तल देखाइने हुनाले मात्रै मायादेवीलाई चिन्न सकिन्छ।
इतिहासको अन्वेषणका लागि प्राचीन कलाकृतिहरूमा देखाइएका दृश्यहरू गहिरिएर हेर्यौं भने ती दृश्य संस्कृत र पालि ग्रन्थमा वर्णन गरिएका विभिन्न विषयवस्तु जत्तिकै महत्त्वपूर्ण हुन सक्छन्। यही कुरो मनमा राखी नेपालको प्रसिद्ध मायादेवीको मूर्ति अध्ययन गरेर हेरे मायादेवीलाई शालभञ्जिकाको रूपमा देखाउनुमा कारण थियो भन्ने बुझ्न सकिन्छ।
मायादेवीको कथा दीघनिकाय जस्तो प्राचीन पालि ग्रन्थहरूमा उल्लेख भएको पाइँदैन। शालभञ्जिका जस्तो देखिने मायादेवीको मूर्ति पनि इस्वीको दोस्रो शताब्दीदेखि मात्रै प्रचलित भएको हो। शालभञ्जिकाका मूर्तिहरू त्योभन्दा तीन–चार सय वर्षअघि नै भारतीय कलामा चित्रित भइसकेका थिए। वास्तवमा शालभञ्जिकाकै अनुकरणमा मायादेवीको मूर्ति बनेको हो।
इतिहासको अन्वेषणका लागि प्राचीन कलाकृतिहरूमा देखाइएका दृश्यहरू गहिरिएर हेर्यौं भने ती दृश्य संस्कृत र पालि ग्रन्थमा वर्णन गरिएका विभिन्न विषयवस्तु जत्तिकै महत्त्वपूर्ण हुन सक्छन्। यही कुरो मनमा राखी नेपालको प्रसिद्ध मायादेवीको मूर्ति (चित्र २) अध्ययन गरेर हेरे मायादेवीलाई शालभञ्जिकाको रूपमा देखाउनुमा कारण थियो भन्ने बुझ्न सकिन्छ।
कतिपय बौद्ध ग्रन्थमा बुद्ध शाक्यमुनिको जन्म सालको रुखमुनि भएको लेखिए पनि यस प्रस्तर मूर्तिमा लटरम्म फूल फुलिरहेको अशोकको रुख र आँपको रुखमुनि मायादेवी दुवै हातले हाँगा समातेर उभिएको देखाइएको छ। अशोकको रुख आजभोलि फागुनमै फुलिसकेको हुन्छ, तापनि वैशाख पूर्णिमाको महत्त्वपूर्ण घटनालाई संकेत गर्न यहाँ फूल फुलिरहेको अशोकको रुख चित्रण गरिएको छ।
मायादेवी वसन्तोत्सव मनाउनु वन विहारमा लुम्बिनी वनमा गएकी हुन्। शालभञ्जिकाको मूर्तिले पनि अशोक वृक्षको नजिकै गएर मनाइने वसन्तोत्सवलाई सम्झाउने हुनाले नै मायादेवीलाई कलाकृतिहरूमा शालभञ्जिकाको रुपमा देखाउने चलन चल्यो। वस्तुतः मायादेवीको यस्तो मूर्ति बुद्धपूर्णिमा भनेको वैशाख महीनामा पर्ने वसन्त ऋतुको पूर्णिमा हो भन्ने सुषुप्त सम्झनाको कलात्मक अभिव्यक्ति मान्न सकिन्छ।
शाक्यमुनि बुद्ध जन्मिनुभन्दा धेरै शताब्दीअघि वैशाख पूर्णिमाको दिन वसन्तोत्सव मनाउने चलन थियो। बुद्ध धर्म प्रचार हुन थालेपछि यो दिन बुद्ध जयन्तीको रूपमा परिवर्तित भयो। तापनि यस दिनलाई नेपालमा मात्रै नभई एशियाका अन्य देशहरूमा पनि फूलको पूर्णिमा भन्ने चलन कायमै रह्यो।
यसरी पात्रो बनाउनेहरूलाई मात्र होइन, कलाकारहरूलाई पनि वैशाख पूर्णिमाको सम्बन्ध वसन्त ऋतुसँग छ भन्ने कुराको ज्ञान भएकाले नै चौधौं शताब्दीमा जन्मेको गोपालराज वंशावली लेख्ने व्यक्तिले लिच्छवि राजा मानदेवको बयान गर्दा यी राजाले फूल फुल्ने पूर्णिमाको दिन होली मनाए भनेर लेख्न सकेको हुनुपर्छ। त्यस वेलाको अरु कुनै प्रमाण नपाइएको हुनाले वंशावलीहरूको यो वर्णन ऐतिहासिक मान्न सकिंदैन, तापनि प्राचीन कालमा वसन्त ऋतु वैशाख महीनामा पथ्र्यो भन्ने कुराको सम्झना मध्यकालमा हराइसकेको थिएन भन्ने बुझ्न सकिन्छ।
यी सबै कुराको आधारमा निम्न निष्कर्षमा पुग्न सक्छौं–
शाक्यमुनि बुद्ध जन्मिनुभन्दा धेरै शताब्दीअघि वैशाख पूर्णिमाको दिन वसन्तोत्सव मनाउने चलन थियो। बुद्ध धर्म प्रचार हुन थालेपछि यो दिन बुद्ध जयन्तीको रूपमा परिवर्तित भयो। तापनि यस दिनलाई नेपालमा मात्रै नभई एशियाका अन्य देशहरूमा पनि फूलको पूर्णिमा भन्ने चलन कायमै रह्यो। भारतवर्षले त यी सबै पूर्णतया बिर्सिहाल्यो। तर, काठमाडौं उपत्यकाका परम्पराप्रेमी नेवारहरूले वैशाख पूर्णिमाको दिन बुद्ध जयन्तीको दिन हो भन्ने बिर्सेर पनि यो दिन फूलको पूर्णिमा हो भन्ने कुरो कहिल्यै बिर्सेनन्।
विभिन्न धर्म र सम्प्रदायका कुरा आउँछन् जान्छन्, तर ऋतु संस्कृतिका केही कुरा हजारौं वर्षपछि पनि बिर्सिइएका हुँदैनन् भन्ने मेरो विचारलाई पुष्टि गर्ने यो अर्को ज्वलन्त उदाहरण हो।
गौतमवज्र वज्राचार्यका इतिहास र सम्पदा सम्बन्धी अन्य लेख पढ्नुहोस् -