पशुपतिको पुरानो मूर्ति र पाहां चह्रेको देवता : के हो मिथभित्रको इतिहास?
पशुपति आर्यघाट नजिकै थेप्चो र चाक्लो ढुङ्गाको मूर्ति भेटिएको छ। त्यसमा कुँदिएको लिच्छविकालीन अभिलेखमा यस देवताको संस्कृत नाम 'पार्थिव शिला' अर्थात् भुइँभित्र रहेको ढुङ्गाको मूर्ति भनेर लेखिए पनि अहिले यो मूर्ति जमीनभित्र छैन।
घोडेजात्राको एक दिनअघि काठमाडौं उपत्यकामा नेवारहरू 'पाहां चह्रे' चाड मनाउँछन्। दशैं-तिहारजस्तै यो चाड काठमाडौंमा मात्र होइन, कुनै बेला भारतमा पनि मनाइन्थ्यो भन्ने प्रमाण पाइएको छ। तर, अहिले यसको चलन काठमाडौंमा बाहेक अन्यत्र देखिंदैन।
पाहां चह्रे भन्नाले भूमि पूजा गर्ने चतुर्दशी बुझिन्छ। भुइँभित्र लुकेर बस्ने भ्यागुतो र कीरालाई नेवारीमा क्रमशः पाहां ब्यां र पाहां की भनिन्छ। यो चाडको दिन विशेष पूजा गरिने देवता लुकु महाद्य (लुकेको महादेव) को बासस्थान पनि भुइँभित्रै भएको विश्वास गरिन्छ। धेरैको विचारमा यी देवता शिव नै हुन्। तर, यो चाड केही आधारले अनौठो छ।
पाहां चह्रेमा पूजा गरिने देवताको भूमिगत बासस्थान अक्सर फोहोर जम्मा गर्ने ठाउँमा पर्छ। देवताको मूर्ति पनि शिवलिङ्ग जस्तो नभई अलि थेप्चो देखिन्छ। मूर्ति तीन-चार इन्चजति मात्रै अग्लो र चाक्लो हुन्छ। कति ठाउँमा चिप्लो ढुङ्गा मात्रै राखिएको हुन्छ। पूजा गर्दा रक्सीदेखि लसुन र सुकुटीसम्म चढाइन्छ।
पाहां चह्रेको दिन लुकु महाद्य देवतालाई पूजा गर्ने चलन लिच्छविकालमा पनि थियो। पशुपति आर्यघाट नजिकै माथि वर्णन गरिएजस्तो थेप्चो र चाक्लो ढुङ्गाको मूर्ति भेटिएको छ (चित्र १)। त्यसमा कुँदिएको लिच्छविकालीन अभिलेखमा यस देवताको संस्कृत नाम 'पार्थिव शिला' अर्थात् भुइँभित्र रहेको ढुङ्गाको मूर्ति भनेर लेखिएको छ।
अहिले यो मूर्ति जमीनभित्र त छैन, तापनि झन्डै दुरुस्त यस्तो ढुङ्गाको मूर्ति हरेक वर्ष पाहां चह्रे मनाउन भुइँ खनेर सबैले देखिने गरी राखिएको हुन्छ। त्यस्तो एउटा उदाहरण काठमाडौंको मरुसत्तल नजिकै भौकेब भन्ने ठाउँमा देख्न सकिन्छ (चित्र २)।
राजा अंशुवर्माको पालासम्म पनि पशुपतिको मूर्ति पाहां चह्रेको ढुङ्गे मूर्ति जस्तो अथवा पार्थिव शिलासँग मिल्दोजुल्दो थियो। यो कुरो अंशुवर्माको तात्कालिक मुद्राहरूको अध्ययन गर्दा सजिलै बुझ्न सकिन्छ।
गोपालराज वंशावलीमा बहुह्रि भन्ने गाईले दिनहुँ वाग्मती नदीको किनारमा रहेको एक विशिष्ट ठाउँमा दूध चुहाउने गरेको चाल पाएर गोठालाले त्यो ठाउँमा खनेर हेर्दा पशुपतिको प्रादुर्भाव भएको उल्लेख छ। वंशावलीको यो वर्णन पाहां चह्रेको दिन भुइँ खनेर भूमिगत मूर्तिको पूजा गर्ने चलनसँग धेरै हदसम्म मिल्छ। त्यस्तो मूर्तिलाई लिच्छविकालको अभिलेखमा पार्थिव शिला भनेर लेखिएको र त्यो शिलाको आकारप्रकार पनि पाहां चह्रेको दिन पूजा गर्ने प्रस्तर मूर्तिसँग लगभग मिल्ने हुनाले वंशावलीको वर्णनलाई कथा मात्रै हो भनेर उपेक्षा गर्न सकिँदैन।
सन् १३४९ मा बंगालका सुल्तान समसुद्दिन इल्यासको फौजले काठमाडौंमा आक्रमण गर्दा पशुपतिनाथ मन्दिरको पुरानो मूर्ति टुक्राटुक्रा भएको थियो। अहिलेको चतुर्मुखी शिवलिङ्ग त्यसपछि मात्रै स्थापना गरिएको हो। पशुपतिको सबभन्दा पुरानो मूर्ति पक्कै पनि चतुर्मुखी थिएन। किनभने राजा मानदेवको पालामा राखिएका ५/६ वटा शिवलिङ्ग फेला परेकोमा तीमध्ये कुनै पनि चतुर्मुखी छैन।
वास्तवमा राजा अंशुवर्माको पालासम्म पनि पशुपतिको मूर्ति पाहां चह्रेको ढुङ्गे मूर्ति जस्तो अथवा पार्थिव शिलासँग मिल्दोजुल्दो थियो। यो कुरो अंशुवर्माको तात्कालिक मुद्राहरूको अध्ययन गर्दा सजिलै बुझ्न सकिन्छ (चित्र ३)।
राजा अंशुवर्मा पशुपतिभक्त थिए। पशुपति भट्टारक पादानुध्यातः भन्ने उनको राजकीय प्रशस्ति थियो। बहुह्रि भन्ने गाईले पशुपतिको मूर्ति पत्ता लगाएको भन्ने कथा लिच्छविकालमै प्रसिद्ध भइसकेको हुनाले अंशुवर्माको मुद्रामा दूध दिने गाई र बाछोसमेत भएको मूर्ति चित्रित गरिएको छ। त्यस मुद्रामा गाईको नाम 'कामदोही' लेखिए पनि नेवारीमा बहुह्रि वा भरह्रि भनिने गाईलाई संस्कृतीकरण गरी कामदोही नाम राखिएको हो भनेर अमरकोशको नेवारी अनुवादहरूबाट बुझ्न सकिन्छ।
ती नेवारी अनुवादमा बहुह्रि/भरह्रिका दुई अर्थ दिइएका छन्। पहिलो, गाई र दोस्रो कामधेनु। यताबाट के बुझिन्छ भने बहुह्रि वास्तवमा असल जातिको गाईलाई बुझाउने शब्द थियो। पछि संस्कृतीकरण भएपछि बहुह्रि कामधेनुमा परिवर्तन भयो। त्यसैले अंशुवर्माको मुद्रामा बहुह्रिलाई कामदोही नाम राखिएको हो।
गाईलाई कामदोही, यक्षराजलाई वैश्रवण भनेर लेखिएजस्तै पशुपतिको मूर्ति देखाइएको मुद्रामा पनि लिच्छविकालकै अक्षरमा पशुपति भनेर स्पष्ट रूपमा नामाङ्कित गरिएको छ। अनौठो के छ भने पशुपति भनेर लेखिएको मुद्रामा जलहरि र शिवलिङ्ग देखाइनुपर्ने हो। तर, लिच्छविकालका सबै मुद्राहरूमा शिवलिङ्ग देखाइनुको सट्टा पार्थिव शिलाजस्तो वर्तुलाकार थेप्चो मूर्तिलाई कमलको पातले घेरेर सजाइएको छ।
अंशुवर्माको मुद्राको अर्कोपट्टि यक्षहरूको राजा आसनमा बसिरहेको देखाइएको छ। त्यस यक्षराजको नाम वैश्रवण भनेर लेखिएको छ। वैश्रवण शिव भगवान्का घनिष्ठ मित्र हुन्; शिवसँगै उनी र उनका प्रजाहरू कैलाश पर्वतमा अलका शहरमा बस्छन् भन्ने कथा प्राचीन कालमा प्रचलित थियो। त्यसैले लिच्छविकालका मुद्राहरूमा त्रिशूल, अर्धचन्द्र, शिवको वाहन नन्दी आदि चित्रित गरिएजस्तै वैश्रवण र कामदोहीको मूर्ति अङ्कित गरी शिव पशुपतिको उपस्थिति बुझाइएको हो। वैश्रवणजस्तै अंशुवर्मा पनि कैलाशकुट भवनमा बस्ने हुनाले वैश्रवणको यो मूर्ति एक किसिमले राजा अंशुवर्माकै प्रतिकृति मानिएको हुन सक्छ।
गाईलाई कामदोही, यक्षराजलाई वैश्रवण भनेर लेखिएजस्तै पशुपतिको मूर्ति देखाइएको मुद्रामा पनि लिच्छविकालकै अक्षरमा पशुपति भनेर स्पष्ट रूपमा नामाङ्कित गरिएको छ। अनौठो के छ भने पशुपति भनेर लेखिएको मुद्रामा जलहरि र शिवलिङ्ग देखाइनुपर्ने हो। तर, लिच्छविकालका सबै मुद्राहरूमा शिवलिङ्ग देखाइनुको सट्टा पार्थिव शिलाजस्तो वर्तुलाकार थेप्चो मूर्तिलाई कमलको पातले घेरेर सजाइएको छ। यस्तो कमलगट्टाजस्तो देखिने पाहां चह्रेको मूर्ति काठमाडौंमा धेरै ठाउँमा गाडेर राखिएका छन्। मेरो आफ्नै पुरानो घरको चोकमा चैत्यको नजिकै पूर्वतिर रहेको खाल्डोमा त्यस्तो मूर्ति अहिले पनि देख्न सकिन्छ।
बहुह्रि गाईको उपासना गर्ने चलन सत्रौं शताब्दीसम्म पनि बिर्सिइसकेको थिएन। मखन टोलमा बस्ने एक व्यक्तिले स्वयम्भू नजिकै आजको छाउनीको चौरसँगै गोग्रास (गाईलाई घाँस खुवाउन) को लागि गौचर दान दिइराखेको सानो शिलापत्र अहिले पाटन संग्रहालयमा सुरक्षित छ। त्यो शिलापत्रको शिरोभागमा अंशुवर्माले कामदोही भनेर नाम राखेको बाछोसमेत भएको बहुह्रि गाईको मूर्ति चित्रित गरी शिवलिङ्गसँग गाईको सम्बन्ध देखाइएको छ (चित्र ४)।
तर, बहुह्रि गाईलाई पूजा गर्ने पुरानो चलनको शैवधर्मसँग कुनै सम्बन्ध थिएन। बाछोसहितको बहुह्रि गाईको प्राचीन प्रस्तर मूर्ति उपत्यकामा धेरै ठाउँमा पाइएका छन् (चित्र ५)। ती मूर्तिहरू कुनै देवीदेवताको मन्दिर वरिपरि राखिनुको सट्टा गाई चराउन भनेर आफूले दान दिएको गौचरको आसपासमा राखिएका थिए। गौचरहरू मासिँदै गएकाले आजभोलि धेरैजसो बहुह्रि गाईका मूर्तिहरू खुला रूपमा सडक छेउछाउ असुरक्षित रहेका देखिन्छन्।
विभिन्न तथ्य केलाउँदा खाल्डोमा पुरिएर बसेको पशुपतिको मूर्ति गोठालोले खनेर हेर्दा प्रादुर्भाव भयो भनेर गोपालराज वंशावलीमा लेखिएको कथा वास्तविकताको आधारमा बनेको देखिन्छ।
यी सबै कुरा विचार गरेर हेर्दा खाल्डोमा पुरिएर बसेको पशुपतिको मूर्ति गोठालोले खनेर हेर्दा प्रादुर्भाव भयो भनेर गोपालराज वंशावलीमा लेखिएको कथा वास्तविकताको आधारमा बनेको देखिन्छ। किनभने राजा अंशुवर्माको समयभन्दा पुरानो पशुपतिको मूर्ति पनि पाहां चह्रेको पूजाका लागि खनेर प्रकाशमा ल्याइने लुकु महाद्यजस्तै थेप्चो र चाक्लो थियो भन्ने कुरो तात्कालिक अभिलेख र मुद्राहरूबाट प्रामाणिक रूपमा बुझ्न सकिन्छ। पाहां चह्रे र बहुह्रिबारे विस्तृत अध्ययन गर्न बाँकी रहे पनि अहिलेसम्म प्राप्त सामग्रीको आधारमा स्पष्ट बुझिएका तथ्य यी हुन्:
१. लिच्छविकाल अगाडिका गोपालहरू दूध धेरै दिने बहुह्रि गाईलाई सम्मान गर्थे। जमीनभित्र रहेको चिप्लो ढुङ्गाको मूर्तिलाई घाँस र झारपात उब्जाइदिने देवताका रूपमा पूजा गर्थे। संस्कृत परम्पराको आगमनपछि बहुह्रि कामदोहीका रूपमा, जमीनभित्रको देवता शिवलिङ्गका रूपमा परिवर्तित भयो र गोपालराज वंशावलीमा वर्णित बहुह्रि गाई र पशुपतिको कथा बन्यो।
२. मौलिक रूपमा हेर्ने हो भने बहुह्रि गाईको सम्बन्ध कुनै धर्मसँग थिएन, गाई चराउने हरियो चौरसँग थियो। धेरै शताब्दीअघि नै संस्कृतीकरण भइसकेपछि पनि बहुह्रि गाईको गौचरसँगको मौलिक सम्बन्ध मल्लकालसम्म पनि यथावत् रह्यो।