त्रिशूली र सरस्वती : दुई नदी, एउटै कथा
त्रिशूली र सरस्वती नदीबीच देखिएको सादृश्यको महत्त्व भाषाको आधारमा मात्रै होइन, सांस्कृतिक परम्पराको आधारमा अझ राम्ररी बुझ्न सकिन्छ।
वैदिक साहित्यमा उल्लिखित सबै कुरा वैदिक हुन सक्दैनन्। ती अवैदिक विषयवस्तुसँग नेवार परम्पराको तुलना गर्दा वेदभन्दा पुराना केही कुरा नेवार संस्कृतिमा अझै लुकेर बसेको देखिन्छ।
वैदिक काल आजभन्दा ३५ सय वर्षअघिको हुनाले त्यस वेलाका कुरा सम्झिन त सम्भव हुने कुरै भएन। यद्यपि नेवारहरूको चाडपर्व पुरानै पञ्चाङ्गको ऋतु र महीना अनुसार चलिरहेको हुनाले ती विशेष दिनहरूको प्रारम्भिक महत्त्व बुझ्न प्रयास गर्दा निकै मह्त्त्वपूर्ण कुरा प्रकाशमा आएका छन्। यस विषयमा मैले विभिन्न लेखमा अनेकन् उदाहरण प्रस्तुत गरिसकेको छु। त्रिशूली र सरस्वती नदीको बीचमा देखिएको समानता अर्को उदाहरण हो।
काठमाडौं उपत्यकामा आउनुभन्दा पहिले नेवारहरूको पुरानो बासस्थान नुवाकोट थियो। तिब्बती भाषामा नुवाकोटलाई 'बाल्पोजोङ' (नेवारहरूको बस्ती) भनिन्थ्यो। फिलाडेल्फिया म्यूजियम अफ आर्टको संग्रहमा रहेको मल्लकालको एक बिलम्पौ (चित्र) मा नुवाकोटलाई 'नेवाकुति' भनेर लेखिएको छ (चित्र १)। त्रिशूली नदी नुवाकोट भएर बग्छ। त्यसैले होला, अहिलेसम्म पनि नेवार संस्कृतिमा त्रिशूली नदी र यस नदीको उद्गमस्थल मानिने गोसाइँकुण्डको ठूलो महत्त्व छ।
त्रिशूली नदी उपत्यकाभित्र पस्दैन, तापनि वर्षाद्मा अदृश्य रूपमा उपत्यकामा आइपुग्छ भन्ने विश्वास अनुसार श्रावण पूर्णिमाको दिन गोसाइँकुण्ड र त्यसैको प्रतिरूप मानिने पाटनको कुम्भेश्वरका धारा र पोखरीमा हरेक वर्ष मेला लाग्छ।
गोसाइँकुण्डलाई पहिले नेवारी भाषामा सिह्लुति भनिन्थ्यो। आजभोलि भने सिह्लुतिबाट अपभ्रंश भएर सिह्लु मात्रै भनिन्छ। त्यसैगरी, त्रिशूली नदीलाई 'सिह्लुतिखु' भनिन्थ्यो र अहिले पनि कहिलेकाहीँ 'सिह्लुखु' भनेको सुनिन्छ। नेवारी भाषामा नदीलाई 'खु' भनिन्छ।
त्रिशूली नदी उपत्यकाभित्र पस्दैन, तापनि वर्षाद्मा अदृश्य रूपमा उपत्यकामा आइपुग्छ भन्ने विश्वास अनुसार श्रावण पूर्णिमाको दिन गोसाइँकुण्ड र त्यसैको प्रतिरूप मानिने पाटनको कुम्भेश्वरका धारा र पोखरीमा हरेक वर्ष मेला लाग्छ।
श्रावण पूर्णिमाको छोटकरी श्रावणी हो। यो दिन हिन्दू र बौद्धहरूका लागि मात्रै नभई अन्य जनसमुदायका लागि पनि महत्त्वपूर्ण छ। ऋग्वैदिक चलन अनुसार, यो दिनदेखि गुरुकुलमा वेद पढ्ने केटाहरूको उपनयन (व्रतबन्ध) हुन्थ्यो। त्यसैले अहिले पनि ब्राह्मणहरू यो दिन जनै फेर्छन्। यही दिन महर्जनहरू र अरू नेवारहरू पनि 'ब्यांजा नकिगु' भनेर हरियो पातमा खानेकुरा राखेर भ्यागुतोलाई चढाउँछन् र गुंपुह्नि चाड मनाउँछन्।
गुंला धर्म (वर्षावास) मनाउने बौद्ध नेवारहरूका लागि पनि यो एक विशिष्ट दिन हो। यही दिन धामीहरू कुम्भेश्वरको वरिपरि बसेर विशेष पूजाआजा गर्छन्। यसरी सबैले मानिआएको, ऋतुसंस्कृति सम्बन्धी यो विशिष्ट दिनसँग त्रिशूली नदीको महत्त्व किन जोडिएको होला भनेर खोज्दै जाँदा सिह्लु नदी र वैदिक साहित्यमा प्रसिद्ध अहिले सुकिसकेको सरस्वती नदीको उद्गमस्थल र तीर्थयात्राको महत्त्व एउटै विचारधारामा आधारित रहेको पत्ता लागेको छ।
नेवारहरूको संस्कृति धेरै पुरानो रहेको पुष्टि गर्ने उदाहरण अरू पनि पाइन्छन्। जस्तो, आजभोलि फागुन पूर्णिमाको दिन होली खेलेर वसन्त ऋतुको उत्सव मनाइन्छ। तर, नेवारहरूको पुरानो पञ्चाङ्ग अनुसार होली वैशाख पूर्णिमाको दिन पर्थ्यो। त्यसैले यो दिनलाई अहिले पनि नेवारहरू स्वांया पुह्नि अर्थात् 'फूल (फुल्ने) पूर्णिमा' भन्छन्।
आजभोलि श्रावण पूर्णिमाको दिन वर्षा ऋतुको अन्त्यमा पर्छ। तर, आजभन्दा तीन हजार वर्षजति पहिले यो दिन वर्षा ऋतुको आरम्भ हुने दिन भनेर मानिएको थियो। श्रावणीदेखि पानी पर्न थाल्छ, हरियो घाँस पलाउँछ, भ्यागुता कराउन थाल्छन्, वेद पढ्ने विद्यार्थीको उपनयन शुरू हुन्छ तथा कात्तिक महीनामा गर्भ बोकेका गाईहरू ब्याउन थाल्छन् भनेर विभिन्न वैदिक ग्रन्थमा लेखिएको छ। श्रावणीको भोलिपल्ट काठमाडौं उपत्यकामा मनाइने गाईजात्राको सम्बन्ध यो वैदिक परम्परासँग छ भनेर मैले अन्यत्र लेखिसकेको छु।
आजभोलि वर्षा ऋतु असार महीनाको प्रारम्भदेखि नै शुरू भइसक्ने हुनाले पुरानो वैदिक पञ्चाङ्ग र अहिलेको पञ्चाङ्गमा दुई महीना जतिको फरक परिसकेको छ। तर, नेवारहरूका धेरैजसो चाडपर्व पुरानो पञ्चाङ्ग अनुसार चलिरहेका छन्।
नेवारहरूको संस्कृति धेरै पुरानो रहेको पुष्टि गर्ने उदाहरण अरू पनि पाइन्छन्। जस्तो, आजभोलि फागुन पूर्णिमाको दिन होली खेलेर वसन्त ऋतुको उत्सव मनाइन्छ। तर, नेवारहरूको पुरानो पञ्चाङ्ग अनुसार होली वैशाख पूर्णिमाको दिन पर्थ्यो। त्यसैले यो दिनलाई अहिले पनि नेवारहरू स्वांया पुह्नि अर्थात् 'फूल (फुल्ने) पूर्णिमा' भन्छन्। यही दिन संसारभरि भगवान् बुद्धको जन्मजयन्ती मनाइन्छ।
नेवारहरू जस्तै चीन र जापानका मानिसहरू पनि बुद्धको जन्मदिनलाई फूलको दिन भन्छन्। २५ सय वर्षजति अगाडि दक्षिण एसियामा यसैताका वसन्त ऋतु शुरू हुने हुनाले नै वैशाख पूर्णिमालाई फूलको दिन भन्ने चलन चलेको हो। मायादेवी लुम्बिनी वनमा घुम्न गएको कथाको सम्बन्ध ग्रीष्म ऋतुसँग होइन, वसन्त ऋतुसँग छ। त्यसैले नेपालमा प्रसिद्ध मायादेवीको मूर्तिमा ढकमक्क फूल फुलेको रूखको मुनि उनी हाँगा समातेर उभिएको देखाइएको छ।
जैमिनीय ब्राह्मण र ताण्ड्य ब्राह्मण आदि वैदिक ग्रन्थमा लेखिए अनुसार, वैदिक मानिसहरू उत्तरायण शुरू हुने वेला राजस्थानको मरुभूमिमा रहेको विनशन (सरस्वती नदी विलुप्त हुने) ठाउँदेखि उत्तरतिर सरस्वती नदीको किनारैकिनार जंगलको बाटो हिँड्दै धेरै महीना लगाएर श्रावण पूर्णिमातिर हिमालको उचाइमा अवस्थित सरस्वतीको उद्गमस्थलमा पुग्थे। यो तीर्थयात्रालाई उनीहरू यात्सत्र भन्थे।
यो लामो यात्रा सिद्धिने बेलामा वर्षाद् शुरू हुने र हिमालको हिउँ पग्लिने हुनाले सरस्वती नदीमा बाढी आउन थाल्छ। स्वर्ग हिमालयको माथि उत्तरमा छ, त्यहाँ रहेको समुद्रको पानी वर्षा ऋतुमा झरनाका रूपमा तल झर्छ र सरस्वती नदीका रूपमा परिवर्तन हुन्छ भन्ने तात्कालिक विचार अनुसार उनीहरूले सरस्वती नदीलाई 'प्लक्ष प्रास्रवण' (पाखरको रूख जस्तो देखिने झरनाबाट निस्केको) भनेर नाम राखेका थिए। पछि, सरस्वती नदीको उद्गमस्थल पनि यही नामले प्रसिद्ध भयो।
१८औं शताब्दीतिर बनेको इटुम्बहालमा हरेक वर्ष देखाइने बिलम्पौ भनिने लामो पटचित्रमा र फिलाडेल्फिया म्यूजियम अफ आर्टमा सुरक्षित अर्को बिलम्पौमा पनि गोसाइँकुण्डलाई सिलुति वा सिह्लुति भनेर लेखिएको छ। गोसाइँकुण्ड नाम त मध्यकालमा भारतदेखि आएका गोसाइँहरूले भाग लिन थालेपछि मात्रै रहेको हो।
वर्षाद्मा पानी परेन भने खडेरी लाग्ने र खेती तथा पशुपालन व्यवसायमा असर पर्ने हुनाले वैदिक मानिसहरूले दक्षिण एसियाको भूभागमा पस्नेबित्तिकै वर्षा ऋतुको महत्त्व राम्ररी बुझिसकेका थिए। वास्तवमा, वर्षाद्को शुरूआतमा पूर्ण हुने यो तीर्थयात्राको मुख्य कारण पनि वर्षा ऋतु नियमित होस् भन्ने थियो।
नेवारहरूको धेरैजसो चाडपर्व मूलतः यही विचारधारामा केन्द्रित छन्। यसैले वैदिकहरूको सरस्वती नदी र नेवारहरूको त्रिशूली नदीको उद्गमस्थलमा हुने तीर्थयात्रासँग के कति सम्बन्ध छ भनेर तुलनात्मक अध्ययन गर्न सम्भव भएको हो। १८औं शताब्दीतिर बनेको इटुम्बहालमा हरेक वर्ष देखाइने बिलम्पौ भनिने लामो पटचित्रमा र फिलाडेल्फिया म्यूजियम अफ आर्टमा सुरक्षित अर्को बिलम्पौमा पनि गोसाइँकुण्डलाई सिलुति वा सिह्लुति भनेर लेखिएको छ। गोसाइँकुण्ड नाम त मध्यकालमा भारतदेखि आएका गोसाइँहरूले भाग लिन थालेपछि मात्रै रहेको हो।
(गोसाइँहरू तीर्थयात्रा गर्न जाँदा विभिन्न वस्तुको व्यापार पनि गर्थे। भारतबाट तिब्बतसम्म अनेक ठाउँमा उनीहरूको आवतजावत थियो। त्यसैले तिब्बती भाषामा शिशापाङ्मा भनिने हिमपर्वतको गोसाइँस्थान भन्ने नाम रहन गएको हुनुपर्छ। तर, यो प्राचीन नाम हुन सक्दैन, किनभने प्राचीन कालमा त गोसाइँहरूको नामोनिसान पाइँदैन। नेपालमा त उनीहरू मध्यकाल (सन् ८७९–१७६९) मा मात्रै आएका हुन्।)
सिह्लुतिको अर्थ केलाउन भाषाविज्ञानको आधारमा विचार गरी हेर्यौं भने 'रूख जस्तो देखिने झरना' हो भनेर बुझ्न सकिन्छ। नेवारीमा मात्रै होइन, तिब्बती गुरुङ आदि अरू तिब्बत-बर्माको भाषामा पनि रूखलाई सि अथवा सिं भनिन्छ। यो लिच्छविकाल (सन् २०० – ८७९) भन्दा पनि धेरै पुरानो शब्द हो। त्यसैगरी ह्लुति भनेको झरना हो। बालाजुको धारा/झरनालाई नेवारीमा अहिले पनि ह्लुति भन्ने चलन छ। यसरी 'पाखरको रूख जस्तो झरनाबाट निस्केको' भनिने वैदिक नदी र सिह्लुतिको नाममा समानता देखियो।
सरस्वती नदीको वेदभन्दा पुरानो स्थानीय अवैदिक नाम विसंबल् वा विसिंबल् थियो। यो अवैदिक शब्दलाई संस्कृतीकरण गरेर वैदिकहरूले सरस्वती नदीलाई वैशंबल्या अथवा वैशंफल्या भनेर नामकरण गरेका थिए। यस विषयमा वैदिक भाषाका प्रसिद्ध विद्वान् माइकल विजेलले लेखेका छन्। मैले पनि केही वर्षअघि आफ्नो विचार व्यक्त गरेको थिएँ।
'बल्' वा 'वल्' प्रास्रवणलाई बुझाउने आवाजको अनुकरणमा बनेको शब्द हो। आकाशबाट झर्ने नदी बल्बल् आवाज आउने गरी बग्छ भनेर वेदमा लेखिएको छ। प्राचीन नेपालमा वलवला भनिने यस्तो नदीको कथा प्रचलित थियो। त्यसैले विसिंको अर्थ पक्कै पनि 'पाखरको रूख' भनेको हुनुपर्छ भन्ने बुझियो र सरस्वतीको पुरानो नाम पनि रूखलाई बुझाउने प्राचीन शब्द 'सिम्' सँग जोडिएको देखियो।
सिह्लुतिको अर्थ केलाउन भाषाविज्ञानको आधारमा विचार गरी हेर्यौं भने 'रूख जस्तो देखिने झरना' हो भनेर बुझ्न सकिन्छ। नेवारीमा मात्रै होइन, तिब्बती गुरुङ आदि अरू तिब्बत-बर्माको भाषामा पनि रूखलाई सि अथवा सिं भनिन्छ। यो लिच्छविकाल (सन् २०० – ८७९) भन्दा पनि धेरै पुरानो शब्द हो। त्यसैगरी ह्लुति भनेको झरना हो।
त्रिशूली र सरस्वती नदीबीच देखिएको सादृश्यको महत्त्व भाषाको आधारमा मात्रै होइन, सांस्कृतिक परम्पराको आधारमा अझ राम्ररी बुझ्न सकिन्छ। दुवै नदीको उद्गमस्थलमा लाग्ने मेलाको दिन वैदिक कालमा जस्तै श्रावणीदेखि शुरू हुने वर्षा ऋतुको आरम्भमा पर्छ। भ्यागुतो कराउन थालेपछि पानी पर्छ भन्ने विचारले श्रावणीकै दिनमा नेवारहरू जस्तै वैदिकहरू पनि भ्यागुतोको पूजा गर्थे।
ऋतु संस्कृतिसँग सम्बन्ध राख्ने हजारौं वर्षअघिदेखि चल्दै आएका यी सबै परम्परा हिमालयको भूगोलसँग सोझै जोडिएका छन्। पानीको मूल स्रोत स्वर्ग हो, स्वर्ग उत्तर दिशामा पर्वतको उचाइमा छ भन्ने विचार पनि यही भूगोलमा आधारित छ। यसकारण यी दुई नदीमा देखिएको सादृश्य काकताली हुनु सम्भव छैन।
फिलाडेल्फिया म्यूजियम अफ आर्टको संग्रहमा रहेको बिलम्पौमा देखाइएका दृश्यहरूबाट पनि यस कुराको पुष्टि हुन्छ। सरस्वती नदीको तीर्थयात्रामा भाग लिने वैदिक मानिसहरू जस्तै पाटन र काठमाडौंका मानिसहरू हिँड्दै पहाड, नाला नाघ्दै उत्तरतिर हिमालको उचाइमा रहेको गोसाइँकुण्ड पुगेर तीर्थस्नान गरिरहेको दृश्य त्यसमा देखाइएको छ (चित्र २)।
शिवले समुद्र मन्थनबाट निस्किएको हलाहल विष पिएपछि घाँटी पोलेको हुनाले हिमालको चिसो पानीमा सुत्न गए भन्ने मिथक अनुसार यो चित्रमा त्रिशूल हातमा लिएका शिवको मूर्ति पानीमा उत्तानो परेर सुतिरहेको देखाइएको छ। जलशायी विष्णु जस्तो देखिने यस किसिमको जलशायी शिवको मूर्ति नेपालमा बाहेक अन्त कतै पाइँदैन।
जलकुण्डबाट निस्किने नदीलाई त्रिशूली भनेको कारण पनि बिलम्पौमा देखाइएको तीनधारे झरनासँग सम्बद्ध छ। त्रिशूली शिवको मुख्य आयुध भएको हुनाले तीनधारे झरना शिवको कथासँग जोडियो र सिह्लुतिलाई शिवह्लुति भनेर संस्कृतीकरण भयो, र शिव सम्बन्धी अनेक कथा बने।
यस्तो अनौठो मूर्तिको विकास कसरी भयो भनी बुझ्न चित्रपटमा देखाइएको दृश्य गहिरिएर हेर्नु आवश्यक छ। हल्का नीलो जलकुण्डको दायाँतर्फ माथि आकाशमा कालो बादल देखाइएको छ। त्यही बादलबाट सिह्लुतिको झरना तीन धाराका रूपमा निस्केको छ। 'रूख जस्तो झरना' भन्ने नाम यही काल्पनिक झरनामा आधारित छ, जलकुण्डसँग होइन।
वैदिकहरूले पनि आकाशबाट झर्ने पानीको धारालाई नै हाँगा जस्तो मानी सरस्वती नदीलाई 'पाखरको रूख जस्तो देखिने झरनाबाट निस्केको' भनी नाम राखेका हुन्। सरस्वती नदीको टुप्पामा सूर्य अडेको छ र सूर्य विम्ब ज्यादै गह्रुङ्गो भएको हुनाले रूख जस्तो सरस्वती नदी बांगिएर गयो भन्ने रमाइलो कथा वैदिक साहित्यमा पाइन्छ।
जलकुण्डबाट निस्किने नदीलाई त्रिशूली भनेको कारण पनि बिलम्पौमा देखाइएको तीनधारे झरनासँग सम्बद्ध छ। त्रिशूली शिवको मुख्य आयुध भएको हुनाले तीनधारे झरना शिवको कथासँग जोडियो र सिह्लुतिलाई शिवह्लुति भनेर संस्कृतीकरण भयो, र शिव सम्बन्धी अनेक कथा बने।
यी कथाको आधारमा प्राचीन कालमा जस्तै वर्षाद्को शुरूमा यहाँ किन मेला लाग्छ तथा 'पाखरको रूख जस्तो झरनाबाट निस्केको' भने जस्तै नेवारीमा 'रूख जस्तो देखिने झरना' भनेर किन भनिन्छ आदि प्रश्नको तर्कसंगत उत्तर पाउन नसकिने मात्रै होइन, प्रश्नै उठाउन मिल्दैन।
सिह्लुति र प्लक्ष प्रास्रवणको बीचमा देखिएको सादृश्य नेवारहरूले वेद पढेकाले होइन। यसको कारण त अर्कै छ। अक्सर दुइटा विषयवस्तुमा सादृश्य देखियो भने एकले अर्कोसित सिकेको हुनुपर्छ भन्ने निष्कर्षमा हामी छिटै पुग्छौं। तर, धेरैजसो ती दुवैमा देखिएको सादृश्यको कारण ती दुवैभन्दा अझ पुरानो मूल स्रोतबाट निस्केको हुन्छ। नेवार संस्कृति र वैदिक साहित्यमा देखिएको सादृश्यको कारण पनि यस्तै थियो भनेर स्पष्ट बुझ्न सकिन्छ।
उत्तरी भागमा ज्यादै जाडो हुने र उब्जनी धेरै नहुने, परन्तु दक्षिण भागमा निकै न्यानो हुने तथा खेती र पशुपालनका लागि उपयुक्त हुनाले त्यहाँ बस्ने वैदिक पूर्वजहरूको विचारमा स्वर्ग दक्षिणमा छ भन्ने थियो।
किनभने, वैदिकहरूको सरस्वती नदीसँग सम्बन्ध राख्ने विश्वास र विचार, हामीले अघि भने जस्तै, वर्षा ऋतु तथा हिमालयको भूगोलसँग जोडिएको छ। वैदिकहरूको यो विचार उनीहरू हिन्दुकुश नाघेर हिमालय नजिक पन्जाब र त्यसको वरिपरि बस्ती बसाएपछि मात्रै बनेको हुनुपर्छ। भारत भूमिमा पस्नुभन्दा अघि वैदिकहरू आजभोलि अफगानिस्तान भनिने भूभागमा बस्थे। दक्षिण एसियाको वर्षाद् यस भूभागसम्म पुग्दैन। जाडोयाममा परेको हिउँ पग्लेपछि यहाँ खेती शुरू हुन्छ।
उत्तरी भागमा ज्यादै जाडो हुने र उब्जनी धेरै नहुने, परन्तु दक्षिण भागमा निकै न्यानो हुने तथा खेती र पशुपालनका लागि उपयुक्त हुनाले त्यहाँ बस्ने वैदिक पूर्वजहरूको विचारमा स्वर्ग दक्षिणमा छ भन्ने थियो (यस विषयमा मैले अन्त कतै विस्तृतमा लेखिसकेको छु)।
प्लक्ष प्रास्रवण र सिह्लुतिको बीचमा देखिएको सादृश्यको आधारमा एक महत्त्वपूर्ण निष्कर्षमा पुग्न सकिन्छ। दक्षिण एसियाको ऋतु र भूगोलसँग सोझै सम्बन्ध राख्ने सरस्वती नदीको उद्गमस्थलको तीर्थयात्रा गर्ने चलन वैदिकहरूले आंशिक रूपमा स्थानीय बासिन्दाहरूसँग सिकेको हुनुपर्छ। यो चलन हिमालयको सेरोफेरोमा अन्यत्र पनि प्रचलित भएको हुनाले नै नेवारहरूको बासस्थान भनेर नाम कमाएको नुवाकोटका पुराना बासिन्दाहरूलाई समेत यो कुराको ज्ञान थियो।
नुवाकोटबाट सरेर काठमाडौंमा बस्ती बसाइसकेपछि पनि परम्पराप्रेमी नेवारहरूले यो पुरानो चलन पूर्ण रूपमा कहिल्यै बिर्सेनन्। यही कारण वैदिक र नेवारहरूको परम्परामा समानता देखिएको हो।
सन्दर्भ सामग्री:
Michael Witzel, “Sur le chemin du ciel,” Bulletin des Etudes indiennes, Vol. 2 (1984), pp. 213- 279.
Gautama V. Vajracharya, Frog Hymns and Rain Babies: Monsoon Culture and the Art of Ancient South Asia, Marg Publication, 2013.
“Nepal Samvat and Vikrama Samvat: Discerning Original Significance,” Social Science Baha, The Mahesh Chandra Regmi Lecture 2018.