‘द प्रोपगन्डा प्राइममिनिस्टर’
नेपालको इतिहासमा ओलीका राजनीतिक योगदान के कति छन्, त्यो समीक्षा होला नै। उनी हल्ला र अफवाहको प्रतीकका रूपमा भने भविष्यको लामो कालखण्डमा पनि सम्झिइरहनेछन्।
२० वैशाखमा राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘कोरोनाभाइरस (कोभिड–१९) महामारीमा हल्ला र अफवाहबाट भ्रमित र प्रभावित नहोऔं।’ तर, यथार्थ के हो भने, कोरोनाबारे बेलाबखत प्रधानमन्त्री ओली आफैंले अफवाह फैलाउँदै आएका छन्। जुन विवादास्पद अभिव्यक्तिले विभिन्न प्रतिक्रिया र टीका–टिप्पणी निम्त्याएका छन्।
नेपालमा कोरोनाभाइरसको संक्रमण शुरू भएयता प्रधानमन्त्री ओलीले कम्तीमा पाँच पटक राष्ट्रका नाममा सम्बोधन गरे (७ र २५ चैत २०७६, ७ कात्तिक २०७७, १ र २० वैशाख २०७८)। ती हरेक सम्बोधनमा कोरोनाभाइरस नियन्त्रण र सरकारका उपलब्धिको फेहरिस्त सुनाउन खर्च भएका छन्।
सम्बोधनमा तथ्यपरक जानकारीभन्दा पनि जनतामा भ्रम छर्ने अभिप्राय देखिन्छ। जस्तैः सरकारले इतिहासमै सबैभन्दा बढी उपलब्धि हासिल गर्यो, विपक्षीहरूले सरकारलाई देखिसहेनन्, भ्रष्टाचार भएकै छैन, मिडियाले सरकारको राम्रो कामको चर्चा गरेनन् आदि।
यस लेखमा प्रधानमन्त्री ओलीले 'प्रोपगन्डा'को सहारामा नागरिकलाई गुमराहमा राख्न गरेका प्रयासहरूका बारेमा विश्लेषण गरिएको छ।
कोरोनाभाइरसबारे विवादास्पद अभिव्यक्ति
जतिसुकै आलोचना भए पनि प्रम ओलीले नेपालीहरूको ‘इम्युनिटी पावर’ बलियो भएको, बेसार, अदुवा, गुर्जो जस्ता जडीबुटी खाएका नेपालीहरूलाई भाइरसले नछुने दाबी पटकपटक दोहोर्याए। नेपाली भान्सामा प्रयोग हुने मसला तथा योग र प्राणायामले नेपालीहरूलाई कोरोना नलागेको दाबी गरिरहे।
नेपालमा कोरोनाभाइरस देखिन थाल्दादेखि नै प्रधानमन्त्री ओलीले कोरोना विज्ञका रूपमा देखिने प्रयास गरे। नेपालमा लकडाउन शुरू भए लगत्तै ओलीले २९ चैत २०७६ मा मुख्यमन्त्रीहरूसँग भिडिओ कन्फरेन्स मार्फत कुराकानी गर्दै भाइरस भनेको निर्जीव तत्त्व भएको र कोरोनाभाइरस तातोपानीले हात धुने बित्तिकै त्यसको बाहिरी भागको बोसो पग्लिएपछि समाप्त हुने बताए।
६ जेठ २०७७ मा संसद्मा बोल्ने क्रममा कोरोनाभाइरसको प्रकृतिबारे टिप्पणी गर्दै ओलीले भारतबाट आएको भाइरस कडा देखिएको अभिव्यक्ति दिए। उनले भनेका थिए, “वुहानबाट संक्रमण भएर आएको अलि नरम देखिएको थियो। इटालीबाट आएको पनि नरमै देखिएको थियो। दुबईबाट आएको पनि अलि नरमै देखिएको थियो। तर, भारतबाट आएको चाहिँ अलि कडा भाइरस देखिएको छ।”
जब कि त्यसबारे वैज्ञानिक रूपमा पुष्टि भएकै थिएन। उक्त अभिव्यक्ति आएपछि भारतमा समेत ओलीको आलोचना भयो।
४ असारमा राष्ट्रिय सभामा बोल्दै ओलीले “कोरोना भनेको एउटा रुघाखोकी जस्तो हो। लागिहाल्यो भने हाच्छिउँ साच्छिउँ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ” भने। नजानेको विषयमा प्रोपगन्डा मच्चाएको र गम्भीर महामारीलाई हल्का रूपमा लिएको भन्दै त्यसैबेला चिकित्सक एवम् स्वास्थ्य क्षेत्रका विज्ञहरूले ओलीको आलोचना गरे।
जतिसुकै आलोचना भए पनि प्रम ओलीले नेपालीहरूको ‘इम्युनिटी पावर’ बलियो भएको, बेसार, अदुवा, गुर्जो जस्ता जडीबुटी खाएका नेपालीहरूलाई भाइरसले नछुने दाबी पटकपटक दोहोर्याए। नेपाली भान्सामा प्रयोग हुने मसला तथा योग र प्राणायामले नेपालीहरूलाई कोरोना नलागेको दाबी गरिरहे।
गत २६ चैतमा नेपाल चेम्बर्स अफ कमर्शको साधारण सभालाई सम्बोधन गर्दा प्रम ओलीले भने, “अलि तातोतातो पानी लिँदै, नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं। पहिले गएर नाकमा बस्ने हो कोरोना, त्यहीँबाट फालिदिएपछि चैट्! नुनपानीले गार्गल गरिदियो, सकिन्छ भने अम्बाका दुइटा पात उमाल्दिऊँ, बेसरी गार्गल गरिदिऊँ, घाँटीमा बसेको चट्। स्टीम लिइदिऊँ, फोक्सोबाट चट्। त्यति गर्दाखेरि धेरै सुरक्षित भइन्छ। अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन।”
प्रम ओलीका गफले जनतामा कोरोनाभाइरस नियन्त्रण सम्बन्धी स्वास्थ्य मन्त्रालय र विभिन्न निकायले गरेका सावधानी सम्बन्धी सचेतना र तयारीलाई फिका तुल्याइदियो।
कोरोनाभाइरस सम्बन्धी ओलीका यी हावादारी गफका दुई वटा उद्देश्य हुनसक्छन्ः पहिलो, आफ्नो सरकारले कोरोना नियन्त्रणका लागि कुनै प्रभावकारी काम गर्न नसकेकाले कोरोना भन्ने रोग हाउगुजी मात्रै हो, डराउनु पर्दैन भनेर सर्वसाधारणको मनोबल उकास्ने। दोस्रो, आफ्नो सनकले निम्त्याएको राजनीतिक अस्थिरतामा राजनीतिक भेला, आमसभा र तामझामसहितका उद्घाटन र शिलान्यासका कार्यक्रममा जनताको उपस्थिति देखाएर विरोधीको मनोबल कमजोर पार्ने।
तर, प्रम ओलीका गफले जनतामा कोरोनाभाइरस नियन्त्रण सम्बन्धी स्वास्थ्य मन्त्रालय र विभिन्न निकायले गरेका सावधानी सम्बन्धी सचेतना र तयारीलाई फिका तुल्याइदियो। सीएनएन जस्ता केही अन्तर्राष्ट्रिय मिडियाले अहिले नेपालमा देखिएको उच्च कोरोना संक्रमण दर र मृत्युको भयावह स्थितिको दोष ओलीका असावधानीपूर्ण र विज्ञान असम्मत सुझाव र ठूलठूला आमसभाहरू हुन् भनी औंल्याएका छन्।
चुनावी गफ
केपी शर्मा ओली २०६४ सालको संविधान सभाको निर्वाचनमा पराजित भए। त्यसयता उनले बिनायोजनाका विकासका गफ दिन थाले।
त्यो गफको सिलसिला उनी पहिलो पटक प्रधानमन्त्री हुँदा र २०७४ सालको आमनिर्वाचनमा अझ व्यापक रूपमा देखियो। पानीजहाज, तुइन विस्थापन, पाइपबाट घरघरमा ग्यास, ६ लेनको पूर्वपश्चिम राजमार्ग, द्रुतगतिको पूर्वपश्चिम रेल, १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा पाँच हजार अमेरिकी डलर पुर्याउने, २०९९ सालसम्ममा विकसित राष्ट्र बनाउने आदि।
ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा २५ असोज २०७२ मा ‘एक वर्षभित्र देशभरिका तुइन विस्थापित गर्छु’ भन्ने पहिलो निर्णयमा हस्ताक्षर गरे। उनी १० महीना प्रधानमन्त्री भए। उनीपछि पुष्पकमल दाहाल र शेरबहादुर देउवा प्रधानमन्त्री भए। त्यसपछि दुईतिहाइ जनमतसहित पुनः ओली प्रधानमन्त्री भए। तर, तुइन विस्थापनको काम अझै सकिएको छैन।
२०७२ सालमा भारतले नाकाबन्दी गरेपछि नेपालमा खाना पकाउने ग्यासको हाहाकार भयो। त्यसबेला प्रधानमन्त्री ओलीले एक वर्षभित्र चुलाचुलामा ‘पाइपबाटै ग्यास ल्याएर प्याट्ट स्वीच खोलेर बाल्ने बनाउँछु’ भने। त्यो सरकार ढल्यो।
नयाँ सरकार बनेपछि ओली विराटनगरमा स्थानीय सहकारीले बनाएको गोबरग्यास प्लान्ट उद्घाटन गर्न गए। प्लान्टबाट ३२ घरमा पुगेको ग्यासलाई उनले ‘पालइट प्रोजेक्ट’ भने। त्यहाँ भाषणमा आफूले चुलाचुलामा पाइपमा ग्यास पुर्याउने वाचा गरेको र त्यस अनुसार काम भएको भनी भाषण गरे। खासमा ओलीले पाइपमा खनिज ग्यास वितरण गर्छु भनेका हुन्, गोबरग्यास होइन। दुर्भाग्यवश, महीना दिन नबित्दै त्यो गोबरग्यास प्लान्ट बन्द भयो।
प्रधानमन्त्री ओलीले तीन वर्षको अवधिमा गर्न सक्छु वा गर्छु भनेका केही कामहरू गर्न नसकेकाले अबको आगामी वर्षमा गरिनेछ भनी लेखिएका कामहरू पनि पूरा हुन कठिन छ।
अघिल्लो पटक प्रधानमन्त्री हुँदा ४ जेठ २०७३ मा ओलीले नेपाली जनतालाई पानीजहाजको सपना देखाए। पानीजहाजको अध्ययन समेत भएको थिएन। उनकै चाहना बमोजिम नेकपाको चुनावी घोषणापत्रमा र बजेट भाषणमा पनि पानीजहाजका कुरा आए। १४ असार २०७५ मा प्रधानमन्त्रीले भाषणै गरेर त्यही वर्षको १६ पुसमा जहाज चढ्न पाइन्छ भनिदिए। उनले ‘स्टीमर चढेर कोलकातासम्म साथीहरूलाई निम्ता छ’ भनेका थिए। तर, न पानीजहाज आयो, न त जनताले चढ्न पाए।
सामाजिक सञ्जालमा आलोचनाको तारो बनेका प्रधानमन्त्री ओलीले त्यही वर्षको २ फागुनमा पानीजहाज कार्यालयको उद्घाटन गरे। तर, अहिलेसम्म पानीजहाज सम्बन्धी कुनै खास कार्ययोजना र ठोस प्रगति भएको छैन। त्यस कार्यालयमा अहिले सडक विस्तार आयोजनाका कर्मचारीहरू छन्, जसलाई पानीजहाजको प्रगतिबारे जानकारी छैन।
लुम्बिनी विकास कोषका लागि एसियाली विकास ब्यांकको सहयोगमा किनिएका विद्युतीय बसहरू साझा यातायातलाई व्यवस्थापन हेर्ने जिम्मा दिने गरी केही दिन ललितपुरमा राखिएको थियो। ६ कात्तिक २०७५ मा प्रधानमन्त्रीले तिनै बिजुली बस उद्घाटन गरेर भाषण गरे– देश अब विद्युतीय सवारीको युगमा प्रवेश गर्यो, अब बस ल्याएर पेट्रोल डिजल आयात नै बन्द गर्ने, नेपालकै जलविद्युत्ले आत्मनिर्भर हुने र सन् २०३० सम्ममा बिजुलीका बस मात्रै चलाउने।
तर, ती बस सम्झौता अनुसार मापदण्ड पूरा नगरेको पाइएपछि फिर्ता गर्नुपर्ने अवस्था एकातिर थियो भने अर्कातिर सरकारले बिजुली बसलाई प्राथमिकता दिने गरेर त्यसपछि कुनै बजेट वा कार्यक्रम ल्याएन।
प्रधानमन्त्री ओलीले तीन वर्षको अवधिमा गर्न सक्छु वा गर्छु भनेका केही कामहरू (तालिका हेर्नुहोस्) गर्न नसकेकाले अबको आगामी वर्षमा गरिनेछ भनी लेखिएका कामहरू पनि पूरा हुन कठिन छ।
गत १ वैशाखमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारका तीन वर्षका उपलब्धिको सूची सार्वजनिक गरे। तर, त्यसमा चुनावी घोषणापत्रमा उल्लेख भएका कुनै काम सम्पन्न भएको जनाइएको छैन। बरु, चुच्चे नक्सा जारी गरिएको, चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराइएको, रासायनिक मलको अनुदानमा १२० प्रतिशतले वृद्धि गरिएको लगायतका कुरा छन्।
अर्थात्, चुनावमा एक थोक भनेर भोट मागियो, तीन वर्षको उपलब्धि देखाउँदा अरू नै कुरालाई उपलब्धि भनेर जनता अलमल्याउनुपरेको छ। यो प्रोपगन्डा नभएर के हो? घोषणापत्रमा वाचा गरिए अनुसार र उल्लिखित समयभित्र कुनै गतिविधि पूरा भएनन्। यस अर्थमा त्यो घोषणापत्र एउटा प्रोपगन्डाको पुलिन्दा मात्रै होे।
मपाइँत्त्वबाट जन्मिएका अफवाह
दुई वर्षअघि नेपाली कांग्रेसका नेता प्रदीप गिरिले ‘प्रधानमन्त्री ओली जस्तो सूचना भएको र जानकारी राख्ने व्यक्ति राजनीतिक जीवनमा कमै देखेको छु। उहाँले नबुझेको र नजानेको केही छैन’ भनेका थिए। तर, नेता गिरिको कटाक्ष थियो, ओलीले आफ्नो भाषण सुन्न आएका कार्यकर्ताको ताली र वाहवाही कमाउन हावादारी कुरा गरिदिन्छन्। हरेक कुरालाई आफ्नै पालामा भएको र नयाँ युगको शुरूआत भएको भन्ने कुरा उनको थेगो नै भइसक्यो।
प्रधानमन्त्री ओलीले ४ कात्तिक २०७६ मा नागढुंगा सुरुङमार्गको शिलान्यास गर्दै नेपालको इतिहासमै पहिलो पटक सुरुङमार्ग बन्न लागेको भनी हर्कबढाइँ गरे। तर, ओलीले क्षणिक लोकप्रियताका लागि जानीजानी जनतालाई ढाँटेका थिए।
उदाहरणका लागि ४ वैशाख २०७६ मा ‘नेपाल स्याट—१’ नामको एउटा सानो भू–उपग्रह (१.३३ किलो वजन) अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण गरियो। जापानको क्युशु विश्वविद्यालयमा अध्ययनरत दुई विद्यार्थीले बनाएको उक्त भू–उपग्रहलाई नेपालको नाम दिएर अन्तरिक्षमा पठाइयो। प्रधानमन्त्री ओलीले त्यो खबरलाई ट्वीटरमा शेयर गर्दै नेपाल अब अन्तरिक्ष युगमा प्रवेश गरिसकेको धक्कु लगाए। हुन त नेपालको नाममा त्यो नै पहिलो अन्तरिक्षयान हो, तर त्यसमा नेपाली प्रविधि प्रयोग नभएको, त्यो नेपालबाट नपठाइएको र त्यसले पठाउने तथ्यांकहरू समेत नेपालले ग्रहण गर्न नसक्ने भएकाले प्रधानमन्त्रीको अन्तरिक्षमा प्रवेश गरेका दाबी प्रोपगन्डा मात्रै हो।
प्रधानमन्त्री ओलीले ४ कात्तिक २०७६ मा नागढुंगा सुरुङमार्गको शिलान्यास गर्दै नेपालको इतिहासमै पहिलो पटक सुरुङमार्ग बन्न लागेको भनी हर्कबढाइँ गरे। उनले विद्युत्, सिँचाइ आदिका लागि नेपालमा पहिले पनि सुरुङमार्ग बनेका भए पनि आवतजावत गर्नकै लागि सुरुङमार्ग बनेको थिएन भन्ने वाक्य दोहोर्याए।
तर, ओलीले क्षणिक लोकप्रियताका लागि जानीजानी जनतालाई ढाँटेका थिए किनभने प्रधानमन्त्री जुद्धशमशेरको पालामा इन्जिनियर डिल्लीजंग थापा नेतृत्वको टोलीले सन् १९१८ मा गाडी हिँड्न सक्ने चुरिया सुरुङमार्ग निर्माण गरेको थियो। यो नेपालको मात्रै होइन, एसियाकै पहिलो सुरुङमार्ग थियो।
ओली सरकारको पहिलो बजेटमा सडकमै विमान आपत्कालीन ओराल्ने कार्यक्रम थियो, जसमा राष्ट्रिय राजमार्गहरूलाई त्यस्तो आपत्कालीन प्रयोजनका लागि विस्तार गर्ने भनिएको थियो। त्यो कार्यक्रम कुनै छलफल वा आवश्यकताका आधारमा थिएन। प्रधानमन्त्रीको सनकका भरमा राखिएको थियो, तर त्यसमा कुनै ठोस प्रगति भएन।
ओली प्रचारका भोका छन्। उनलाई ढ्याप्प तस्वीरसहितको प्रचार चाहिन्छ। अघिल्लो सरकारले शुरू गरेको सामाजिक सुरक्षा कार्यक्रमलाई ओलीको तस्वीर बिजुलीका पोलपोलमा झुन्ड्याएर ‘नयाँ युगको शुरूआत’ भएको भनी उनले सरकारी कर्मचारी र कार्यकर्तालाई हर्कबढाइँ गर्न खटाए। अखबार र अनलाइन पोर्टलहरूमा समेत महँगो विज्ञापन गर्न लगाए। त्यो कार्यक्रम निजी क्षेत्रको बेवास्ताले प्रभावकारी हुन सकेन।
उत्तिकै हल्लाखल्ला गरेर प्रधानमन्त्री रोजगार कार्यक्रमलाई समेत नयाँ युग भनेर प्रचारप्रसार गरे। तर, त्यसको पैसा दुरुपयोग भएको भनी सर्वत्र आलोचना भयो।
आत्मप्रचारमा रमाउने प्रधानमन्त्री ओलीमा आयोजनाहरूमा आफ्नो नाम जोड्ने कुन हदसम्मको भोक छ भने उनी निर्माण पूरा नहुँदैको संरचनाको उद्घाटन गर्न दौडिन्छन्। सिंहदरबारको अगाडिको मुख्य भागको पुनर्निर्माण नसकिँदै उद्घाटन, धरहराको काम नसकिँदै उद्घाटन, मेलम्चीको पानीको पानी वितरण शुरू नहुँदै उद्घाटन, देशभरिका पालिकास्तरीय अस्पतालहरू एकै चोटि शिलान्यास, देशभरिका नापनक्साको ठेगान समेत नभएका सडकहरूको एकै चोटि शिलान्यास गर्ने हतारो देखाए।
यो प्रोपगन्डाको समय हो
नेपालमा मात्रै होइन, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका विश्व नेताहरू प्रोपगन्डाकै कारण सत्तामा आए। तसर्थ, ओली अपवाद होइनन्, उनी त्यो विषाक्त समयको एक जिरह पात्र हुन्, जसले विश्वका सबै खाले प्रोपगन्डाको अभ्यास गरिरहेका छन्।
आफ्नै पार्टीका नेताले काम गर्न दिएनन् भन्ने जिकिर, संसद् विघटन गर्ने प्रयास, संसद्लाई काम नदिने र संसद् रोकेर अध्यादेशबाट देश चलाउन खोज्ने मनसाय प्रम ओलीका प्रोपगन्डा रणनीति हुन्।
अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले अमेरिकी राष्ट्रवाद अर्थात् ‘अमेरिका फर्स्ट’को नीति लिए। अमेरिकी अर्थतन्त्र ध्वस्त पार्न चीनले ल्याबबाट कोरोनाभाइरस उत्पादन गरेको आरोप लगाए। अमेरिकामा जनस्वास्थ्यलाई भन्दा व्यापारलाई प्राथमिकता दिए। फलतः अमेरिका कोरोनाभाइरसका कारण सबैभन्दा बढी प्रभावित बन्यो।
ट्रम्पले आफ्ना समर्थकलाई आफूले हारेको होइन, विपक्षीहरूले धाँधली गरेर हराएका हुन् भनी आश्वस्त परे। फलस्वरूप, गत जनवरी ५ मा उनका समर्थकहरूले अमेरिकी कंग्रेसमा हिंस्रक हुलहुज्जत गरे। ट्रम्पको ठाउँमा ओलीलाई राखेर सम्झनुस् त। कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको चुच्चे नक्सा जारी गरेर अघि सारिएको राष्ट्रवाद कसरी भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयललाई बालुवाटारमा मध्यरातमा भेटेपछि पाखा लाग्यो!
प्रम ओलीले कोरोनाभाइरसलाई अम्बाको पात, तातो पानी आदिले परास्त गर्न सकिन्छ भन्दै ठूल्ठूला आमसभाहरू गरे। जनतालाई कोरोनाभाइरसबाट बच्न अपनाउनुपर्ने सावधानीलाई बेवास्ता गर्न उकासे। आफ्नै पार्टीका नेताले काम गर्न दिएनन् भन्ने जिकिर, संसद् विघटन गर्ने प्रयास, संसद्लाई काम नदिने र संसद् रोकेर अध्यादेशबाट देश चलाउन खोज्ने मनसाय प्रम ओलीका प्रोपगन्डा रणनीति हुन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नामुद प्रोपगान्डिस्ट हुन्। ‘अच्छे दिन आएगा’, ‘मेक इन इन्डिया’ र ‘स्वच्छ भारत अभियान’ उनका चुनावी नारा थिए। तर, कोरोनाभाइरसको संकट कति भयावह हुनसक्छ भन्ने कुरालाई मोदीले ध्यानै दिएनन् र त्यस अनुसारको अग्रसरता लिएनन्। दोस्रो लहरमा स्वास्थ्य महासंकटको आकलन गरेर भारतले स्वास्थ्य पूर्वाधार लगायतमा पर्याप्त पूर्वतयारी गर्नैसकेन। फलस्वरूप त्यहाँको स्वास्थ्य पूर्वाधारलाई दोस्रो चरणको कोरोना लहर थेग्न मुश्किल परिरहेको छ।
विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक देश भएर पनि भारत यति हायलकायल बन्यो, दैनिक चार लाख मानिस संक्रमित हुने र दैनिक चार हजार मानिस मर्ने अवस्था आयो। अस्पतालहरू भरिए, अक्सिजनको हाहाकार भयो। अरू त अरू, शव जलाउन समेत ठाउँ भएन।
ओलीका आमसभामा भीड देखाउने, उद्घाटन र शिलान्यास मोह, ‘समृद्ध नेपाल सुखी नेपाली’ जस्ता नारा मोदी प्रवृत्तिबाट प्रभावित छन्। ओलीले पनि कोरोनाभाइरसलाई बेवास्ता गरे, यसलाई हल्का विषयका रूपमा प्रस्तुत गरिदिए। अहिले अस्पतालमा संक्रमितले बेड नपाउने अवस्था, अक्सिजनको अभाव र सर्वसाधारणले पैसा तिर्नै नसक्ने निजी अस्पतालको अति महँगो सेवाले ओलीको असफलता चित्रण गरिरहेका छन्।
संक्रमणको दोस्रो लहरमा स्वास्थ्य सेवाको यस्तो बिजोग हुँदा पनि हालै अमेरिकी टेलिभिजन सीएनएनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले स्थिति नियन्त्रणमा रहेको भन्दै झुट कुरा गरे। आफ्नो कमजोरी लुकाउँदा उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यम मार्फत महामारीमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने वा सहयोगका लागि आह्वान गर्ने अवसर पनि गुमाए।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन ओलीको समयका अर्का प्रोपगान्डिस्ट हुन्। उनले पश्चिमी यूरोप र अमेरिका विरोधी राष्ट्रवादकै नारालाई सत्तारोहणको रणनीति बनाएका छन्। बेलाबेला आफ्ना विभिन्न भावभंगीका हृष्टपुष्ट तस्वीरहरू सार्वजनिक गरेर उनी पश्चिमी राष्ट्रहरूमा आफ्नो प्रभुत्वको छनक दिन चाहन्छन्। उनले देशका संवैधानिक अंगहरूलाई आफ्नो इच्छा विपरीत चल्न दिएका छैनन्।
सामाजिक सुरक्षा सम्बन्धी नीति सार्वजनिक गर्दा अखबारका पहिलो पृष्ठमा मात्रै होइन, उपत्यकाका अधिकांश बिजुलीका पोल र सार्वजनिक स्थलमा उनका तस्वीरले पञ्चायतकालमा राजतन्त्रको रवाफ बिर्साएको थियो। ओली प्रधानमन्त्री भएयता गोरखापत्रमा मात्रै आधा दर्जन पटक विभिन्न बहानामा ओलीको ब्लोअप–ठूला फोटाहरू छापिएका छन्। तिनको तात्पर्य ओलीको जयगानबाहेक केही छैन।
विरोधी तह लगाउने पुटिनका कतिपय स्वभाव प्रधानमन्त्री ओलीसँग मिल्छ। सामाजिक सुरक्षा सम्बन्धी नीति सार्वजनिक गर्दा अखबारका पहिलो पृष्ठमा मात्रै होइन, उपत्यकाका अधिकांश बिजुलीका पोल र सार्वजनिक स्थलमा उनका तस्वीरले पञ्चायतकालमा राजतन्त्रको रवाफ बिर्साएको थियो। ओली प्रधानमन्त्री भएयता गोरखापत्रमा मात्रै आधा दर्जन पटक विभिन्न बहानामा ओलीको ब्लोअप–ठूला फोटाहरू छापिएका छन्। तिनको तात्पर्य ओलीको जयगानबाहेक केही छैन। पुटिनलाई जस्तै ओलीलाई लोकतन्त्र एक बहाना हो। आफू शक्तिमा टाँस्सिइरहने र अरूलाई तर्साइरहने उनको पुटिन शैली हो।
ट्रम्प, मोदी र पुटिन जस्ता विश्वविख्यात प्रोपगान्डिस्टहरूका वर्णसंकर स्वरूप ओलीमा देख्न सकिन्छ। उनीहरूभन्दा अघि बढेर ओलीले साइबर सेनाहरूलाई विरोधीविरुद्ध खनिन आदेश दिएका छन्। ट्रम्प, मोदी र पुटिन जे भन्छन् त्यो गर्न प्रयासरत देखिन्छन्, तर ओलीमा त्यो इमान छैन।
हल्ला र अफवाहको प्रतीक
कोरोनाभाइरस संक्रमण महामारी नियन्त्रण पहिलो प्राथमिकतामा राख्नुपर्छ भन्दै संसारका कति देशमा चुनावहरू पछाडि सारिएका छन्। अल्पमतका सरकारहरूलाई पनि महामारी नियन्त्रणमा नआउन्जेल विपक्षीहरूले भरथेग गरेका छन्। तर, प्रधानमन्त्री ओलीको सनकले नेपालमा झन्डै दुईतिहाइको सरकारले राजनीतिक अस्थिरता मात्रै जन्माएन, सत्तारुढ दल आफैं तीन चिरा पर्यो।
त्यसैबेला ओलीले संसद् विघटनको प्रयास गरे। विपक्षीले अविश्वासको प्रस्ताव नल्याउँदा आफैं अगाडि सरेर संसद्मा विश्वासको मत लिन विशेष अधिवेशन बोलाए। ओलीकै निर्देशनमा प्रदेश सरकारहरूमा अनेक जालझेल र अलोकतान्त्रिक दाउपेच भइरहेका छन्। अर्थात्, ओलीका प्राथमिकतामा कोरोनाभाइरसले जनजीवन तहसनहस भएको विषय परेको छैन। कस्ता प्रोपगन्डा अगाडि सार्दा आफू सत्तामा अडिन सकिन्छ भन्ने ध्याउन्न छ।
शेरबहादुर देउवा सत्तामा आएपछि सांसद किनबेच प्रकरण, पजेरो काण्ड, नातावाद, भ्रष्टाचार आदिका कारण नेपाली कांग्रेसको साख पतन भयो। २०६४ सालमा तत्कालीन नेकपा (माओवादी) सत्तामा आएपछि गरेका क्रियाकलाप, विलासी जीवनशैली, जोरजबर्जस्ती आदिका कारण माओवादीको साख गुम्यो। ओली भारतीय नाकाबन्दीको विरोध र विकासका नाराहरूका कारण जनताको सहानुभूति बटुल्दै शक्तिमा आए। तर, ती दुवै नारा उनी सत्तामा पुग्ने रणनीति सिवाय केही भएनन्।
कोरोनाभाइरस जस्ता महामारी आउँछन्, जान्छन्। तर, तिनले राजनीतिमा एउटा गज्जब प्रभाव छाड्छन्। असल राजनेताले महामारी वा देशको कठिन समयमै अझ प्रभावकारी नेतृत्व दिन्छ र लोकप्रियता कमाउँछ। खराब नेताले महामारीलाई राजनीतिक दाउपेचको मौका ठान्छ र अझ बढी नालायकीपन देखाउँछ।
बिजुली बस, पाइपबाट चुलोमा ग्यास, रसुवादेखि पोखरा र लुम्बिनीसम्म रेल, ६ लेनको पूर्वपश्चिम राजमार्ग, पानीजहाज आदि अनेक वाचा केवल राजनीतिक फन्डा मात्रै भए। अहिले प्रधानमन्त्री ओलीलाई हरेक भाषणमा केही न केही ढाँट्नुपर्ने आवश्यकता छ। प्रोपगन्डा प्रम ओलीको राजनीतिक पतनको कारण हुनेछ। यसले अहिले सत्तासीन नेकपा एमालेलाई समेत दीर्घकालीन असर पार्नेछ।
कोरोनाभाइरस जस्ता महामारी आउँछन्, जान्छन्। तर, तिनले राजनीतिमा एउटा गज्जब प्रभाव छाड्छन्। असल राजनेताले महामारी वा देशको कठिन समयमै अझ प्रभावकारी नेतृत्व दिन्छ र लोकप्रियता कमाउँछ। खराब नेताले महामारीलाई राजनीतिक दाउपेचको मौका ठान्छ र अझ बढी नालायकीपन देखाउँछ। कोरोनाभाइरसको महामारीले केपी ओली कस्ता नेता हुन् भन्ने प्रमाणित गरिदिएको छ।
नेपालको इतिहासमा ओलीका राजनीतिक योगदान के कति छन्, त्यो समीक्षा होला नै। उनी हल्ला र अफवाहको प्रतीकका रूपमा भने भविष्यको लामो कालखण्डमा पनि सम्झिइरहनेछन्।
‘प्रोपगन्डा’ शब्दलाई प्रष्टसँग बुझ्न अन्य दुई शब्दहरूलाई बुझ्नुपर्छ- मिथ्या सूचना र अपसूचना। मिथ्या सूचना (मिस इन्फरमेसन) भनेको गलत सूचना हो तर त्यस्तो सूचना दिनेको नियत गलत हुँदैन। उदाहरणका लागि कुनै दुर्घटनामा १५ जना घाइते भन्नुपर्नेमा कुनै मिडियाले भूलवश १५ जनाको मृत्यु लेखिदियो। उसको नियत सही सूचना दिने भन्ने नै थियो तर सूचना गलत भइदियो। अंग्रेजीमा यस्तो अवस्थालाई ‘मिसइन्फरमेसन’ भनिन्छ। तर, यदि त्यही मिडियाले आफ्नो समाचारमा हिट बढ्छ, अझ धेरैले समाचार हेर्छन् वा भाइरल होइन्छ भन्ने अभिप्रायले १५ जना घाइते भन्नु पर्नेमा जानीजानी १५ जनाको मृत्यु लेखेको रहेछ भने त्यो अपसूचना वा दूष्प्रचार हो। यसलाई अंग्रेजीमा ‘डिसइन्फर्मेसन’ भनिन्छ, जसको उच्चतम विन्दु प्रोपगन्डा हो। यसले सूचना मात्रै गलत दिँदैन, मानिसलाई कुनै खास काम गर्न वा नगर्न उकास्छ।
(आचार्य युनिभर्सिटी अफ अटवा, क्यानडामा अनुसन्धान र अध्यापनमा संलग्न छन्।)