हरेक दलमा दुई धार, राष्ट्रिय राजनीतिमा गजबार!
सत्तारुढसहित सबै दलमा दुईथरी धारकाे अन्तरविरोधका कारण नयाँ सत्ता समीकरणले आकार लिन नसकेपछि मुलुकको राजनीति बन्धक बनेको छ।
‘सम्मानित सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको महीना दिन पुग्न लाग्दा समेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक उहाँको राजीनामा माग गर्दछ, साथै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गर्दछ।’
यो निर्णय गर्ने दिन २० चैतमा सानेपास्थित नेपाली कांग्रेसको मुख्यालयमा बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक साढे पाँच घण्टा ढिलो शुरू भयो। दिउँसो दुई बजे बोलाइएको बैठक साँझ साढे सात बजेसम्म शुरू हुन सकेको थिएन। ढिलाइको कारण थियो– पार्टीले गठबन्धन सरकारको नेतृत्वका लागि पहल गर्ने कि नगर्ने?
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूको घण्टौंको आग्रहपछि कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्रीको उम्मेदवार बन्न तयार भए। एक केन्द्रीय सदस्यका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्न तयार भए पनि देउवा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्न भने तयार थिएनन्।
“पार्टीभित्र विवाद नभएको भए हामीले तीन साताअघि नै यस्तो निर्णय गरिसक्थ्यौं,” ती केन्द्रीय सदस्य भन्छन्, “हाम्रो पार्टीमा स्पष्ट दुई धार देखिँदा निर्णय लिन समय लाग्यो।”
प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतबाट ११ फागुनमा बदर भएपछि नयाँ सत्ता गठबन्धनको बहस शुरू भएको करीब डेढ महीनापछि कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेको हो।
“पार्टीभित्र विवाद नभएको भए हामीले तीन साताअघि नै यस्तो निर्णय गरिसक्थ्यौं। हाम्रो पार्टीमा स्पष्ट दुई धार देखिँदा निर्णय लिन समय लाग्यो।”
अहिले मात्रै होइन, प्रतिनिधि सभा विघटनको सन्दर्भमा पनि सभापति देउवा प्रधानमन्त्री ओली निकट देखिएको कांग्रेस नेताहरूले बताउँदै आएका छन्। उसो त, संवैधानिक निकायका ३२ वटा पदमा भएका नियुक्तिहरूमा देउवाको पनि भागबण्डामा परेको देखिन्छ। आगामी निर्वाचनको सन्दर्भमा पनि उनको दृष्टिकोण ओलीसँग मिल्दोजुल्दो देखिएको पौडेल पक्षका नेताहरूको बुझाइ छ।
“सेनापति नै भाग्छ भने त्यो लडाइँको हालत के होला? कांग्रेसको कुरा पनि त्यस्तै हो, शेरबहादुरजी आफैं अस्पष्ट हुनुहुन्छ।” - महन्थ ठाकुर, अध्यक्ष, जसपा
देउवा इतरका कांग्रेस नेताहरू ५ पुसमा प्रतिनिधि सभा विघटन भएदेखि नै ओली सरकारको विरोधमा देखिएका छन्। उनीहरूकै दबाबमा २० चैतमा कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको हो।
नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरू कांग्रेसकै अकर्मण्यताका कारण राजनीतिले निकास पाउन नसकेको बताउँछन्। माओवादी स्थायी कमिटी सदस्य गणेश साह प्रमुख प्रतिपक्षी कांग्रेसको राजनीतिक लाइन अस्पष्ट भएको दाबी गर्छन्। उनी भन्छन्, “चौतर्फी दबाबपछि कांग्रेसले राजीनामा माग्ने त भन्यो, तर सडकबाट कि सदनबाट भन्ने स्पष्ट छैन। यसले देखाउँछ, यो निर्णय उसले मनबाट गरेको होइन।”
जसपाका अध्यक्ष महन्थ ठाकुर पनि कांग्रेसभित्रको दुईथरी धारणाले मुलुकको राजनीति प्रभावित भएको बताउँछन्। ठाकुर भन्छन्, “सेनापति नै भाग्छ भने त्यो लडाइँको हालत के होला? कांग्रेसको कुरा पनि त्यस्तै हो, शेरबहादुरजी आफैं अस्पष्ट हुनुहुन्छ।”
कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत भने कांग्रेसले गत शुक्रबार नै निर्णय गरे पनि मुलुकको राजनीतिमा गुणात्मक अन्तर नआएको बताउँछन्। आफ्नो पार्टीभन्दा पनि माओवादी र जसपाभित्रको विवादका कारण गतिरोध उत्पन्न भएको उनको निष्कर्ष छ।
“सरकारलाई दिएको समर्थन फिर्ता नलिने माओवादीले कांग्रेसभित्रको विवादतिर औंला ठड्याउनुको तुक छैन। गतिरोधको प्रमुख कारण माओवादी र जसपाभित्रको अन्तरविरोध हो।” - प्रकाशशरण महत,
सहमहामन्त्री, कांग्रेस
“सरकारलाई दिएको समर्थन फिर्ता नलिने माओवादीले कांग्रेसभित्रको विवादतिर औंला ठड्याउनुको तुक छैन,” सभापति देउवा निकट मानिने सहमहामन्त्री महत भन्छन्, “गतिरोधको प्रमुख कारण माओवादी र जसपाभित्रको अन्तरविरोध हो।”
नेता महतले भने जस्तै माओवादी केन्द्र आफैंमा अस्पष्ट देखिन्छ। आन्तरिक विवादकै कारण सरकारलाई दिएको समर्थन फिर्ताको विषयमा निर्णय गर्न आइतबार (२२ चैतमा) बोलाइएको माओवादी स्थायी कमिटी बैठक बस्न सकेन। गठबन्धन बनाएर राजीनामा माग्ने कि राजीनामा मागेर गठबन्धन बनाउने भन्नेमा माओवादीमा अन्तरविरोध देखिन्छ। रामबहादुर थापा लगायतका नेताहरू ओली नेतृत्वको एमालेमा समाहित भएपछि पनि माओवादीमा एकमत बन्न नसकेको एक स्थायी कमिटी सदस्य बताउँछन्।
अलमलमा जसपा
१० वैशाख २०७६ मा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) एकीकरण भएर बनेको जसपा प्रतिनिधि सभा पुनःस्थापनापछि सबैभन्दा बढी द्विविधामा छ। अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरू सरकार गठनको सन्दर्भमा कम्तीमा प्रधानमन्त्री ओलीको विपक्षमा नजाने मूडमा छन्। ठाकुर र महतो दुवै साबिक राजपाबाट आएका नेताहरू हुन्।
जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका नेताहरू सरकार गठनको सन्दर्भमा कम्तीमा प्रधानमन्त्री ओलीको विपक्षमा नजाने मूडमा छन्। अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठ लगायत नेताहरू भने एमाले बाहेकको गठबन्धन बनाउनुपर्ने पक्षमा खुलेर लागेका छन्।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठ लगायत नेताहरू भने एमाले बाहेकको गठबन्धन बनाउनुपर्ने पक्षमा खुलेर लागेका छन्।
पार्टीभित्र स्पष्ट दुई धार देखिएपछि ५ चैतका लागि निर्धारित केन्द्रीय कार्यकारिणी समिति बैठक बस्न सकेन। त्यति मात्र होइन, यो बैठकका लागि अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवले तयार पारेको राजनीतिक प्रतिवेदन अस्वीकार गरे। विवादकै कारण कार्यकारिणी समिति बैठकको मिति अझैसम्म तय हुन सकेको छैन।
जसपाका कार्यकारिणी समिति सदस्य वृषेशचन्द्र लाल भने सत्ता गठबन्धनभन्दा आफूहरूका लागि मुद्दा महत्त्वपूर्ण भएको बताउँछन्। मधेस–थरुहट आन्दोलनमा भएको दमनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, रेशम चौधरीसहितका नेता–कार्यकर्ताको रिहाइ गर्नुपर्ने लगायतका माग पूरा भएपछि मात्रै कसलाई समर्थन गर्ने भन्ने निर्क्योल गर्नुपर्नेमा उनको जोड छ।
एमालेः सरकारमा पनि, सडकमा पनि
एउटै कम्युनिष्ट पार्टी बनाउने महत्त्वाकांक्षी लक्ष्यसहित ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता तीन वर्ष पनि टिक्न सकेन। सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि ब्युँतिएको एमाले अहिले सरकारमा पनि छ र सडकमा पनि छ।
पार्टी अध्यक्ष ओलीले सरकारको नेतृत्व गरिरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेताहरू समानान्तर संगठन निर्माणमा लागेका छन्। यो समूहले संगठन सुदृढीकरणका लागि भन्दै तीन महीने अभियान घोषणा गरेको छ।
खुलेर दुवै गुटमा नलागेका एमाले नेता लालबाबु पण्डित ‘म भए सबै ठीक, म नभए बेठीक’ भन्ने दूषित सोचको चोट देश र पार्टीले भोग्नुपरेको टिप्पणी गर्छन्। “नेकपाको समस्या राजनीतिकभन्दा पनि नेताको मानसिकताको हो, शीर्ष नेताहरूको आत्मकेन्द्रित सोचाइ र महत्त्वाकांक्षाले निम्त्याएको रोग हो,” उनी भन्छन्, “विडम्बना, यस्तो रोग नेकपा वा एमालेमा मात्रै सीमित छैन, सबै दलको रोगले देशलाई बिरामी बनाएको छ।”
‘पज मोड’मा राजनीति !
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा अध्यक्ष छँदादेखि नै प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएका छन्। तर, जति चर्को स्वरमा राजीनामा मागे पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएका छैनन्। यो उदाहरणले एउटा विषयलाई हेर्ने दृष्टिकोणमा विरोधाभास छ भन्ने देखाउँछ।
"नेकपाको समस्या राजनीतिकभन्दा पनि नेताको मानसिकताको हो, शीर्ष नेताहरूको आत्मकेन्द्रित सोचाइ र महत्त्वाकांक्षाले निम्त्याएको रोग हो। विडम्बना, यस्तो रोग नेकपा वा एमालेमा मात्रै सीमित छैन, सबै दलको रोगले देशलाई बिरामी बनाएको छ।” - लालबाबु पण्डित, नेता, एमाले
प्राध्यापक कृष्ण पोखरेल राजनीतिक दलहरूमा यतिबेला अचम्मको अन्तरविरोध देखिएको बताउँछन्। “दलभित्रको स्वच्छ प्रतिस्पर्धालाई अस्वाभाविक मानिँदैन, तर अन्य दललाई हेर्ने दृष्टिकोण नै फरक हुनु चाहिँ स्वाभाविक होइन,” उनी भन्छन्।
एमाले, कांग्रेस, माओवादी केन्द्र र जसपामा देखिएको विवादको असर भने मुलुकले भोग्नुपरेको प्राध्यापक पोखरेल बताउँछन्। उनी भन्छन्, “सबै दलमा दुई धार देखिँदा नेपाली राजनीति पज मोडमा पुगेको छ।”