के छ माधव नेपाल समूहको तीन महीने कार्ययोजना?
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले तीन महीने कार्ययोजना तयार पारेको छ। शनिबार कलंकीस्थित एउटा पार्टी प्यालेसमा बसेको स्थायी कमिटी बैठकमा १५ चैत २०७७ देखि १५ असार २०७८ सम्म सञ्चालन गरिने कार्ययोजना प्रस्तुत गरिएको हो।
‘नेकपा एमालेको एकता जोगाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नारा तय गरिएको तीन महीने अभियानलाई चार अवधिमा विभाजन गरिएको छ।
चैत (पहिलो अवधि)
१. पार्टी र जनसंगठनका सबै तहका बैठक बसी योजना निर्माण गर्ने। अभियान सम्बन्धी एक दिने प्रशिक्षण गर्ने।
२. पार्टीका जिल्ला/नगर/गाउँ/वार्ड/टोलस्तरका कमिटी व्यवस्थित गरी सक्ने।
३. जनसंगठन/पेशागत संगठनहरूका प्रदेश/जिल्ला/नगर/गाउँ/वार्ड/उद्योग/क्याम्पस/फर्म/बगान/स्कूलस्तरका कमिटी व्यवस्थित गरी सक्ने।
४. स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो कामलाई पारदर्शी बनाउने।
५. अन्य पार्टीबाट आएका कार्यकर्तालाई सदस्यता व्यवस्थित गरी विभिन्न कमिटीहरूमा जिम्मेवारी दिने।
६. २७ चैतमा सम्पर्क मञ्चहरूले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने। त्योभन्दा अगाडि नै प्रदेश र जिल्ला कमिटीहरू व्यवस्थित गर्ने।
७. २९ चैतमा काठमाडौंमा पेशागत महासंघको आयोजनामा ‘आजको सन्दर्भमा नेकपा एमालेको एकता र चुुनौती’ विषयक विचार गोष्ठी गर्ने।
वैशाख (दोस्रो अवधि)
१. पहिलो अवधिका बाँकी काम गर्ने।
२. कार्यकर्ताको घर–घर जाने, घरदैलो गर्न साना–साना टुकडी बनाई पार्टीका समस्या, यसको जनवादीकरण, सुशासन लगायतका विषयमा बताउने । घर–घरमा गएर जनताको समस्या उठाउने, साथ दिने।
३. नगर/गाउँ/वार्ड/टोलस्तरका भेला प्रशिक्षण सञ्चालन गर्ने।
४. जनसंगठनका नगर/गाउँ/वार्ड/कारखाना/प्रतिष्ठान/कलेज/स्कूलहरूमा भेला, प्रशिक्षण सञ्चालन गर्ने।
५. पार्टीमा देखिएको एकाधिकारवाद/स्वेच्छाचारी प्रवृत्ति/वाम आन्दोलन/संविधानलाई आफ्नो स्वार्थमा समाप्त पार्ने प्रवृत्तिबारे बताउने।
६. स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको भेला गरी प्रशिक्षित गर्ने।
७. बुद्धिजीवीहरूले समसामयिक विषयमा गोष्ठी अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने।
८. युवा/विद्यार्थी/महिला/दलित कार्यकर्ताको विकासका निम्ति विशेष प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्ने।
९. मधेसी/सुकुम्बासी/बाढीपीडित/दलित बस्ती/महिला/युवा/विद्यार्थी/मजदूर लगायत आधारभूत वर्ग र समुदायका जनताको बसोबास भएको क्षेत्रमा काम महत्त्वका साथ अगाडि बढाउने।
१०. ९ वैशाख (२२ अप्रिल) मा पार्टी स्थापना दिवस देशभर मनाउने। काठमाडौंमा उपत्यकास्तरीय कार्यक्रम गर्ने।
११. १३ वैशाखमा प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२औं स्मृति दिवस विराटनगरमा गर्ने। अन्य जिल्लामा पनि कार्यक्रम गर्ने।
जेठ (तेस्रो अवधि)
१. दोस्रो अवधिका बाँकी काम गर्ने।
२. घरदैलो कार्यक्रम गर्ने।
३. पालिकाहरूमा र्याली र सभाहरू गर्ने।
४. कामको प्रतिवेदन तयार पार्ने।
५. सम्पूर्ण पार्टी सदस्यहरूलाई संगठित गरी सक्ने।
६. ३ जेठमा मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको २७औं स्मृति दिवसका अवसरमा चितवनमा विशेष कार्यक्रम आयोजना गर्ने। देशका विभिन्न भागमा कार्यक्रम गर्ने।
१५ असारसम्म (चौथो अवधि)
१. तेस्रो अवधिका बाँकी काम गर्ने।
२. कमिटीको बैठक बसी प्रतिवेदन तयार गर्ने।