महामारीबाट थलिएको अर्थतन्त्रले यसरी गर्दै छ उठ्ने कोशिश
एक वर्षअघि शुरू भएको कोरोनाभाइरस महामारीले देशको अर्थतन्त्रलाई चार दशकपछि संकुचित बनाएन मात्रै, कैयौं व्यवसायमा दीर्घकालसम्मकै लागि असर छोडेको छ। तर, बिस्तारै आर्थिक क्रियाकलाप चलायमान हुन थालेसँगै सुधारका संकेत देखिन थालेका छन्।
उत्तरी छिमेकी चीनको वुहानमा कोरोनाभाइरस संक्रमण (कोभिड–१९) देखिएको २४ दिनपछि १० माघ २०७६ मा नेपालमा पहिलो कोरोना संक्रमित भेटिएको पुष्टि भएको थियो। चीनमा संक्रमण विस्तार हुन थालेसँगै त्यसको असर नेपालको पर्यटन, द्विपक्षीय व्यापार र चिनियाँ कम्पनीले निर्माण गरिरहेका पूर्वाधार परियोजनामा देखिन शुरू गरिसकेको थियो। ११ चैत २०७६ मा कोरोना संक्रमणको विस्तार रोक्न सरकारले देशव्यापी बन्दाबन्दी (लकडाउन) शुरू गरेपछि त अधिकांश आर्थिक क्रियाकलाप ठप्प हुनपुग्यो।
बन्दाबन्दीको यस्तो बन्देज झन्डै चार महीना कायम रह्यो, ६ साउन २०७७ सम्म। त्यसपछि पनि विभिन्न जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा कायम राखे भने ३ भदौपछि काठमाडौं उपत्यकामा झन्डै एक महीना निधेषाज्ञा जारी गरेर अत्यावश्यक बाहेकका सेवा बन्द गराइयो। आवागमन, दैनन्दिन गतिविधि लगायत सार्वजनिक जीवन र बन्दव्यापार ठप्प पार्ने बन्दाबन्दीको लामो अभ्यासको परिणाम, नेपालको अर्थतन्त्रले झन्डै चार दशकपछि ऋणात्मक वृद्धि भोग्नपुग्यो।
अत्यासलाग्दो सपना जस्तो अन्योल र संकटको एक वर्ष बितिसकेको छ, तर महामारीबाट पूर्ण रूपमा पार कहिले पाइने हो भन्ने अझै निश्चित छैन। यद्यपि, खोप आइसकेकाले आशा जागेको छ। अर्थतन्त्रमा कोरोनाभाइरसको संक्रमण मत्थर हुँदै जाँदा कैयौं क्षेत्र पूर्ववत् स्थितिमा चलायमान हुन थालिसकेका छन्। तर, महामारीले व्यापार–व्यवसाय, रोजगारी तथा निर्माण क्षेत्रमा पारेको असर लामो कालसम्म रहने देखिएको छ। पर्यटनसँग सम्बन्धित व्यवसायहरू पुरानै लयमा फर्कन कति समय लाग्छ भन्ने त अझै अनिश्चित नै छ।
चार दशकपछि ऋणात्मक
आर्थिक वर्ष २०७६/७७ मा देशको अर्थतन्त्र चार दशकपछि संकुचित भयो। केन्द्रीय तथ्यांक विभागका अनुसार, गत आर्थिक वर्षमा नेपालले १.९९ प्रतिशत ऋणात्मक आर्थिक वृद्धिदर भोगेको हो। करीब चार दशकअघि आर्थिक वर्ष २०३६/३७ मा देशको अर्थतन्त्र १.३ प्रतिशतले ऋणात्मक भएयता कुनै वर्ष पनि अर्थतन्त्रमा ऋणात्मक वृद्धि भएको थिएन। २०७२ सालमा भूकम्प र भारतले गरेको नाकाबन्दीका कारण आर्थिक वर्ष २०७२/७३ मा शून्य प्रतिशत रहेको आर्थिक वृद्धि त्यसपछिका तीन वर्षमा लगातार वार्षिक औसत ७.४ प्रतिशत कायम भएको थियो। कोरोना संक्रमण महामारीको असरले २०७६ चैतपछि अधिकांश आर्थिक क्रियाकलाप रोकिँदा अर्थतन्त्रमा गहिरो संकट निम्तिएको थियो।
केन्द्रीय तथ्यांक विभागका अनुसार, गत आर्थिक वर्षमा नेपालले १.९९ प्रतिशत ऋणात्मक आर्थिक वृद्धिदर भोगेको छ। करीब चार दशकअघि आर्थिक वर्ष २०३६/३७ मा देशको अर्थतन्त्र १.३ प्रतिशतले ऋणात्मक भएयता कुनै वर्ष पनि अर्थतन्त्रमा ऋणात्मक वृद्धि भएको थिएन।
बहुपक्षीय ऋणदाता विश्व ब्यांकले चालू आर्थिक वर्ष २०७७/७८ मा पनि आर्थिक वृद्धिदर ०.६ प्रतिशत हुने अनुमान गरिसकेको छ। कोरोनाभाइरसको प्रभाव मत्थर हुँदै गएमा आर्थिक वृद्धिदर २ प्रतिशत पुग्ने ब्यांकको अनुमान छ। सरकारले भने चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर विगत दशकहरूको वार्षिक औसतकै हाराहारीमा रहने बताउँदै आएको छ। त्यसको अर्थ, सरकारले चालू आर्थिक वर्षमा औसत ४ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने अनुमान गरेको हो।
कोरोनाभाइरसका कारण सिर्जित संकटले मुख्य चार स्वरूपमा नेपाली अर्थतन्त्रमा प्रभाव पारेको थियो। पहिलो, नेपालको अर्थतन्त्र मुख्य रूपमा छिमेकी भारत र चीनसँग निर्भर भएकाले ती देशमा परेको प्रभावको स्वाभाविक असर खासगरी वैदेशिक व्यापारमार्फत नेपाली अर्थतन्त्रमा परेको थियो।
दोस्रो, करीब ४० लाखभन्दा बढी युवा वैदेशिक रोजगारीमा रहेको र वार्षिक ३ लाखभन्दा बढी वैदेशिक रोजगारीमा जाने प्रवृत्तिका कारण विश्व अर्थतन्त्रमा प्रभाव पर्नेबित्तिकै रोजगारीमा रहेकाहरूको श्रम आय खस्कियो र हजारौंले रोजगारीको अवसर गुमाए।
तेस्रो, संसारभरिको आवागमन अवरुद्ध भएसँगै नेपालमा पर्यटनका गतिविधि ठप्प रहेकाले यो क्षेत्रमा दीर्घकालसम्मका लागि गम्भीर असर पर्यो। र चौथो, कोरोनाभाइरस महामारीको असर घटाउने रणनीतिक योजना र कार्यक्रमको तयारीबिना लगातार आर्थिक क्रियाकलाप अवरुद्ध पारिएकाले पूर्वाधार निर्माणसहित अर्थतन्त्रका अधिकांश क्षेत्रमा गहिरो शिथिलता निम्तियो।
अर्थतन्त्रलाई महामारीले कसरी गलाउँदै थियो ? गत वर्षको रिपोर्ट -
२०७६ चैतमा बन्दाबन्दी शुरू भएसँगै देशमा आयात नियमित समयको तुलनामा आधामा झरेको थियो। नेपाल राष्ट्र ब्यांकको तथ्यांक अनुसार, गत वर्षको चैतमा आयात जम्मा रू.५८ अर्बमा सीमित भएको थियो, यो नियमित समयको तुलनामा आधा हो। २०७७ वैशाखमा आयात अझ घटेर रू.४२ अर्ब ६० करोडमा समेटिएको थियो। भदौसम्म नै निर्माण सामग्री, औद्योगिक कच्चा पदार्थ तथा पूँजी निर्माण गर्ने वस्तुसहितको आयात सुस्त भएको थियो। निर्माण सामग्री र पूँजी निर्माण गर्ने वस्तुको न्यून आयातले आर्थिक क्रियाकलापको शिथिलता देखाउँछ। यद्यपि, असोजयताका महीनाहरूमा आयात बढ्दै गएर माघसम्ममा नियमित समयको सरह आयात हुन थालेको छ। यसले आर्थिक क्रियाकलापले पुरानै लय समात्न थालेको संकेत गर्छ।
महामारीका कारण प्रभावित प्रमुख क्षेत्रमध्ये एउटा पूर्वाधार निर्माणको काम हो। संक्रमण विस्तार भएपछि जलविद्युत्, सडक, सिंचाइ, विमानस्थल आदिका दर्जनौं आयोजनामा असर परेको थियो। चिनियाँ निर्माण कम्पनीले निर्माण गरिरहेका मध्य भोटेकोशी, रसुवागढी, साञ्जेनसहितका जलविद्युत् आयोजनामा चीनमा कोरोनाभाइरस देखिनेबित्तिकै कामदार र उपकरण अभावको समस्या देखिन शुरू भइसकेको थियो। चैतमा बन्दाबन्दी शुरू भएपछि त सम्पूर्ण निर्माण कार्य रोकिन पुगे। जसले गर्दा गत आर्थिक वर्षमा सरकारको पूँजीगत खर्च वार्षिक लक्ष्यको आधाभन्दा कम (४६.३४ प्रतिशत) मा खुम्चिन पुग्यो।
कोरोना संक्रमण महामारीका कारण पर्यटन व्यवसाय नराम्ररी थलिएको छ, जसले गर्दा पर्यटनमा आश्रित हजारौंको दैनिकी खलबल्याएको छ। महामारीपछि पर्यटनसँग सम्बन्धित आश्रित यस्ता पेशाकर्मी र उनीहरूका परिवारले आयस्रोत गुमाएका छन्।
निर्माणको अन्तिम चरणमा पुगेका माथिल्लो तामाकोशी जलविद्युत्, मेलम्ची खानेपानी, भैरहवा र पोखरा विमानस्थलको निर्माण अवधि पछिसम्म धकेलिएको छ। सरकारी र निजी क्षेत्रले निर्माण गरिरहेका करीब दुई हजार मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाको निर्माण अवधि पनि कम्तीमा एक वर्ष तन्किएको छ। आयोजना निर्माणमा ढिलाइले समयमै ती आयोजना पूरा हुँदा मिल्ने लाभ त गुमेको छ नै, आयोजना र पूर्वाधार निर्माणको लागत ह्वात्तै बढाइदिएको छ।
कोभिड–१९ को संकटले वैदेशिक रोजगारीका क्षेत्रमा पनि गहिरो असर छोडेको छ। महामारीकै कारण हजारौं नेपाली युवाले वैदेशिक रोजगारीको अवसर गुमाएका छन्। चालू आर्थिक वर्षको पहिलो सात महीना (माघसम्म) मा नेपालबाट ३९ हजार ८०३ जना मात्र वैदेशिक रोजगारीमा गएका छन्, जुन गत वर्षको यही अवधिको तुलनामा ७५.९ प्रतिशत कम हो। तर, कोरोनाभाइरसको दुष्प्रभावले नेपालको अर्थतन्त्रको बलियो टेको बनेको रेमिटेन्स खस्किएला कि भन्ने चिन्ता गरिए पनि यथार्थमा भने घटेन। यतातिर, देशभित्रको व्यापार, औद्योगिक उत्पादन, यातायात जस्ता क्षेत्र ठप्प भएकाले हजारौंले श्रम आय गुमाउन पुगे।
कोरोनाभाइरस संक्रमणले दीर्घकालसम्म असर पारेको प्रमुख क्षेत्र पर्यटन हो। पर्यटकलाई पदयात्रा गराउने ट्रेकिङ एजेन्सी, पर्वतारोहण, विमान र यातायात तथा पर्यटकले खपत गर्ने र खरीद गरी लैजाने वस्तु आदिसहितको योगदान अर्थतन्त्रका लागि महत्त्वपूर्ण हुन्छ। तर, महामारीका कारण पर्यटन व्यवसाय नराम्ररी थलिएको छ, जसले गर्दा पर्यटनमा आश्रित हजारौंको दैनिकी खलबल्याएको छ। सन् २०१८ मा वर्ल्ड ट्राभल एन्ड टुरिजम् काउन्सिलले पर्यटन क्षेत्रले नेपालमा करीब ५ लाख प्रत्यक्ष र करीब त्यति नै अप्रत्यक्ष रोजगारी सिर्जना गरेको आकलन गरेको थियो। कोरोना संक्रमण महामारीपछि पर्यटनसँग सम्बन्धित आश्रित यस्ता पेशाकर्मी र उनीहरूका परिवारले आयस्रोत गुमाएका छन्।
सरकारले २०७६ फागुनमा मात्र वसन्त ऋतुमा सगरमाथासहितका पर्वतारोहणको अनुमति बन्द गर्ने निर्णय गरेको थियो। त्यसयता सगरमाथासहित अन्य ३० वटा हिमाली क्षेत्रको गतिविधि सुनसान हुँदै आएको छ।
पर्यटकीय चहलपहल हुने क्षेत्र ठमेलले पनि गत वर्षदेखि नै चमक गुमाएको छ। पर्यटक अभावमा व्यापार सुस्ताएपछि पस्मिना, हस्तकलाका सामग्री बेच्ने कैयौं पसल तथा रेस्टुराँ सधैंका लागि बन्द भएका छन्। महामारीपछि नै पाँचतारे अन्नपूर्ण होटल सधैंका लागि बन्द गर्ने निर्णय गरिएको छ।
पर्यटन क्षेत्रले गति पाउने अपेक्षासँगै बितेका पाँच वर्षमा नेपाली पर्यटन उद्योगमा अभूतपूर्व लगानी भएको थियो। अर्बौं लगानीका होटलसहितका पूर्वाधार निर्माण भए पनि कोरोना प्रभावका कारण यी व्यवसाय संकटमा धकेलिएका छन्।
पर्यटक आवागमन घट्दा देशको विदेशी मुद्राको स्रोतमा पनि धक्का लाग्छ। पर्यटक नहुँदाको चक्रीय असर कृषि र स–साना उद्योगमा पनि पर्छ। होटलमा खाद्यान्न, तरकारी, पेय पदार्थ लगायतका अन्य सामग्रीका आपूर्तिकर्तासँग हुने कारोबार बिथोलिन्छ। कोरोना–कहरले आन्तरिक वायुसेवा कम्पनी र हेलिकोप्टर सेवा प्रदायक पनि थलिएका छन्।
कोभिड–१९ को असरले कैयौं मध्यम र साना उद्योगी मर्कामा परेका छन् भने कैयौं त सधैंका लागि बन्द भएका छन्। मनोरञ्जन उद्योग, खासगरी सिनेमा हललाई महामारी दीर्घकालसम्म प्रभाव पार्ने कडी बन्यो। कोरोनाभाइरसको संकटपछि जयनेपालसहित कैयौं सिनेमा हल सधैंका लागि बन्द हुन पुगेका छन्।
उम्किएला मन्दीबाट ?
अर्थतन्त्र दुई त्रैमासमा लगातार संकुचित भयो भने त्यस्तो अवस्थालाई अर्थशास्त्रमा आर्थिक मन्दी मानिन्छ। कोभिड–१९ को प्रभाव विस्तार भएपछिका दुई त्रैमास लगातार नेपालको अर्थतन्त्रको ऋणात्मक वृद्धि भएकाले आर्थिक मन्दीमा परेको देखिएको छ।
केन्द्रीय तथ्यांक विभागका अनुसार, गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम त्रैमासिक अर्थात् वैशाख–असारमा नेपालको अर्थतन्त्र १५.४ प्रतिशतले ऋणात्मक भएको थियो। त्यस्तै, चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासिक अर्थात् साउन–असोजमा अर्थतन्त्रमा ४.६ प्रतिशतले ऋणात्मक वृद्धि भएको छ। यसको अर्थ, वैशाख–असारको तुलनामा साउन–असोजमा अर्थतन्त्र निकै चलायमान भइसकेको छ। असोज–पुसको त्रैमासमा अर्थतन्त्रको स्थिति के रह्यो भन्ने तथ्यांक विभागले सार्वजनिक गरेको छैन। तर, असोज महीनापछि अधिकांश आर्थिक क्रियाकलाप सञ्चालन भएकाले अर्थतन्त्रको विस्तार सकारात्मक भएको सम्भावना छ।
वस्तु आयात, राजस्व, ब्यांकमा निक्षेप र कर्जा प्रवाह जस्ता तथ्यांकले अहिले अर्थतन्त्र पूर्व लयमा चलायमान हुन थालेको देखाउँछ। राष्ट्र ब्यांकका अनुसार, गत माघ महीनामा रू.२३ अर्ब ८० करोडको खाद्य र पेय पदार्थको आयात भएको छ, जुन अघिल्लो वर्षको माघमा रू.१६ अर्ब ९० करोडमा सीमित थियो। त्यस्तै, गत वर्षको माघमा रू.४० अर्ब ७० करोडको औद्योगिक कच्चा पदार्थको आयात भएकोमा यस वर्षको माघमा यस्तो आयात रू.५६ अर्ब ७० करोड पुगेको छ।
त्यसैगरी, गत वर्षको माघमा रू.१६ अर्बको पूँजी निर्माण गर्ने वस्तुको आयात भएकोमा यो वर्षको माघमा रू.१९ अर्ब १० करोड पुगेको छ। यसले आर्थिक क्रियाकलाप चलायमान भइरहेको संकेत गर्छ। ब्यांक तथा वित्तीय संस्थाले निजी क्षेत्रतर्फ प्रवाह गरेको कर्जा पनि भदौयता लगातार बढिरहेको देखिन्छ। गत पुस र माघमा मात्रै निजी क्षेत्रतर्फको कर्जा रू.२ खर्ब २५ अर्ब प्रवाह भएको छ, जुन गत वर्षको पुस र माघ महीनामा रू.७६ अर्बमा सीमित थियो। यसले लगानीका लागि निजी क्षेत्रको मनोबल बढेको संकेत गर्छ।