वन्यजन्तुको ज्यान लिने मानिसका यी भ्रम
विभिन्न गलत बुझाइ र अन्धविश्वासका कारण मानिसबाट जनावरले अनावश्यक दुःख मात्र पाएका छैनन्, पाइलापाइलामा असुरक्षा भोग्दै आएका छन्।
माओवादी सशस्त्र द्वन्द्वको वेला यो पंक्तिकार र नारायण अमृत (पत्रकार) चितवन राष्ट्रिय निकुञ्जको भ्रमणमा जाँदाको कुरा हो। त्यहाँ उद्धार गरिएका ‘लालबहादुर’ (चितुवाको बच्चा) र ‘जंगबहादुर’ (गैंडाको केटो) पालिएका थिए। जंगबहादुर सानै थियो, मान्छेसँग रत्तिएको। जता मान्छे छन् उतै जाने। निकुञ्जका कर्मचारीसँग त झन् लुटपुटिइरहने।
जंगबहादुरलाई छाडेर हामी हात्ती प्रजनन केन्द्र पुग्यौं। जंगलबाट चराएर ल्याइएका हात्ती बाँधिँदै थियो। सानी छावा आएर हामी नजिक छुनुमुनु गरिन्। माहुतले भने अनुसार पर्यटकले ल्याएका फलफूल खाना पल्केकी रहिछिन् ती सानी ‘लक्ष्मीकली’। लक्ष्मीको बालसुलभ चञ्चलता र जिज्ञासु भाव देख्दा उनले ‘पापा ल्याइदिएनौ ?’ भने झैं लागेको थियो।
प्रजनन केन्द्रबाट फर्कने क्रममा हामीले कसैको जीपमा लिफ्ट माग्यौं। गाढा हरियो रङको र पछाडि ह्वाङ्गै भएको जीपमा म पछाडिपट्टि बसेँ। जीपले प्रजनन केन्द्रमा पटकपटक गरेर विदेशी पर्यटक ल्याएर छाडेको र बेलुका उनीहरूलाई होटल फिर्ता लैजान त्यहाँ आएको बुझियो। जीपको पछाडि अन्य नेपाली पनि थिए। खासखुस गर्दै बोल्थे। भन्थे,
– त्यसको त ५० जति हुन्छ रे (सायद लाख–लाख रूपैयाँको कुरा हो कि ?)
– भाउ त यताभन्दा उतै आउँछ।
– हामीले सुन्ने रेडियोमा त्यो नहाल्ने हो भने रेडियो स्वाँ...गरेर सुसाउँदैन रे। रेडियो सुसाएपछि बल्ल त्यसले स्टेशन समात्छ रे। सबै रेडियो कम्पनीले त्यो हाल्छन् रे।
– होला पनि। हुन त त्यसको मुत पनि औषधि बन्छ रे।
– खुट्टा पनि एस्ट्रे बन्छ रे।
उनीहरू को थिए भन्ने त थाहा भएन। तर, के मेसो पाउन सकियो भने गैंडाको खागको कुरा गर्दै रहेछन्।
खागले उनीहरूमा जुन जिज्ञासा पैदा गरेको थियो त्यो आममानिसको चासो रहेछ। खागमा के तत्त्व हुन्छ ? के यो साँच्चै महँगो वस्तु हो ? के यसको चिकित्सा वा इन्जिनियरिङ प्रयोग हुन्छ ? विज्ञानले के भन्छ?
माथिका सबै जिज्ञासा खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका वैज्ञानिक जीवन रिजालसँग राखेँ। उनले भने, “विभिन्न भ्रमका कारण हाम्रा वन्यजन्तु मारिएका छन्। मान्छेको रौं र नङमा जुन तत्त्व पाइन्छ, खागमा पाइने तत्त्व पनि त्यही हो। यी सबैमा केराटिन भन्ने तत्त्व हुन्छ। रौं र नङ कुनै पनि औषधिमा प्रयोग हुँदैन। खाग पनि प्रयोग हुने कुरै भएन। खागलाई कडा खालको रौं वा नङको थुप्रो भन्दा फरक पर्दैन।”
वैज्ञानिक रिजालको परीक्षणशालामा सक्कलीभन्दा धेरै नक्कली खागहरू थिए। बरामद गरिएका खागलाई प्रहरीले सक्कली/नक्कली पत्ता लगाउन त्यहाँ पठाउने गरेको रहेछ। खाग सम्बन्धी ठूला भ्रमलाई विज्ञानको सत्य साधारणले चिर्दै उनले भनेका थिए, “विद्यालय तहदेखि नै विज्ञान र संरक्षणबारे सिकाउन सकियो भने वन्यजन्तु जोगाउन धेरै सजिलो पर्छ।”
उनको कुराले यस पंक्तिकारलाई अतीतमा फर्काइदियो।
२०४२ सालताका लेखकका हजुरबुवा बलभद्र खनाल पक्षाघातले थलिएका वेला कसैले भनिदियो, ‘गैंडाको पिसाब खाने हो भने प्यारालाइसिस स्यारालाइसिस चट्।’
नभन्दै हर्लिक्सको एउटा सिसीमा रू.१०० मा किनिएको झोल आइपुग्यो। जसलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा रहेको गैंडाको पिसाब हो भनिएको थियो।
केही समयपछि अर्का थरी समूह गाउँमा देखा परे। उनीहरूले हाम्रो गाउँमा गैंडा सम्बन्धी केही चिजबिज छन् कि भनेर सोधे। हाम्रो घरबाट लगिएको गैंडाको छालाको अर्घौतो केही दिनपछि फिर्ता दिँदै भनेका थिए, ‘यो काम लागेन। खगौतो चाहिने रहेछ, सक्कली ठहरियो भने जुटाइदिनेलाई पनि पैसा आउँछ।’
अर्घौतो पैतृक थियो, पितृलाई अर्घ दिन प्रयोग गरिँदै आएको।
...
अनुसन्धानमा खटिएका एक प्रहरीलाई सोधेको थिएँ, “खाग चोरीमा कस्ता खालका मान्छे हुन्छन् र चोरिएपछि खाग कहाँ जान्छ ?”
उतिवेलै प्रहरीले भनेका थिए, “औसत घटना हेर्दा गैंडा हत्यामा विपन्न समुदाय जोडिएको देखियो। त्यसभन्दा माथिल्लो तहमा पुग्न सकिएको छैन। पुगिहालियो भने पनि एक तह मात्र हो। चोरी तस्करीमा लाग्नेले बीचमा ‘ग्याप’ राख्दै काम गर्छन्। तस्करीमा जानेको सम्पर्क अह्राउनेसँग मात्रै देखियो। त्यसपछि फेरि ग्याप। नेपालबाट खाग तिब्बत हुँदै चीन र त्यहाँबाट अरब देशमा गएको भेटियो। प्रशस्त पैसा भएका त्यहाँका मान्छेले जे कुरा दुर्लभ छ, त्यो माग गर्दा रहेछन्। खागलाई चक्कु, तरबार वा कुनै विशेष वस्तुको बिँड बनाउन प्रयोग गरेको देखियो। सिङ्गै खाग घरमा राखेर पाहुनालाई देखाउने चलन पनि रहेछ।”
पंक्तिकार आफैंले गैंडाको छालाबाट बनेका ढाल र गैंडाको खुट्टा प्रयोग गरिएको एस्ट्रे नेपालका केही राणा परिवारमा देखेको थियो। उनीहरूले त्यस्ता वस्तु पैतृक भएको बताउँदै घर सजावटमा प्रयोग गरेका थिए।
...
लोकसेवा आयोगको तयारी कक्षा चलाउने संस्था र लोकसेवा दिने उम्मेदवारहरूको फेसबूकमा थुप्रै पेज छन्। तिनैमध्येको एउटा पेजमा सामान्य ज्ञानमा सोधिएको एउटा प्रश्न यस्तो भेटियो– ‘रिसाएको बेला रातो पसिना निकाल्ने जीव कुन हो?’
उत्तर दिने १५७ सहभागीमध्ये दुई जना बाहेक सबैले ‘गैंडा’ लेखेका छन्। एक जनाले प्रश्न गलत भएको र अर्कोले उत्तर थाहा नभएको उल्लेख गरेका छन्।
लोकसेवा परीक्षा दिने वा परीक्षाको तयारी गर्नेहरू कम्तीमा पनि प्लस टू पढेका होलान्। तिनले कुनै शंका नगरी सहजै प्रश्न स्विकारेको र उत्तर दिएको देख्दा के लाग्छ भने विज्ञान हाम्रो पाठ्यपुस्तकमा व्यावहारिक रूपमा घुसेकै रहेनछ। विद्यार्थीले ठीक वा बेठीक छुट्याउन, प्रश्नमाथि प्रश्न गर्न र तथ्य जाँच गर्न जानेकै रहेनछन्। मूर्ख प्रश्न र पटमूर्ख उत्तरबाट कस्तो खालको जनशक्ति हाम्रो कर्मचारीतन्त्रमा जाँदै छ भन्ने छनक दिन्छ। तिनमा केही अपवाद नहुने हैनन्।
...
भ्रम चिर्न राम्रा पत्रकारको उत्तिकै महत्त्व हुन्छ। तिनले दिने जानकारीले थुप्रैलाई अज्ञानताको अँध्यारोबाट उज्यालोमा फर्काउँछ। पत्रकार तथा लेखक ददि सापकोटा वन्यजन्तु सम्बन्धी लेख्ने राम्रा पत्रकारमा पर्छन्।
‘पंक्षी जगत’, ‘त्यो नेपाल’, ‘वनको वैभव’ जस्ता किताबका लेखक सापकोटाले वन्यजन्तु सम्बन्धी भ्रम र यथार्थ केलाउँदै भने, “गैंडाको पसिना सम्बन्धी कुरा भ्रम हो। यस्तै, वैज्ञानिक तवरले औषधिका रूपमा गैंडाको पिसाब प्रयोग भएको ठ्याक्कै थाहा छैन। हात्तीको पुच्छरको रौंको बाला बनाएर लगाउनुको पछाडि पनि भ्रमले नै काम गरेको छ। बच्चाको बोली फुट्ने, रक्षा हुने र आँखा नलाग्ने विश्वासमा र आफूलाई सम्पन्न देखाउन, अरूभन्दा विशेष हुँ भनेर जनाउन पनि त्यस्तो बाला लगाउँछन्। अनि खराब शक्तिले नछोओस् भनेर बाघको दाँत घाँटीमा झुन्ड्याउने चलन छ। मान्छेका गलत बुझाइ र अन्धविश्वासका कारण जनावरले दुःख पाएका छन्, शोषणमा परेका छन् र मारिएका छन्।”
...
संरक्षण कार्यमा जोडिँदा स्थानीयलाई प्रत्यक्ष लाभ हुने प्रणाली भए मात्र वन्यजन्तु जोगाउन सकिन्छ। किनभने वन्यजन्तुसँग सबैभन्दा नजिक उनीहरू नै हुन्छन्। वन्यजन्तुले पुर्याएको क्षतिको उचित क्षतिपूर्ति हुनुपर्छ। होइन भने आफ्ना घर, आँगन खेत र जंगल नजिकका जीवजन्तु पनि स्थानीयलाई ‘सरकारका’ लाग्छन्।
कुनै वेला राजदरबारबाट नामकरण गरिएका चितवनका ‘श्रुतिकली’, ‘दीपेन्द्रगज’, ‘वीरेन्द्रप्रसाद’ लाई स्थानीयले हाम्रा जनावर भनेर कति प्रतिशत स्वीकार गरे होलान् ? जीवजन्तु हाम्रा हुन् भन्ने कुरा जुन दिनदेखि स्थानीयको मनमा आउँछ, त्यही दिनदेखि धेरै हदसम्म ती जीव आफैं जोगिन्छन्।
...
मान्छेले जस्तो जुन वेला मन लाग्यो त्यही बेला र जति मन लाग्यो त्यति बालबच्चा जनावरले जन्माउँदैनन्। बासस्थान, खानपान, रहनसहन, बाह्य चहलपहल वा होहल्ला आदिले तिनको प्रजननलाई असर पुर्याउँछन्। पृथ्वीमा हाम्रो जति नै हक ती जीवजन्तुको पनि लाग्छ। प्राणीलाई मारेपछि कुनै हिसाबले त्यसको क्षतिपूर्ति हुँदैन। त्यसैले दुःख दिने जनावर मार्ने होइन, त्यसलाई व्यवस्थित गर्ने प्रयास गर्नुपर्छ।
...
वन्यजन्तुको संरक्षणमा राणा शासनकालको कानून पनि कठोर थियो। प्रधानमन्त्री जंगबहादुरको मुलुकी ऐनले गैंडालाई संरक्षण गर्न यो कुरा उल्लेख गरेको थियो– भवितव्यमा ज्यान मारन्याको महल– अबउप्रान्त जंगलमा सिकार खेल्न्याले, गैंडा कसैको नमार्नु, मारेछ भन्या गैडा मार्न्यालाई ५० रूपैयाँ दंड गर्नु, अर्काले मार भन्दा मार्याको ठहर्या अराउन्यालाई २५ र मारन्यालाई २५ रूपैयाँ दंड गर्नु।
राणा प्रधानमन्त्री जंगबहादुरको पालादेखि अहिलेसम्म पनि लालबहादुर, जंगबहादुर र लक्ष्मीकली र तिनका परिवारलाई जोगाउन उत्तिकै गाह्रो छ। त्यो खतरा अरू कसैबाट नभई हामी मानिसबाटै हो।
६ वर्षको अन्तरालमा यसपालि गैंडाको गणना देशका विभिन्न निकुञ्जमा ९ चैतमा शुरू भएको छ। यसअघि सन् २०१५ मा गैंडाको गणना गरिएको थियो। गैंडा गणनाको लागि चैत महीना उपयुक्त मानिन्छ। गत वर्ष गैंडा गणनाको तयारी गरिए पनि कोभिड–१९ संक्रमण रोकथामका लागि देशभर बन्दाबन्दी भएपछि स्थगित गरिएको थियो।
सन् २०१५ मा गरिएको गणना अनुसार, नेपालमा गैंडाको संख्या ६४५ पाइएको थियो। आशा गरौं, यस पटकको गणनाबाट हाम्रा प्रकृतिका साथीहरूको संख्या उकालो लागेको होस्।
...
जंगबहादुर राणा नेपालका राजाको दूत बनेर सन् १८५० मा बेलायत भ्रमणमा जाँदा बेलायती राजदरबारलाई उपहारमा गैंडाको खाग पनि दिएका थिए। कागजातमा भनिएको छ– ठुलो गैडा षाग–१, षगौता–१।
स्रोतः नेपालको इतिहासमा जंगबहादुर, लेखक डा. त्रिरत्न मानन्धर, मञ्जरी पब्लिकेशन, २०७७, पृष्ठ ७५
गैंडाको खागलाई काटकुट पारेर गोलो आकार बनाई औंठी लगाउने चलन नेपालमा १२० वर्ष अघि नै रहेछ भनेर अनुमान लगाउन सकिन्छ। ६ मे १९०१ (२४ वैशाख १९५८) मा छापिएको ‘गोर्षापत्र’ को अन्तिम पाना (पृष्ठ ८) मा भनिएको छ– खाग (गैडा को सिङ ) को अँगुठि, अर्घ इत्यादि सवैचिज यस्कर्खा नामा अरुभन्दा सस्तोर राम्रोपाइन्छ अरु कासि, कलकत्ता, वम्वइ,मथुरा, लखनऊ इत्यादि सहरमा छापियाको पुस्तक हरूपनि तललेखियाका ठेकानामा पाइन्छ. पं नरदेश, मोतिकृष्ण शर्मा, पशुपत–प्रेस, नेपाल (२४ वैशाख १९५८ मा प्रकाशित 'गोरखापत्र'को पहिलो अंकको विज्ञापनबाट)।
गैंडा एसिया र अफ्रिकामा मात्र पाइन्छ। यिनीहरू तीन करोड वर्षभन्दा पहिलेदेखि अनेकौं संघर्ष गर्दै अहिलेको अवस्थामा आइपुगेका हुन्। यतिका वर्षका गैंडाका थुप्रै जाति प्रजाति बाँच्नका लागि संघर्ष गर्न नसकेर पृथ्वीबाट लोप भइसकेका छन्।
आहाल बस्न मन पराउने र घाँस मुख्य आहारा भएका गैंडा ३ हजार ५०० किलो वजनसम्मका हुन्छन्। दृष्टि कमजोर हुने यिनीहरूले ३० मिटरभन्दा टाढाको वस्तु देख्न सक्दैनन्। तर, सुँघ्न सक्ने शक्ति भने बेजोड हुन्छ। यिनीहरू ध्वनिबाट र जमीनको पिसाब सुँघेर आफ्नो साथी कता छ भन्ने पत्ता लगाउँछन्। गैंडाले पिसाब गर्दा १६ फिट टाढासम्म फाल्छ। गैंडाले १० वटा फरक आवाज निकाल्न सक्छ।
स्रोत: डब्लूडब्लूएफ डट ओआरजी डट यूके
गैंडाका लागि अंग्रेजीमा प्रयोग हुने शब्द ‘राइनोसर्स’ ग्रीक भाषाबाट आएको हो। यसले एउटा मात्र बच्चा पाउँछ र बच्चा करीब चार वर्षसम्म आमासँगै हुन्छ। गैंडाको आयु ४० देखि ४५ वर्षसम्म हुन्छ। यिनीहरूको उचाइ ६ फिट ५ इन्चभन्दा कम नै पाइएको छ। लम्बाइ भने ३ देखि ४ मिटरसम्म हुन्छ। ५० प्रतिशत भाले र ३० प्रतिशत पोथी गैंडा जुधेरै मर्छन्।
स्रोतः मेन्टलफ्लोस
नेपाल र भारतमा पाइने गैंडाको खागको लम्बाइ ८ देखि ३९ इन्च लामो हुन्छ। खाग र खप्पर टाँसिएको जस्तो लागे पनि यी दुई जोडिएका हुँदैनन्। गैंडाले गर्भाधान भएको १५ देखि १६ महीनामा बच्चा पाउँछ।
स्रोतः लाइभ साइन्स