भारतीय जेलमा रहेका दीपकलाई भाइको जिम्मामा छाड्न आदेश, हरेक ६ महीनामा मानसिक स्थिति जानकारी दिनुपर्ने
भारतको कोलकाता उच्च अदालतले ट्रायलविना नै ४० वर्षदेखि जेलमा थुनिएका नेपाली नागरिक दीपक जोशीलाई भाइ प्रकाशको जिम्मामा छाड्न आदेश दिएको छ।
कोलकाता उच्च अदालतका मुख्य न्यायाधीश थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले जोशीलाई थुनामुक्त गर्ने आदेश गरेका हुन्। उक्त मुद्दाको सुनुवाइ सोमबार सकिएपछि बुधबार अदालतले दीपकलाई छाड्न आदेश गरेको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका कन्सुलर जनरल ईश्वर पौडेलले जानकारी दिए।
अदालतले दीपकलाई उनका भाइ प्रकाशको जिम्मा लगाउन आदेश दिएको छ। दीपकको काकाका छोरा प्रकाश इलाममा बस्दै आएका छन्। उनी कोलकाता पुगेर उच्च अदालतका रजिस्ट्रारसमक्ष एउटा शर्तनामा गरेपछि दीपकको जिम्मा लिन पाउनेछन्।
हरेक ६ महीनामा दीपकको मानसिक स्थितिबारे प्रकाशले कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ। र, महावाणिज्य दूतावासले त्यसको जानकारी अदालतलाई दिनुपर्नेछ।
दीपक सन् १९८० मा भारतको दार्जलिङमा पक्राउ परेपछि उनको मानसिक स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसपछि मानसिक अवस्था ठीक नभएको भन्दै ट्रायल अघि बढाइएको थिएन। ट्रायल अघि नबढे पनि विभिन्न भारतीय जेलमा स्थानान्तरण हुँदै आएका दीपक पछिल्लो १५ वर्षयता कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’मा थिए।
दीपक भारतका विभिन्न जेलमा ट्रायलविना नै कैदी जीवन बिताउँदै आएको समाचार हिमालखबरमा सार्वजनिक भएपछि भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास र कोलकातास्थित महावाणिज्य दूतावासले उद्धारको पहल गरेका थिए।
कोलकाता विश्वविद्यालयको विज्ञान संकायका प्राध्यापकहरूद्वारा दीपकको मानसिक स्थिति जाँच गरिएको थियो। उक्त विद्यालयका प्राध्यापकहरूले दीपकको अहिलेको अवस्था ९ वर्ष ९ महीनाको बालकको जस्तो भएको प्रतिवेदन दिएपछि अदालत उनलाई छाड्ने निष्कर्षमा पुगेको हो।
दीपकको परिवार इलामको माई नगरपालिका वडा नं. १० को लुम्बाक गाउँमा बस्दै आएकाे छ। इलाममा दीपकको परिवारसँग सम्पर्क भएपछि उनका परिवारका तीन सदस्य उद्धारको पहल गर्न कोलकाता पुगेका थिए। कोलकाता पुगेर २७ फागुनको सुनवाइपछि नेपाल फर्किएका उनीहरूलाई पुनः कोलकाता झिकाउने पहल भइरहेको कन्सुलर जनक पौड्यालले जानकारी दिए।
“दीपकलाई दमदम करेक्सनल होममा निरन्तर थुनामा राखेर न्यायको कुनै उद्देश्य पूरा हुनेछ भन्ने हामीलाई लाग्दैन। भारतीय संविधानले दिएको अधिकार र सर्वोच्च अदालतका निर्देशनहरू अनुसार हामी दीपकलाई रिहा गर्ने आदेश दिन्छौं,” न्यायाधीशद्वयले आदेशमा लेखेका छन्।
उक्त आदेशमा दीपकलाई अझै पनि थुनामा राख्नु वा पुनः ट्रायल शुरू गर्नुको कुनै अर्थ नभएको पनि उल्लेख गरिएको छ। कोलकता उच्च अदालतले त्यहाँका रजिस्ट्रार जनरललाई दीपकका भाइ प्रकाशले शर्तनामा गर्नेबित्तिकै उनलाई रिहा गर्न भनेको छ।
कोलकता उच्च अदालतकाे फैसला :