इलाममा पत्ता लाग्यो ४० वर्षदेखि भारतीय जेलमा रहेका दीपकको परिवार, हुँदैछ उद्धारको पहल
सन् १९८० देखि भारतका विभिन्न जेलमा कैदी जीवनयापन गरिरहेका दीपक जैसीको परिवार इलाममा बसोबास गर्दै आएको पत्ता लागेको छ। 'ट्रायल' विना नै दशकौंदेखि कैदी जीवन बिताइरहेका उनलाई छुटाउने पहल पनि सँगसँगै भइरहेको छ।
पूर्वी नेपालसँग सीमा जोडिएको दार्जीलिङमा सन् १९८० मा पक्राउ परेयता जेलजीवन बिताउँदै आएका दीपक जैसीको परिवार इलाममा रहेको खुलेको छ। पछिल्लो १५ वर्षदेखि कोलकातास्थित 'दमदम सेन्ट्रल करेक्सनल होम' मा रहेका उनको परिवार भने इलामको माई नगरपालिका वडा नं. १० को लुम्बाक गाउँमा बस्दै आएका छन्। हिमालखबरसँग सम्पर्कमा आएका उनका परिवारका सदस्यले दीपक २०३८ सालदेखि हराइरहेको पुष्टि गरे। खास नाम डुप्तप्रसाद तिम्सिना (जैसी) भएका उनलाई डुपट भनिंदा भनिंदै दीपक नाम रहन गएको खुल्न आएको छ।
दीपकको घरमा अहिले ८१ वर्षकी आमा धनमाया, दुई जना भाइ र एक बहिनी छन्। एक जना दिदीको पहिले नै बिहे भइसकेको थियो भने दीपकका बाबु चम्पाखर तिम्सिनाको पहिले नै मृत्यु भइसकेको छ। दीपकका भान्जा पर्ने दिलनाथ फुयाँल महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका क्याम्पस प्रमुख छन्।
दीपकको घरमा अहिले ८१ वर्षकी आमा धनमाया, दुई जना भाइ र एक बहिनी छन्। एक जना दिदीको पहिले नै बिहे भइसकेको थियो भने दीपकका बाबु चम्पाखर तिम्सिनाको पहिले नै मृत्यु भइसकेको छ। दीपकका भान्जा पर्ने दिलनाथ फुयाँल महेन्द्ररत्न बहुमुखी क्याम्पस इलामका क्याम्पस प्रमुख छन्।
फुयाँलले दीपक कोलकातास्थित जेलमा रहेको कुरा सुनेपछि आफूहरू उनलाई भेट्न जाने तयारी गरिरहँदा बन्दाबन्दी लागू भएकाले समस्या आएको बताए। २०६५ सालतिर पीएचडी अध्ययन गर्न कोलकाता नै पुगेका फुयाँलले त्यहीबेला आफ्ना मामा पर्ने दीपक कुनै जेलमा बन्दी रहेको सुनेका रहेछन्।
त्यसपछि आफूले त्यहाँको आसपासका जेलमा सोधीखोजी पनि गरेको तर केही पत्ता लगाउन नसकेको उनले बताए। "तर, २०७६ को अन्तिमतिर दार्जीलिङका एक जना वकिल गुन्जन शेर्पाले दीपक कोलकाताको कारागारमा रहेको थाहा पाएर हामीलाई खोज्दै आउनुभएको थियो, हामी उहाँलाई भेट्न जाने तयारी गर्दागर्दै लकडाउनका कारण रोकिनुपरेको थियो। अब उद्धारका लागि पहल भइरहेको थाहा पाउँदा खुशी लागेको छ", फुयाँलले हिमालखबरसँग भने।
दीपकको परिवारको मूल बसोबास इलामकै तत्कालीन फाकफोक गाविसको साप्तिनस्थित कोल्बोटोमा रहेछ। त्यहाँबाट तत्कालीन एकतप्पा गाविसको खबुँवामा सरेका थिए। परिवारको बसोबास यही ठाउँमा हुँदै दीपक घरबाट हिंडेका थिए। त्यसपछि उनी दार्जीलिङमा पक्राउ परेर जेल परे। त्यसको पाँच वर्षपछि २०४३ सालमा दीपकको परिवार चिसापानी गाविस-७, लुम्बाकमा (हालको माई नपा-१०) बसाइँ सरेछन्। पछिल्लो बसाइँसराइबारे थाहा नपाएका दीपकले एकतप्पाकै आफ्नो ठेगाना दिएपछि उनको परिवारको पहिचानमा ढिलाइ भएको थियो।
काठमाडौं र कोलकाताबाट उनको परिवारको पहिचानको प्रयास गरिरहेका व्यक्तिहरूका लागि इलाममा सम्पर्क व्यक्तिको रूपमा लेखक केदार शर्माले भूमिका खेले। उनकै प्रयासबाट दीपकको परिवारको सम्पर्कमा पुगेको हिमालखबरसँग दीपकका भाइ नाता पर्ने प्रकाश तिम्सिनाले आफूहरूले व्यग्रतापूर्वक दाइको प्रतीक्षा गरिरहेको बताए।
दीपकसँग कारागारमा पुगेर कुराकानी गरेका कोलकाताका कानूनव्यवसायी हिरक सिंहका अनुसार उनी ज्यान मुद्दामा पक्राउ परेको खुलेको छ। तर, कोलकातास्थित दमदम सेन्ट्रल करेक्सनल होममा केही समय अघि आगलागी भएका कारण त्यहाँ कुनै कागजात भेटिएका छैनन्। कानून व्यवसायी सिंहले दार्जीलिङस्थित अदालतबाट कागजपत्र मगाउने प्रक्रियामा रहेको बताए।
अदालती सुनुवाइ विना नै दीपकलाई ४० वर्षदेखि थुनामा राखिएको आशंकामा बन्दी प्रत्यक्षीकरणको निवेदनमार्फत छुटाउने प्रयास पनि भइरहेको छ। दीपकलाई थुनामुक्त गराउन पहल थालेको ‘वेस्ट बंगाल रेडियो क्लब' पदाधिकारीसमेत रहेका कोलकाताका कानून व्यवसायी हिरक सिंहले दीपकलाई उच्च अदालतमा पुर्याउने प्रयास गरिरहेको हिमालखबरलाई बताए। 'दमदम सेन्ट्रल करेक्सनल होम' मा पुगेर दुईपटक दीपकलाई भेटिसकेका उनैले दीपकको कानून व्यवसायीको रूपमा काम गर्न वकालत नामा पाइसकेका छन्। कोलकातास्थित महावाणिज्य दूतावासले पनि दीपकको रिहाइको पहल गरिरहेको कन्सुलर जनरल ईश्वरराज पौडेलले हिमालखबरलाई बताए।
"दीपकबारे समाचार सार्वजनिक हुँदा म नेपालमै थिएँ, त्यसपछि कोलकाता आएपछि नियमितजसो यो 'केस' लाई फलो गरिराखेको छु। जेलरसँग पनि कुराकानी भइरहेको छ। दीपकसँग भेटका लागि अनुरोध पत्र पठाएका छौं" पौडेलले भने, "रिहा गर्न सकिएछ भने नेपालसम्म पुर्याउने तयारी गरेका छौं। परिवारका सदस्यको खोजी गर्ने तथा केही गरी परिवारका सदस्यहरू भेटिएनन् भने पनि नेपालमा दीपकको सुरक्षित र मर्यादित बसाइँ सुनिश्चित गराउन समन्वय गरिरहेका छौं।"
दीपकसँग कारागारमा पुगेर कुराकानी गरेका कोलकाताका कानून व्यवसायी हिरक सिंहका अनुसार उनी ज्यान मुद्दामा पक्राउ परेको खुलेको छ। तर, कोलकातास्थित दमदम सेन्ट्रल करेक्सनल होममा केही समय अघि आगलागी भएका कारण त्यहाँ कुनै कागजात भेटिएका छैनन्। कानून व्यवसायी सिंहले दार्जीलिङस्थित अदालतबाट कागजपत्र मगाउने प्रक्रियामा रहेको बताए। उनले अभियुक्तका कानून व्यवसायी र परिवारका सदस्य पनि नभएको अवस्थामा मानसिक अवस्था ठीक नभएको व्यक्तिको 'ट्रायल' नहुने र उपचारपश्चात अवस्था ठीक भएपछि मात्रै ट्रायल गरिने कारणले आजसम्म ट्रायल नभएको हुनसक्ने बताए। पक्राउ परेयता नै दीपक मानिसक रूपमा अस्वस्थ रहेकाले उनको ट्रायल हुन नसकेको कानून व्यवसायी सिंह बताउँछन्। "दार्जीलिङबाट कागजात आइसकेपछि त्यसको अध्ययन गरेर हामीले दीपकको केस उच्च अदालतमा पुर्याउँछौं", हिरकले कोलकाताबाट टेलिफोनमा बताए।
कन्सुलर जनरल पौडेलले पनि आफूले त्यही एउटा कानूनी व्यवस्थालाई दीपकको हकमा 'सिल्भर लाइन' को रूपमा देखेको बताए। "ट्रायल भएर सजाय ठहर भएको रहेछ भने त हामीले केही गर्न सक्ने अवस्था आउँदैन" पौडेलले भने, "अहिलेसम्म ट्रायल नभइकनै ४० वर्षदेखि थुनामा रहेको कुरा आएकैले छुटाउन सकिन्छ कि भनेर लागेका छौं। अदालतले छोड्न भनेपछि मात्र कारागारमुक्त हुने हो। ट्रायल नभएको देखेमा अदालतले बन्दीप्रत्यक्षीकरणमा छाड्न सक्छ।"