राज्य विस्तारमा कहाँ पुगेनन् मगर सेना ?
नेपालको राज्य विस्तार अभियानमा गोरखाली राजा नरभूपाल शाहको समयदेखि नै सेना नायकत्वदेखि फौजसम्ममा मगर सेनाको सहभागिता थियो, जसले पूर्वमा टिस्टादेखि पश्चिममा काँगडासम्म रगत सिञ्चित गरेको थियो ।
गोरखाली राजामध्ये राज्य विस्तार अभियानको पहिलो प्रयत्न राजा नरभूपाल शाहको समयमा भएको थियो । उनले कान्तिपुर अधीनस्थ नुवाकोटलाई गोरखामा गाभ्न चाहेका थिए । यसका लागि उनले नुवाकोट आक्रमणका लागि काजी महेश्वर पन्थ र सरदार जयन्त रानाको सैन्य नेतृत्वमा गोरखाली सेना खटाएका थिए । तर, गोरखालीलाई सफलता मिलेन । उनीहरूले त्रिशूलीको काठे साँघु जलाएर आफ्नो सैनिक फर्काए ।
गोरखाली सेनालाई नुवाकोट रमाना गराएर नरभूपाल शाह भने इष्टदेवीको पुरश्चरण तथा पूजाआजामा व्यस्त थिए । महेश्वर पन्थ पहिल्यै पुगेर हार्नुको कारण मगरहरूको सुस्ती भएको बताएर चुक्ली लगाइदिएका थिए । जसका कारण जयन्त राना गोरखा पुग्दानपुग्दै पदच्यूत भइसकेका थिए । त्यसपछि विरक्तिएका जयन्त गोरखाबाट पलायन भई नुवाकोटको दक्षिण–पूर्वको कोटगाउँमा घरबास गरी बस्न लागे (बाबुराम आचार्य, ‘श्री बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’ २०६१ः७४)।
आफ्नो बुवाले थालेको राज्य विस्तार अभियान असफल भए तापनि पृथ्वीनारायण शाहले गद्दीमा बसेको एक वर्षपछि त्यसलाई निरन्तरता दिए । ‘भाषा वंशावली’ मा उल्लेख भए अनुसार, उनको राज्याभिषेक सकिएपछि विराज थापा (मगर) लाई मुख्तियार बनाई नुवाकोट आक्रमणका लागि पठाइए तापनि गोरखाली फौज त्रिशूली नदी तर्न नसकी खिन्च्यातमा बस्यो । जसका कारण विराज थापालाई बर्खास्त गरी महेश्वर पन्थलाई मुख्तियारी दिइयो । उनी नुवाकोटमाथि आक्रमण गर्न अगाडि त बढे, तर उपत्यकाका तीन राज्य मिलेर प्रत्याक्रमण हुँदा गोरखाली सेनाको लस्कर त्रिशूलीको साँघु पोलेर फिर्ता आयो (आचार्य, उहीः १२३–१२४)।
यद्यपि नुवाकोट कब्जा गर्ने पृथ्वीनारायणको दोस्रो अभियान भने सफल भयो । त्यसबेला गोरखाबाट पलायन भई नुवाकोट बसेका पूर्व गोरखाली सरदार जयन्त राना त्यहाँको उमराव भइबसेका थिए । उनलाई आफूसित मिल्न आउन पृथ्वीनारायणले आमन्त्रण गरे । तर जयन्तले आफूले ‘जयप्रकाश मल्लको नून खाइसकेकाले नूनको गुन छाडेर आउन सक्दिनँ’ भन्ने जवाफ पठाए ।
नुवाकोटमा गोरखालीले आक्रमण गर्ने अन्तिम सुरसार कसेको देखेर हतासिएका जयन्त कान्तिपुरमा गुहार माग्न गए । जयन्तका छोरा शंखमणि रानाले २५० जति सैनिकको नेतृत्व गरेर नुवाकोटको सुरक्षा गरिरहेका थिए । गोरखालीले साइतको दिन पारेर नुवाकोट आक्रमण गरे । पृथ्वीनारायण शाहका साहिँला भाइ दलमर्दन शाहको तरबार प्रहारबाट शंखमणि ढले । गोरखाली सेनाले विजयोत्सव मनाए।
आफूले भने अनुसार आफ्नो शरणमा नआउने जयन्त रानालाई बेलकोटमा आक्रमण गरी नुवाकोट ल्याएर जिउँदै छाला काढेर मारियो (आचार्य, उही : १६५–१६७)। गोरखालीले १५ असोज १८०१ मा नुवाकोटमाथि विजय प्राप्त गरेका हुन् (आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क २७ (२०२९ आश्विन) : १६४)।
नुवाकोट आक्रमणमा गोरखालीका तर्फबाट देवु राना, जसवन्त राना, नरकेश्वर थापा ग्रान्जी, नरवीर आले, सक्रजित थापा, सुगेत राना, मानसिंह आले, रुद्रदेव थापा पुलामी लगायत मगर सैनिकहरू खटिएका थिए (प्राचीन नेपाल, संख्या २१ (२०२९ कात्तिक) : २७)।
मगर सेनाः पूर्वमा टिस्टासम्म
कुनै बेला नेपालको पूर्वको साँध टिस्टा नदीसम्म कायम भएको थियो । हालको साँध मेचीपारिको दार्जिलिङ समेत दखल गरी टिस्टासम्म नेपालको साँध पुर्याउने गोरखाली सेनाको नायकत्व देवदत्त थापा मगरले गरेका थिए ।
चीन र तिब्बतसँग नेपालको युद्ध भइरहेको बेला वि.सं. १८४८ मा लिम्बूहरूले सिक्किमी र लेप्चा फौजसँग मिलेर चैनपुरमा ठूलो विद्रोह गरेका थिए । त्यहाँ खटिरहेका गोरखाली हाकिमहरू सरदार बदलसिंह बस्नेत तथा सुब्बा पूर्ण पाध्याले त्यो विद्रोह सामना गर्न नसकेपछि बहादुर शाहले काठमाडौँबाट देवदत्त थापाका साथ एक हजार सैनिक लिम्बूवानतिर पठाए । गोरखाली सेनाले सिद्धपोखरीमा घेरा दिई विद्रोह दमन मात्र गरेन, देवदत्त नेतृत्वको फौज दार्जिलिङ समेत दखल गरी टिस्टा नदीसम्म पुग्यो (बाबुराम आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क ६३ (२०४१ चैत) : १३)।
चीन र तिब्बतको युद्धमा मगरहरू
बालक लामाका संरक्षकले धनमालको बुझारथ गर्दा मठको सारा धनमाल स्याम्हर्पा लामाले लुकाई राखेको ठहर्याएर चीन र तिब्बत प्रशासनले उनलाई पक्राउ गरी थुनामा राख्यो । उनी उम्केर वि.सं. १८४४ को साउनमा केरुङ आई नेपाल सरकारसित शरण मागे । रणजित पाँडे उनलाई लिन गए, बहादुर शाहले उनलाई काठमाडौँमा शरण दिए (आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क ६० (२०४१ माघ) : ४१–४२)।
काठमाडौँमा स्याम्हर्पालाई शरण मात्रै दिइएन, वि.सं. १८४५ मा जागिर पनि दिइएको थियो । उनलाई १२ खेत जागिर दिइएको थियो (महेशराज पन्त, ‘पूर्णिमा’ पूर्णाङ्क ७७ (२०४७) : २० ।
इतिहासकार पन्तले प्रकाशमा ल्याएको उनको जागिरसम्बन्धी रुक्कामा उल्लिखित ब्यहोरा यस्तो छ :
स्वस्तिश्रीमन्महाराजा कस्यरुक्का....
आगे स्यमार्पा लामाके. रंजै अधिकारीको षयल महांकाल थुम षेत् १२ बर्ह सेरोफेरोसमेत् जागिज बक्स्यौं. जागिर जानी भोग्य गर.
इं संवत १८४५ साल आषाढ वदि ८ रोज ६ मुकाम कांतिपुर शुभम्...
राज्य विस्तार अभियानमा पछिल्लो समय पश्चिमी सैन्य नेतृत्व गरेका बडाकाजी अमरसिंह थापा काँगडा क्षेत्रमा सक्रिय थिए । नेपाली सेनाले पश्चिम हान्दा मन्दाकिनी गढमा सिसराम र दलवीर राना खटिएका थिए । खेडाघाटमा ठूलो आड गरी दलवीर राना बसेका थिए । पछि नेपाली फौज गुरुद्वार फिर्ता भयो। धामागढीको युद्धमा नेपाली पक्षको जित भए पनि प्रीतम शाह र दलवीर राना पक्राउ परे । पक्राउ परेको अवस्थामै दलवीर रानालाई शत्रु सेनाले मारिदिए ।
यो युद्धको समय डिगर्चा कब्जाका लागि दामोदर पाँडेका साथ दोलखाबाट सैन्य शक्ति लिएर देवदत्त थापा कुतीमा उत्रेका थिए । त्यहाँबाट उनीहरू डिगर्चा पुग्दा त्यहाँको मठमा रहेका लामाहरूसित नेपालले अघिल्लो सन्धि अनुसार उठाउन बाँकी डेढ लाख रुपैयाँ मागे । तर लामाहरूले ५० हजार मात्र दिए । बाँकी एक लाखको बदलामा ५ सय धार्नी बुके सुन माग्दा त्यहाँका लामाहरू पलायन भए । पर्खँदा पनि केही नलागेपछि गोरखाली फौजले डिगर्चा छाड्यो र उनीहरू काठमाडौँ आए (आचार्य, उहीः १२–१३)।
नेपालीहरूले मठमा लुट मच्चाएको भन्दै स्याम्हर्पा लामालाई आफूहरूसमक्ष बुझाउनुपर्ने मागका साथ चिनियाँ तिब्बती सेना नेपालसँग युद्ध गर्न तयार मात्र भएन, केरुङको बाटो हुँदै नेपालको सिमाना नाघेर आयो । छालाको तोपसमेत लिएर आएका उनीहरूले आक्रमण गरेपछि नेपाली सेना हच्कियो । उनीहरूको तोप गोला प्रहारबाट नेपाली पक्षका भास्कर रानासहित दुई सुबेदारसहित ४५ जना मारिएपछि दामोदर पाँडेले आफ्नो सेना पछाडि हटाए । चिनियाँ तिब्बती सेना धैवुङमा अडिँदा सन्धिपत्र बोकी त्यहाँ गएका रणजित पाँडेलाई उल्टै पक्राउ गरेर राखे ।
चिनियाँ तिब्बती फौजको चाल बुझेर बहादुर शाहले युद्ध नजिती नहुने निष्कर्ष निकाले । उनले ९ हजार संख्यामा सैनिक जम्मा गरे । शत्रु सेना भने बेत्रावती तर्नै लागेको थियो । धैवुङलाई राम्रोसित अवलोकन गर्न सकिने ठाउँ नुवाकोटगढीमा बहादुर शाह सैन्य परिचालन गर्न बसे । बेत्रावतीको साँघु नाघेर तीन मुख गरी चिनियाँ तिब्बती सेना अगाडि बढ्दा बहादुर शाहले तीन क्षेत्रबाट आफ्ना सेना परिचालन गरे । दामोदर पाँडे र प्रबल राना चोक्देमा, श्रीकृष्ण शाह र बम शाह लच्याङमा र कीर्तिमानसिंह बस्नेत र देवदत्त थापा गेर्खुमा बसे।
स्थानीय भूगोलबारे अपरिचित चिनियाँ तिब्बती सेनालाई तीन क्षेत्रबाट नेपाली सेनाले दपेटे । शत्रुसेनाको ठूलो क्षति भएपछि उनीहरू सन्धि गर्न बाध्य भए । सन्धिपत्रमा हस्ताक्षर भएपछि धैवुङमा बहादुर सेनाले चिनियाँ तिब्बती सेनालाई भोज खुवाए (आचार्य, उहीः १५–१७)।
८ भदौ १८४९ मा सम्पन्न यो सन्धिपछि हरेक पाँच वर्षमा सौगातसहित खलितापत्र लिएर नेपाली दूतमण्डल चीनको राजधानी जाने सहमति अनुसार देवदत्त थापा र प्रतिमन राना त्यहाँका लागि रमाना भए (‘प्राचीन नेपाल’ सङ्ख्या २४ (२०३० साउन) : ३)।
काँगडाको मोर्चामा मगर सेना
राज्य विस्तार अभियानमा पछिल्लो समय पश्चिमी सैन्य नेतृत्व गरेका बडाकाजी अमरसिंह थापा काँगडा क्षेत्रमा सक्रिय थिए । नेपाली सेनाले पश्चिम हान्दा मन्दाकिनी गढमा सिसराम र दलवीर राना खटिएका थिए । खेडाघाटमा ठूलो आड गरी दलवीर राना बसेका थिए । पछि नेपाली फौज गुरुद्वार फिर्ता भयो ।
धामागढीको युद्धमा नेपाली पक्षको जित भए पनि प्रीतम शाह र दलवीर राना पक्राउ परे । पक्राउ परेको अवस्थामै दलवीर रानालाई शत्रु सेनाले मारिदिए । मालकाँगडामा युद्ध हुँदा सहयोगका लागि दलभञ्जन पाँडे र अमृतसिंह थापाका साथ सरदार शमशेर राना पनि सहभागी थिए । त्यहाँ बाह्र ठकुराईले विद्रोह गर्दा शमशेर राना पाँच–सात कम्पनी लिएर गुहारका लागि पुगे, जसका क्रममा उनले शत्रु पक्षका हजार-बाह्र सय सैनिकको क्षति गराएका थिए (‘प्राचीन नेपाल’ सङ्ख्या २४ (२०३० साउन) : ११–१४)।
यसअघि जुम्ला कब्जा गर्न जाँदा पनि त्यो अभियानमा सरदार प्रबल राना शिवनारायण खत्रीका साथ सक्रिय थिए । त्यो अभियानमा पहाडको बाटोबाट जाँदा जाजरकोट, विलासपुर, दुल्लुका रियासतले छेक्ने सम्भावना भएकाले हिमाली क्षेत्रको विकट बाटो पक्रेर यी काजी सरदारहरूले दुई कम्पनी सैनिक जुम्ला उतारेका थिए । तिव्रीकोटमा यिनीहरू केही दिन अडिँदा जुम्लाको राजधानी छिनासिममा जुम्लीहरूको ठूलो संख्यामा झाराका सैनिक जम्मा भएका थिए । तर, तत्कालै दशैँ परेकाले यिनीहरूको फौजको संख्या घट्दै गएपछि चार दिनको बाटो गरेर छिनासिममा आक्रमण गर्दा त्यहाँका राजा चक्रसुदर्शन शाही र उनका काका शोभन शाही हुम्लातिर भागे (आचार्य, ‘पूर्णिमा’ पूर्णाङ्क ६१ (२०४१ फागुन) : २५ )।
यसरी वि.संं. १८४४ असोजको महानवमीमा जुम्लालाई नेपालमा गाभ्दा एक मगर सैनिक सरदार प्रबल रानाले पनि सेना नायकत्व गरेको देखिन्छ ।
मगर सेनाबाट बहादुर शाह पक्राउ
राजदरबारको खेलचुक्लीमा परी काजी सर्वजित राना मारिए । उनी प्रतापसिंह शाहको समयदेखि नै राजेन्द्रलक्ष्मीका विश्वसनीय काजी थिए । उनलाई बालक राजा रणबहादुर शाहकी नायब राजमाता राजेन्द्रलक्ष्मीसँग करणी बिराएको बात लाग्यो। वि.सं. १८३५ को भदौमा आफ्ना काका दलजित शाह र श्रीहर्ष पन्थको सहयोगमा आठपहरियाहरूलाई घेर्न लगाई सर्वजित राना र उनका अनुयायीहरूलाई कुमारीघरको छिँडीमा लगेर बहादुर शाहले कटाइदिए । राजेन्द्रलक्ष्मीलाई चाँदीको नेल ठोकेर थुनामा राखियोे । बहादुर शाह सर्वेसर्वा भए।
गोरखामा पुगेर बहादुर शाहले आफ्ना अनुकूलका भारदार भर्ना गरेका हुनाले राजेन्द्रलक्ष्मी भित्रभित्रै जलेकी थिइन् । आफ्नो कुटिल स्वभाव अनुसार उनी मनको भाव दबाएरै बसेकी थिइन् । रोगका कारण हावापानी बदल्न गोरखा दरबारमा रहेकी उनी त्यहाँबाट काठमाडौँ आइन् । गोरखाबाट दामोदर पाँडे नहिँडेसम्म चुपचाप बसिन् । त्यहाँबाट पाँडे रमाना भएको खबर पाउनासाथ रणबहादुर शाहका अंगरक्षक सैनिक दलका अफिसर बन्धु रानालाई गुप्त रूपमा आदेश दिएर बहादुर शाहलाई राजभवनभित्रै पक्राउ गराइन् ।
तर राजेन्द्रलक्ष्मी अनेक जुक्तिले पुनः शक्तिमा आइन् । उनले आफ्ना विपक्षीमध्ये कतिलाई देश निकाला गरिन्, कतिलाई हात्तीले कुल्चाएर मार्न लगाइन् । बहादुर शाहद्वारा मारिएका सर्वजित रानाका वंशज बन्धु राना र देवदत्त थापालाई काजी बनाइन् (ज्ञानमणि नेपाल, ‘नेपालको महाभारत’ (२०५२) : १९–२०)।
गोरखामा पुगेर बहादुर शाहले आफ्ना अनुकूलका भारदार भर्ना गरेका हुनाले राजेन्द्रलक्ष्मी भित्रभित्रै जलेकी थिइन् । आफ्नो कुटिल स्वभाव अनुसार उनी मनको भाव दबाएरै बसेकी थिइन् । रोगका कारण हावापानी बदल्न गोरखा दरबारमा रहेकी उनी त्यहाँबाट काठमाडौँ आइन् । गोरखाबाट दामोदर पाँडे नहिँडेसम्म चुपचाप बसिन् । त्यहाँबाट पाँडे रमाना भएको खबर पाउनासाथ रणबहादुर शाहका अंगरक्षक सैनिक दलका अफिसर बन्धु रानालाई गुप्त रूपमा आदेश दिएर बहादुर शाहलाई राजभवनभित्रै पक्राउ गराइन् । उनले बहादुर शाहलाई ‘मुगलान गएर बस्नू’ भन्ने आदेश दिइन् । तर, वर्षादमा तराईमा औलो लाग्ने हुँदा दलमर्दन शाहको सिफारिशमा वर्षादभर फर्पिङमा नजरबन्दमा बसी हिउँद लागेपछि मुगलान जाने अनुमति दिएकी थिइन् ।
नेपाली सेनामा मगर पल्टन
नेपालमा हाल जातिगत रूपमा मगर, गुरुङ, किराती र तराई मधेश गरी चार जातिका लागि पाँच पल्टन सक्रिय छन्।
आधुनिक नेपालको सैनिक इतिहास वि.सं. १८१९ बाट थालनी भएको हो । पृथ्वीनारायण शाहले वि.सं. १८१९ मा ‘श्रीनाथ’ र ‘कालीबक्स’ पल्टन खडा गरे । त्यसै वर्ष थप तीन पल्टन ‘बर्दबहादुर’, ‘सबुज’ र ‘पुरानो गोरख’ थपिएर पाँच पल्टन गठन भइसकेको थियो । यिनै पाँच पल्टनलाई पृथ्वीनारायणले आफ्नो विजय अभियानमा सरिक गराएका थिए (भवेश्वर पंगेनी, ‘नेपालको सैनिक इतिहास सुन्दरीजल जङ्गी मेगेजिन अड्डा’ (२०६८) : १८–२१)।
तत्कालीन नेपाल सरकारले नेपालका युवाशक्तिलाई विदेशिनबाट रोक्न समावेशी अंगका रूपमा खडा भइसकेका पल्टनहरूलाई जातीय पल्टनका रूपमा परिणत गर्यो । यसै क्रममा वि.सं. १८१९ मा गठन भएको पुरानो गोरख गणलाई १६ पुस १८४२ र भवानी दललाई १३ भदौ १८४२ मा मगर पल्टनका रूपमा परिणत गरियो । नेपाल–तिब्बत युद्धपछि कालीबहादुर गणलाई गुरुङ पल्टन बनाइयो ।
तर, २८ जेठ २०६३ देखि ‘रिपुमर्दन गण’ किरात मूलका व्यक्तिहरु र ‘नयाँ सवुज गण’ मा मधेशी तथा तराई मूलका व्यक्तिहरूलाई सम्मिलित गराउन थालिएको छ (बस्न्यात, डा. प्रेमसिंह ‘नेपाली सेना लिगलिगकोटदेखि वर्तमानसम्म’ (२०७१) : ९९–१००)।
यी प्रसंगबाट नेपालको राज्य विस्तार अभियानमा योद्धाका रूपमा धेरै ठाउँमा मगर सेनाले मिहिनेत गरेका रहेछन् भन्ने स्पष्ट हुन आउँछ।