मेचे कन्यासँग जंगबहादुर राणाको प्रेम !
हर्बट होप रिस्लेले १९४९ सालताका लेखेको एक पुस्तकमा जंगबहादुर राणाले मेचे कन्यासँग प्रेमविवाह गरेकै कारण जंगबहादुरकै आदेशले मेचे जातिले छुवाछुतबाट मुक्ति पाएको तर्क गरेका छन्। तर, ती मेचे कन्या को थिइन्? अहिलेसम्म अज्ञात छ।
पूर्वी नेपालको सिमा बनेर मेची नदी बगिरहेकी छन्। यसै नदी छेउछाउ बस्ने एक आदिवासी समुदाय छ, जसलाई ‘मेचे’ भनेर चिनिन्छ।
पूर्वी नेपालको तराई खण्डमा आवाद भएर रहेका मेचे, कोचे (राजवंशी), धिमाल र सतार (सन्थाल) एकअर्कामा नजिक जस्तै लाग्छन्।
‘म्लेच्छ’, ‘मेच’ हुँदै ‘मेचे’ शब्द बनेको हो कि भन्ने अनुमान पनि छ।
आर्यहरुले अनार्यहरुलाई ‘म्लेच्छ’ भन्छन्। नेपाली बृहत् शब्दकोश (२०७७ः१०६२) मा म्लेच्छ शब्दको अर्थ संस्कृत नबोल्ने (जाति), अनार्य जाति आदि उल्लेख भएको पाइन्छ। हुन पनि संस्कृतेत्तर मातृभाषिक समुदायमा मेचेहरु पर्छन्।
मेचे समुदायका प्राज्ञिक प्रतिभा सन्तलाल मेचेको पुस्तक ‘मेचे सँस्कृति र इतिहास’ (२०६८ः८)अनुसार प्राचीन समयमा मेचे समुदायले आजको वर्तमान मेची नदीको छेउछाउमा आफ्नो बसोबास बनाए र बाहिरी आगन्तुकहरुले मेचे बसोबास गरेको छेउको नदीलाई ‘मेची’ भन्न थाले।
मेचेहरुलाई कसैले धिमालसँग र कसैले कोच (राजवंशी)सँग नजिक भएको भन्ने तर्क राखेका छन्। धिमाल र मेचेहरु कामरुप (भारतको आसाम)बाट आई कन्काई नदी आसपासमा आवाद भई बसेका भनी थाहा पाउन फ्रान्सिस बुचानन् ह्यामिल्टनको पुस्तक ‘एन एकाउन्ट अफ् दी किङ्डम अफ् नेपाल’ (सन् १८१९ः११९)मा पढ्न सकिन्छ। उनले मेच (मेचे) र धिमाली (धिमाल) कामरुप वा रङ्गपुरबाट आएका भन्ने उल्लेख गरेका छन्।
मानवशास्त्री डोरबहादुर विष्टले पनि धिमाललाई मेचेसँग नजिक राखेको पाइन्छ। उनको चर्चित पुस्तक ‘सबै जातको फूलबारी’ (२०६४ः९९) पढ्दा रहनसहन, बसउठ तथा भौगोलिक सामीप्यका कारण धिमाल र बोडो जाति एक अर्कालाई नजिकको ठान्छन् र बोडोहरुलाई मेचे भन्ने चलन पनि छ भन्ने उल्लेख गरेका छन्।
मेचेहरु स्वयम् आफूलाई बोडो पनि भन्ने गर्छन्। मेचेको पुस्तक (उहीः२)मा ‘मेचे र राजवंशी महिलालाई एकै ठाउँमा राखेर हेर्ने हो भने छुट्याउन अप्ठ्यारो हुन्छ। मेचे र राजवंशी पहिरन तथा शारीरिक बनावटलाई दाँज्दा समरुपता देखिन्छ’ भन्ने परेबाट पनि मेचे र राजवंशी एकापसमा निकट देखिन्छन्।
यसरी हेर्दा पूर्वी तराईको पनि मेची र कन्काई नदी आसपासमा बस्ने धिमाल, मेचे, कोचे र सतारहरुबीच प्राचीनकालमा अन्तरसम्बन्ध रहेको अनुमानको नजिक भने पुग्न सकिन्छ।
छुवाछुतबाट मेचेहरुको मुक्ति
जंगबहादुर राणाको मृत्यु वि.सं. १९३३ (सन् १८७७) मा भयो । जंगबहादुरको मृत्यु भएको १५ वर्षपछि एक विदेशी विद्वानले लेखेको पुस्तकमा जंगबहादुर राणा र मेचे जातिको सम्बन्धबारे एउटा रोचक ऐतिहासिक जानकारी उल्लेख भएको पाइन्छ।
दी बंगाल सेक्रेटारियल प्रेसले छापेको र हर्बट होप रिस्लेले लेखेको ‘दी ट्राइब्स् एण्ड कास्टस् अफ् बंगाल इथ्नोग्राफिक ग्लासरी’को दोस्रो भाग (सन् १८९२ः९०)मा यो जानकारी पढ्न पाइन्छ। पुस्तकमा लेखिएअनुसार पहिले उच्च जातका भनिनेहरुले मेचेहरुले छोएको पानी चलाउँदैनथे। यस अर्थमा उनीहरु छुवाछुत पीडित थिए।
जंगबहादुर शिकार खेल्न तराई झर्दा उनी एक मेचे कन्याको प्रेममा परे। ती मेचे कन्या धुलाबारीका उजिर सिंह जमदार (जमिन्दार?)की छोरी थिइन्। ती कन्यालाई श्रीमति बनाएर जंगबहादुरले नेपाल (काठमाडौं) लिएर गए । यसरी विवाह गरिसकेपछि ती मेचे कन्याको जातिगत हैसियत पनि उच्च हुन पुग्यो। त्यसपछि उनीहरुको पानी चल्न थाल्यो, रिस्लेले लेखेका छन्।
रिस्लेले पुस्तकमा करिब २० वर्षअघि यो घटना भएको भन्ने उल्लेख गरेकोले सन् १८७२ अर्थात् वि.सं. १९२९ तिर मात्र जंगबहादुर राणाको आदेशअनुसार मेचेहरु छुवाछुतमुक्त भएका हुन् भन्ने देखिन आउँछ।
तर,एक नेपाली विद्वानको संकलनमा भएको ऐतिहासिक कागजले त्योभन्दा १२ वर्षअघि नै मेचेहरु छुवाछुतमुक्त भइसकेका थिए भन्ने बलियोसँग प्रमाणित गर्छ।
महेशचन्द्र रेग्मीले सञ्चालन गरेको ‘रेग्मी रिसर्च सेरिज’को वर्ष ५ अंक ७ (जुलाई १९७३ः१३८)मा मेचेहरुको छुवाछुतमुक्तिको ऐतिहासिक तथ्य प्रमाणित गर्ने एक पत्र छापिएको छ।
वि.सं. १९१९ साउन सुदी १ मा खजाञ्ची शिवप्रसाद अर्याललाई पठाइएको पत्रमा आफूहरुको पानी चलाउनका लागि मेचेहरुले फिराद गरेको र भारदारी सभा बसी उनीहरुको पानी चलाउने निर्णय गरिएको उल्लेख छ।
यो पत्रमा ‘जब हामी संवत १९१७ मा मोरङको भ्रमणमा थियौँ, चौधरी उजिर र अरु मेचेहरुले निम्न प्रकारको फिराद गरेकोले’ भन्ने परेबाट यो पत्र जंगबहादुरले नै शिवप्रसाद अर्याललाई पठाएका हुन् कि भन्ने अनुमान गर्न सकिन्छ।
त्यसबेला मेचे अगुवाहरुले सरकारलाई फिराद गर्दा ‘हामी मुसलमानले चलाएको पानी चलाउँदैनौं, हाम्रा छोरीचेली दासीका रुपमा काम गर्छन्, हामी हिन्दु हौं। हामी सुँगुर, कुखुरा र भैंसीको मासु खान्छौं, हाम्रो पानी चलाएर जात शुद्धी गरिदिन’ भनी उल्लेख गरेको यो पत्र पढ्दा थाहा हुन्छ।
जंगबहादुर राणा स्त्रीप्रति मोहित हुने शासक थिए। त्यसैले पनि रिस्लेले भनेजस्तो उनले कुनै मेचे कन्यासँग प्रेम र विवाह गरेनन् होला भन्न सकिन्न। उनका विभिन्न जातका पत्नी तथा उपपत्नीहरु थिए।
त्यसपछि बसेको भारदारी सभाले सुँगुर, कुखुरा र भैंसीको मासु खाने र पानी चल्ने जात सरह मेचेहरुको पनि पानी चलाउने निर्णय ग¥यो। त्यसपछि वि.सं. १९१७को माघे संक्रान्तिको दिन धनगढी प्रगन्नाअन्तरगत ज्यामिरगढीका चौधरी उजिर लगायत मेचेहरु तगलभण्डारमा जम्मा भएर मेची नदीको पानी छोए । त्यो पानी सबैले चलाए । उनीहरु पानी अचलबाट पानी चलमा परिणत भए।
यो निर्णयलाई कडाइका साथ पालना गर्न र गोरखा राज्यको कानून अन्तरगत कार्यान्वयनको निगरानी राख्न काजी विष्णुप्रसाद गुरुघराना पण्डितमार्फत् मेचेहरुलाई अदालतले सोधेको प्रश्नका लागि मोहरहरु पठाइएको पनि यो पत्र पढ्दा बुझिन्छ।
यसबाट रिस्लेले भनेजस्तो वि.सं. १९२९ तिर नभई राज्यकातर्फबाट मेचेहरुले १९१७ मै छुवाछुतबाट मुक्ति पाएको भन्ने स्पष्ट हुन आउँछ।
जंगबहादुर राणा स्त्रीप्रति मोहित हुने शासक थिए। त्यसैले पनि रिस्लेले भनेजस्तो उनले कुनै मेचे कन्यासँग प्रेम र विवाह गरेनन् होला भन्न सकिन्न । उनका विभिन्न जातका पत्नी तथा उपपत्नीहरु थिए।
रेग्मी रिसर्च सेरिजले छापेको पत्रमा उल्लेख भएको र रिस्लेले लेखेको लेखाईबाट छुवाछुत मुक्तिको लागि राज्यसँग फिराद गर्ने मेचे अगुवा पनि एकै छन्–चौधरी उजिर। उनैलाई रिस्लेले जंगबहादुर प्रेममा पग्लेका मेचेकन्याका पिता भएको उल्लेख गरेका छन्।
यसबाट जंगबहादुरले मेचेकन्यालाई प्रेमविवाह गर्नुअघि नै मेचेहरु छुवाछुत भइसकेका थिए कि भन्ने अनुमान पनि गर्न सकिन्छ।
ती अनाम मेचेकन्या
जंगबहादुरकी पत्नी या रानीको सूचीमा भने मेचे जातकी कुनै महिला फेला परेकी छैनन्।
आफ्ना बाबुको इतिहासलाई अभिलेखमा राख्न दत्तचित्त जंगबहादुरका साहिला छोरा पद्मजंग राणाको अभिलेखहरुलाई गहिरो अध्ययन गरेर त्यसको विश्लेषण गर्न सफल कमल दीक्षितको ‘जंग गीता’ (२०४०ः१३९–१४३)मा पद्मजंगका कागजका आधारमा जंगबहादुरका पत्नीहरुको नाम पनि परेका छन्।
त्यहाँ पद्मजंगले दर्ता गराएका वा प्रख्यात गराएका जंगबहादुरकी रानीहरुमध्ये ३२ जनाको विवरण दिइँदा मेचे जातिकी पत्नी या रानी भएको भन्ने उल्लेख पाइदैन। तर जंगबहादुरका अल्पकालिन पत्नीहरु त १२ सय जनाभन्दा बढी रहेको किंवदन्ती पाइएको दीक्षितले उल्लेख गरेका छन्।
पुरुषोत्तमशम्शेर जबराले आफ्नो पुस्तक ‘श्री ३हरुको तथ्यवृत्तान्त’ (२०६५ः१८९–१९७)मा जंगबहादुरकी ४२ जना रानी र केही आमाको नाम नखुलेका जंगबहादुरका छोराछोरीको सूची पनि प्रस्तुत गरेका छन् । त्यहाँ पनि मेचे कन्या रानी भएको उल्लेख छैन।
तर ४२ रानीमध्ये कतिपय रानीको बुवाआमाको नाम र जातथर खुलेको छैन, त्यस्ता रानीमध्ये एक मेचे कन्या हुन सक्छिन्। आमाको नाम खुलेको जंगबहादुरका छोराछोरीकी आमा पनि हुन सक्छिन्, ती अनाम मेचे कन्या।