सम्पदा होइन स्वयम्भूको बुद्धपार्क
बलजफ्ती दबाबमा बनाइएको स्वयम्भू क्षेत्रस्थित बुद्धपार्क न कहिल्यै विश्वसम्पदा थियो न हुनेछ। त्यसैले सडक विस्तारमा पार्कको केही जमीन पर्नुले सम्पदा क्षेत्रमा कुनै असर पार्दैन।
काठमाडौंको चक्रपथ विस्तारका क्रममा स्वयम्भू डाँडा पश्चिमस्थित बुद्धपार्क नासिने कुराले केही बौद्ध भिक्षु तथा सर्वसाधारणलाई उत्तेजित बनाएको छ। उत्तेजनामा व्यक्त कतिपय अभिव्यक्ति अशोभनीय पनि सुनिएका छन्। त्यसो त बौद्धहरू तुलनात्मक रूपमा शान्त, सौम्य, धैर्यवान र सहनशील हुन्छन् भन्ने बिम्ब बलियो भए पनि यो बौद्ध हुनु र नहुनुको मापदण्ड भने होइन।
चक्रपथ विस्तार आयोजनाले बाटोको केन्द्रबाट ३१ मिटर क्षेत्र छोड्न भनेपछि पार्कको केही भाग बाटोमा पर्ने निश्चित छ। बुद्ध पार्क हुँदै बाटो विस्तारको विरोध गर्नेहरूको भनाइ छ, सडक विस्तारले विश्व सम्पदा क्षेत्र स्वयम्भू क्षेत्रमा क्षति हुनेछ। तर, वास्तविकता भने यस्तो होइन। संस्कृतिविद्हरूको तर्क मान्ने हो भने बुद्ध पार्क स्वयंले चाहिं सम्पदा क्षेत्रमा हस्तक्षेप गरेको छ।
पार्क निर्माणका लागि पुरातत्व विभागसँग स्वीकृत लिइँदा नक्शामा यी मूर्तिहरू बनाउने उल्लेख गरिएकै थिएन। अहिले जहाँ मूर्ति निर्माण छ, त्यहाँ त रूख देखाइएको थियो।
स्वयम्भू क्षेत्रमा कुनै पूर्वाधार वा विकास निर्माणका क्रममा सदैव ध्यान राख्नुपर्ने मुख्य विषय भनेकै स्वयम्भू स्तूपको ऐतिहासिक तथा सांस्कृतिक महत्व हो। वंशावली तथा जनश्रुतिहरूमा उल्लेख भएजस्तो यो स्तूप काठमाडौं उपत्यकाको उत्पत्तिसँग सम्बन्धित नदेखिए पनि बौद्ध धर्म विकास र विस्तारमा यो प्राचीनकालदेखि नै केन्द्रको रूपमा जीवन्त रहेको छ। त्यसैले सन् १९८९ देखि यो क्षेत्रलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको हो।
ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदास्थलहरूमा भौतिक तथा अभौतिक नयाँ संरचना निर्माणलाई प्रोत्साहित गरिंदैन। किनभने, नयाँ संरचनाहरूले त्यस स्थलको ऐतिहासिक तथा पुरातात्विक महत्वमा आँच पुर्याउने मात्र नभई भ्रम सिर्जना गर्नसक्ने जोखिम हुन्छ। त्यही भएर विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा स्थलहरूमा गर्न नहुने कुराको मापदण्ड नै तय गरिएको हुन्छ।
सत्य के हो भने स्वयम्भूस्थित बुद्ध पार्क विश्व सम्पदाको मापदण्डअनुरूप निर्माण गरिएको संरचना होइन। पार्कसम्बद्ध पदाधिकारी एवं बौद्ध संघसंस्थाहरूले यसलाई विश्वसम्पदाका रूपमा प्रचार गर्नु झूट मात्र हो।
बुद्ध पार्क भनिए पनि दायाँ षड्क्षरी लोकेश्वर, बीचमा गौतम बुद्ध र बायाँ आचार्य पद्मसंभवका विशाल मूर्ति नै मुख्य हुन्। बुझिएको कुरा त पार्क निर्माणका लागि पुरातत्व विभागसँग स्वीकृत लिइँदा नक्शामा यी मूर्तिहरू बनाउने उल्लेख गरिएकै थिएन। अहिले जहाँ मूर्ति निर्माण छ, त्यहाँ त रूख देखाइएको थियो।
सम्पदा क्षेत्रमा पार्क बनाउने कुराको युनेस्को काठमाडौंले शुरूदेखि नै असहमति प्रकट गर्दैै आएको थियो। तर, पुरातत्व विभागलाई प्रभावित पारेर पार्क बनाइने भयो। पार्कमा मूर्ति निर्माण गरिने कार्यले उतिबेलै विवाद निम्त्याएको थियो।
असार, २०५६ मा शिलान्यास भई साउन २०५९ मा निर्माण सम्पन्न यी मूर्तिहरू पनि पुरातत्व विभागलाई दबाब र प्रलोभन पारेरै बनाइयो। मूर्ति निर्माण संरचनामा रोक लगाउने युनेस्को, सम्पदा र संस्कृतिविद्हरूको प्रयास सफल हुन सकेन।
बुद्ध पार्कको निर्माणमा खिचातानी र शक्ति संघर्ष रहेको एउटा दृष्टान्त तत्कालीन संस्कृति मन्त्री बलबहादुर के.सी. र श्रम तथा यातायात मन्त्री पाल्तेन गुरुङबीचको द्वन्द्व पनि हो। पार्क भनिए पनि विस्तारै व्यापारिक संरचना बन्न थालेपछि पुरातत्व विभागका केही अधिकृत तथा कर्मचारी लिएर संस्कृतिमन्त्री के.सी. १० असोज २०५९ मा स्वयं निर्माणस्थलमा पुगे र यस्ता संरचना भत्काउन निर्देशन पनि दिए। केसीको यस्तो कारबाहीबारे अघिल्लो दिनसम्म पनि पुरातत्व विभागलाई जानकारी थिएन। कामविशेषले उक्त दिन विभागमै रहेको यो पङ्तिकार पनि विभागका कर्मचारीसँगै त्यहाँ पुगेको थियो।
मन्त्री केसीको संरचना भत्काउने निर्देशन दिएर फर्केको करीब १५ मिनेटपछि बडो नाटकीय ढंगले श्रम तथा यातायात मन्त्री पाल्तेन गुरुङ पुगे र पुरातत्व विभागका कर्मचारी तथा विश्व सम्पदा शाखाका तत्कालीन प्रमुख चन्द्रप्रकाश त्रिपाठीलाई जथाभावी गाली तथा धम्की दिंदै निर्माण संरचनाहरू नभत्काउन निर्देशन दिए।
राज्यलाई छक्याउने तथा अटेर गर्ने बौद्ध चरित्र होइन। स्वयं गौतम बुद्ध पनि राज्यव्यवस्था विरुद्ध कहिल्यै गएनन्। सैनिक, दासदासी, ऋणी तथा राज्यबाट दण्डित व्यक्तिहरू भागेर भिक्षु बन्न आए उनीहरू भिक्षु बन्न अयोग्य भनी बुद्धले नियम नै बनाएका थिए। राज्य–राज्य बीचको युद्धमा पनि उनले कहिल्यै हस्तक्षेप गरेनन्।
स्वयम्भू क्षेत्रमा बुद्ध पार्क तथा अन्य संरचनाहरूको निर्माण विश्व सम्पदाको मापदण्ड विपरीत थियो। युनेस्कोले समेत यसमा आपत्ति जनाएको थियो। अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालकै छवि धुमिल हुने यस्तो विषयमा बौद्ध–वचनको दुरुपयोग गर्नु किमार्थ उचित होइन।
कपिलवस्तुमाथि कोशल राज्यको आक्रमण रोक्न राजा विडूडभलाई अनुरोधसम्म पनि गरेनन् बरु रूख बूढो भई सुके पनि चराचुरुङ्गीलाई आफ्नै गुड प्यारो लाग्ने उपमा दिई कपिलवस्तुप्रति आफ्नो ममत्व जनाए र सैन्यशक्तिसहित आएका राजालाई बीच बाटोबाटै फर्काइदिए। तर, चौथो पटकको आक्रमण प्रयासमा बुद्धले केही हस्तक्षेप गरेनन्। यसलाई बुद्धको मध्यममार्गी दर्शनको दृष्टान्तका रूपमा बुझ्न सकिन्छ।
स्वयम्भू क्षेत्रमा बुद्ध पार्क तथा अन्य संरचनाहरूको निर्माण विश्व सम्पदाको मापदण्ड विपरीत थियो। युनेस्कोले समेत यसमा आपत्ति जनाएको थियो। अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालकै छवि धुमिल हुने यस्तो विषयमा बौद्ध–वचनको दुरुपयोग गर्नु किमार्थ उचित होइन।
पार्कभित्र रहेका मूर्ति तथा स्तूपहरूमा विधिवत् प्राणप्रतिष्ठा गरिएको हुनाले त्यहाँबाट हटाउन वा सार्न नमिल्ने र यसो गरिए अनिष्ट हुने तर्क पनि सुनिएको छ, जुन बौद्ध मान्यताअनुकूल छैन। मूर्ति तथा स्तूपमा प्राणप्रतिष्ठालगायतका पूजाविधि बौद्ध धर्मको मौलिक संस्कार होइन यो त अन्य धर्म तथा संस्कृतिको सम्पर्कबाट पछि विकसित परम्परा वा प्रभाव हो। प्राणप्रतिष्ठाकै मान्यतालाई मान्ने हो भने पनि ‘न्यास’ झिकेर केही समयका लागि एक ठाउँमा राख्ने र पछि पुनः प्रतिष्ठा गर्ने परम्परा कायम नै छ।
चक्रपथ विस्तार भए पनि गौतम बुद्ध, षड्क्षरी लोकेश्वर र आचार्य पद्मसंभवको मूर्तिमा भने केही असर पर्ने देखिन्न। मूर्तिभन्दा पछाडिको भाग पार्ककै रूपमा रहनेछ। रिटेनिङ वाल, प्रवेशद्वार, साङ्गेथुंग नामको स्तूप तथा बत्ती बाल्ने घरलगायत संरचना देख्न भने पाइने छैन, जसबाट केही व्यक्तिविशेष र संस्थालाई घाटा त होला तर स्वयम्भू क्षेत्रको सम्पदा संरक्षणमा केही असर पर्दैन।