चोरी होइन ‘मुनामदन’
महाकवि देवकोटा रचित सर्वाधिक लोकप्रिय ‘मुनामदन’ खण्डकाव्य नेवारी लोकगीतबाट चोरिएको नभई मौलिक कृतिको पुनः सिर्जना हो ।
नेपाली साहित्यको सर्वाधिक चर्चित एवं लोकप्रिय कृति ‘मुनामदन’ माथि बेलाबखत एउटा गम्भीर आरोप लाग्ने गरेको छ । त्यो हो– मुनामदन मौलिक होइन चोरी साहित्य हो !
आरोप लगाउनेहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटा सिर्जित यो खण्डकाव्यलाई नेवार समाजमा प्रचलित जि वया ला लछि मदु नि (म आएको महीना दिन भएको छैन !) बोलको लोक गीतबाट चोरिएको तर्क गर्छन् ।
कुनै पनि साहित्यिक सिर्जनाको हुबहू वा केही तोडमोड गरेर अर्कै लेखकका नाममा प्रकाशित हुनुलाई ‘चोरी साहित्य’को अर्थमा लिइन्छ । के देवकोटाले पनि त्यही गरेका हुन् त ? के मुनामदन ‘जि वया ला लछि मदु नि’ कै नक्कल हो त ? यस्ता आरोप वा आक्षेप निरुपण गर्नु आवश्यक छ ।
कुनै बेला तिब्बतको राजधानी ल्हासा तथा त्यस नजिकका शहरहरू काठमाडौंका नेवारहरूको नूनदेखि सुनसम्मका लागि महत्वपूर्ण व्यापारिक थलो थियो । ‘ल्हासाय् लुँ पाँय् पाँय्’ (ल्हासामा सुनको ढिक्का ढिक्का), ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ जस्ता उखानहरू उबेलैदेखि बिम्ब बनेका हुन् । तर, ल्हासा सबै नेवारको पहु्ँचमा भने थिएन । अझै पनि काठमाडौंका केही व्यापारीहरू ‘ल्हासा साहूू’को चिनारी बोकिरहेका पाइन्छन् ।
ल्हासा व्यापार मात्र होइन, सामान्य कामदारका लागि पनि रोजगारको गन्तव्य थियो । व्यापारीहरू ‘ल्हासा साहूू’को रूपमा अझै पनि चिनारी बोकिरहेका पाइन्छन् ।
देवकोटाकृत मुुनामदन मा एक नव विवाहित क्षेत्री युवक गरीबीको चपेटामा परेर साथीहरूसँग मिसिएर ल्हासातर्फ लाग्छन् । उनी व्यापारी नभई कामदार बन्न त्यसतर्फ गएका हुन्छन् ।
‘जि वया ला लछि मदु नि’ लोकगीतका नायक पनि व्यापार नै गर्न ल्हासा गएका देखिन्छन् । उनी मदनजस्तो गरीब थिएनन् । हीराको औंठी लगाउने हैसियत राख्थे ।
‘विवाहको महीना दिन पनि भएको छैन, किन ल्हासामा जानु प¥यो ?’ भन्दै दुलहीले रोक्न खोज्दा सासूले रोजगार नभएको र अरूले हेप्ने भयले छोरालाई पठाउन लागेको बताउँछिन् । आफूसँग भएको गरगहना र दाइजो बेचेर त्यसबाट नै लगानी गर्न देशमै काम थाल्ने दुलहीको चाहनाले दुलाहा र सासू दुवैको चित्त बुझाउन सक्दैन । भर्खर विवाह भएको जोडी टाढिएर बस्नुपर्दाको विरह नै यो गीतको कथावस्तु हो ।
ल्हासामा तीन वर्ष बसेर पैसा कमाई फर्कंदा ती युवकलाई आमाले घरभित्र नपस्न भन्दै जन्मकुण्डली पनि जलाइसकेको बताउँछिन् । एक धूर्त साथीले उनी ल्हासामै मरिसकेको झूटो खबर ल्याएपछि दुलही उनको जन्मकुण्डलीसँगै सती गएको वर्णन गीतमा छ । त्यस उप्रान्त गीतको नायक फकिर भएर निस्कन्छन् ।
‘मुुनामदन’ मा पनि एक फटाहाले मदनको मृत्युको खबर ल्याउँछ । यही विरह वेदनाले बूढी आमा र मुनाको निधन हुन्छ ।
नेपालभाषाको काव्य सिर्जनामा प्रायः सर्जकको नाम अज्ञात पाइन्छ । तर सर्जकले सिर्जना काल वा गद्दीनसीन राजाको नाम उल्लेख गर्ने परम्परा रहेको पाइन्छ । यसअनुसार ‘जि वया ला लछि मदु नि’ लोकगीतमा राजा राजेन्द्रवीरविक्रम शाहको नाम उल्लेख गरिएको छ । नेपालमा सती प्रथाको अन्त्य राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा मात्र भएको थियो । हुनसक्छ, यही भएर ‘मुनामदन’मा देवकोटाले मुनाको मृत्यु सतीका कारण नभई विरह वेदनाबाट भएको कथा रचे ।
देवकोटा ब्राह्मण परिवारका भए पनि हुर्काइबढाइ काठमाडौंको नेवार समाजमा भयो । साथीसंगत पनि नेवारसँग नै बाक्लो भएको उनको जीवनीबाट बुुझिन्छ । नेवार समाजमा प्रचलित उक्त लोकगीत उनले आफ्ना अनन्य मित्र चन्द्रबहादुर श्रेष्ठबाट सुनेका थिए । महाकवि देवकोटाका कृतिमा विद्यावारिधि गरेका कुमारबहादुर जोशीसँगको कुराकानीमा देवकोटाले श्रेष्ठबाटै यो गीत सुनेको र त्यसपछि मुनामदन लेखेको बताएको कुरा विभिन्न प्रसंगमा प्रकाशित पनि छन् ।
शुरुदेखि अन्त्यसम्मै करुण रस रहेको मौलिक नेपालभाषाको गीतमा जस्तै देवकोटाको ‘मुनामदन’ पनि करुण रसले भरिपूर्ण छ । जम्माजम्मी ३२ श्लोकको लोकगीतको कथावस्तुलाई देवकोटाले व्यापक रूपमा परिमार्जन गरेर ‘मुुनामदन’ खण्डकाव्यको रूप दिए ।
देवकोटा ल्हासाको परिवेश, ल्हासा व्यापार तथा तत्कालीन समाजबारे भने अनभिज्ञ थिए । त्यसैले ‘मुनामदन’मा केही तथ्यगत जानकारीको अभाव प्रष्ट देखिन्छ । नायक मदनले बीस दिन बाटोमा र बीस दिन ल्हासामा बसेर धन कमाएर ल्याउने भनी बोलाउनु यसैको एउटा उदाहरण हो ।
किन पनि भने, ल्हासामा नेपालभन्दा अलि बढी तलब पाइनेबाहेक अन्य कामको अवसर हुँदैनथ्यो । नेपालीहरूलाई व्यापारबाहेक अन्य काममा लाग्न सजिलो पनि थिएन । यस्तो अवस्थामा थोरै समयमा धेरै पैसा कमाउनु असम्भव नै थियो ।
तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले ‘नेवारी लोकगीत’ ( ) पुस्तक प्रकाशित गरेको छ, जहाँ ‘जि वया ला लछि मदु नि’ को नेपाली अनुवाद पनि समावेश छ । यसो गर्दा ‘मुनामदन’मा प्रयुक्त झ्याउरे लय नै पछ्याइएको छ । तर, अनुवाद परिपक्व छैन । ‘मुनामदन’ सम्झेर लोकगीतको पठन गर्दा बेस्वाद लाग्छ । यसबाट मौलिक लोकगीतको आनन्दबाट बञ्चित हुनुपरेको छ ।
कथावस्तुमा केही समानता देखिए पनि देवकोटाको मुनामदन लाई नेपालभाषाको लोकगीतबाट चोरिएको भने भन्न मिल्दैन । किनभने, एउटै कथावस्तुलाई अनेक सर्जकले आ–आफ्नो तरिका, व्याख्याबाट साहित्य सिर्जना गर्नु चोरी होइन । र, यो नौलो अभ्यास पनि होइन । रामायण, महाभारत तथा अनेकौं पौराणिक कथावस्तुमाथि हजारौं साहित्यिक कृति रचिएको छ । एकै ऐतिहासिक तथा सामाजिक कथावस्तुमाथि पनि अनेकौं सर्जकले पुनः सिर्जना गरेको पाइन्छ ।
देवकोटाकै ‘शाकुन्तल’ र ‘महाराणाप्रताप’ महाकाव्यलाई पनि यस्तै उदाहरणका रूपमा लिन सकिन्छ । तर, तिनले त चोरीको आरोप खेप्नु परेन । किनकि यो चोरी नभई पुनः सिर्जना हो ।
यस्ता पुनः सिर्जनाले मौलिक सिर्जनालाई अझ व्यापक बनाउँछ । पुराना सिर्जनालाई जनमानसमा परिचित र दिगो बनाउन मद्दत गर्दछ । अनि मौलिक सिर्जनाले गौरव गर्न पाउँछ । यसको अर्थ ‘जि वया ला लछि मदु नि’ लोकगीतले पनि ‘मुनामदन’ मार्फत गौरव गर्न पाएको छ ।