इन्द्र नभेटिने ‘इन्द्रजात्रा’
भन्नका लागि इन्द्रजात्रा भनिए पनि यो पर्वमा इन्द्र देउताको उपस्थितिमै विरोधाभास छ। जात्रामा इन्द्र नभई ‘यमाःद्यः’ देउता उभ्याइएको इतिहास छ।
हनुमानढोका दरबार क्षेत्र मा कालभैरवको अगाडि ठड्याइएको ‘यःसिं’ भनिने लिंगो ढाल्नुलाई इन्द्रजात्राको समापन मानिन्छ। भाद्र शुक्ल अष्टमीका दिन बिहान शुभमुहूर्त निकालेर लिंगो ठड्याइन्छ भने ढाल्ने काम प्रायः भाद्रकृष्ण पक्ष चतुर्थीको बेलुका वा राति गरिन्छ।
इन्द्रजात्रामा तीन पटक कुमारी रथयात्रा गरिन्छ। रथयात्राको अन्तिम दिन ‘नानिचा याः’ समापन गरी बेलुकी घरमा कुमारी भित्र्याइसकेपछि लिंगो ढाल्ने विधि पुर्याइन्छ।
कोरोना महामारीका कारण यो वर्ष लिंगो ठड्याउने काम भएन। क्षमा पूजा गरेर औपचारिक रूपमा इन्द्रजात्रा स्थगन भनिए पनि आवश्यक सबै विधि पुर्याएर सांस्कृतिक जीवनलाई निरन्तरता दिएको बुझिन्छ। भीडभाड र तथा जात्राको रमाइलो नहुनु बेग्लै कुरा हो।
इन्द्रजात्रा होइन ‘यँयाः’
इन्द्रजात्रा भनिए पनि स्थानीय बोलीमा यो पर्व ‘यँयाः’ नामले प्रचलित छ। ‘यँ’ ले इन्द्र र याःले जात्रा, पर्वको अर्थ दिन्छ। तर, यो जात्रा वैदिक देवता इन्द्र वा कुनै पात्रविशेषसँग मात्र सीमित छैन। त्यति मात्र होइन, जात्राको सांस्कृतिक इतिहासमा इन्द्र देवताको प्रसंगमा समेत प्रशस्त सन्देह भेटिन्छ।
सामान्यतः इन्द्रजात्राको चर्चा गर्ने वेला स्वर्गका राजा इन्द्रकी आमालाई बसुन्धरा व्रत बस्न इच्छा भएको र त्यसका लागि चाहिने पारिजातको फूल लिन इन्द्रलाई पृथ्वीमा पठाएको कथा हालिन्छ। फूल लिन आएका इन्द्रलाई बगैंचाका मालिकले चोरीको आरोपमा डोरीले बाँधी दण्ड दिएको, पछि इन्द्रलाई लिन स्वयं आमा नै आउँदा आफ्ना मृतक परिवारलाई स्वर्गमा लैजाने बाचा गराएर मात्र उनलाई छाडिएको बताइन्छ। तर, यो कथा वैदिक साहित्यसँग मेल खाँदैन।
इन्द्र सम्बन्धी धेरै उल्लेख भएको साहित्य ऋग्वेद हो, जसमा यी प्रसंग पाइँदैनन्। वैदिक साहित्य अनुसार इन्द्रकी आमाको नाम ‘अदिति’ हो तर इन्द्रजात्राका प्रसङ्गमा आमाको नाम ‘दागिं’ उल्लेख छ। अदितिलाई पनि देवताकै रूपमा लिइन्छ तर यहाँ ‘दागिं’ को चित्रण राक्षसको रूपमा छ। अदितिको चित्रण मृत्युसँग गरिएको पाइँदैन तर ‘दागिं’ मृतकलाई स्वर्गमा लैजाने पात्रका रूपमा लिइन्छ।
सामान्यतः इन्द्रजात्राको चर्चा गर्ने वेला स्वर्गका राजा इन्द्रकी आमालाई बसुन्धरा व्रत बस्न इच्छा भएको र त्यसका लागि चाहिने पारिजातको फूल लिन इन्द्रलाई पृथ्वीमा पठाएको कथा हालिन्छ। तर, यो कथा वैदिक साहित्यसँग मेल खाँदैन।
अर्को चाहिं अनुमति नलिई फूल टिप्दैमा चोर भनेर पाता कस्ने कथा स्थानीय सामाजिक तथा सांस्कृतिक जीवनसँग मेल खाँदैन। किनभने फूल टिप्नुलाई ठूलो अपराध ठानिंदैन। इन्द्रकी आमालाई ‘बसुन्धरा ब्रत’ किन बस्नु पर्यो भन्ने कुरा पनि खुल्दैन। बरु यो ब्रत हिन्दू समाजमा नभएर स्थानीय बज्रयानी बौद्ध नेवार समाजमा प्रचलित धार्मिक अभ्यास हो। काठमाडौंको कथामा पारिजातको फूल चोर्न आउने पात्र इन्द्र हुन् भने भक्तपुरमा इन्द्रका छोरा जयन्त।
‘यमाःद्यः’
इन्द्रजात्राका बेला उभ्याइने देवताको नाम ‘यमाःद्यः’ हो। जात्रा अवधिभर ‘यमाःद्यः’ टोल–टोलमा ठड्याइन्छ। शुरुआतमा सादा काठ मात्र ठड्याइने गरिएकोमा पछि केही आकृति समेत कुँद्ने परम्परा आएको देखिन्छ।
समयक्रममा एउटा काठमा अर्को काठ जोडेर दुई हात जस्तो पनि बनाइयो। ठूलो–सानो नापका यी ‘यमाःद्यः’ को आकृति काठमाडौं र भक्तपुरमा उस्तै–उस्तै देखिन्छ। अहिले ‘इन्द्रध्वजा’ भनी व्याख्या गरिएको यःसिं वा लिंगो वास्तवमा टोल–टोलमा ठड्याइने ‘यमाःद्यः’ नै हुन्।
हिजोआज हनुमानढोका दरबार क्षेत्रमा ठूलो तामझामका बीच ठड्याइने यो लिंगो प्राचीनकालदेखि नभएर राजा पृथ्वीनारायण शाहका उत्तराधिकारी प्रतापसिंह शाहको समयबाट मात्रै शुरू भएको हो। त्यसअघि यो लिंगो चिकंमुगल टोलको अट्कोनारायणस्थानमा गाडिन्थ्यो।
इन्द्रजात्रामा प्रमुख आकर्षण कुमारीको रथयात्रा हो। कुमारी रथयात्रामा सबैको ध्यान गए पनि रथयात्रा अघि–अघि गणेश र भैरव देवताको रथ तानिन्छ। कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाशले कुमारी रथजात्राको शुरूआत गरेको भन्ने प्रसङ्गबाट यो उपत्यकावासीको त्यति पुरानो संस्कृति नभएको मान्न सकिन्छ।
वास्तवमा यो रथजात्रा कुनै विशेष उत्सव नभएर जीवित देवी कुमारीको नगरका प्रमुख सांस्कृतिक उत्सव अवलोकन भ्रमण मात्रै हो। समाजमा विशिष्ट स्थान भएको कुमारी घुम्न आउँदाको अर्थमा यसलाई बुझ्न सकिन्छ, जसरी जात्राको अवलोकन गर्न राजपरिवारका सदस्यहरू निस्कँदा विशेष बन्दोबस्त र तामझाम गरिन्थ्यो।
इन्द्रजात्राका अवयवहरूलाई नियाल्ने हो भने यो हिन्दू वा बौद्ध धर्मको कुनै विशेष पक्ष नभएर परम्परादेखि चल्दै आएका अनेक सांस्कृतिक उत्सवको समुच्च पहिचान मान्न सकिन्छ। यसको विकास र विस्तारमा पनि कुनै खास समय वा व्यक्तिको योगदान नभई क्रमिक विकासबाटै आजको रूप निर्माण भएको बुझ्नुपर्ने देखिन्छ।
रोपाइँ सकिएको तर बाली काट्ने बेला नभइसकेको फुर्सदिलो बेला इन्द्रजात्रा मनाइन्छ। त्यसैले पनि यो जात्रामा सबैले उत्सवको अनुभूति गर्छन्। आठ दिनको यो पर्वमा देखिने अनेकौं गतिविधि एकापसमा पृथक् देखिन्छ।
उदाहरणका लागि, ‘समेबजि पुन्हि’ भनेर पूर्णिमाका दिन समेबजि खाने चलन छ। पूर्णिमाका दिन समेबजि खाने यो चलन इन्द्रजात्रासँग सम्बन्ध नै नभएको अन्यत्रको नेवार समाजमा पनि पाइन्छ। यसरी नै यस अवधिभर टोल–टोलमा लौकिक नाचगान तथा नाट्यमञ्चन पनि हुने गरेका छन्। तर, सामाजिक जीवनमा आएको परिवर्तनसँगै कतिपय स्थानमा यी गतिविधि हुन छाडेका छन्।
कसरी बुझ्ने ?
‘यमाःद्यः’ सांस्कृतिक जीवनमा आधारित देउता हुन् भने इन्द्रको स्रोत वेद तथा पुराणहरू हुन्। इन्द्रजात्राका सन्दर्भमा यी दुईमा उत्तिकै विरोधाभास पनि छन्। त्यसैले पनि अहिलेसम्म जीवित ‘यमाःद्यः’ संस्कृतिलाई जोगाउनु आवश्यक छ। इन्द्रजात्रा नभई ‘यँयाः’ नै भनेर मनाइनु सांस्कृतिक रूपमा सही देखिन्छ।
समयका विभिन्न कालखण्डमा संस्कृतिमा अनेकौं कुरा थपिंदै, जोडिंदै आउनु स्वाभाविक भएको मान्ने हो भने सांस्कृतिक इतिहासको चरणबद्ध विकास अध्ययनका लागि यो पर्व गतिलो अवसर पनि हो।