सन्दीप लामिछानेको पर्खाइ
टी— ट्वेन्टी क्रिकेटको विश्वकै ठूलो मञ्च आईपीएलमा आश्चर्यजनक रुपमा खेल्न नपाएका सन्दीप लामिछानेको भविष्य आगामी बिग बास लिगले निर्धारण गर्ला त ? तत्कालका लागि उनी स्वयं र नेपाली समर्थकहरुको पर्खाइ यसैमा निर्भर छ।
यसपटक इन्डियन प्रिमियर लिग (आईपीएल)मा सन्दीप लामिछानेलाई मैदानमा देख्ने नेपाली क्रिकेट समर्थकहरुको चाहना पर्खाइमै सीमित हुनपुग्यो।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा किफायती बलिङ प्रस्तुत गरेर उत्कृष्ट लयमा आईपीएल खेल्न यूएई हान्निएका सन्दीप ’डग आउट’ मै थन्किनु उनी स्वयंका लागि मनै अमिलो हुने विषय थियो।
आखिर आईपीएल नै विश्व क्रिकेट मञ्चको त्यो ठूलो मञ्च थियो, जहाँ आफ्नो खुबी पस्केर आफ्नो नाम र दाम बढाउन सकियोस्, जुन यात्रा सन् २०१८ मा दिल्ली क्यापिटल्सबाटै सन्दीपले शुरुआत गरेका थिए।
स्पिनर रविचन्द्रन आश्विन शुरुको खेलमा एकैछिन घाइते हुनपुग्दा होस् वा लेग स्पिनर अमृत मिश्रा पनि घाइते भएरै बाहिरिंदा नेपाली समर्थकहरु ‘अब सन्दीपको पालो आयो’ भनेर खुशी भएका थिए।
तर सीपीएलको फर्म, यूएईको पिचमा अनुभवी सन्दीपलाई दिल्ली क्यापिटल्सले कुनै वास्ता गरेन। समर्थकहरुको लगातारको अनुरोध पनि केही काम लागेन।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा किफायती बलिङ प्रस्तुत गरेर उत्कृष्ट लयमा आईपीएल खेल्न यूएई हान्निएका सन्दीप ’डग आउट’ मै थन्किनु उनी स्वयंका लागि मनै अमिलो हुने विषय थियो।
युएईमा सन्दीप सामाजिक सञ्जालको विषय मात्र बन्न पुगे। कोरोनाभाइरस संक्रमणका कारण यूएईमा नेपालीहरु बेरोजगार बनिरहँदा सामाजिक सञ्जालमा ट्रोलको विषय थियो — यूएईमा थुप्रै नेपालीहरु बेरोजगार भएका छन्, नपत्याए सन्दीप लामिछानेलाई हेर्नुस्।
कोरोनाभाइरस संक्रमणको जोखिमका कारण आईपीएलमा निकै सावधानी अपनाइएको थियो, जसका कारण टीममा नपरेका खेलाडीहरु होटलमै बस्नुपर्थ्याे। त्यसैले सन्दीप अधिकांश खेलमा ‘डग आउट’ मा समेत जान पाएनन्।
सन्दीपले पनि आफ्ना कैयन् भावनाहरु ट्विटरमा पोखेको देखियो। उनले कहिले लेखे— अरुको विजयमा ताली बजाउन सिक, आफ्नो समय पनि आउनेछ।
सन्दीपले पर्खाइका गीत पनि गाए। कुनै न कुनै खेलमा उनी मैदानमा हुनेछन् भन्ने विश्वास सबै समर्थकहरुलाई सहित उनलाई पनि लाग्दो हो। दिल्लीले फाइनल खेल्नु अगाडि उनले लेखेका थिए— फाइनल फेथ।
आईपीएल सकिएपछि उनले लेखे —जुन कुरा हाम्रो वशमा छैन्, त्यसबारे धेरै सोच्नुहुँदैन।
आईपीएल बाहेक यसबीच अरु खबर पनि सन्दीपको लागि सुखद हुन सकेन। श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल)मा पनि कुनै टीमले उनलाई अनुबन्ध गरेन।
सन्दीप र अष्ट्रेलियामा बस्दै आएका सुनाम गौतम लंका ड्राफ्टमा परेका थिए। ड्राफ्टमा सन्दीप ५० हजारदेखि ६० हजार अमेरिकी डलर मूल्य पर्ने खेलाडीहरुको सूचीमा थिए।
विश्वका अधिकांश फ्रेञ्चाइज क्रिकेटमा तहल्का मच्चाइसकेका नेपाली लेग स्पिनरलाई श्रीलंकाले पनि पत्याएन। तर, त्योभन्दा खराब समाचार त ‘द हन्ड्रेड बल’ क्रिकेट सन्दीपको नाम नवीकरण नहुनु थियो।
विश्वका अधिकांश फ्रेञ्चाइज क्रिकेटमा तहल्का मच्चाइसकेका नेपाली लेग स्पिनरलाई श्रीलंकाले पनि पत्याएन। तर, त्योभन्दा खराब समाचार त ‘द हन्ड्रेड बल’ क्रिकेट सन्दीपको नाम नवीकरण नहुनु थियो।
१०० बल मात्र खेल्ने गरी क्रिकेटको नयाँ ढाँचामा ‘द हन्ड्रेड बल’ क्रिकेट प्रतियोगिताको आयोजना इङल्याण्ड र वेल्स क्रिकेट बोर्डले संयुक्त रुपमा गर्ने निर्णय गत वर्ष गरेको थियो। प्रतियोगितामा सन्दीपलाई ओभल इन्भिन्सिबल क्लबले एक लाख पाउन्ड (करीब १ करोड ४७ लाख रुपैयाँ) मा अनुबन्धित गरेको थियो, जुन सन्दीपले पाएको हालसम्मकै ठूलो रकम पनि थियो।
‘द हन्ड्रेन्ड बल’ को ड्राफ्टमा एक लाख २५ हजार पाउन्डको समूहपछि सन्दीप रहेको समूह दोस्रो महँगो थियो। सन्दीप ओभलमा अनुबन्धित भएपछि अन्तर्राष्ट्रिय मिडिया छक्क परेका थिए र कतिपयले उनलाई ‘भाग्यमानी’ खेलाडीको संज्ञा दिएका थिए।
यस्तो किन पनि भएको थियो भने ड्राफ्टमा विश्वका चर्चित खेलाडीहरु क्रिस गेल, किरोन पोलार्ड, क्विन्टन डि कक र लसिथ मालिंगा जस्ता खेलाडीहरुलाई कुनै टोलीले इच्छा देखाएका थिएनन्।
एक स्थानीय पत्रिकाले त लेखेको पनि थियोे— विश्वका धुरन्धर खेलाडी छनोट नहुँदा सन्दीपमा टोलीले विश्वास गर्नु भनेको उनी अब विश्वको उत्कृष्ट खेलाडीको सूचीमा पर्नबाट टाढा छैन।
तर कोरोनाभाइरस संक्रमणले कहानी नराम्ररी मोडियो। निर्धारित समयमा ‘द हन्ड्रेड बल’ क्रिकेट आयोजना हुन सकेन।
पहिले त आयोजकले केही समय पर्खियो। तर कोरोना संक्रमणको जोखिम लामो समय चल्ने देखिएपछि आयोजकले सहभागी आठ वटा क्लबले गरेको सबै अनुबन्धन खारेज गर्यो। अर्थात् सन्दीपसँगको एक लाख पाउण्डको अनुबन्ध खारेज भइसकेको छ।
बिग बासमा सन्दीपको प्रदर्शनको खास महत्व हुनेछ। किनकि यसै प्रतियोगिताबाट उनले फेरि ‘द हन्ड्रेड बल’ क्रिकेटमा गुमिसकेको अनुवन्धलाई ब्यूँताउनुछ। अन्य व्यावसायिक क्रिकेटमा सबैको प्रिय खेलाडी बन्नुछ र आईपीएललाई पनि भन्नु छ कि उनलाई नलिनुले दिल्लीलाई के कति घाटा भयो।
अर्को वर्ष सन् २०२१ मा पनि यो प्रतियोगिता हुने नहुने टुंगो छैन्। तर केही क्लबहरुले पुराना खेलाडीहरु लिन थालेका छन्। अफगानिस्तानका रसिद खानलाई ट्रेन्ट रकेट्सले लिइसकेको छ। सन्दीप बारे भने उनको क्लब अझ मौन छ।
अब ‘द हन्ड्रेड बल’ क्रिकेट आयोजना हुने भयो र पुरानो क्लबले लिएन भने सन्दीपको ड्राफ्ट फेरि हुनेछ। तर, त्यो आजका लागि अनिश्चित हो।
हुन त उतारचढाव खेलाडी जीवनको अंग नै हो। उतारचढाव माझ हल्का चिन्ता अष्ट्रेलियाको व्यावसायिक लिग बिग बासलाई लिएर पनि नभएको कहाँ हो र ?
लगातार दुई वर्ष खेलिसकेको नियमित क्लब मेलबर्न स्टार्सले सन्दीपलाई यो सिजन नदोहाेर्याउने बताएपछि बिग बासमा पनि उनी अनुपस्थित हुने हो कि भन्ने चिन्ता वढेको थियो। तर, उक्त चिन्तालाई होबर्ट हुरिकेन्सले तोडिदियो। होबर्टले उनलाई तेस्रो विदेशी खेलाडीका रुपमा अनुबन्धित गरेको जनाएपछि सन्दीप अष्ट्रेलिया यात्राका लागि तयारी गरिरहेका छन्।
होबर्टले दाविद मलान र किमो पाउलपछि सन्दीपलाई विदेशी खेलाडीको कोटामा लिएको हो।
होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफिथले पनि सन्दीपलाई स्वागत गर्दै उनको आगमनले टोली आक्रमणको धार बलियो भएको प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्— सन्दीपले आफ्नो रहस्यमय बलिङले खेललाई कुनै पनि बेला परिवर्तन गर्ने क्षमता राख्छ। उनमा विकेट लिन सक्ने बेग्लै कला छ। “
होबर्टसँग गाँसिन पाएकोमा सन्दीपले पनि खुशी ब्यक्त गरेका छन्। उनी खुशी हुनुमा धेरै विषयहरु गाँसिएका छन्।
त्यसमा मुख्य विषय हो, आईपीएलमा देखाउन नपाएको क्षमता पस्किने। अर्को अष्ट्रेलियाको पिचमा आफ्नो बल घुमाउँदै व्यावसायिक यात्राका आगामी ढोकाहरु खोल्दै जाने।
हो, बिग बासमा सन्दीपको प्रदर्शनको खास महत्व हुनेछ। किनकि यसै प्रतियोगिताबाट उनले फेरि ‘द हन्ड्रेड बल’ क्रिकेटमा गुमिसकेको अनुवन्धलाई ब्यूँताउनुछ। अन्य व्यावसायिक क्रिकेटमा सबैको प्रिय खेलाडी बन्नुछ र आईपीएललाई पनि भन्नु छ कि उनलाई नलिनुले दिल्लीलाई के कति घाटा भयो।