महामारीबीच फुटबलले देखाएको बाटो
पूर्ण स्वास्थ्य सावधानीका साथ खेलकुद सञ्चालन गर्न राष्ट्रिय संघहरू तयार हुने हो भने नेपाली खेलक्षेत्र महामारीकै बीचमा पनि चलायमान हुनसक्ने संकेत फुटबलले देखाएको छ। तर, यसमा सरकारको सहयोग अपरिहार्य छ।
पटकपटक सरकारसँगको अनुरोधपछि बल्ल अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल सञ्चालनको अनुमति पाएको छ। परिणामस्वरुप, अहिले नेपाली राष्ट्रिय टोली मैत्रीपूर्ण खेलका लागि बाङ्लादेशको ढाकामा छ।
अबको दुई साताभित्र खेलिने नेपाल र बाङ्लादेशबीच दुई मैत्रीपूर्ण खेलमा देखिने प्रतिस्पर्धा स्वयंमा महामारीको यो समयमा उल्लेखनीय हुनेछ। नतिजा जे आए पनि यसले नेपाली खेलकुद क्षेत्र तरंगित हुने पक्का छ।
‘बल्ल नेपाली खेलकुद पनि शुरू भयो’– तरंगको कारण यही हुनेछ।
कोभिड–१९ महामारीसँगै सरकारले बन्द गरेको फुटबल गतिविधि आठ महीनापछि खुलेको थियो। आठ महीनापछि दशरथ रंगशालामा अभ्यासमा उत्रँदा नै खेलाडीहरू अब फुटबल शुरू हुनेमा उत्साही देखिन्थे।
“लाग्छ, अब रोकिएको फुटबल चलायमान भएको छ, खेलाडीहरूको अँध्यारो दिन सकिएको छ”, स्ट्राइकर भरत खवासले भनेका थिए।
उत्तिकै जोखिम
कोरोनाभाइरसको महामारीका बीच खेलकुद सञ्चालन सहज हुँदै होइन। यसबीचमा सात खेलाडी र दुई खेल पत्रकारमा कोरोना संक्रमण पुष्टि हुनुले पनि सावधानी कुन स्तरमा आवश्यक छ भन्ने देखाएको छ।
तर त्योभन्दा महत्वपूर्ण कुरा सावधानी अपनाउँदै, विश्वका थुप्रै मुलुकमा झैं नेपालमा पनि कोरोनाभाइरसको सामना गर्दै खेलकुद गतिविधि सञ्चालन गर्न भन्ने सन्देश बाङ्लादेशको यो मैत्रीपूर्ण भ्रमणले दिन खोजेको छ।
“ फुटबलले चालेको यो कदम समग्र खेलकुद क्षेत्र खुल्ने महत्वपूर्ण पाइला हुनसक्नेछ”, खेलकुद विज्ञहरू भन्छन्।
मैत्रीपूर्ण खेलका लागि एन्फालाई स्वीकृति दिनुलाई पनि कतिपयले सरकारले खेलकुद क्षेत्र बिस्तारै खोल्दै जाने संकेतका रूपमा बुझेका छन्।
बन्द समाधान होइन
कोरोनाभाइरस संक्रमणको जोखिमका कारण सरकारले गएको ११ चैतदेखि बन्दाबन्दी घोषणा गर्यो। त्यसयताको ८ महीनामा सरकारले थुप्रै क्षेत्र खोलिसकेको छ, तर खेलकुद क्षेत्र भने अझै बन्द छ।
यसको प्रमुख कारण हो— खेलकुद क्षेत्रमा हुने सामूहिक संलग्नता, फुटबल जस्ता खेलको प्रतियोगिताका बेला एकै ठाउँमा हजारौं दर्शकको उपस्थिति।
तर, त्यसो भन्दैमा के लाखौं खेलाडी संलग्न खेलकुद क्षेत्र बन्द गर्नु नै समाधान हो त ?
पक्कै होइन। विश्व खेलकुदले महामारीको सामना गर्दै अघि बढ्ने आँट देखाएर ठूल्ठूला प्रतियोगिताहरू आयोजना गरिसकेको छ। अहिले आएर एन्फाले पनि त्यसैलाई पछ्याएको छ।
यसका लागि विश्व खेलकुदले अपनाएको सुरक्षा मापदण्ड भने कडाइका साथ लागू गर्नुपर्नेछ।
एन्फाले विश्व फुटबल महासंघ (फिफा) ले दिएको निर्देशन अनि आफैंले पनि स्वास्थ्य सम्बन्धी निर्देशिका बनाएर प्रशिक्षण थालेको बताएको छ।
“हामीले बाङ्लादेश जानुअघि सबैको दुई पटक पीसीआर टेष्ट गर्यौं। प्रशिक्षण, होटल सबै क्षेत्रमा निश्चित नियमहरू कडाइका साथ लागू गरेका छौं”, एन्फा महासचिव इन्द्रमान तुलाधरले भने।
एन्फाले फुटबल टोलीसँग एक स्वास्थ्यकर्मी पनि बाङ्लादेश पठाएको छ। ढाका पुग्नासाथ पुनः खेलाडीको कोरोना परीक्षण गरिएको छ। उनीहरूलाई निश्चित सुविधा सहितको होटलमा राखिएको छ।
के फुटबल जस्तै अन्य खेलको हकमा पनि निश्चित स्वास्थ्य सावधानी अपनाएर खेलकुदलाई सक्रिय बनाउन सकिन्न ?
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल यसप्रति सकारात्मक छन्। भन्छन्, “यसको लागि राष्ट्रिय खेल संघहरू पनि सरकार सँगसँगै हिंड्न जरूरी छ।”
सदस्यसचिव सिलवालका अनुसार कोरोनाभाइरस संक्रमणको जोखिम अहिले उच्च तहमा छ। त्यसैले खेल सञ्चालनको अनुमति दिनु उत्तिकै जोखिम छ।
त्यस्तोमा खेलकुद त्यतिबेला मात्र खोल्न सकिन्छ, जब राष्ट्रिय खेल संघहरू सुरक्षा र स्वास्थ्य सावधानीका विषयमा हातेमालो गर्न अघि सर्छन्।
केही संघहरू यसका लागि एक कदम अघि बढेका पनि छन्। तर अधिकांश खेल संघ भने जोखिम मोलेर खेलाडीलाई मैदानमा उतार्ने पक्षमा देखिएका छैनन्।
फुटबलपछि क्रिकेट र भलिबलले खेल सञ्चालनमा रुचि देखाएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले त सरकारको स्वीकृति समेत पाइसकेको छ। र, मंसीरको पहिलो साताबाट प्रशिक्षण थाल्ने योजना बनाएको छ।
“आईसीसीसँग पनि सल्लाह गर्दैछौं। कुनै एउटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गर्ने सोचाइ पनि छ। धेरै कुरा परिस्थितिमा निर्भर हुनेछ”, क्यानका सचिव अशोकनाथ प्याकुर्याल भन्छन्।
तर विषय फुटबलको मात्र होइन, भलिबल संघका महासचिव चन्दका अनुसार फुटबल र क्रिकेट जस्तो विदेशी अनुदान आउने संघ बाहेककालाई यस्तो बेलामा खेल सञ्चालन गर्न निकै गाह्रो छ।
अन्तर्राष्ट्रिय खेलकुदको कुनै कार्यक्रम नभएकोले प्रशिक्षणमा केन्द्रित हुने समय पनि हो, यो।
हेर्न बाँकी छ, फुटबल जस्तै खेल सञ्चालन गर्न कति खेल संघले चासो दिनेछन् र सरकार कति सहयोगी बन्नेछ।
खर्चिलो तयारी
पाइला पाइलामा स्वास्थ्य सावधानी अपनाउनुपर्ने हुनाले कोरोना संक्रमणको बेला खेलकुद सञ्चालन सामान्य अवस्थाको भन्दा महँगो हुने निश्चित छ।
सामूहिक खेलमा खर्चको भार अझ बढ्छ। पटकपटक पीसीआर, सावधानीपूर्वक प्रशिक्षण अनि सुरक्षित होटल व्यवस्थापन आधारभूत शर्तभित्र पर्दछन्।
“स्वास्थ्य सावधानीमा थुप्रै खर्च हुन्छ। त्यसमा सरकारले सघाएमा मात्र भलिबल सञ्चालनमा ल्याउन सकिन्छ”, नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द भन्छन्।
यस्ता बेला सामूहिक खेलको दाँजोमा एकल खेल अलि सहज हो। कराते, तेक्वान्दो, ब्याडमिन्टन, बक्सिङ जस्ता खेल भने विगत आठ महीनायता पनि फाट्टफुट्ट प्रशिक्षण पनि भइरहेका छन्। ओलम्पिक छनोटका लागि कराते खेलाडीहरूको प्रशिक्षण पनि रोकिएको छैन।
खेलाडीहरूलाई डर त हुन्छ नै। “डर त छ, तर यसको सामना गर्दै अघि बढ्नुको विकल्प पनि त छैन”, ओलम्पिक छनोटको तयारी गरिरहेकी कराते खेलाडी अनु अधिकारी भन्छिन्।
अबको बाटो
बाङ्लादेशबाट फर्केपछि फुटबल प्रशिक्षणलाई निरन्तरता दिने एन्फाको योजना छ। सन् २०२१ मा विश्वकप छनोटको तालिका निकाल्ने एएफसीको योजना भएकोले अब प्रशिक्षण नरोकिने एन्फा महासचिव तुलाधर बताउँछन्।
“विश्वकप छनोट मात्र होइन, स्थगित बी र सी डिभिजन लिग र महिला लिग पनि सञ्चालन गर्ने पक्षमा छौं। अनि अन्य राष्ट्रलाई पनि नेपालमा बोलाएर खेलाउने योजना बनाइरहेका छौं”, उनी भन्छन्।