जर्सी नम्बर २७ भित्रको सुख र दुःखको संयोग
महामारीले आक्रान्त खेल क्षेत्र ठप्प रहेका बेला नेपाली क्रिकेटर ललितनारायण राजवंशी अहिले चर्चामा छन्। चर्चाको कारण भने उनले मैदानमा गरेको प्रदर्शन होइन।
नेपाली राष्ट्रिय टोलीका स्पिन बलर ललितनारायण राजवंशी अहिले चर्चामा छन्। चर्चाको कारण कुनै प्रतियोगितामा महत्वपूर्ण विकेट लिएर होइन। बलर भएकाले उनले ब्याटिङबाट चमत्कार गर्ने कुरा पनि भएन। सन्दीप लामिछाने जस्तो इण्डियन प्रिमियर लिग (आइपीएल) जस्तो फ्रेन्चाइज प्रतियोगिताको टिममा पर्नु पनि उनको चर्चाको कारण होइन।
त्यसो भए चर्चाको कारण के हो त? ललितनारायण राजवंशी चर्चामा आउनु र एकाएक समाचारको हेडलाइन बन्नुको कारण भर्खरै गरिएको राष्ट्रिय खेलाडीको वर्गीकरणसँग जोडिएको छ। र, त्यो वर्गीकरणमा नपर्नु यसको खास कारण हो।
नेपाल क्रिकेट संघ (क्यान)को एक समितिले देशका उत्कृष्ट २० जना खेलाडीको पंक्तिमा रहने गरी नचिनेपछि राजवंशी एकाएक क्रिकेट समाचारमा छाए। तर, क्रिकेटमा प्रशस्त सपना साँचेका यी बाँया हाते स्पिनर आफू भने चर्चा परिचर्चा भन्दा अलग्गै रहन रुचाउँछन्।
हाँस्दै भन्छन्, “सुख र दुःख त क्रिकेटको एउटा अंग हो। यसमा त लुटपुटिने बानी परिसक्यो।”
चर्चामै आउने गरी कसरी अभ्यस्त भए त भर्खरै २१ वर्ष टेकेका यी युवा खेलाडी ? यसबारे चर्चा गरौं।
प्रारम्भ
कुरा सन् २०१५ को हो।
राष्ट्रिय प्रतियोगिता खेल्न प्रदेश १ (तत्कालीन क्षेत्र १) को टोलीमा समावेश भएका थिए, विराटनगर जटुवाका युवा स्पिनर ललितनारायण राजवंशी। त्यसबेला असाध्यै लजालु थिए उनी। उनले चर्चाको सिंढी उक्लिने शुरुआत त्यही प्रतियोगिता बन्यो। संयोग पनि कस्तो, बायाँहाते यी स्पिनरले फ्याँकेको पहिलो बलमै सेनाका नरेश बुढाएरको विकेट लिए। प्रतियोगिताभरि १० विकेट लिएर खुबै चर्चा बटुले। तुरुन्तै उनी यू–१९ राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइए। राजवंशीको खुशीको सीमा रहेन।
विराटनगरका स्कूल, गल्ली अनि कलेजमा क्रिकेट खेल्न अभ्यस्त एउटा ठिटोलाई राष्ट्रिय टोलीको अपर्झट परीक्षा दिन पाइएला भन्ने कल्पना नै थिएन। तर, अकल्पनीय अवसर बनेर आएको मौकाको सदुपयोग गर्न उनले क्याम्पमा जमेर मिहिनेत गरे। परिणाम मलेसियामा हुने यू–१९ एलिट कपमा उनी छनोट भए।
पहिलो पटक उनले युवा राष्ट्रिय टोलीबाट विदेशी भूमिमा खेले। उनी सहभागी भएको पहिलो प्रतियोगितामै नेपाली टोली च्याम्पियन बनेर फर्कियो। राजवंशी फेरि खुशी भए।
पालो यू–१९ विश्वकप छनोटको थियो। बन्द प्रशिक्षणमा कडा प्रतिस्पर्धा थियो। उनको मिहिनेत पनि कम थिएन। त्यही मिहिनेतले यसपालि पनि नतिजा दिलायो। अन्तिम टोली छनोटका लागि भएको प्रतिस्पर्धामा सन्दीप लामिछाने फ्याँकिए, राजवंशी टोलीमा परे। राजवंशीको अर्को खुशी थपियो।
सन् २०१५ मा मलेसियामै भएको यू–१९ विश्वकप छनोट नेपालसँगै राजवंशीका लागि पनि ठूलो परीक्षा थियो। नेपाली टोली परीक्षामा उत्तीर्ण भयो। फाइनलमा आयरल्याण्डलाई पराजित गर्दै नेपाल च्याम्पियन बन्यो। र, विश्वकपको लागि छनोट भयो। फाइनलमा राजवंशीको बलिंगको जादू वेजोडले चल्यो। ४ विकेट लिएपछि उनी ‘म्यान अफ द फाइनल’ घोषित भए। निसन्देह राजवंशी फेरि खुशी भए।
अब पालो थियो, २०१६ मा यू–१९ विश्वकप खेल्ने। विश्वकपमा कसरी खेल्ने भनेर राजवंशी सपना बुन्दै थिए। यसपालि भने धेरै कुरा उनले सोचेभन्दा विपरीत दिशातिर गए। विश्वकप छनोटमा ‘म्यान अफ दी फाइनल’ बनेका राजवंशी बन्द प्रशिक्षणपछि टिमबाट ‘आउट’ भए, अनि टिममा ‘इन’ भए सन्दीप लामिछाने। मैदानमा होइन, उनले टिभीमा विश्वकप फाइनल हेर्नुपर्यो। राजवंशी पहिलो पटक निकै दुःखी भए।
तर यतिञ्जेल उनले नेपाली क्रिकेट दुनियाँमा बायाँ हाते अब्बल स्पिनरको रुपमा आफ्नो परिचय बनाइसकेका थिए। विश्वकप छनोटमा राम्रो खेल पस्किएकै कारण उनलाई नेपाल पुलिस क्लबले अनुबन्ध गर्यो। उनी प्रहरीका स्थायी जागिरे बने। राजवंशी फेरि खुशी भए।
२०१६ मा युवा टोली यु–१९ एसिया कपको तयारीमा जुटिरहेको थियो। उनले क्याम्पमा अझै बढी मन लगाएर मिहिनेत गरे। तर, रन रेट ‘इकोनोमिकल’ भए पनि विकेट लिन नसकेको भन्दै उनी अन्तिम छनोटमा फ्याँकिए। आफ्नो नाम नदेख्दा यसपालि उनी निकै भावुक भए। राजवंशी सम्झन्छन्, “मैदानमै आँसु झर्यो, थाम्नै सकिएनछ।” यसपालि उनी साँच्चिकै दुःखी भए।
तर, मिहिनेत गर्न छाडेनन्। यसपालि २०१७ को यू–१९ विश्वकप छनोट सिंगापुरमा हुँदै थियो। राजवंशी पुनः युवा टोलीमा पर्न सफल भए। तर, टोलीमा युवा स्पिनरहरु धेरै भएका कारण उनले एउटा मात्र खेल खेल्न पाए। त्यसमा पनि प्रभाव देखाउन सकेनन्। टोली पनि अफगानिस्तानसँग पराजित हुँदै उपविजेतामा सीमित भयो। विश्वकपमा छनोट हुन सकेन। राजवंशी दुःखी हुनु स्वाभाविक थियो।
भारतलाई जितेको यू–१९ विश्वकप छनोटमा उनी फेरि फ्याँकिए। टोलीमा कहिले पर्ने कहिले नपर्ने उनलाई बानी जस्तै परिसकेको थियो। अब क्रिकेट जीवनको यो उतारचढावमा उनले बुझे– टोलीमा स्थान बनाउन सहज छैन।
फ्रेन्चाइज लिगबाट पुनरागमन
राजवंशी अब घरेलु क्रिकेटमा केन्द्रित हुन थाले। अनि फ्रेञ्चाइज लिगमा उनले आफ्नो प्रतिभा देखाउन थाले।
२०७३ सालमा धनगढी प्रिमियर लिग (डीपीएल)मा उनी पारस खड्काले नेतृत्व गरेको टोली, धनगढी चौराहामा अनुबन्धित भए। ८ खेलमा १२ विकेट लिएपछि उनी पारसको प्रिय बने। लगत्तै उनी २०१८ को विश्वकप छनोटमा राष्ट्रिय टोलीमा बोलाइए। यसपालि चाहिं फेरि राजवंशीको खुशीको सीमा रहेन।
अनि जिम्बाब्बे विरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू गरे। युवा खेलाडीले सिनियर टोलीमा छलाङ मारे। यो त्यही विश्वकप छनोट हो, जहाँबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) राष्ट्रको मान्यता पाएको थियो।
राजवंशी उक्त ऐतिहासिक यात्राका एक सदस्य हुन्।
राष्ट्रिय टोलीका सदावहार स्पिनर शक्ति गौचनको विकल्पमा राजवंशीलाई टोलीमा समावेश गरिएको हो। उनको लागि यो आफैंमा खुशी भन्दा बढी चुनौतीको विषय थियो। यो चुनौतीपूर्ण भूमिकालाई न्याय गर्न उनी दत्तचित्त छन्।
त्यसैले उनलाई अब पहिले जस्तो साना र ठूला दुवै घटनाले खुशी वा दुःखी बनाउँदैनन्। किशोर अवस्थामा लजालु स्वभावका राजवंशी अब वयस्क बनिसके, अनि परिपक्व पनि।
उनको जोश र जाँगर पनि पहिले भन्दा बढेको छ। गत वर्ष प्रधानमन्त्री कप, एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा २० विकेट लिएर उनी उत्कृष्ट बलर र ‘प्लेयर अफ दी सिरिज’ घोषित भए। आयोजकले बलरलाई ५० हजार र ‘प्लेयर अफ द सिरिज’लाई मोटरसाइकल पुरस्कार दिने घोषणा गरेका थिए। तर, पछि केही नगद रकम मात्र दिए। तर, राजवंशी यसमा न खुशी भए न दुःखी।
क्यानले भर्खरै गरेको खेलाडी वर्गीकरणमा उनी कुनै पनि वर्गमा अटाएनन्। क्यानको यो वर्गीकरणले राजवंशीमाथि अन्याय भएको आवाज क्यान भित्रैबाट उठ्यो। पूर्वखेलाडीदेखि क्रिकेटप्रेमीहरुले त क्यानको यो निर्णयमाथि ठूलो आपत्ति नै जनाए। तर, यसपालि पनि राजवंशी न खुशी भए न दुःखी नै।
जर्सी नम्बर २७: यात्रा लामो छ
एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यताबाट शुरु भएको राष्ट्रिय टोलीको यात्रापछि राजवंशीले लन्डनको लर्ड्स मैदानमा नेदरल्याण्डस् विरुद्धको खेलबाट टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरे। त्यसपछि त्यहीँबाट नेदरल्याण्ड्समा ओडीआई खेल्न पुगे। युएईमा पहिलो ओडीआई शृंखला जित्दा टोलीको महत्वपूर्ण सदस्य रहे, उनी। उक्त भ्रमणमा ज्ञानेन्द्र मल्लले लिएको ‘डाइभिङ क्याच’ को खुबै चर्चा भयो। त्यो बल फ्याँक्ने राजवंशी नै थिए।
त्यसपछि सिंगापुरमा टी २० विश्वकप छनोट, ओमानमा पाँच राष्ट्र सम्मिलित शृंखला, सिंगापुरमै जिम्बाब्बे सम्मिलित त्रिदेशीय शृंखला, नेपालमा ओमान, अमेरिकासँग विश्व क्रिकेट लिग २ का खेल, नेपालमै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग)। हरेक प्रतियोगितामा उनले अब्बल प्रदर्शन गरेका छन्।
राजवंशीलाई थाहा छ, राष्ट्रिय टोलीबाट अझ धेरै वर्ष लामो यात्रा तय गर्नु छ। कैयौं कीर्तिमानहरु बनाउनु छ। धेरै उपाधि हात पार्नु छ। २७ नम्बर जर्सीलाई चम्काउनु छ। यो शुरुआत मात्र, हो, अझै लामो समय ‘क’ वर्गमा नाम लेखाउँदै तहल्का मच्चाउनु छ। अहिले ‘ग’ वर्गमै नसमेटिएर के भो र !
उनको लडाईं आफैंसँग छ। प्रशिक्षकको पहिलो ‘च्वाइस’ बन्न सम्पूर्ण ध्यान दिनु छ। अहिले बसन्त रेग्मी, सन्दीप लामिछाने, सुशन भारी र राजवंशी गरेर राष्ट्रिय टोलीमा चारजना स्पिनर छन्। त्यसमा लामिछाने बाहेक बाँकी तीन जना बायाँहाते स्पिनर हुन्। त्यसमा उनलाई सबैभन्दा अब्बल बन्नु छ।
स्वभावैले कम बोल्ने राजवंशी भन्छन्, “खेलाडीको वर्गीकरणबारे होइन, टोलीमा आफ्नो भूमिकाबारे सोच्ने काम मेरो हो। बाँकी काम तपाईंहरुको।”