हाम्रो बसाइ शैलीमा ‘होम आइसोलेसन’ कति सहज ?
कोरोनाको कहर बढ्दै जाँदा अस्पतालमा बेड नपाइने अवस्था छ। त्यसैले ‘हर घर क्वारेन्टिन’ बाट अब ‘हर घर आइसोलेसन’ हुने जोखिम छ। त्यसका लागि मानसिक र भौतिक रुपमा तयार हुनैपर्नेछ।
एक दिन मात्र कतै गइयो भने फर्केर घरमा आएपछि केही दिन अलग्गै बस्नुपर्ने बाध्यता छ। त्यसरी क्वारेन्टिनमा बस्नेको तथ्याङ्क कतै छैन। आइसोलेसनमा बस्नेहरुको तथ्याङ्क चाहिं सरकारले दिने गरेको छ, भलै त्यसमा पनि सबै संक्रमितहरु नअटाएका हुनसक्छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेभ पोर्टलमा जति जना संक्रमित, उति जना आइसोलेसनमा बसेको जनाइएको छ। अस्पताल, होटल र घर आइसोलेसनमा बस्नेको संख्या छुट्याइएको छैन। तर, अहिले सरकारले सिकिस्तबाहेक कोरोना संक्रमितहरुलाई भर्ना लिन छाडेको छ। विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा पनि घरैमा बसिरहेका संक्रमितको संख्या धेरै भएको जनाइएको छ।
होम आइसोलेसनको कहानी शुरु गर्नुअघि स्कूल क्वारेन्टिनको कुरा गर्छु। गत असोज दोस्रो हप्ता म काभ्रेको भुम्लु गाउँपालिका, मण्डन देउपुर नगरपालिका तथा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र इन्द्रावती तथा हेलम्बु गाउँपालिका पुगेको थिएँ। त्यतिवेला स्वास्थ्य संस्था, क्वारेन्टिन र आइसोलेसन स्थलहरु अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिकाका लागि कति सहज छन् भन्ने अध्ययन—अवलोकन गरेका थियौं।
सिन्धुपाल्चोक र काभ्रे भूकम्प अति प्रभावित जिल्ला हुन्। ती जिल्लामा भूकम्पपछिको पुनर्निर्माणको काम सिद्धिने चरणमा छ। सरकार तथा विभिन्न दातृ निकायको सहयोगमा विद्यालय भवनहरु सुविधासम्पन्न बनेका छन्। कतिपय विद्यालयमा नर्सहरु पनि कार्यरत छन्।
कोरोनाका कारण विद्यालयहरु अचानक अस्पतालजस्ता अर्थात् क्वारेन्टिन स्थल बने। आपतविपद्मा विद्यालयभित्र सिंगो समुदाय अटायो। पर्याप्त खानेपानी र शौचालय, उज्याला र सफा कोठादेखि स्वास्थ्यकर्मीसम्मको अभाव भएन। सामान्य परिमार्जन गरे क्वारेन्टिन मात्र होइन, आइसोलेसन सेन्टर नै बनाउन सक्ने अवस्था देखियो।
तर, भूकम्प प्रभावित जिल्लामा निजी आवासको चित्र चाहिं ठ्याक्कै उल्टो छ। पुनर्निर्माण चलिरहेका सबै जिल्लामा अधिकांश घर एककोठे वा दुइकोठे छन्। घरको बहुउपयोगी ठाउँ (कोठा, कोठी, बरण्डा, तला, भण्डार, सिकुवा आदि) सबै खुम्चेर साँघुरो पिंढी र दुई कोठामा सीमित भएको छ। घरको पिंढीको छेउमा बारबेर गरेर भान्सा निकालिएको छ। टीनले बनेका अस्थायी आवास अन्न राख्ने ठाउँ वा गाईबस्तु बाँध्ने गोठ बनेका छन्।
नयाँ घर बनाएर पुराना घर पनि सामान्य मर्मत गरी बस्नेलाई त सजिलै भएको छ। भएकै घरमा थप दुई कोठा थपियो। तर पुरानो घर कामै नलाग्ने अवस्था भएकाको जिन्दगी नयाँ घरमा पनि कष्टपूर्ण तरिकाले चलिरहेको छ।
भूकम्पपीडितको बसाइ र स्वास्थ्य मन्त्रालयको ‘होम आइसोलेसन’को मापदण्ड कतै मेल खाँदैन। स्वास्थ्य मन्त्रालयले बनाएको ‘कोभिड १९ केसको आइसोलेसन व्यवस्थापन सम्बन्धी निर्देशिका’मा अस्पताल आइसोलेसन र घर आइसोलेसन सम्बन्धी छुट्टाछुट्टै प्रावधान छन्। लक्षण नभएका र सामान्य लक्षण भएकालाई घरमै राख्न सकिने सो निर्देशिकामा उल्लेख छ।
त्यसबाहेक गाउँमा गुजुमुज्ज र छरिएका गरी दुईथरी बस्ती छन्। एकथरी बस्ती असाध्यै बाक्ला छन्। जस्तो, सिक्लेस, घलेगाउँ, घनपोखरा, घान्द्रुक, सिरुबारी, थवाङ, तकसेरा, बारपाक, लाप्राक आदि जस्ता। अर्काथरी बस्ती असाध्यै छरिएका छन्। भूकम्पले बाक्ला र पातला दुवै थरी बस्तीका घर भत्काइदिएको छ।
भूकम्पपीडितको बसाइ र स्वास्थ्य मन्त्रालयको ‘होम आइसोलेसन’को मापदण्ड कतै मेल खाँदैन। स्वास्थ्य मन्त्रालयले बनाएको ‘कोभिड १९ केसको आइसोलेसन ब्यवस्थापन सम्बन्धी निर्देशिका’मा अस्पताल आइसोलेसन र घर आइसोलेसन सम्बन्धी छुट्टाछुट्टै प्रावधान छन्। लक्षण नभएका र सामान्य लक्षण भएकालाई घरमै राख्न सकिने सो निर्देशिकामा उल्लेख छ।
निर्देशिकामा घर आइसोलेसन सम्बन्धी १४ वटा बुँदा छन्। त्यसमा हावा खेल्ने तथा प्रकाश आउने छुट्टै कोठामा संक्रमितलाई राख्नुपर्ने, उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक सामग्री परिवारका सदस्यसँग मगाउने उल्लेख छ। त्यस्तै खानपिनको व्यवस्थामा विशेष सावधानी अपनाउने, प्रयोग गरिएका भाडा सुरक्षित रुपले सफा गर्ने र सुकेपछि पुनः प्रयोग गर्ने उल्लेख छ।
स्नानघर/शौचालयको छुट्टै व्यवस्था गर्ने र सामूहिक रुपमा प्रयोग गर्नुपर्ने भएमा प्रत्येक प्रयोगपछि ‘डिसइन्फेक्टन्ट’ ले राम्ररी सफा गरेर मात्र अरुले प्रयोग गर्ने उल्लेख छ। यसका साथै हात धुने बेशिनहरु सफा गर्ने, दाँत माझ्ने ब्रस लगायतका सामान राख्न छुट्टै बेशिनको प्रयोग गर्ने लगायत सुझाव छन्। ढोका, मेशिनका ह्यान्डल, टेबुल जस्ता धेरै व्यक्तिले चलाउने सामान डिसइन्फेक्टेन्ट गरी नियमित सफा गर्ने, भाडाकुँडा या कपडा धुँदा पन्जा लगाउने वा मेशिनमा छुट्टै धुने र घाममा सुकाउने आदि सुझाव पनि छन्।
घर आइसोलेसनका यी प्रावधान पढिरहँदा मैले नेपालका शहरी र ग्रामीण भेगका बस्ती र बस्ने शैली सरर सम्झिएँ। गाउँका समस्यापछि अब शहरका कुरा गरौं।
शहरको साँघुरो बसाइ
शहरमा घरबेटी र डेरावाल गरि दुई वर्गका मानिस छन्। कथा त डेरावालबाटै शुरु हुन्छ। एउटा साझा बैठक/पाहुना कोठा, एउटा भान्सा, एउटा सुत्ने कोठा र एउटा बाथरुम सहित सानो फ्ल्याट लिएर बस्ने साना बच्चासहितका दम्पती वा दम्पतीमात्र वा राम्रै पैसा कमाउने अविवाहित युवायुवती शहरमा धेरै छन्। सपरिवार अलि ठूलो फ्ल्याट (एउटा छुट्टै बैठक कोठा, एउटा अट्याच बाथरुम सहितको सुत्ने कोठा, साझा शौचालय/बाथरुम, थप दुई वा तीन सुत्ने कोठा, भान्सा र डाइनिङ कक्ष) लिएर बस्ने उच्च मध्यम वर्ग र उच्च वर्गका व्यक्ति पनि छन्।
तर, यी वर्गमा पर्नेबाहेकका डेरावाल पनि छन्। एउटा सुत्ने कोठा र एउटा भान्साकोठा भाडामा लिएर बस्ने, एउटा कोठामा एक्लै बस्ने, एउटा कोठामा दम्पती बस्ने, एउटा कोठामा एकजना बस्ने, दुईजना विद्यार्थी मिलेर दुईटा खाट र एउटा कुनामा किचेन र्याक राखेर बस्ने अनि ज्याला मजदूरी गर्ने ५—७ जना मिलेर एउटै कोठामा बस्ने—खानेहरु पनि धेरै छन्। यसरी शहरमा भाडावालाहरु थरीथरीका छन्। ससाना टहरा र अन्तरिम आवास (एक वा दुई कोठा, एक भान्सा र शौचालय वा एउटै मात्र कोठामा एक्लै वा धेरैजना) मा गुजारा चलाउने निम्न आय भएकाहरु पनि छन्।
शहरलाई सरसर्ती नियाल्दा जति नै ठूलो र अग्लो घर भए पनि अधिकांश घरबेटीको भागमा प्रायः १.५ तला पर्छ। उनीहरुको एउटा बैठक कोठा, साझा बाथरुम÷शौचालय, एउटा एट्याच बाथरुम/शौचालय भएको कोठा, थप दुई वा तीन सुत्ने कोठा अनि कौसीसहितको माथिल्लो तलामा भान्सा, डाइनिङ कक्ष, पूजा गर्ने ठाउँ, साझा शौचलय र लुगा धुने मेशिन राख्ने ठाउँ हुन्छ। थोरैको मात्र छुट्टै पाहुनाकोठा हुन्छ। घर भाडामा दिने अधिकांश घरबेटीको बैठक कोठामा पनि सोफासँगै दुईवटा होचा खाट हुन्छन्। त्यसकारण बैठक कोठाले पाहुना कोठाको पनि काम गर्छ। सिंगै घर भाडामा नदिइ प्रयोग गर्ने, सानो अपार्टमेन्टमा बस्ने, हाउजिङमा सिंगो घर लिएर बस्नेहरुको संख्या धेरै कम छ।
काठमाडौंकै कुरा गरौं। यहाँ थरीथरीका घरबस्ती छन्। शहरको मध्यभागमा पुरानो र निकै बाक्लो बस्ती छ। ती घरमा घरबेटी र डेरावाल दुवै बस्छन्। त्यहाँ घरका छानो वा छत जोडिएका छन्। मध्यभागभन्दा वरिपरि पक्की घरहरु छन्। त्यो सेरोफेरोमा सवारी साधन नहुने विद्यार्थीहरुको बसोवास बढी छ। यसमा कीर्तिपुरको प्रसंग फरक छ।
मध्यभाग र मध्यभागको वरिपरि फ्ल्याटभन्दा कोठा बढी चल्तीमा छ। रिंगरोडको वरिपरि र त्योभन्दा बाहिरचाहि कोठाभन्दा सानो फ्ल्याट लिएर बस्नेहरु र मोटरसाइकल हुने डेरावाल बढी छन्। चक्रपथबाहिर कोठा दिने चलन अलि कम छ।
काठमाडौं बाहिरका शहरमा चाहिँ भित्री र बाहिरी दुईखाले बस्ती छन्। प्रत्येक शहरका ‘न्यूरोड’ वा मूलसडक भनिने ठाउँहरु व्यापारिक गतिविधिका लागि चर्चित छन्। बाँकी भाग आवासीय प्रयोजनका लागि चल्तीमा छन्। राजमार्गमा भने रिबनजस्ता लामालामा बस्ती छन्। ती बजारमा पनि घरहरु पूरै जोडिएका छन्। भुइँतल्लामा व्यापारिक गतिविधि र माथिल्ला तल्लामा कोठा भाडामा दिने चलन छ। घरबेटी माथिल्लो तल्लामा बस्छन्।
गाउँमा सजिलो, शहरमा अप्ठ्यारो
महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, बजार, र गाउँ आदि विविध नाम भएका बस्तीमा कोरोना संक्रमित सदस्यलाई घरभित्रै राख्दा के–कस्तो अप्ठेरो पर्ला त? अब त्यसको लेखाजोखा गरौं। शुरुवात शहरबाटै गरौं।
बंगला हुनेहरुलाई होम आइसोलेसनमा समस्या पर्दैन। बंगलामा बाथरुम/शौचालय धेरै बनाइन्छ। प्रत्येकजसो कोठामा बरण्डा हुन्छ। त्यसैले नुहाएपछि लुगा सुकाउन, खाना खाएपछि भाडा सुकाउन अप्ठेरो पर्दैन। घाम ताप्न पनि समस्या हुँदैन।
घरका केही तला भाडामा दिएर १—१.५ तला आफूले प्रयोग गर्ने घरबेटीलाई छुट्टै कोठामा बस्न समस्या नभए पनि बाथरुमको चाहिं समस्या पर्न सक्छ। परिवारमा एकजना मात्र संक्रमित हुँदा बाथरुम जोडिएको कोठा प्रयोग गर्न दिइयो भने धेरै सजिलो हुन्छ। २—३ जनालाई संक्रमण भयो भने अथवा बाथरुम जोडिएको कोठा छैन भने कोरोना ठीक नभएसम्म एउटा बाहिरी बाथरुम÷शौचालय संक्रमित सदस्यलाई प्रयोग गर्न दिएर बाँकीले अर्को प्रयोग गर्न सकियो। यहाँ पनि त्यति समस्या भएन।
ठूलो फ्ल्याट लिएर बस्नेहरुसँग घटीमा दुई वटा बाथरुम÷शौचालय हुन्छ। कोठा पनि प्रशस्त हुने हुँदा १५—२० दिन अलग्गै बस्न समस्या हुँदैन। स–परिवार बसिएको छ र एउटा मात्र शौचालय छ भने केही अप्ठेरो अवस्था आउँछ। कोठाकोठा भाडामा दिइएको घर छ र भाडामा बस्ने सबैका लागि एउटा मात्र शौचालय छ भने त धेरै नै अप्ठेरो हुन्छ। अझ एउटै कोठामा धेरैजना बस्नेको लागि झनै समस्या हुन्छ।
होम आइसोलेसनमा बस्न गाउँमा भने धेरै अप्ठेरो हुँदैन। कोही सदस्यलाई कोरोना संक्रमण भइहाले पुग्दो कोठा छ भने त समस्यै भएन। नत्र मूल घरसँगै जोडेर काठ र जस्तापाता प्रयोग गरी तुरुन्त अस्थायी कोठा बनाउन सकिन्छ। धन्सार सफा गरेर वा पिंढीको छेउमै बारेर पनि बस्न मिल्छ। शौचालयका लागि बारीको छेउमा टीन र बोरा बारबेर गरेर अस्थायी रुपमा प्रयोग गर्न सकिन्छ।
घर टाढाटाढा हुँने हुँदा छिमेकीलाई सर्ला कि भनेर डराउने अवस्था पनि रहँदैन। गाउँमै असाध्यै बाक्लो बस्ती छ र कोठाचोटा मिलाउने, शौचालय बनाउन सक्ने अवस्था छैन भने गाउँलेहरु मिलेर बस्तीको नजिकै सामूहिक आइसोलेसन पनि बनाउन सक्ने सम्भावना हुन्छ।
शहरमा एउटा घरमा कोरोना लागेमा पूरै टोल नै आतंकित हुन्छ। आतंकित भएको टोलले सहज व्यवस्था मिलाउन मद्दत गर्नु सट्टा दुर्व्यवहार गर्ने, आतंकित हुने, परपर भाग्ने, अप्ठेरोमा मद्दत नगर्ने जस्ता घटना भइरहेका छन्। यसरी हाम्रा घरबस्ती र बसोवासको शैलीलाई सरसर्ती नियाल्दा निकै थोरै नागरिकले मात्र होम आइसोलेशन वा होम क्वारेन्टिनमा सहजै बस्न सक्ने अवस्था छ।
तर, शहरमा एउटा कोठा लिएर बस्ने, एउटै शौचालयले धेरैजनाले प्रयोग गर्ने, एउटै कोठामा धेरैजना बस्ने अवस्थाले धेरै थरी जटिलता निम्त्याउँछ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला र बालबालिकालाई थप कष्ट हुन्छ। घरबेटीले सहज व्यवहार नगरिदिंदा मानसिक तनाव पनि भोग्नुपर्ने हुन्छ।
शहरमा एउटा घरमा कोरोना लागेमा पूरै टोल नै आतंकित हुन्छ। आतंकित भएको टोलले सहज व्यवस्था मिलाउन मद्दत गर्नु सट्टा दुर्व्यवहार गर्ने, आतंकित हुने, परपर भाग्ने, अप्ठेरोमा मद्दत नगर्ने जस्ता घटना भइरहेका छन्। यसरी हाम्रा घरबस्ती र बसोवासको शैलीलाई सरसर्ती नियाल्दा निकै थोरै नागरिकले मात्र होम आइसोलेसन वा होम क्वारेन्टिनमा सहजै बस्न सक्ने अवस्था छ।
अन्तमा आफ्नै अनुभव
असोज दोस्रो हप्ता काभ्रे र सिन्धुपाल्चोकका क्वारेन्टिन र आइसोलेसन सेन्टरबाट फर्केपछि म १५ दिन घर क्वारेन्टिनमा बसें। टिचिङ अस्पतालमा नर्सिङ विषयमा स्नातकोत्तर तहमा अध्ययनरत मेरी श्रीमती रन्जिताजी पनि अस्पतालको केही दिनको प्रयोगात्मक अभ्यास सिध्याएर घर क्वारेन्टिनमा बसिन्। म फिल्डबाट फर्केको सात दिनपछि उनी आइन्।
हाम्रो घरमा दुई वटा शौचालय र एउटा छुट्टै नुहाउने कोठा छ। मैले लेखपढ गर्ने सानो कोठालाई आफ्नो क्वारेन्टिन बनाएँ। सधैं बस्ने गरेको कोठा रन्जिताजीको क्वारेन्टिन बन्यो। बाआमाले प्रयोग गर्ने शौचालय प्रयोग गर्ने कुरै आएन। शौचालय साझा रुपमा प्रयोग गर्नुपर्ने भयो। अनि हामी अलिकति डरायौं।
एकजना अस्पतालबाट, एकजना फिल्डबाट फर्केको। हामीले प्रयोग गरेपछि शौचालयको ढोकाको ह्यान्डल, चुकुल, बेशिनको धारा, फ्लस, बिजुलीको स्वीचलगायत सबै ठाउँमा औषधि छर्कियौँ। दिनभर पटकपटक यसै गरिरहनुपर्याे।
एक जनामा कोरोना छ र अलिकति मात्र चुकियो भने सर्ने डर। त्यसैले घरभित्र मास्क कहिल्यै छोडेनौं। बाआमाले खाना ल्याएर हाम्रो थालमा अलग्ग राखिदिनुहुन्थ्यो। हामी टाढाटाढा बसेर खान्थ्यौं। आ-आफ्ना भाडा माझेर घाममा घोप्ट्याउँथ्यौं। साबुन, खानेपानीको जग, गिलास, ब्रस, मन्जन आफ्नो कोठामा राख्थ्यौं। छततिर जाँदा ढोकाको चुकुल खुट्टाले खोल्थ्यौं। च्यानलगेट पनि खुट्टाले खोल्थ्यौं। बाले साझा ढोकाहरु प्रायः खुल्लै राखिदिनुहुनथ्यो।
घरभित्रको घुमघाम, बातचित, छलफल लगभग ठप्पै थियो। छतमा जाँदा भर्याङको रेलिङ झुक्किएर छोइएला कि भनेर सचेत हुन्थ्यौं। यसरी कोरोना नलागिकनै लागेझैं गरेर १५ दिन घरभित्र गुजार्दा घर आइसोलेसनको मर्म राम्ररी बुझियो।
मैले त घर क्वारेन्टिन जिन्दगी निकै सचेत भएर गुजारें। तपाईंहरु पनि सकेसम्म कोरोना बार्नुस्। अलग्ग बसे कोरोना हलक्क बढ्दैन। कोरोना हलक्क बढ्नु दुःख पाउनु हो। आफ्नो घर, फ्ल्याट, कोठा अनुरुप थप सचेत होऔं। संरचना सुधार्न सकिन्छ। मिलाउन सकिन्छ। तर बानी सुधारे सस्तो पर्छ।