कोरोना कहरको डायरीः पृथ्वीको डिलमा उभिएर...
डायरी पल्टाउँदै जाँदा देखें, शहर त परिकारमय भएछ। घरघरमा अनेक परिकार पाके। त्यसको बास्ना सामाजिक सञ्जालमा फिजियो। अनि खानपिनको रमाइलो चरण सकिएसँगै बन्दाबन्दीको पीडा देखिन थाल्यो।
कोरोनाभाइरसको कहर रोक्न सरकारले ११ चैतबाट देशभर बन्दाबन्दी लगायो। यति वेलासम्म नेपाल मात्र होइन, विश्वका धेरै देश बन्दाबन्दीमा गइसकेका थिए। संसार ठप्प थियो। मानव सभ्यताले अकल्पनीय कष्ट झेलिरहेको यो समयलाई मैले लिपिबद्ध गर्न चाहेँ। १० चैतबाट शुरु भयो, मेरो डायरी लेखन।
लामै समय लेख्ने रहरले बाक्लो डायरी छानें। पहिलो दिन ६ पेज लेखेँ। शीर्षक राखेँ– पृथ्वीको डिलमा उभिएर। आजसम्म पनि यो लेखनलाई निरन्तरता दिइरहेको छु।
कोरोना कहर शुरु भएसँगै सडकमा गाडी गुड्न छोडे। आकाशमा हवाइजहाज उड्न छोडे। समुन्द्रमा पानीजहाज चल्न छोडे। जहाज नदेखेर चराहरु नै अल्मलिएका हुन् कि जस्तो लाग्न थाल्यो।
आकाश सफा देखियो। पानी सफा देखियो। श्वास फेर्न सजिलो भएको महसूस भयो। पृथ्वीलाई सन्चो भए पनि मान्छेलाई विसन्चो भएकाले निरन्तर मास्क लगाउनुपर्याे। सफा देखिएको संसारमा हात धोएको धोयै गर्नुपर्याे।
भाइरसले संसार कब्जामा लिएपछि मानिस घरभित्रै कैद भए। त्यति वेला मानिसहरुले गर्ने कर्म बुझ्न डिजिटल पत्रिका र सामाजिक सञ्जाल चहारेँ। शुरुआतमा सबैजना तरकारी, फलफूल, अत्यावश्यक खाद्यान्न र ग्यासको जोहोमा लागे। बजारमा ग्यासको अभावै भयो। त्यसैले आधा सिलिन्डर ग्यास बेच्ने चलन आयो।
औषधि पसलमा मधुमेह र उच्च रक्तचापजस्ता दीर्घ रोगका औषधिको हाहाकार भयो। सर्जिकल मास्क प्रतिगोटा रु.२५ तिर्दा पनि नपाउने अवस्था आयो। स्यानिटाइजर र मास्क खोज्दाखोज्दा हत्तु भइयो। सर्जिकल मास्क नपाएपछि केही हप्ता कपडाको राम्रो मास्क किनेर काम चलाइयो।
बन्दाबन्दीको शुरुवाती चरणमा इन्डक्सन चुल्हो पनि निकै बिके। सरकारले नेशनल ट्रेडिङमार्फत सहुलियत दरमा इन्डक्सन चुल्हो बेच्यो। यस्तो चुल्हो अनलाइनमार्फत घरघरमै पठाइने चलन शुरु भयो। अनि सफा उर्जाले घरघरमा स्थान पायो। साबुन पानीले मिचिमिची हात धुन सिकाउने परियोजनालाई हियाउने समाज हात धुन सिक्न थाल्यो। हात धुन सिकाउने समाचार, पोष्टर र भिडिओले सामाजिक सञ्जाल र डिजिटल पत्रिका रंगिए। मास्क लगाउन सिकाइएका लेखहरु चर्चित हुन थाले। डायरीमा अहिले यी सन्दर्भहरु पढ्दा आफैंलाई रमाइलो अनुभूति हुन्छ।
किराना र तरकारी पसलको उद्यम कोरोनाकालमा ह्वात्तै फस्टायो। सटरै सटरको शहरमा तालैताला झुण्डिए। व्यापारिक मल र अरु उद्यम ठप्प हुँदा तरकारी पसलमा भ्याईनभ्याई व्यापार भयो। त्यही मेसोमा अनलाइनबाट तरकारी र फलफूल बेच्ने उद्यम पनि फस्टायो।
पसल जान असुरक्षित महसूस गरेर मैले बन्दाबन्दीको लागू भएको तीन दिनपछि अनलाइनबाट २४ किलो तरकारी मगाएँ। तर, घरमा तरकारी भने आठ दिनमा मात्र आइपुग्यो। कतिविघ्न व्यस्त भएछन्!
सरकारले पत्रकार सम्मेलनमार्फत हरेक दिन कोरोना कहरको नतिजा सुनाउन थाल्यो। त्यसलाई म हरेक दिनको लेखाइको अन्तिम प्याराग्राफमा समेट्दै जान्थें, समेटिरहेकै छु। डायरी पल्टाउदै जाँदा देखें, २२ चैतमा नेपालमा एकैदिन तीन जनामा संक्रमित भेटिएका रहेछन्।
तीमध्ये दुई जना भारतबाट आएका र एक जनालाई स्थानीय संक्रमितबाटै सरेको थियो। त्यसैलाई आधार मानेर नेपालमा कोरोना संक्रमणको दोस्रो चरण शुरु भएको डिजिटल पत्रिकाहरुमा लेखियो। त्यो दिनसम्ममा नेपालमा कुल संक्रमितको संख्या नौ रहेछ।
डायरी पल्टाउँदै जाँदा देखें, शहर त परिकारमय भएछ। बन्दाबन्दी लामो बिदाजस्तो भयो। घरघरमा अनेक परिकार पाके। त्यसको बास्ना सामाजिक सञ्जालमा फिजियो। घरघरमा रसबरी र जेरी पाके। लड्डु र अरु अनेक मिठाई बने। खरबुजाको बोक्राको अचार निकै चर्चित भयो। आँपका अचार र अम्चुरमय भयो सामाजिक सञ्जाल।
खानपिनको रमाइलो चरण सकिएसँगै बन्दाबन्दीको पीडा देखिन थाल्यो। खाद्यान्न संकट झेलिरहेका नागरिकबारे डिजिटल पत्रिकामा खबर आउन थाले। कतिपय पत्रिकाले छापा संस्करण बन्द गरिसकेका थिए। छापिएका पत्रिका देख्दै डरलाग्ने भैसकेको थियो।
ससाना नानी अघि लगाएर कुम्लोकुटुरोसहित सयौं किलोमिटर हिंडेर घर गइरहेका नागरिक, उनीहरुले भोगेको कठोर कष्ट र सरकारको अव्यवस्थाले स्थान पाउन थाले। बन्दाबन्दी शुरु भएको एक हप्ता नपुग्दै १८ चैत २०७६ बाट सरकारप्रति नागरिकको गुनासो बढ्न थालेको रहेछ।
मिठोमसिनो पकाउने चरण सकिएसँगै वैशाख—जेठताका शहरमा कौसीखेती र जुम भेला एकैचोटीिह्वात्तै फिजियो। अचानक घरघरका छतमा माटो भरिएका थैला र गमला देखिए। सामाजिक सञ्जालमा जूम बैठकका स्क्रिनसट देखिन थाले। जूम बैठकका निम्तो आउन थाले।
भारतसँगका सिमाना बन्द गर्दा कयौं नेपाली अलपत्र परेको खबर आयो। नाकाबाट छिर्न नपाएपछि महाकाली नदीमा ट्युबको सहायताले पौडेर स्वदेश आएका युवालाई प्रहरीले पक्रियो। अनि प्रहरी आलोचित भयो।
राहत वितरणका नाममा नागरिकलाई अपमानित गर्ने, नाममात्रको राहत दिएर आहत बनाउने कामले चैत अन्तिम हप्तातिरबाट व्यापकता पाएको रहेछ। यता बोर्डिङ स्कूलमा छोराछोरी पढाउने अभिभावकलाई राहत नदिने निर्णय गर्ने भानु नगरपालिकादेखि दीर्घरोगीलाई घरघरमै औषधी पुर्याउने, घरघरै डाक्टर लगेर नागरिकको स्वास्थ्य जाँच्ने हेलम्बुको स्थानीय सरकारका समाचार पनि डिजिटल पत्रिकामा छाए।
मिठोमसिनो पकाउने चरण सकिएसँगै वैशाख—जेठताका शहरमा कौसीखेती र जुम भेला एकैचोटि ह्वात्तै फिजियो। अचानक घरघरका छतमा माटो भरिएका थैला र गमला देखिए। सामाजिक सञ्जालमा जूम बैठकका स्क्रिनसट देखिन थाले। जूम बैठकका निम्तो आउन थाले।
कौसीखेतीबारे पनि जूममार्फत अनलाइन तालिम चल्न थाले। अनलाइनमै कौसीखेती गर्न चाहिने अनेक सामान पाइन थाले। घरका रुखा छत हराभरा देखिए। मैले पनि कौसीखेती गरें। १८ जेठ २०७७ को डायरीमा यस्तो लेखेको रहेछु, “कंक्रिट रोपेर बनेको छ घरको छत। मरुभूमिजस्तो रुखो छतमा सिमेन्टकै बोरामा माटो र मल भरेर तरकारी÷फलफूल फलाउने रहर गर्दा रमाइलो अनुभूति हुने रहेछ। बारीमा तरकारी फलाउँदाभन्दा भिन्न अनुभूति।”
सधैंजसो कोरोनासँग सम्बन्धित समाचार हेडलाइन बन्ने अखबार र डिजिटल पत्रिकामा ११ वैशाख अर्थात् लोकतन्त्र दिवसमा भने कोरोनाको समाचार भेटिनै मुस्किल परेको रहेछ। सरकारले पार्टी फोर्न सहज हुने अध्यादेश ल्याएसँगै समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई प्रधानमन्त्रीका निकट सहयोगीले ‘अपहरण’ गरेको समाचारले प्रमुख ठाउँ ओगट्यो। अनि सामाजिक सञ्जालमा आलोचना पनि उस्तै आए। यो घटनाले धेरै दिनसम्म समाजलाई तरंगित बनायो।
कोरोना कहरको डायरी लेखनलाई मैले निरन्तरता दिइरहेको छु। सरर डायरी पल्टाउँदा भेटिएका दृष्टान्त हुन्, यी। सात महीनामा मोटामोटा दुई वटा डायरी भरिए। एक दर्जनजति कलम सकिए। घटीमा एक पेजदेखि बढीमा आठ पेजसम्म लेखें। ८ बजे शुरु गरेर २ बजेसम्म पनि डायरी लेखिरहें।
कोरोना कहरका कारण जीवनशैली फेरिएको छ। फेरिएका कतिपय कुरा अस्थायी होलान्। कतिपय कुराचाहि कोरोनाकालअघिको जीवनमा नफर्कने गरी चल्लान्। मानव जीवनको यो संक्रमणको दस्तावेजीकरण गर्ने सहज उपाय डायरी लेखन हो।
डायरीले समयको कथा बोल्छ। तथ्य, तर्क, तथ्यांक र अनुभूतिको मिश्रण हुने हुँदा साहित्य र गैरसाहित्यको मिश्रणजस्तो पनि हुन्छ। धेरै समयपछि आफ्नै जीवनलाई पछाडि फर्केर हेर्दाको मीठो अनुभूति पनि हुन्छ। त्यसकारण यो कालखण्डको डायरी लेखन जारी छ।